• वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
हरि अधिकारी काठमाडाैं
२०७६ जेठ ४ शनिबार ०९:१७:००
साहित्य

ओभररेटेड कविका नाममा

सन्दर्भ : भूपी स्मृति

२०७६ जेठ ४ शनिबार ०९:१७:००
हरि अधिकारी काठमाडाैं

आफ्नो सिर्जनात्मक जीवनको उत्कर्षका वेला नेपाली कविताको सर्वाधिक आकर्षक नाम थिए– कवि भूपी शेरचन । विक्रमको २०२० र ३० को दशकमा उनी आमपाठकवर्गबीच अत्यन्त प्रिय त थिए नै समालोचकद्वारा समेत दिनुपर्नेभन्दा बढी महत्व दिइएका, साहित्यिक मूल्यांकन पद्धतिका भाषामा भन्नुपर्दा ‘ओभररेटेड’ कवि थिए ।

सानासाना, चुटुक्क परेका, चुट्किला जस्ता, व्यंग्यको पाइन हालिएका, सरल सहज बोधगम्य बिम्ब प्रयोग गरिएका,  समाजमा फैलिएका विकृति र विसंगतिमाथि कठोर प्रहार गर्ने उनका कविता प्रकाशमा आएका समयमा आधुनिक नेपाली कविताको मुख्य स्वर मात्र होइन, एकप्रकारले मानक नै ठानिएका थिए ।

नेपाली साहित्यका पाठक, अध्येता र समालोचक सबैले त्यतिवेला शेरचनलाई आआफ्ना ठाउँबाट स्वतःस्फुर्त किसिमले नै आधुनिक नेपाली कविताको सर्वाधिक मुखर हस्ताक्षरको मान्यता दिएका थिए । यसो हुनाको मुख्य कारण थियो, त्यस समयमा उनीबाहेकका अरू प्रयोगधर्मी आधुनिक गद्यकविका सिर्जनाहरूको अध्ययन गर्ने झन्झट उठाउँन कोही पनि तयार नहुनु । त्यतिवेला नेपालमा साहित्य अध्ययनको वैज्ञानिक पद्धतिको पनि प्रारम्भ नै हुन सकेको थिएन ।

अहिले पनि देशको राजधानीमा समेत कवि र कवितामाथि नियमित विमर्श हुने ठाउँ बन्न सकेको छैन भने नेपाली साहित्यमा आधुनिक कविता लेखन प्रारम्भ मात्रै भएको त्यस समयमा काव्यिक विमर्शको त्यस्तो प्लेटफर्म उपलब्ध हुने कुरा थिएन । साहित्य समालोचना कलेजतिर पढाउँने अध्यापकको एकाधिकारका विषय थियो । त्यस्ता अध्यापक समालोचकमध्ये अधिकांश प्रयोगधर्मी आधुनिक साहित्य लेखनलाई लगभग अस्पृश्य विषय मान्थे । त्यस्ता रचनालाई छुँदै नछोई पनि उनीहरू साहित्यको पठनपाठन गरिरहन सक्थे र उनीहरूको समालोचना कर्म पनि निर्बाध ढंगले विनाकुनै समस्या चलिरहन सक्थ्यो । 

लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठहरूलाई नै ओल्टाइपल्टाई गरेर नेपाली समालोचक आरामसाथ रोजिरोटी चलाइरहेका थिए । समीक्षकको रूपमा आफ्नो धर्म निर्वाह गर्न ती ठूला साहित्यकारले निर्माण गरेको त्यो दायरा पर्याप्त थियो । अध्यापक समालोचकको एउटा ठूलो पंक्ति त मुक्त छन्दमा लेख्ने गद्यकविहरूलाई कवि नै मान्न तयार थिएन ।

उनीहरूका लागि सबैभन्दा ठूलो काव्य प्रतिभाका रूपमा माधवप्रसाद घिमिरे नेपाली साहित्याकाशमा उदाएका थिए । त्रिभुवन विश्वविद्यालयको नेपाली विभागले घिमिरेको प्रवद्र्धन र महात्म्य प्रसारमा काम सुरु गर्न लागेको समय पनि थियो त्यो । अर्कोतिर राजा महेन्द्र पनि मविवि शाहका नाममा जल्दाबल्दा कवि भएर देखिएका थिए । त्यसले अधिकांश नेपाली समालोचकका लागि राजभक्ति प्रदर्शनको एउटा सुनौलो ठूलो अवसर दिलाएको थियो । 

