• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सोना खटिक काठमाडौं
२०७६ जेठ ११ शनिबार ०६:२२:००
साहित्य

स्वतन्त्रताको म्याराथन

संघर्ष

२०७६ जेठ ११ शनिबार ०६:२२:००
सोना खटिक काठमाडौं

लगभग ५० वर्ष पहिले आमाले त्यो निर्णय नलिएको भए आज म यो लेखिरहेको हुने थिइनँ । जीवन आखिर अनेक संयोगहरूको योग न हो ।  सासूको क्रूर शासन, देवर र नन्दहरूका टोकस, गाउँलेको हेपाइ । सबै सहन नसक्ने भएपछि अमाले बुबासँग भनेकी थिइन्, ‘अब अरू सहन सकिँदैन ।’ बुबालाई गाउँघर छाड्न मनाइन् । सुरुमा बुबाले मानेनन् । बुबाले हिम्मत नगरुञ्जेल कति सकस भोगिन् होला, कल्पना मात्र गर्न सकिन्छ । अन्ततः आमाबुबाले सानो छोरो लिएर घरबार त्यागे । 

यसै तन्नम गरिब, अझ भएको घरै छोडेपछि सडकको वास हुनु निश्चित थियो । आफ्नाहरूबाट ताडना भोग्नुभन्दा अनिश्चयले ल्याउने परिणाम सामना गर्न आमाले सहज ठानिन् । आमाबुबा कपिलवस्तुको डुमरी भन्ने ठाउँ छोडेर बरकुलपुरको मैटहवा गएर बस्न थाले । बरकुलपुरको एउटा जिम्दारको घरमा उनीहरूको वास भयो । काखमा सानो छोरोसमेत लिएर आएका गरिब दलित जोडीलाई के जुथ्र्यो र ? हरुवाचरुवा भएर काम गर्न थाले । वर्षौंपछि तिनै जिम्दारले आफ्नो जग्गामा एउटा साँघुरो कोठाको सानो झुप्रो हालिदिए । 

केही दिनपछि बा गाउँको चौकीदार बने, गाविसबाट खटाइएको । आमाले उही जिम्दारका गाईबस्तुका गोबर सोहोरिन्, बाहिरका काम गरिन् । मेरा ठुल्दाइ जिम्दारका गाई गोठाला भए । बाको जागिर त भयो, तर तलब अनौठो थियो । गाउँका प्रत्येक घरले वर्षको चार किलो चामल र एक मुठी धान वा गहुँ दिन्थे । बकसका रूपमा चाडबाडका वेला एक छाक पुग्ने चामल, दाल र तरकारी दिन्थे । सम्भवतः पैसाको आशा पनि गरेनन् । 

बरकुलपुरको रैथाने भइसकेका बाले एक दिन गाविसले पियन दरबन्दीमा मान्छे खोजेको थाहा पाए । पहिल्यैदेखि चौकीदारी गरेर गाउँको सेवा गरेकाले पियन पदको आशा गर्नु सामान्य थियो । बुबाले गाविसका मुख्य मान्छे र गाउँका ठालुसमक्ष निवेदन गरे । सबैले उनको अनुनय सुने, तर पहल गरेनन् । अन्ततः जे हुनु थियो, त्यही भयो । गाविसका मान्छेले भनेछन्, ‘पियनले सबैलाई चिया बनाएर खुवाउनुपर्छ । तिम्रो हातको चिया चल्दैन । कसरी दिनु जागिर ?’ 

जेनतेन जिम्दारको साँघुरो झुप्रोमा जीवन थेगिएको थियो, आमा गर्भवती भइन् । पेट फुल्दै गयो, शरीरमा शिथिलता बढ्यो । खान्की राम्रो हुने कुरा भएन । भारी काम गरेपछि झन् समस्या थपियो । एउटा बिन्दुमा पुगेपछि आमाले काम गर्न सकिनन् । काम छाडेको दिन नै जिम्दारले घरमा आगो झोसिदिए । 

शरीरले नसके पनि काम गर्ने भनेपछि फेरि एउटा छाप्रो बन्यो । आमाले काम सुरु गरिन्, तर, शरीरले थेगेन । जिम्दारले फेरि लफडा गर्न थाल्यो । काम नगर्नेबित्तिकै घरमा आगो झोस्न थाले । त्यसरी जिम्दारले तीनपटकसम्म मेरा बाआमाको घर डढाइदिए । घरसँगै डढेका सपनाको खरानीछेउ मेरो कान्छा दाइको जन्म भयो । 

