• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
२०८० कार्तिक ३० बिहीबार ०६:१५:००
अनुवाद

विश्वभर चिकित्सामा कहिले नसकिने बहस : मानिसलाई कुन वेला मृत मान्ने ?

२०८० कार्तिक ३० बिहीबार ०६:१५:००

 

‘तपाईंहरूले किन कुरा नबुझेको ! उनी मरिसकिन् । हो मरिसकिन् । फेरी भन्छु उनी मरिसकिन् ।’ यसरी ओकल्यान्डस्थित बाल अस्पतालका चिफ मेडिकल अफिसर डेभिड डुरान्डले जाँही म्याकम्याथको परिवारलाई ब्रेन डेथको मानक मेडिकल परीक्षणले उनीहरूकी किशोरी छोरी अब जीवित नभएको देखाएको विश्वास दिलाउने प्रयास गरे ।


यो परिवार उनको (ब्रेन डेथ मृत्यु हो भन्ने) दृष्टिकोणको विरोधमा दृढताका साथ खडा भयो । अस्पतालले अन्ततः मरिसकिन् भनिएको उनीहरूकी छोरीलाई न्युजर्सी लैजान अनुमति दियो । न्युजर्सी एक मात्र यस्तो अमेरिकी राज्य थियो, जहाँका अस्पतालले ब्रेन डेथ भएकाहरूलाई परिवारका सदस्यहरूले (धार्मिक मान्यताका कारण) मृत्यु नस्विकार्दासम्म अस्पतालमा रहन दिनुपथ्र्याे । त्यसको चार वर्षभन्दा बढी समय उनी (उनको शरीर) मुढोसरह तर एक जीवित मानव शरीरका रूपमा अस्पतालमा रहिन्, संक्रमणसँग लड्दै, मुटुको धड्कन बढाउँदाका शारीरिक आघातमा प्रतिक्रिया जनाउँदै र आफ्नो पहिलो महिनावारी भोग्दै ।


जाँहीको केसले मृत्यु वा मर्नु केलाई भन्नेमा चासो र बहसलाई पुनर्जीवित गर्‍यो । केही वर्षअघि ब्रेन डेथ भनेको मृत्यु हो भन्ने कुरामा आम सहमति थियो । पहिले यसमा विवाद नरहे पनि अब त्यो अवस्था रहेन ।


मानिसको मुटुको धड्कन अपरिवर्तनीय रूपमा बन्द हुनुले सन् १९६० को दशकसम्म मृत्युलाई जनाउँथ्यो । तर, मस्तिष्कमा गम्भीर क्षति भएका मानिसलाई जीवित राख्न सक्ने भेन्टिलेटरको आविष्कार र अंग प्रत्यारोपणको सफलताले हार्वर्ड कमिटी ‘ब्रेन डेथ’लाई नै कुनै व्यक्तिको मृत्यु निर्धारण गर्ने नयाँ मापदण्डको रूपमा सिफारिस गर्न अभिप्रेरित भयो ।सन् १९८० मा आइपुग्दा यो निर्णयले युनिफर्म ल कमिसनलाई मृत्युको नयाँ युनिफर्म डिटर्मिनेसन अफ डेथको प्रस्ताव ल्याउन पे्ररित गर्‍यो । त्यसयता, अमेरिका ५० वटै राज्यमा ‘ब्रेन डेथ’लाई डेथ(मुत्यु) मानिन्छ ।

सन् १९६० को दशकसम्म मानिसको मुटुको धड्कन अपरिवर्तनीय रूपमा बन्द हुनुले मानिसको मृत्युलाई संकेत गथ्र्याे, तर सन् १९८० सम्ममा आइपुग्दा मृत्युको परिभाषालाई ‘ब्रेन डेथ’मा परिमार्जन गरियो । तर, यो विषयमा कहिल्यै आमसहमति भएन, विवादितै रह्यो । 
 


अचम्मको कुरा के भने मानिस कहिले मरेको हुन्छ वा केलाई मृत्यु भएको मान्ने भन्ने हाम्रो बुझाइमा यस्ता महत्वपूर्ण परिवर्तन गर्दा सार्वजनिक छलफल वा गहन बहस भने गरिँदै गरिएन भन्दा पनि हुन्छ । अनुसन्धानका अभिलेखले देखाएअनुसार हार्वर्ड कमिटीले प्रत्यारोपणका लागि थप अंग प्राप्त हुनेछन् भनेर मृत्युको परिभाषा परिवर्तनको आवश्यकतामा छलफल गरेको प्रस्टै देखाउँछन् । तर, यो कुरा निकै कमलाई मात्र थाहा थियो ।