विक्रमको २०२० को दशकको प्रारम्भको हाराहारी गज्जबको आकर्षक शैली लिएर भूपी शेरचनको अभ्युदय भएपछि भने नेपाली कविताको संसारमा एउटा नौलो चहलपहल देखाप-यो । नेपाली कविताका पाठकले बिल्कुलै नयाँ स्वादका सरल, तर मर्ममा सोझै छुने कविता पढ्ने अवसर पाए भने मूलतः अध्यापनको पेसामा रहेका साहित्य समालोचकका लागि पनि कविताको अध्ययन र विमर्श गर्ने क्रममा कसैगरी महाकवि देवकोटाहरूभन्दा तल आउँनुप-यो भने भूपी शेरचनका नाममा एउटा सजिलो र निरापद विषयवस्तु उपलब्ध हुन थाल्यो ।

त्यस स्थितिमा सबैको ध्यान भूपी शेरचनमा केन्द्रित हुन थाल्नु अस्वाभाविक थिएन । त्यस क्रममा भूपीको असाध्यै धेरै ओभररेट गरियो भने उनको भन्दा पृथक् शैलीमा तर कता हो कता बढी गहन भाव, विशिष्ट बिम्ब विधान र सूक्ष्म अन्तर्दृष्टिका साथ कविताको आराधना गर्ने मोहन कोइराला र उनको समूहमा रहेका कविहरूले रचेका प्रयोगधर्मी कविताहरूलाई चाहिँ पढ्दै नपढी नबुझिने भनेर पन्छाएको पन्छाई गरियो । 

त्यतिवेला गरिएको भूपीको ओभररेटिङबाट धेरै मानिस अझै पनि मुक्त हुन सकेका छैनन् । अझै पनि उनलाई नै आधुनिक नेपाली कविताको अगुवा हस्ताक्षर मान्नेहरू प्रशस्त भेटिन सक्छन् । यसलाई लिएर अरू कसैलाई समस्या हुनुपर्ने कुरा भने छैन ।

विक्रमको २०३० को दशकको प्रारम्भमा आएर संख्यात्मक र गुणात्मक दुवै रूपमा भूपी शेरचनभन्दा माथिल्लो स्तरका ठहरिन सक्ने मोहन कोइराला र उनको स्कुलका मदन रेग्मी, कृष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठ, रत्नशमशेर थापा, मोहन हिमांशु थापा आदि कविहरूले रचेका विशिष्ट कविताहरूको पठनपाठन र तिनमाथि विमर्श गर्ने सिलसिलाको धिमा गतिमै भए पनि जुन सुरुवात भयो, त्यसले भूपीको पुनर्मूल्यांकनको बहसलाई अगाडि ल्याएको छ । यो अत्यन्त जरुरी बहसलाई अगाडि ल्याउँने कुराको सम्पूर्ण श्रेय प्रसिद्ध अनुसन्धाता र समालोचक ईश्वर बराललाई जान्छ ।

बरालले वि.सं. २०३० सालमा मोहन कोइरालाका प्रतिनिधि कविताहरूको संकलन र सम्पादन गरी एउटा संग्रहको प्रकाशन गरेपछि शक्तिशाली कवि कोइरालाको अद्भूत काव्य संसार नेपाली कविताका सुधी पाठकहरू सामुन्ने उजागर भएको थियो । साहित्यका गम्भीर विद्यार्थीहरूद्वारा त्यतिवेला कोइरालाका विश्वस्तरका  सयौँ कवितालाई सँगसँगै राखेर भूपी शेरचनका कविता र तिनले प्रस्तुत गर्ने उनको रचना सामथ्र्यको पुनः भ्रमण र पुनर्मूल्यांकन गर्ने आवश्यकता बोध पनि गरिएको थियो । 

त्यसभन्दा पहिले क्लिष्ट र अर्थहीन भनेर पढ्दै नपढी पन्छाइने गरेका मोहन कोइरालाका मनोहारी कविताहरूको भव्य संसार उद्घाटित भएपछि उनकै शैलीमा लेख्ने अन्य प्रतिभाशाली र प्रयोगधर्मी कविका कविता पनि प्रचारमा आएका थिए, पढ्न थालिएका थिए र तिनले नेपाली पाठकलाई विस्मित र चकित बनाएर छोडिदिएका थिए । त्यसैताका भूपीकै शैलीमा सरल र बोधगम्य ढंगले लेख्ने भीमदर्शन रोक्का, वासु शशी, हरिभक्त कटुवाल, कालीप्रसाद रिजाल आदि कविका कविताहरूले पनि भूपीका कविताहरूसँग तुलनात्मक अध्ययन गर्नका लागि उपकरण उपलब्ध गराएका थिए । यी कविका कविता पढेपछि पाठकले भूपीका बहुप्रशंसित कविताहरू ओभररेटेड हुन् भन्ने कुरा सजिलैसँग थाहा पाएका थिए ।

