• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० बैशाख ३० शनिबार ०८:५८:००
यात्रा

गन्तव्य :अपी बेसक्याम्प

२०८० बैशाख ३० शनिबार ०८:५८:००

अपी बेसक्याम्प (दार्चुला) । यो पर्वतारोहणको सिजन हो । देशभरिका विभिन्न हिमाल चढ्ने, बेसक्याम्पसम्म घुमफिर गर्न चाहनेहरू उच्च हावापानीको स्वाद लिन हिमालछेउछाउ पुगेका छन् । सुदूरपश्चिमको सबैभन्दा उच्च हिमशृंखला अपी नाम्पा दार्चुलाको अपी हिमाल गाउँपालिकामा पर्छ ।

 

स्वदेशी तथा विदेशी पर्यटकहरू सिजनमा सगरमाथा बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्पजस्ता चलेका ट्रेकिङ रुटहरूमा मात्र ओइरिने क्रम चल्छ । यसैबीच अपी हिमाल गाउँपालिकाले अपी बेसक्याम्पससम्म ट्रेकिङ गर्न चाहनेहरूका लागि निःशुल्क खाने–बस्ने व्यवस्थासहित अपी बेसक्याम्पसम्म घुमाउने घोषणा गर्‍यो । वैशाख १५ देखि २२ सम्म ‘अपी बेसक्याम्प भ्रमण सप्ताह’ मनाउन करिब दुई सय पर्यटक अपी हिमालको आधारशिविर पुगे । मौसम प्रतिकूल भए पनि उनीहरूले तीन हजार नौ सय मिटरको आधारशिविर, चार हजार एक सय मिटरको चमेलिया नदीको मुहान र चार हजार तीन सय उचाइमा रहेको कालीढुंगा तालछेउछाउ रमाउने मौकाको भरपुर सदुपयोग गरे । 

अपी बेसक्याम्पमा फोटो खिचाउँदै आन्तरिक पर्यटक

कसरी पुग्ने अपी ?
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीबाट सात घन्टाको मोटर बाटो पार गरेर दार्चुलाको गोकुलेश्वर पुगिन्छ । गोकुलेश्वर दार्चुला सदरमुकामबाट ७० किलोमिटर वरै पर्छ । यहाँबाट चमेलिया नदीको किनारैकिनार १८ किलोमिटर पक्की बाटो पार गरेपछि चमेलिया जलविद्युत् आयोजना र त्यसको ड्यामसाइट पुगिन्छ । त्यसपछि कच्ची सडकमा दुई घन्टा हिँडेपछि मकरीगाड पुगिन्छ । यहीँबाट सुरु हुन्छ अपी हिमाल गाउँपालिका र अपी हिमाल बेसक्याम्पसम्मको पदयात्रा ।

अपी बेसक्याम्पतर्फ गइरहेका आन्तरिक पर्यटक

मकरीगाडबाट पालिकाको केन्द्र खण्डेश्वरी, घुसा, सिती, खायाकोट, सिमार हुँदै धौलेओडार पुग्न सकिन्छ । पहिलो दिन खण्डेश्वरीमा बसेर दोस्रो दिन सिती र तेस्रो दिन धौलेओडार पुगिन्छ भने चौथो दिन दुई घन्टाको यात्रापछि सजिलै तीन हजार नौ सय मिटर उचाइमा रहेको अपी बेसक्याम्प पुग्न सकिन्छ । अपी बेसक्याम्पआसपासमा चमेलिया नदीको मुहानमा स्नान, कालीढुंगा ताल, अपी हिमालकै दायाँछेउतर्फ रहेको नाम्पा हिमाललगायत विभिन्न मनमोहक हिमशृंखलाको अवलोकन गर्न सकिने भ्रमण सप्ताहका संयोजक बिशन बुढाथोकी बताउँछन् । 


मल्लेसी संस्कृति नियाल्ने मौका
अपी हिमाल गाउँपालिका उच्च हिमाली भूभागमा पर्छ । यहाँको सांस्कृतिक पाटो, रहनसहन तथा पाहुनालाई स्वागत गर्ने शैलीले जोकसैलाई पनि लोभ्याउँछ । यहाँ समूहमा आउने पाहुनाका लागि साँझ मल्लेसी सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ । यहाँको संस्कृति सुदूरपश्चिमका अन्य ठाउँभन्दा फरक रहेको स्थानीय बासिन्दा सुनिता ठेकरे बताउँछिन् । उनका अनुसार भाडी खेल (चैत, ढुस्को) फाग, सगुन, चाहाई नाच, छलिया आदि मल्लेसी संस्कृतिअन्तर्गत पर्दछन् ।

धनगढीबाट सात घन्टाको मोटर बाटो पार गरेर दार्चुलाको गोकुलेश्वर पुगिन्छ । यहाँबाट चमेलिया नदीको किनारैकिनार १८ किलोमिटर पक्की बाटो पार गरेपछि चमेलिया जलविद्युत् आयोजनाको ड्यामसाइट पुगिन्छ । त्यसपछि कच्ची सडकमा दुई घन्टा हिँडेपछि मकरीगाड पुगिन्छ । यहीँबाट सुरु हुन्छ अपी हिमाल बेसक्याम्पसम्मको पदयात्रा ।

 

