• वि.सं २०७६ असोज ५ आइतबार
  • Sunday, 22 September, 2019

‘तिमीभित्रै छु, बाहिर खोजेर दुःखी नहुनु’

२०७६ बैशाख २१ शनिबार ११:०४:०० | काठमाडौं

भियतनामी नागरिक जुली यिप विलियम्स जन्मिँदै नेत्रहीन थिइन् । उनी गृहयुद्धपीडित हुन् । उनका पिता भियतनामका सम्भ्रान्त परिवारका मानिन्थे । त्यसैले पुख्र्यौली सम्पत्ति क्रान्तिकारीले जफत गरेपछि शरणार्थी बन्नुप-यो । पछि विलियम हङकङ हुँदै अमेरिका पुगिन् । त्यहाँ उनले एक कुशल चिकित्सकबाट आंशिक दृष्टि पाइन् । त्यसपछि हार्वर्ड पढेर वकिलसमेत बनिन् । त्यसै क्रममा उनले एक विशाल हृदय भएको व्यक्तिसँग बिहे गरिन् । उनीहरूका दुई छोरी भए ।

तर, उनलाई दुर्भाग्यले छाडेन । ३७ वर्षको उमेरमा उनलाई क्यान्सरले च्याप्यो, त्यसको पाँच वर्षपछि अघिल्लो अप्रिल १९ मा उनको मृत्यु भयो । उनले क्यान्सर लागेको थाहा पाएपछि स्मरण लेख्न थालिन् । जसमा उनले छोरीहरूलाई धेरै कुरा भन्नु थियो, उनीहरूलाई भविष्यका बारेमा प्रशिक्षित गर्नु थियो । संसारसँग कसरी प्रतिस्पर्धा गर्ने भन्नु थियो । त्यो सबैबारे लेख्न थालिन् । छोरीहरूलाई सयौँ पत्र लेखिन् । अन्ततः त्यसको एउटा पुस्तकै तयार भयो, ‘द अनवाइन्डिङ अफ द मिराकल ।’ उनले जीवनको अन्तिम समयमा अस्पतालको शैयाबाट छोरीहरूलाई लेखेको अन्तिम चिठीको अंश :

प्रिय मिया र इसाबेल,
तिमीहरूले यो थाहा पाइसकेका छौ कि मलाई क्यान्सर लागेको छ । म अब धेरै दिन बाँच्दिनँ । तर, चिन्ता नगर्नू । मैले मेरो मृत्युको कारणबाट निम्तिने हरेक समस्याको समाधान गरिसकेकी छु । एक भान्से नियुक्त गरिसकेकी छु । तिनले तिमीहरू र पापालाई मिठो खाना खुवाउनेछन् । भाँडा माझ्नेछन्, लुगा धोइदिनेछन् । तिमीहरूलाई नुहाइदिनेछन् । केही चिन्ता गर्नुपर्दैन । मैले तिमीहरूलाई चाहिने सबै कुराको सूची बनाएर छाडेकी छु । तिमीहरूको दाँतको चिकित्सक को हुनुहुनेछ ? तिमीहरूको विद्यालयको शुल्क कहिले तिर्ने हो ? भ्वाइलिन भाडाको करार सम्झौता कहिले नवीकरण गर्ने र त्यसको धुन कसरी चिन्ने ? यी सबै कुरा सूचीमा छन् ।

अब केही दिनपछि म रहनेछैन । मलाई थाहा छ, मलाई तिमीहरू धेरै ‘मिस’ गर्नेछौ । कति दुःखी महसुस गर्छौ होला । त्यसवेला मलाई धेरै गाली पनि गर्नेछौ, ‘सबैका आमा छन् त, हाम्रै मात्र किन छाडेर जानुपरेको होला । हामी कति खराब केटाकेटी रहेछौँ ।’ यस्तै सोच्छौ होला । तर, भगवान्को इच्छा टार्न सकिँदो रहेनछ । तिमीहरूको त जीवन धेरै छ । मेरो अनुपस्थितिमा पनि तिमीहरूले बाँच्नु छ । पछि ठूला हुनेछौ । अनि सबै कुरा बुझ्नेछौ । 