नेपाली कविताको ऐतिहासिक विकास क्रममा भूपीको अमूल्य योगदान छ । करिब दुई दशकसम्म उनले नेपाली कविताको मूलधारको नेतृत्व गरेको पनि यथार्थ हो । तर, आधुनिक नेपाली कविताको समग्रमा वैज्ञानिक किसिमले अध्ययन नभएकाले मात्र संख्यात्मक र गुणात्मकस्तरमा तुलनात्मक रूपले निम्छरा शेरचनले त्यस्तो अतिशय महत्व पाएका हुन् भन्ने कुरामा  पनि अहिले आएर कविताका पारखी एकमत भएको पनि त्यत्तिकै सही हो ।

विक्रमको २०२० र ३० को दशकमा उनी आमपाठकवर्गबीच अत्यन्त प्रिय त थिए नै समालोचकद्वारा समेत दिनुपर्नेभन्दा बढी महत्व दिइएका, साहित्यिक मूल्यांकन पद्धतिका भाषामा भन्नुपर्दा ‘ओभररेटेड’ कवि थिए । 

वनारसमा पढ्न बस्दा पिएको कम्युनिस्ट विचारधाराको अर्कले दिएको धङ्धङीमा लेखिएका सस्ता भावुकतापूर्ण गीतिकविताहरूको सँगालो ‘नयाँ झ्याउरे’ (वि.सं.२०११ साल) लाई छोडिदिने हो भने कुल ३८ थान कविताहरूको एउटै मात्र संग्रह (घुम्ने मेचमाथि अन्धो मान्छे, २०२६) प्रकाशमा ल्याएका कवि भूपी शेरचन संख्यात्मक हिसाबले हेर्दा खासै उल्लेख्य काव्य स्रष्टा लाग्दैनन् । उनको समयका गन्तीमा आउने कविहरूमध्ये सबैभन्दा कम कविता लेख्नेमा पर्थे भूपी ।

गुणात्मक हिसाबले भूपीलाई अब्बल श्रेणीमा राख्न सकिँदैन । यिनी भाव गाम्भीर्यका कवि होइनन् । त्यसविपरीत समाजमा उत्पन्न भएका अमिल्दा परिस्थितिमाथि मुखर व्यंग्यात्मक टिप्पणी गर्ने प्रतिक्रियात्मक कवि पो हुन् । उनका अधिकांश कवितामा अर्थपूर्ण बिम्ब र प्रतीकको प्रयोग हुँदैन, त्यसको सट्टामा केही चोटिला वाक्य वा वाक्यांशका भरमा पाठकलाई चमत्कृत पार्ने प्रयत्न गरिएको हुन्छ । ‘हल्लै हल्लाको देश’ ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ ‘गलत लाग्छ मलाई मेरो देशको इतिहास’ ‘हामी’ जस्ता उनका कतिपय कविताले उनलाई हल्काफुल्का व्यंग्य कविताको सर्जकका रूपमा उभ्याउँछन् । 

उनको प्रायः उद्धृत गरिने कविता ‘हामी’ पनि पुनरुक्ति दोष भएको वर्णनात्मक र प्रतिक्रियात्मक कमजोर कविता हो । उनले ‘मैनबत्तीको शिखा’ र ‘घण्टाघर’ जस्ता सुन्दर बिम्ब प्रयोग गरेर रचिएका उत्कृष्ट कविता पनि लेखेका छन् । तर धेरैजसो अन्त्यानुप्रास मिलाउँने कोसिस गरिएका कमजोर कविताका सर्जक यिनका त्यस्ता उच्च लालित्यपूर्ण कविताहरूको संख्या धेरै छैन ।     

पूरा नाम भूपेन्द्रमान शेरचन भएका कवि भूपीको जन्म वि.सं. १९९२ साल पुस १२ गतेका दिन मुस्ताङ, थाकखोला, टुकुचे गाउँको एक सम्भ्रान्त थकाली कुलमा भएको थियो र मृत्यु २०४६ साल जेठ १ गते ५४ वर्षको उमेरमा काठमाडांैमा । उनको पुण्यतिथि जेठ १ को अवसरमा यो सानो लेखका माध्यमबाट भूपीका कविताहरूको संसारमा पुनःभ्रमण गर्ने प्रयास गर्दा म अलिकति उदास भएको छु । शेरचनमा जुन उच्चकोटीको सिर्जनात्मक प्रतिभा थियो, त्यो उनले जानी वा नजानी अपनाएको असन्तुलित र आत्मपीडक जीवनशैलीका कारण राम्रोसँग उपयोग नै हुन नपाई खेर गएको कुराको सम्झनाले मेरो मन अमिलो भएको छ ।