सुदूरपश्चिमको प्रसिद्ध देउडाको पनि यहाँ फरक लय भेटिन्छ । खण्डेश्वरीका महिलाहरूको परम्परागत पोसाक आकर्षक मात्रै होइन, उनीहरूको स्वागत गर्ने शैली पनि लोभ्याउने खालको छ । यो क्षेत्रमा पुरुषभन्दा महिलाहरू नै बढी सक्रिय र उनीहरूले नै व्यवस्थापन सम्हालिरहेका देखिन्छन् । अपी बेसक्याम्प जाने बाटोमा पर्ने खण्डेश्वरी, घुसा, सितीलगायतका ठाउँमा ‘होमस्टे’को सुविधा छ । ‘होमस्टे’को मापदण्ड नपुगे पनि बेसक्याम्प जाने पाहुनाहरूलाई यी गाउँहरूमा भव्य स्वागतका साथै पारिवारिक वातावरणमा बस्न मिल्ने सुविधा उपलब्ध छ । यहाँको स्थानीय दालभातबाहेक फापरको रोटी, मार्सीको रोटी, मकैका परिकार, राजमाको दाल तथा माणाको स्वाद सम्झन लायक छन् ।

स्थानीय पोसाकमा सजिएका महिला पदयात्रीसँग फोटो खिचाउँदै


सजिलो बाटो, थपिँदै पूर्वाधार
अपी हिमाल (७१३२ मिटर)को आधारशिविर पुग्ने दुईवटा रुट छन् । पहिलो दार्चुला सदरमुकाम खलंगाबाट सुनसेरा हुँदै व्यास गाउँपालिकाको छाङरु पुग्नुपर्छ । कालापानीनजिकको बस्ती छाङरुबाट उत्तर–पश्चिमतर्फको बेसक्याम्प पुगिन्छ । यो रुटमा सीमापारि भारतको बाटो प्रयोग गर्न भारतीय प्रशासनको पास चाहिन्छ । पास उपलब्ध भएमा ६ घन्टा गाडीको यात्रा गरेर छाङरु पुगिन्छ । तर, भारतीय प्रशासनले पास दिएन भने चारदेखि पाँच दिनको पैदलयात्रा गर्नुपर्ने हुन्छ । छाङरुबाट एक दिनमा चार हजार मिटर उचाइमा रहेको अपी हिमालको बेसक्याम्प पुगिन्छ । 


दोस्रो बैतडीबाट दार्चुला टेक्नेबित्तिकै आइपुग्ने गोकुलेश्वर बजारबाट चमेलिया नदीको किनारैकिनार सुरु हुन्छ, अपी हिमाल गाउँपालिकाको बाटो । अपी हिमालको दक्षिण–पश्चिमतर्फको बेसक्याम्प पुग्ने यो छोटो मात्र होइन सजिलो बाटो पनि हो । मकरीगाडबाट अपी हिमाल गाउँपालिका टेक्दा सुरुमा दुई घन्टाजतिको उकालो र त्यसपछि थप दुई घन्टा घुसाको उकालोबाहेक अन्य ठाउँको बाटोमा धेरै उतारचढाव छैनन् । चमेलिया नदीको किनारैकिनार पदयात्रीका लागि बनाइएको पैदल बाटो राम्रो छ ।

अपी बेसक्याम्पमा रमाउँदै पर्यटक

बाटोमा पर्यटन बोर्ड, प्रदेश सरकार र गाउँपालिकाले कतै काठबाट र कतै ढुंगा प्रयोग गरेर विश्रामस्थल बनाइदिएको छ । यो बाटोमा पर्ने खायाकोट अन्तिम गाउँ हो । त्यसपछि छिरछिरे र सिमारमा पर्यटन बोर्डले बनाएको विश्रामगृहमा २० जनासम्म सुत्न मिल्छ । त्यस्तै, धौले ओडारमा पालिकाले बनाएको विश्रामगृहमा ३० जनासम्म र प्रदेश सरकारले निर्माण गरिरहेको अर्को विश्रामगृहमा थप ३० जना बस्न सकिने गाउँपालिका अध्यक्ष ठेकरे बताउँछन् । 


यार्चागुम्बाको सिजन
वैशाख दोस्रो सातादेखि जेठ तेस्रो सातासम्म यार्चागुम्बा टिप्ने सिजन हो । अपी बेसक्याम्पसम्मको पदयात्राका क्रममा बाटोमा यार्चा टिप्न जानेहरू भेटिन्छन् । खायाकोट गाउँभन्दा माथि पुगेपछि दुई हजार पाँच सय मिटरको उचाइमा यार्चा संकलन गरिरहेको महिला, केटाकेटी देखापर्छन् । तल्लो हिमाली क्षेत्रमा पाइने कमसल खालको यार्चा संकलक बाटोछेउछाउ यार्चा खोजिरहेका हुन्छन् ।

अपी बेसक्याम्पमा फोटो खिच्दै डिलासैनी गाउँपालिका अध्यक्ष

उनीहरूसँगै पदयात्रीहरूले पनि यार्चा टिप्ने अनुभव लिन सक्छन् । यहाँ पाइने यार्चा उच्च हिमाली क्षेत्रमा पाइने सुनौलो रंगको यार्चाभन्दा केही सानो र कमसल हुन्छ । त्यस्तै, अपी हिमालको आधारशिविरवरपरका क्षेत्रमा पनि सयौँ यार्चा संकलकहरू भेटिन्छन् । तीन हजार ६ सय मिटर उचाइको धौले ओडारबाट सुरु हुने उनीहरूका त्रिपालले ढाकिएका छाप्राहरू चार हजार दुई सय मिटर उचाईसम्म फैलिएका हुन्छन् । अपीको बेसक्याम्पमा निकै ठूलो मैदान छ । यार्चा संकलनमा हिँडेका युवाहरूले यहाँ भलिबल, फुटबल, क्रिकेटजस्ता खेलसमेत खेल्ने गर्छन् ।