मेरा चन्द्रमाहरू ! तिमीहरू त मेरो मुटुका टुक्रा हौ । तिमीहरू भनेकै म हो । म भनेकै तिमीहरू हौ । तिमीहरूको नसामा बगेको हरेक थोपा रगतमा म छु । अर्थात् त्यो मेरै रगत हो । तर, तिमीहरूमा चन्द्रमा झैँ दागचाहिँ लागिरहनेछ कि तिमीहरू टुहुरा हौ । तिमीहरूकी आमा क्यान्सरले मरेकी हुन् । तिमीहरूलाई सबैले साहनुभूतिले हेर्नेछन् । सान्त्वना दिनेछन् । त्यो वेला तिमीहरू कमजोर महसुस गर्न सक्नेछौ । 

जब तिमीहरू यताउता हेर्नेछौ, सबैका साथमा आफ्ना आमाबुबा पाउनेछौ । सबैजना आफ्नी आमाको हात समाएर हिँडिरहेका हुनेछन् । कोही आमाको छातीमा टाँसिरहेका हुनेछन् । कोही दीक्षान्तका वेला बाबुआमाको पाखुरा समाएर बोलाउँदै फोटो खिचिरहेका हुनेछन् । त्यसवेला तिमीहरूलाई लाग्दो हो, ‘हाम्री आमा कति निष्ठुरी ! सबैका यहीँ छन्, हाम्री आमालाई मात्र किन जानुपरेको होला ?’ त्यो वेला तिमीहरू आफूलाई निःसहाय महसुस गर्नेछौ । सम्झँदा सम्झँदै जोड–जोडले रुन सक्नेछौ । 

कुनै समयमा म पनि तिमीहरूजस्तै सानी थिएँ । म पनि त्यस्तै सोच्थेँ, जुन तिमीहरू अहिले सोच्ने गर्छौ, ‘जिन्दगी कति सुन्दर छ, कति रमाइलो छ ।’ जिन्दगी साँच्चै रमाइलो नै छ । तर, जब जीवन र मरणको कुरा आउँछ । त्यसपछि जिन्दगीबारे सोचिने सम्पूर्ण नियमहरू बेकामे बन्छन् । मृत्यु मानव निर्मित कुरा होइन, मान्छेको प्रयत्नले यसलाई तलमाथि गर्न सकिँदैन । भोग्न मात्र सकिन्छ । यति वेला मात्र बुझ्न सकिन्छ, भगवान् भनेको के हो ? भाग्य के हो ? जब भाग्यले साथ दिँदैन, भगवान्ले पनि छाड्छन् । आमाबुबाले पनि छाड्दा रहेछन् । एक्लै बाँच्नुपर्ने रहेछ । 

हुन त मैले आमाविहीन हुनुपरेन । तर, मैले तिमीहरूको भन्दा कठिन बाल्यकाल बिताउनुपरेको थियो । हामी शरणार्थी थियौँ । म देख्न सक्दिनँ थिएँ । मेरो दृष्टिविहीनतालाई मान्छेहरू दुर्भाग्य ठान्थे । बाल्यकालको त्यो पीडा म बयान गर्न सक्दिनँ, कति दुःखदायी थियो र कति दुर्भाग्यपूर्ण थियो । म सधैँ उदास हुन्थेँ । एक्लै रुन्थेँ । चिच्याउँथेँ । रिसले कपाल लुछ्थेँ । म धेरै अभागी थिएँ । तर, मेरो अभाग मैभित्र थियो ।

