
शुक्रबार २५६७औँ बुद्धजयन्ती देशभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ । गौतमबुद्ध जन्मिएको दिनलाई बुद्धजयन्तीका रूपमा मनाउन थालिएको हो । बुद्धजयन्तीको अवसरमा बौद्ध तीर्थस्थलमा दर्शनार्थीको भिड लाग्यो । देशका विभिन्न गुम्बाहरूमा, काठमाडौंको स्वयम्भू, बौद्ध, कपिलवस्तुको तिलौराकोटस्थित बुद्ध जन्मिएको स्थानमा बौद्ध अनुयायीको बिहानैदेखि घुइँचो लागेको थियो ।
विश्व सम्पदाको सूचीमा सूचिकृत स्वयम्भू, बौद्ध स्तुपामा शुक्रबार बौद्ध धर्मावलम्बीहरूको बाक्लो भिड थियो । उनीहरूले दीप प्रज्ज्वलन गरी बुद्धजयन्ती बनाए । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । यस दिन सरकारी बिदासमेत दिइन्छ । बौद्ध धर्मावलम्बीहरूले यस दिन गौतमबुद्धको नाममा पूजा–आराधना गरी विश्वशान्तिको कामना गर्छन् ।
बुद्धले अहिंसा र शान्तिको पक्षमा आफ्ना जीवन दर्शनका माध्यमद्वारा समाजमा ज्ञानका अजस्र धारा प्रवाहित गरिरहे । कालान्तरमा बुद्धका कैयौँ सम्प्रदायको विकास भयो । विभिन्न सम्प्रदायमा बाँडिए पनि यस दिन सबै सम्प्रदायले बुद्धजयन्ती मनाउने गर्दछन् ।