ब्रेन डेथ वस्तुतः एउटा निर्विवाद अवधारणा बन्यो । यसर्थ, म्याकम्याथ परिवारले जाँहीको मुटुको धड्कन चलिरहेको र शरीर न्यानो रहकोलाई नै उनी जीवित रहेको ठान्दै उनको बे्रन डेथलाई मृत्यु मान्न अस्वीकार गरेकोमा डुरान्ड तिल्मिलाएका थिए । तर, त्यो घटनाले एउटी ‘मृत’ महिलाले जिउँदो बच्चा जन्माएकोलगायत थुप्रै घटनाले जस्तै मृत्युको यो आमसहमतिलाई भत्काउन महत्वपूर्ण भूमिका खेल्यो । बे्रन डेथ भएर मृत्यु भएको भनिएकी उक्त महिलाले बच्चा जन्माएको समाचारको शीर्षक यस्तो थियो– ‘ब्रेन–डेड वुमन गिभ्स बर्थ, देन डाइज ।’


यस्तो कभरेजलाई वैज्ञानिक तथ्यहरूको लोकप्रिय गलतफहमीको संकेतका रूपमा खारेज गर्न सजिलै सकिए पनि सन् १९८० को युनिफर्म डिटर्मिनेसन अफ डेथ (मृत्यु भएको कुरा निर्धारण हुन) हुन ‘सम्पूर्ण मस्तिष्कको सबै प्रकार्यको अपरिवर्तनीय समाप्ति’ आवश्यक पर्ने भए पनि ब्रेन डेथको निर्धारण गर्न गरिने मानक परीक्षणहरूले मस्तिष्कका सबै प्रकार्यको समाप्तिको परीक्षण गर्दैन भनिएको प्रसिद्ध विज्ञान जर्नल नेचरको सम्पादकीयलाई अस्वीकार गर्न त्यति सजिलो थिएन । ब्रेन डेथ घोषणा गरिएका केही व्यक्तिमा पिट्युटरी ग्रन्थी अथवा हाइपोथेलमसले काम गरिरहेका हुन्छन् (जसकारण जाँही म्याकम्याथजस्ता व्यक्ति मृत घोषित भएपछि पनि रजस्वलाको अवस्थामा पुग्न सक्छन्) । 


यी कुरालाई सम्बोधन गर्न चिकित्सक र प्रत्यारोपण समूहहरूको दबाबमा, युनिफर्म ल कमिसनलाई १९८० को परिभाषा परिवर्तनमा विचार गर्न आग्रह गरियो । चिकित्सकहरूले सम्पूर्ण मस्तिष्क मृत्यु यकिन गर्न परीक्षण गर्दैनन् तर ‘स्थायी कोमा, श्वासप्रश्वासका स्वस्फूर्त कार्यहरूको स्थायी समाप्ति र ब्रेनस्टेम रिफ्लेक्समा स्थायी हानि’लाई मात्र हेर्छन् भन्ने तथ्यलाई मनन गर्न भनियो । आयोगको बैठक गत जुलाईमा होनोलुलुमा बसेको थियो । तर, त्यसको छलफल ब्रेन डेथका बारेमा सहमतिनजिक पुग्न सकेन । 


यो परिभाषालाई कसरी परिमार्जन गर्ने भन्ने विषयमा छलफल गरिरहेको यस समितिका अध्यक्षले गत सेप्टेम्बरमा सरोकारवाला व्यक्तिलाई ‘हामीले यो प्रयास यहीँ रोक्ने निर्णय गरेका छौँ’ भनेर एउटा इमेल पठाए । ‘अहिले मस्यौदा समितिको कुनै बैठक बस्नेछैन,’ उनको इमेलमा लेखिएको थियो । 

 

यसलाई, कुन परिस्थितिमा एउटा व्यक्तिको जीवन बचाउन अर्काे व्यक्तिको मुटु झिक्ने कार्य न्यायोचित हुन सक्छ ? भन्ने जस्तो गहन रूपले विभाजनकारी र ठूलो नैतिक प्रश्न (जसबारे कुनै आमसहमति हुन कठिन छ) को सामना नगरी हामीले मृत्युको परिभाषालाई पुनरावलोकन गर्ने विषयलाई सम्बोधन गर्न सकिँदैन भन्ने कुराको संकेतका रूपमा लिन सकिन्छ । मानवजीवनको अलंघनीयताबारे हाम्रा अडान निकै फरक–फरक छन् ।