अरूमा निहित थिएन । म सोच्थेँ, जसरी म सबैतिर कालो देख्छु, सबैले मलाई पनि काली देख्दा हुन् । म आफैँलाई घृणा गर्थें । भगवान्ले ममाथि गरेको अन्यायप्रति धिक्कार्थें । तर जिन्दगी सधैँ एकनासले चल्दो रहेनछ । मैले धेरै पछि मात्र बुझेँ । अमेरिका आएपछि मलाई दृष्टि प्राप्त भयो । हार्वर्डमा पनि पढ्न पाएँ । यसबीचमा मैले कति संघर्ष गर्नुप-यो, ती घटनाबारे अघिल्ला पत्रमा लेखिसकेकी छु । त्यो पढ्नू, तिमीहरूलाई जीवनमा अघि बढ्ने हौसला मिल्नेछ । 

मसँग उत्तर छैन कि म तिमीहरूलाई किन छाडेर जाँदै छु । यो असह्य पीडाको कुरा हो । तर, जीवनको एक अनुभव पनि हो । दुःख आउनु, रुनु कराउनु, एक्लो हुनु, कसैको साथ नपाउनु, यी सबै अनुभवका कुरा रहेछन् । यिनै कुराले मान्छेलाई मान्छे हुनुको बोध गराउने रहेछ । अझ दह्रो बनाउने रहेछ । यिनै कुराबाट गुजिँ्रदै गएपछि जीवनका रंगीन पाटा पनि खुल्दै जाने रहेछन् । 

जीवन भोग्दै जाँदा तिमीहरूलाई लाग्न थाल्नेछ, सबै कुरा अकाट्य रहेछ, टार्नैै नसकिने । तर, आउँछन्, जान्छन् । चाहे त्यो दुःख होस् वा सुख । सबै क्षणिक अनुभूति रहेछ । तिमीहरूले पनि पछि थाहा पाउनेछौ, दुःख नभई सुखको महत्व हुँदैन । पीडा नभई राहत मिल्दैन । कठोरताले नै सान्त्वनाको महत्व  झल्काउँछ । डर नभई साहस आउँदैन । अन्धकार नभई आशाको किरण देखिँदैन । अभाव नभई कसैप्रति धन्य हुन जानिँदैन । जिन्दगी यही रहेछ । जिन्दगीको रीत यस्तै रहेछ । 

म दृष्टिबाट वञ्चित थिएँ । तर, अहिलेसम्म मेरो त्यही शारीरिक अपांगता नै शक्ति बनेको छ । दृष्टिविहीनताले महत्वाकांक्षी  बनायो । मलाई प्रेरणाको स्रोत खोज्न सिकायो । स्मार्ट बन्न सिकायो । शारीरिक अपांगताकै कारण लजाएर बस्न दिएन । बरु सबैप्रति सहयोगी बन्न सिकायो । मेरा आफ्नै सीमितताको आभास दिलायो । मेरो क्षमता र लचकताबारे सबै बोध गरायो । मलाई आफूप्रति इमानदार हुन सिकायो, र अरूप्रति इमानदार हुनुपर्ने पाठ पढायो । 

तिमीहरूले यो थाहा पाइसकेका छौ– मलाई क्यान्सर भएको छ । अब धेरै दिन बाँच्दिनँ । 
मैले तिमीहरूलाई चाहिने सबै कुराको सूची बनाएर छाडेकी छु । तिमीहरूको दाँतको चिकित्सक को हुनुहुनेछ, तिमीहरूको विद्यालयको शुल्क कहिले तिर्ने हो, भ्वाइलिन भाडाको करार सम्झौता कहिले नवीकरण गर्ने र त्यसको धुन कसरी चिन्ने– यी सबै छन् सूचीमा ।
केही दिनपछि म रहनेछैन । मलाई थाहा छ, मलाई तिमीहरू ‘मिस’ गर्नेछौ । 
 

अब तिमीहरू पनि आमाबाट वञ्चित हुनेछौ । कास मैले तिमीहरूको पीडा कम गर्न सक्ने भए । तर, म तिमीहरूकी आमा पनि हुँ । म चाहन्छु, तिमीहरूले जुन पीडाको अनुभूति गर्नेछौ, त्यसलाई अँगाल्न जान्नुपर्छ । त्यही पीडाबीच बाँच्न सिक्नुपर्छ । पीडाकै कारणबाट तिमीहरू दरिला मान्छे बन्न सिक । अगाडि बढ । 