खोइ के सुरले हो, ती गरिब हरुवालाई छोरो पढाउने इच्छा जागेछ । हरुवाको छोरो विद्यालय जान थालेको देखेर गाउँले सबै छक्क परे । जग्गाजमिन भएका तर शिक्षाको महत्व खासै थाहा नपाएकाले दलित हरुवाको छोरोले पढेको पटक्कै मन पराएनन् । सधैँ निहुँ खोजिरहे, दुःख दिइरहे । सधैँ सताइएर, हेपिएर भए पनि उनीहरूले छोरो पढाए । त्यसपछि ममाथि एउटी दिदी जन्मिइन्, कान्छी छोरीको रूपमा मेरो जन्म भयो । 

दाइहरू विद्यालय जान थालिसकेपछि हामी पनि विद्यालय भर्ना भयौँ । दुःखका नदी तैरिएर भए पनि आमाले हिम्मत हारिनन् । मलाई लाग्छ, उनकै जोडबलले हामी विद्यालय जान पाएका हौँ । जोसुकैले जे गरे पनि छोराछोरीले पढे भने आफूले जस्तो अन्याय र हेपाई सहनुपर्दैन भन्ने उनले कसरी बुझिन् ? थाहा छैन । 

स्कुल भर्ना हुन अप्ठ्यारो थिएन । तर, स्कुलमा टिकिरहनुचाहिँ समर लड्नु बराबर थियो । हेपिएको महसुस भएर पनि निरन्तर कक्षाकोठासम्म लतारिनु हाम्रो बाध्यता थियो । खटिक थरका हामीलाई सबै ‘खटिया’ भनेर हियाउँथे । अरू दलितलाई ‘दलिद्री’ भन्दै उडाउँथे । शिक्षकहरू नमस्कार फर्काउन अन्कनाउँथे । कक्षामा सहेका जम्मै कहर लेखेँ भने आँसु र आक्रोशले भरिएको एउटा मोटो किताब बन्न सक्छ । 

शिक्षा दिन खोलिएको विद्यालय त्यस्तो थियो भने अन्यत्र भोग्नुपर्ने छुवाछुतका कथा भनिसाध्य छैन । धारामा जान दिएनन् । कसैको भाँडा छोइयो भने नयाँ किन्न लगाउँथे । भोजभतेरमा भोज खुवाउन होइन, अपमान खुवाउन निम्ता गर्थे । अरूले थालमा खाँदा, हामी पातमा खान्थ्यौँ । ठूला जातका मान्छेको घरका कुर्सी र खटियामा बस्न वर्जित थियो । भुइँमा थच्चिनुपथ्र्यो । यस्तो सबै देखेरै हो कि, आमाले छोरोछोरी पढाउन मरिहत्ते गरेकी !

चामलको भात खान पाउनु सजिलो थिएन । आमाले कहिले कनिकाको रोटी बनाएर खुवाउँथिन् । कहिले दाल पिसेर निस्केको चोकर हाम्रो खान्की हुन्थ्यो । कहिले भने सालको फूल उसिनेर खान्थ्यौँ । जंगलमा पाइने खन्टी, गेँठ यस्तो खोजेर खानु अनौठो घटना थिएन । कति दिनसम्म बाआमा एकछाक मात्रै खाएर बस्थे । अरूका लागि उपवास रहर थियो, मेरा बाआमा बाध्यताले एकछाकी हुन्थे । पाहुना आए दालभातको जोहो हुन्थ्यो । त्यति जोहो गर्न बुबाआमालाई कति हम्मे पर्दो हो, म कल्पना पनि गर्न सक्दिनँ । 

कक्षा सात पुग्दानपुग्दै विवाहका प्रस्ताव आउन थाले । यस्ता प्रस्ताव आउनु कुनै अनौठो कुरा थिएन । मैले इन्कार गर्नु बरु अनौठो घटना थियो । एकदिन आमालाई मैले भनेको सम्झन्छु, ‘आमा, तिमीले हामीलाई पढाउन यत्रो दुःख ग¥यौ । सातमा नपुग्दै बिहे गरिदिन्छौ ? कम्तीमा दश पास त गर्न देऊ ।’ आमालाई दुःखले सिकाएर होला, समझदार थिइन् । उनले मेरो कुरा बुझिन् । मलाई बिहे गर्ने दबाब दिइनन् । अहिले यसो सम्झिन्छु, मेरा लागि समाजसँग कसरी जुधिन् होला ? 