 

हामीमध्येका एक (क्यामोसी) क्याथोलिक मेडिकल स्कुलमा बायोएथिक्सका प्रोफेसर हुन जसले सेमिनरीहरू (रोमन क्याथोलिक चर्चका शिक्षार्थी)लाई नैतिक धर्मशास्त्र पनि सिकाउँछन् । उनी भ्रूण (जन्मिन बाँकी) मानवलाई पनि अन्यसरह जीवनको हक हुने कुरालाई समर्थन गर्छन् र चिकित्सकीय सहयोगमा गरिने हत्या (मेडिकल एसिस्टेड किलिङ)को निषेधलाई समर्थन गर्छन् । अर्का (सिंगर) चाहिँ प्रिन्सटन विश्वविद्यालयमा बायोइथिक्सका प्रोफेसर छन्, जो एक उपयोगितावादी हुन् । उनी गर्भपतनको अधिकार र चिकित्सकीय सहयोगमा मृत्युको समर्थन गर्छन् । साथै आमाबाबुलाई तिनका गम्भीर रूपले अशक्त नवजात शिशुहरूको जीवन समाप्त गर्ने निर्णय लिन अनुमति दिनुपर्ने कुराको वकालत गर्छन् । तथापि हामी यो कुरामा भने सहमत छौँ भने सही तरिकाले हालका मानक परीक्षण गरिसकेपछि ‘ब्रेन डेथ’ घोषित गरिएका धेरै व्यक्तिहरू जीवित होमोसेपियन्सहरू हुन् ।


(ब्रेन डेथ भएका तर) शरीर तातो र मुटुको धड्कन भएका मानिसहरूलाई मृत घोषणा गर्ने कुरा (युनिफर्म डिटरमिनेसन अफ डेथले गरे जसरी) एउटा ठूलो सांस्कृतिक परिवर्तन थियो । यसले जन्मन बाँकी र नवजात मानवका साथै पछिल्लो चरणका डिमेन्सियासँग सम्बन्धित गम्भीर स्नायूगत क्षति भएका वृद्ध मानवहरूको नैतिक एवं कानुनी हैसियतमा ठूलो अर्थ राख्ने कुरालाई स्वीकार गरिएको पनि थियो । 


यी विषयमा आमसहमतिको गहिरो अभाव रहेको तथ्यलाई ध्यानमा राख्दा मानिस कहिले मरेको हुन्छ वा केलाई मृत्यु भन्ने सवालमा बहस गर्ने समय आएको ठानेका छौँ, जुन काम हामीले ५० वर्षपहिले नै गर्नुुपर्ने थियो । यस्तो बहसले मानव शरीरका रूपमा जीवित रहेको तर अपरिवर्तनीय रूपमा चेतनाको क्षमता गुमाएका मानिसहरूको नैतिक एवं कानुनी स्थितिको प्रश्नलाई उपेक्षा गर्नै सक्दैन । 


यही प्रश्नले हामीलाई विभाजित गर्छ । क्यामोसीको विचारमा यस्ता जीवित मानव शरीरले आफ्नो पूर्ण नैतिक हैसियत कायम राख्छन्, जब कि सिंगर जीवनको यस्तो निरन्तरताले उनीहरूलाई कुनै फाइदा पुर्‍याउँदैन, यसर्थ उनीहरूको अंग अन्य मानिसको जीवन बचाउन उपयोग गर्न सकिन्छ भन्ने कुरामा विश्वास गर्छन् । हामी के कुरामा सहमत छौँ भने यी मुद्दा बिरामी, नीति–निर्माता र नैतिकतावादी सबैका लागि समान रूपमा बहसका विषय हुन् ।


(पिटर सिंगर प्रिन्सटन विश्वविद्यालयका बायोटेकका प्राध्यापक हुन् । चाल्र्स क्यामोसी क्रेइगटन युनिभर्सिटी स्कुल अफ मेडिसिनका बायोटेकका प्राध्यापक हुन् । ‘प्रोजेक्ट सिन्डिकेट’बाट नारायण शिवाकोटीको अनुवाद ।)