म चाहन्छु, पीडाबाटै माथि उठ्न सिक । रमाउन सिक । जीवन सुन्दर छ, त्यो महसुस गर्न सिक । मेरा लागि भए पनि तिमीहरू यस्तो जिन्दगी बाँच कि जुन विशेष प्रकारको होस् । तिमीहरू मलाई वाचा गर कि तिमीहरू यो कुरूप वियोगान्तलाई सहजै स्विकार्नेछौ । यसलाई स्रोतका रूपमा लिँदै भविष्यलाई सुन्दर, मायालु, साहसिलो र बुद्धमान् बनाउनेछौ । हामी मानव भएकैले सबै किसिमको भावनाको अनुभव गर्न पाएका हाैँ । जटिल समस्या, तिनबाट उत्पन्न हुने भावनाले नै हाम्रो हृदयलाई विशाल बनाउन पाएका छाैँ । हरेक परिस्थितिको सामना गर्दै समयअनुसार परिवर्तन गर्न सकेका छौँ । पशुले त हामीजस्तो कहाँ महसुस गर्न सक्छ र ?

छोरीहरू ! मान्छेको मूल्यको निर्धारण ऊ कति वर्ष बाँच्यो भनेर हुने होइन । उसले जीवनबाट के सिक्यो र त्यसलाई कसरी अनुशरण ग-यो, ती तितामिठा अनुभवलाई कसरी सकारात्मक ढंगबाट जीवनमा उपयोग ग-यो भनेर हुने हो । त्यसैले जीवन अर्थपूर्ण तरिकाले बाँच । रमाइलोसँग बाँच । पूर्ण भएर बाँच । भगवान्सँग अनुगृहीत भएर बाँच । साहसी भएर बाँच । बुद्धिमत्तापूर्ण ढंगले बाँच । सिंगो जीवन बाँच । पलपलका लागि बाँच । सबैका लागि बाँच । म तिमीहरूलाई धेरै माया गर्छु । सधैँका लागि । अहिले पनि जहिल्यै पनि । अनन्तकालसम्म । आकाशबाट पनि । समय बनेर नाप्दै, हेर्दै । म सधैँ तिमीहरूकै साथमा छु । यो कुरा कहिल्यै नभुल्नू कि तिमीहरूकी आमा तिमीहरूभित्रै छ, बाहिर खोजेर, नभेट्दा कहिल्यै दुःखी नहुनु है ! तिमीहरूकी आमा 

पुनश्चः गएको अगस्टमा हिन्दी सिनेमाका महानायक अमिताभ बच्चनले आमाका बारे लेखेको एक ट्विटले उनका विश्वभरका प्रशंसकलाई भावुक बनायो । उनले आफ्नी आमाको जन्म दिनको अवसरमा लेखेका थिए– ‘अगस्त १२, आमाको जन्म दिन । ... जब तिमी असफल हुन्छौ, उनी सन्त्वना दिन्छिन्, आशा जगाउँछिन् । ...जब तिमी सफल हुन्छौ, उनी रुन्छिन् । ... आमाको जीवनको अन्तिम क्षणसम्म उनले यो जान्न खोजिरहिन् कि मैले खाएँ कि खाइनँ । ... त्यतिखेर मेरा पनि नाति–नातिना भइसकेका थिए, तर पनि जब बाहिर निस्कन्थेँ, उनी भन्न भुल्दिनथिन् कि ढिलो नगर है ! ... उनी आमा हुन् । ...सन्सारकै सबैभन्दा सुन्दर आमा । ...’

(सायद आमा यस्तै हुन्छन् । यो लेख पनि
मेरी आमा, जो अहिले मेरा दुई छोराछोरी छन्, र
पनि मलाई ती साना नानीबाबुभन्दा सानो व्यवहार गर्नुहुन्छ, मा समर्पित ।)
 अनुवाद : सुरेश निरौला

प्रतिकृया दिनुहोस