यता हामी स्कुलमा एकपछि अर्को सफलता हात पार्न थाल्यौँ । उता बाको जाँड खाने लत बढ्दै जान थाल्यो । दलित मधेसीका छोराछोरीले पढेर सफल भएको देखेर सबै नतमस्तक हुन थालेका थिए । साधारणतया गाह्रो मानिने गणित मलाई सजिलो लाग्थ्यो । कक्षा ९ मा मैले ऐच्छिक गणित रोजेकी थिएँ । त्यो देखेर हाम्रो प्रशंसा हुन थालेको थियो गाउँमा । तर, दिउँसो खुसी हुन्थ्यौँ, साँझ घरमा जँड्याहा बाको कहर सहन्थ्यौँ । बुबा कहिले आमालाई पिट्थे, कहिले हामीलाई भकुर्थे । 

कक्षा ९ मा पुगेपछि मैले आमालाई सघाउने निधो गरेँ । कक्षा ४ देखि ७ सम्म पढ्ने विद्यार्थी भेला पारेर घरमा पढाउन थालेँ । त्यसबाट थोरै आम्दानी भयो । कान्छो दाइ पनि आफ्नो पढाइ खर्च जुटाउन नजिकैको स्वास्थ्य संस्थामा काम गर्न थाल्यो । बिस्तारै बाको व्यवहार पनि सुध्रियो । हामी सबैको निरन्तरको मिहिनेतले आफ्नै एउटा सानो घर बनाउने हिम्मत जुटायौँ । 

हामीले आफ्नो घर बनाउने खबर जिम्दारले सुने । उनलाई सहिनसक्नुभयो । दिनहुँ आएर जमिन खाली गर् भन्दै बुबालाई कुट्न सुरु गरे । एउटा गरिब दलितलाई कुट्नु उनीहरूका लागि कुनै गाह्रो थिएन । अरू थारू समुदायका मानिसलाई पनि त्यसैगरी कुट्थे । अति गरेपछि गाउँहरूले जुक्ति निकाले ।

पल्लो गाउँमा एकजना दाइका साथी थिए । उनको र जिम्दारको छोरीको माया बसेको थियो । ती प्रेम जोडीलाई सहयोग गरेको झुटो आरोप लगाएर जिम्दारको मान्छेले मेरा दुवै दाइलाई मरणसन्न हुने गरी कुटे । दाइहरूको आँखाबाट रगत बग्न थाल्यो । हामी रोयौँ । जिम्दारको डरले प्रहरी प्रशासन गुहार्न सकेनौँ । उनीहरू दलितलाई कुटेरै तह लगाउनुपर्छ भन्थे ।

हामीले केही गर्न सकेनौँ । त्यो घटनापछि म भित्रभित्रै कुनैवेला जिम्दारसँग बदला लिने अठोट गर्थें । मेरा दाइहरू कुट्नेसँग त्यसपछि कहिल्यै बोलिनँ । आज २० वर्ष बितिसक्यो अझै बोलेको छैन, उनीहरूसँग कहिल्यै बोल्दिनँ पनि । म ९ वर्षको हुँदा गाउँको गैरदलितको बगैँचामा हावाले झारेको सानो आँप साथीहरूसँगै खाएँ । हावाले झारेको आँप मैले झारेको भन्दै मलाई कुटे । गैरदलित साथीहरूलाई कुटेनन् । ती व्यक्तिसँग नबोलेको पनि आज २२ वर्ष बित्यो । ऊसँग कहिल्यै बोल्दिनँ पनि । 

०६२ मा मैले एसएलसी पास गरेँ । हामी हरुवाका छोराछोरीले एसएलसी पास गर्दा त्यो गाउँमा त्यति पढ्ने अरू कोही पनि थिएन । जग्गाजमिन प्रशस्त भएकाले पनि पढेनन् । हामीले पढाइ निरन्तर जारी राख्यौँ । दुई वर्षपछि मैले कक्षा १२ पनि उत्तीर्ण गरेँ । कान्छो दाइ ल्याब असिस्टेन्टको तालिम लिन थाल्यो । त्यसवेलासम्म कान्छो दाइ काम गर्न थालिसकेको थियो । ठुल्दाइ पनि कामको खोजीमा भारत गइसकेको थियो । दिदीको बिहे भयो । उनका केटाकेटी पनि भए, तर बुहार्तनको कहर सहन नसकेर माइत फर्किइन् । 

