• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
राजेन्द्र रिमाल
२०७६ बैशाख २८ शनिबार ०९:४१:००
फिल्म

दर्शकको शोषण

फिल्म समीक्षा

२०७६ बैशाख २८ शनिबार ०९:४१:००
राजेन्द्र रिमाल

धेरै खाए मह पनि तीतो हुन्छ भन्ने त उखानै छ । भर्खरै रिलिज भएको मह सञ्चारको नयाँ फिल्म ‘दाल भात तरकारी’ हेरेपछि मह पनि तीतो लाग्छ । नेपाली प्रहसनको दुनियाँमा सफल नाम हो ‘मह’ (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडी । यो जोडीले टेलिभिजनमा दर्शकको राम्रो माया पायो । तर, फिल्म भने एकपछि अर्को खराब दिँदै आएको छ । मह सञ्चारलाई वेलैमा खराब फिल्म नभनिदिँदा पचाउनै नसक्ने तीतो खाना दर्शकलाई पस्किरहेका छन् । उतिवेलै तीतोलाई तीतो भनिदिनुपथ्र्यो । त्यतिवेलै तीतो भनेको भए आज दर्शकलाई यतिबिघ्न अपमान गर्ने दुस्साहस मह सञ्चारले गर्ने थिएन । 

यो समूहको अघिल्ला फिल्ममा पनि आलोचना हुँदै आएको हो । तर, मह सञ्चारले आलोचनाबाट सिकेन, बरु खराब फिल्म बनाउने कामलाई निरन्तरता दिइरह्यो । ‘दाल भात तरकारी’मा पनि त्यही निरन्तरता दोहोरियो । ‘दाल भात तरकारी’ले दर्शकको अपमान नै गरेको छ । 

‘दाल भात तरकारी’ जसरी पनि अमेरिका जाने लालसा भएको दम्पतीको कथा हो । प्रहसनजस्तै प्रस्तुत भएको फिल्मको लगभग दुईतिहाइ फिल्म त्यही सेटमा सकिन्छ । नेपाली फिल्मको समस्या नै कथा हो । ‘दाल भात तरकारी’ मा कुनै कथा नै छैन । विषय प्रस्तुतिका लागि जथाभावी दृश्य पर्दामा नाच्न थाल्छन् । प्रस्तुतिमा चलचित्रात्मक अवयव नै छैनन् । 

फिल्म यतिबिघ्न खेलाँची गर्ने विषय हो र ? फिल्म अघि बढाउन जुन हर्कतको प्रयोग गराइएको छ, त्यसको कुनै ‘लजिक’ नै छैन । निर्माण पक्षले फिल्मलाई हास्य फिल्म भनेको छ । तर, हास्य प्रस्तुतिको नाममा मनलाग्दो गर्ने छुट कसैलाई छैन । फिल्म ‘दाल भात तरकारी’मा पनि हरिवंश आचार्यको ‘अति अभिनय’ देख्न सकिन्छ । कतिपय फिल्म समीक्षक हरिवंशलाई नाटकबाट आएको कलाकार भन्छन् । तर, उनी नाटकबाट होइन, प्रहसनबाट आएका कलाकार हुन् । ‘दाल भात तरकारी’ प्रहसनभन्दा निम्नस्तरको फिल्म बनेको छ । 

फिल्ममा कलाकारहरूको भरमार भिड छ । मानौँ कलाकारको भिडले फिल्म चल्छ । लेखकले चरित्र र उनीहरूको चारित्रीकरणमा केही सोचेकै छैनन् । हरिवंशले फिल्मभरि जबर्जस्ती हँसाउन खोजिरहन्छन् । तर दर्शकलाई हाँस हैन, रिस उठिरहन्छ । बारम्बार दोहोरिने उनको चरित्रले उनमा सिर्जनशीलता सकिएको भन्ने महसुस गराउँछ । उही चरित्र दोहोरिइरहनु दर्शकको शोषण पनि हो ।

लामो समय मुम्बईमा बसेर फर्किएकी नायिका निरुता सिंहलाई फिल्मभरि चिच्याउन लगाइएको छ । हरिवंशकी पत्नी बनाइएकी उनीहरूको ‘केमेस्ट्री’ कहीँकतै मिलेको छैन । पर्दामा उनलाई देख्दा र सुन्दा झर्को मात्रै लागिरहन्छ । लामो समयपछि नेपाली फिल्मी दुनियाँमा फर्किएकी निरुताले यस्ता फिल्म नगर्नु नै उनका लागि हितकर हुन सक्छ । 

फिल्म संवाद प्रधान छ । फिल्मको दृश्य भाषा अत्यन्तै कमजोर छ । फिल्मले दृश्यात्मक भाषा निर्माणमा कुनै प्रयास नै गरेको छैन । फिल्मको पूर्वाद्र्धको एकतिहाइ समय लगातार एउटै सेटमा तयार पारिएको छ, जुन झर्कोलाग्दो छ । कलाकारले संवाद मात्रैले सम्बन्ध स्थापित गर्ने प्रयास गरेका छन् । तर, कलाकारले जति बोल्दा पनि सम्बन्धहरूमा विश्वास नै पैदा हुँदैन । 

