
डा. भोला रिजालको परिचय चिकित्सा क्षेत्रमा मात्रै सीमित छैन । उनले थुप्रै चर्चित गीत लेखेका छन्, केही गीत गाएका पनि छन् । रिजाललेकेही चलचित्र निर्माणसमेत गरिसकेका छन् । चिकित्सा र कला–साहित्य दुवै क्षेत्रमा उत्तिकै सक्रिय रिजाललाई मन पर्ने पुस्तकबारे अन्वेषण अधिकारीले गरेको कुराकानी :
महाभारत : बच्चामा हजुरबुबा र बुबाले महाभारतका धेरै कथा सुनाउनुभयो । नेपालभाषा प्रकाशन समितिले निकालेको महाभारत दसौँपल्ट पढेँ । अरूलाई पनि यसबारे बताउने र शिक्षा दिने गरेको छु । हरेक लाइन पढेको छु । यसले बेग्लै सन्तुष्टि दिन्छ । यसमा कर्म, नैतिकता, सम्बन्धका कुरा छन् ।
मुना र मदन : मेरो बुबाले लेखेको यो कृति निकै मनपर्छ । बुबा र हजुरबुबा मेरो जीवनको पथप्रदर्शक हुनुहुन्छ । एकपटक लक्ष्मीप्रसाद देवकोटालाई उहाँले सपनामा देख्नुभयो रे । लक्ष्मीप्रसाद रुँदै हुनुहुन्थ्यो रे ।
बुबाले सोध्नुभएछ : कविज्यू आँखामा आँसु किन ?
सपनामा लक्ष्मीप्रसादले जवाफ दिनुभएछ : मलाई मुनामदनको पहिलो भाग पनि लेख्न मन थियो । तर, अल्पायुमै ज्यान गयो । त्यसपछि लक्ष्मीप्रसादले भनेका एक–एक शब्द याद गरेर उहाँले ‘मुना र मदन पहिलो भाग’ लेख्नुभयो । यसमा बाल्यकालकी मुना तथा चित्लाङबाट थानकोट सरेको उनको परिवारले गरेको संघर्षदेखि मदनसँग विवाह हुँदासम्मका घटनाक्रम छन् । २०४० सालमा यो कृति उहाँले छपाउनुभयो ।
लक्ष्मी कवितासंग्रह : बुबाले लक्ष्मीप्रसादका कृति निकै पढ्ने । सुलोचना, शाकुन्तललगायत कृति पढेर त्यसमा वर्णन गरिएका घटनाक्रम निकै गज्जबसँग सुनाउनुहुन्थ्यो । बुबा आफैँले देखेजसरी । त्यहीकारण, देवकोटाका कृतिले मलाई सानैदेखि प्रभावित ग¥यो । देवकोटाको यात्री, मार्ग, लक्ष्मी कवितासंग्रह, मृत्युशड्ढयालगायत कृति मलाई निकै मन पर्छन् । ‘म शून्यमा शून्यसरी बिलाएँ’ भन्ने पनि पूरै कण्ठस्थ छ । मुनामदन एक सय पटकभन्दा धेरै पढियो होला । जतिपटक पढे पनि धित मर्दैन ।
चिसो चुह्लो : बालकृष्ण समको यो कृति मैले सानै उमेरमा पढेँ । यसमा गरिबहरूको सजीव चित्रण छ । बालकृष्ण सम त्यति सुसम्पन्न परिवारमा जन्मिएर पनि उहाँले गरिबको चित्रण निकै बेजोडसँग गर्नुभएको छ । उनीहरूको भाव बुझ्नुभएको छ । मलाई समजीको मुकुन्द इन्दिरा पनि निकै मनपर्छ ।
अन्तर्मनको यात्रा : जगदिश घिमिरेलाई क्यान्सर भएको थियो । आफ्ना कथाका माध्यमबाट अरूले लाभ लिन सकून् भनेर उहाँले मृत्युशड्ढयाबाट आत्मवृत्तान्त लेख्नुभयो । जनचेतना फैलियोस् भन्नेबाहेक यसको अरू लक्ष्य थिएन । यो पुस्तक ‘अन्तर्मनको यात्रा’ मलाई निकै मन परेको पुस्तक हो । उहाँको पुस्तकले धेरै बिरामीलाई प्रेरणा दिन्छ ।
खुसी : विजयकुमार पाण्डेको खुसी पनि मलाई मन परेको पुस्तक हो । यस पुस्तकमा उहाँले आफ्ना जीवनको संघर्ष र भोगाइलाई निकै इमानदार र वस्तुगत रूपमा लेख्नुभएको छ । खुसी हुने तरिका पनि सुझाउनु भएको छ ।
चिना हराएको मान्छे : हरिवंश आचार्यले ‘चिना हराएको मान्छे’मा आफ्नो संघर्षलाई मज्जाले प्रस्तुत गरेका छन् । उनको स्टाइललाई धेरैले मन पराएका छन् । पहिल्यै पढेको योे पुस्तक अहिले अडियोमा सुन्दै छु । मिर्गौला प्रत्यारोपण गर्नुभएका समाजसेवी स्वर्गीय मित्रसेन दाहालको आत्मवृत्तान्त पनि राम्रो छ । डा. ध्रुव शर्मा मुडभरी, डा. अरुण सायमी, डा. भगवान् कोइरालालगायत व्यक्तित्वका आत्मवृत्तान्त पनि निकै राम्रा छन् ।
रवीन्द्रनाथ टैगोरका कविता : बंगाली साहित्य निकै समृद्ध छ । युवाकालमा, विशेष गरी चिकित्साशास्त्र पढ्न ढाका बस्दा टैगोरका पुस्तक धेरै पढियो । उहाँका पुस्तक निकै स्तरीय छन् । उहाँका कविताले मनमा बेग्लै भाव सिर्जना गर्छन् । नजरुल इस्लाम र इकबालका कविता पनि धेरै पढियो । यी दुवै क्रान्तिकारी कवि हुन् । नजरुल र इकबालले न्याय, समानता, मानवताको पक्षमा र दमनविरुद्ध आवाज उठाएका छन् । एउटा कवितामा इकबाल लेख्छन्, ‘यदि कुनै खेतबाट किसानलाई खान पुग्ने गरी बाली उब्जाउ हुँदैन भने त्यो खेतको सबै अन्न जलाइदेऊ । त्यसपछि मात्रै क्रान्तिको भावना आउँछ ।’
हटारु : ओम रिजालको हटारु अहिले पढिरहेको छु । यस पुस्तकले मलाई निकै आकर्षित गरिरहेको छ । शब्द र शिल्पी निकै उत्कृष्ट छ । कर्णाली प्रदेशको दैलेखको स्थानीय भाषालाई प्रयोग गरिएको छ । राजनीतिक दाउपेचमा कर्णालीका जनता कसरी पिल्सिए भन्ने विषयबारे वस्तुगत चित्रण गर्न खोजेस्तो देखिन्छ । कुनै समय मुगुमा गएर मैले स्वास्थ्य शिविर चलाएको थिएँ । ढाडको शल्यक्रिया गरेयता अहिले हिँड्नका लागि लट्ठीको सहारा लिनुपर्ने अवस्थामा पुगेको छु । तर, यो पुस्तकका पाना पल्टाउँदै गर्दा कर्णाली जाने इच्छा अझै बढेर गएको छ ।