फिल्ममा पुष्प खड्का र आँचल शर्मा पनि छन् भन्ने सम्झनुपर्छ । तर, उनीहरूको कुनै उल्लेख्य स्थान छैन । यो फिल्म हेर्दा पुष्प खड्का ‘डेन्जर जोन’मा छन् । सम्भावना बोकेकी आँचल शर्मा पनि ‘डेन्जर जोन’मा छिन् । उनीहरूले चर्चामा आउने लालसा होइन, अभिनय र राम्रो चलचित्र छनोट गर्ने क्षमता बढाउँदा राम्रो हुने देखिन्छ । 

कलाकार हरिवंश आचार्य फिल्मभरि जबर्जस्ती हँसाउन खोजिरहन्छन् । तर, दर्शकलाई रिस उठिरहन्छ । बारम्बार दोहोरिने उनको चरित्रले उनमा सिर्जनशीलता सकिएको महसुस गराउँछ । उही चरित्र दोहोरिइरहनु दर्शकको शोषण हो ।

फिल्ममा वसुन्धरा भुसाल, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, रवीन तामाङ, शिशिर वाङ्देल, वर्षा राउत, विल्सनविक्रम राई, जयनन्द लामा, यमन श्रेष्ठ, मोहितवंश आचार्य आदि कलाकारको ठेलमठेल भिड छ । तर, उनीहरूलाई कथाले मागेकै छैन । फिल्ममा ती कलाकार स्थापित नहुँदै फिल्म सकिन्छ । 

जीवनमा दुःख छ, खुसी छ, लोभ छ, माया छ, घृणा पनि छ । तर, यी सबैलाई अत्यन्तै घटिया ढंगबाट फिल्ममा प्रस्तुत गरिएको छ । राम्रा सामाजिक मान्यता पनि छन् समाजमा । जसलाई हास्य भनिएका फिल्महरूले चाहिँ मान्नु पर्दैन र ? हो, मान्यताहरूलाई भत्काउन पनि पाइन्छ, भत्काउन सकिन्छ पनि । तर, त्यसका पनि निश्चित तरिका छन्, अनुशासन छन् । 
फिल्म चल्नलाई फिल्म नै राम्रो हुनुपर्छ । फिल्म राम्रो बनेपछि त्यसका लागि महिनौँ दिनदेखि हलहलमा गएर हात जोडेर ‘हाम्रो फिल्म हेरिदिनोस्’ भनी अनुनय–विनय गरिरहनु नै पर्दैन ।

नेपाली साह्रै लहडी छन् । एउटा कुनै कुरा सफल भए सबै त्यही सफलताका पछि झुत्तिने । नेपाली बजारमा ‘छक्का पञ्जा’ सफल भएपछि भएभरका निर्माता निर्देशकहरू त्यही सफलताको लहडमा फिल्म बनाइरहेका छन् । तर, त्यो सफल हुनाका पछाडि स्वयं त्यस फिल्मको कथा, प्रस्तुतीकरण, कलाकार मात्र हैन, त्यो वेलाको परिस्थिति आदि सबै तत्वहरुले  काम गरिरहेको हुन्छ । जुन परिस्थिति सधँै उही रहिरहेको हुँदैन । अनि ती कारणको समुचित अध्ययन नै नगरी गरिने यस्ता निर्माण बारम्बार असफल हुनु नै थियो, भइरहेको पनि छ । 

कमेडी बडो कठिन काम हो । रुवाउनुभन्दा मानिसलाई हँसाउनु कठिन छ । कमेडीका पनि आफ्नै  सौन्दर्य सिद्धान्त हुन्छ, मान्यता हुन्छन् । त्यो मान्यता नबुभ्mदा ‘दाल भात तरकारी’ जस्तो फिल्म बन्छ । केही समयअघि राजधानीमा सम्पन्न चिनियाँ चलचित्र महोत्सवमा देखाइएको एउटा चलचित्र ‘अमेरिकन ड्रिम्स इन चाइना’ (जसलाई ‘पार्टनर्स’ नामले पनि रिलिज गरिएको थियो) ले पनि चिनियाँमा भएको अमेरिका जाने हुटहुटीलाई नै देखाएको थियो । त्यसमा हास्य पनि थियो, व्यंग्य पनि थियो, गम्भीर सवाल पनि थिए, मन र मस्तिष्कलाई प्रभाव पार्ने सन्देश पनि थिए ।

फिल्ममा सबै कुरा थिए, थिएन भने केवल भद्दा हास्य । हाम्रै जस्तो विषयमा बनिएको सो चलचित्रले १० करोड डलरभन्दा माथिको व्यवसाय गरेको थियो । यता हामीकहाँ भने निर्माता पनि रहेका हरिवंश आचार्य भन्दै थिए, ‘हामीमाथि व्यावसायिक दबाब धेरै छ ।’ हामीले राम्रो फिल्मको अपेक्षा गर्ने हो र भविष्यमा राम्रो फिल्म हेर्ने अभिलाषा राख्ने हो भने अब नराम्रा फिल्मलाई निर्मम सजाय गर्नैपर्छ । अनि मात्र भोलिका दिनमा राम्रो फिल्म हेर्न पाइन्छ । अब यो दायित्व पनि दर्शककै काँधमा आइपुगेको छ ।