कक्षा १२ उत्तीर्ण भइसकेपछि कामको खोजीमा हिँडे । मेरो मिहिनेत र योग्यता सुहाउँदो कुनै काम फेला परेन । कान्छो दाइले दिनहुँ काम खोज्न उर्दी दिइरह्यो । चारैतिर भौँतारिएँ, काम पाइएन । निराशाले घाँटी अँठ्याउन थाल्यो । बिस्तारै डिप्रेसनमा जान्छु जस्तो लाग्न थाल्यो । दुःखले पढेँ, तर कुनै जागिर पाइनँ । कहिलेकाहीँ त मरुँ–मरुँ जस्तो पनि लाग्यो । 

मनका गुम्फन सबै पोख्ने मेरा दुई साथी थिए – एउटी मेरी दिदी, अर्की सरिता थारू । सरिता र मैले कक्षा एकदेखि सँगै पढेका थियौँ । यी दुईलाई मेरा कहर सुनाएन पाएको थिइनँ भने सम्भवतः मैले आत्महत्या गरिसकेकी हुने थिएँ । दिदी आफँै त्यस्तो मनस्थितिबाट गुज्रेर बाँचेकी थिइन् । उसको ढाडस काम लाग्यो । सरिताले बुटवलमा बस्ने आफ्नो दाइसँग गएर सहयोग माग्ने जुक्ति निकालिन् । सल्लाहबमोजिम कसैलाई सुइँको नदिई बुटवल जाने निधो भयो । भोलिपल्ट पेन्टिङका लागि कपडा किन्ने बहानाले सय रुपैयाँ मागेर म बुटवल हिँडे । म भागेकोमा आमा नाखुस भइन्, डराइन् । दिदीले सम्झाइ बुझाइ गरिन् । 

राजेश दाइ सरिताको मात्रै होइन, मेरो पनि उत्तिकै दाइ हुन् । भाइसँग बुटवल बसेर पढिरहेका उनले मलाई उनको कोठामा सहजै बस्न दिए । मेरा समस्या पहिल्यै बुझेका उनलाई मैले थप केही भन्नुपरेन । दुई दाजुभाइका लागि म खाना पकाइदिन थालेँ, उनले दिउँसो बाहिर गएर काम खोज भने । उनी आफूले पनि काम खोजिदिन प्रयास गरे । 

सुरुका केही दिन काम पाइएला भन्ने आशाले तानिएर बसिरहेँ । धेरै दिन बिते, काम पाइनँ । जे फेला परे पनि गर्छु भन्ने हिम्मतले डोरिएर रेस्टुरेन्टमा भाँडा माझ्ने काम खोज्न गएँ । बिहान ८ देखि राति ९ बजेसम्म काम गर्नुपर्छ भनेपछि मैले आँटिनँ । फेरि राजेश दाइले त्यस्तो काम गर्न दिने थिएनन् । यत्तिकैमा पत्रिकामा नेटवर्किङ बिजनेसको विज्ञापन देखेँ । गाउँमा गएर सामान बेच्ने र बेचेबापत आएको रकमको केही प्रतिशत पाइने काम थियो । मैले आवेदन दिएँ, नाम निस्कियो । नाम निस्केपछि खुसीले बुरुक्क उफ्रिँदै राजेश दाइलाई सुनाएँ, उनले मनाही गरे । त्यस्तो काम गर्नुहुँदैन भनेर सम्झाए । 

यसरी बस्न थालेको केही दिनमा मेरो कान्छो दाइले राजेश दाइलाई फोन ग¥यो । उनीहरूको हलुका भनाभन भयो । मसँग कुरा गरेर घर फर्की भन्यो । तर, काम नगरी आफ्नो जिन्दगी नबनाईकन म घर बस्नु अब मेरा लागि मञ्जुर थिएन । जस्तो दुःख परे पनि सहन्छु भन्ने अठोट गरिसकेकी थिएँ । काम नपाएपछि राजेश दाइले बिएड पढ्न हौस्याए । तर, मसँग पैसा थिएन । आफूलाई चाहिने सानातिना सामान पनि किन्न सकेको थिइनँ । पढाइ सुरु गर्ने पैसा कहाँ पाउनु ? तर ती दाइले कलेज भर्ना गरिदिए, किताब–कापी पनि किनिदिए । 

कलेज जानु सास्ती भोग्नु नै थियो । युनिफर्म थिएन, दाइले पनि कसरी सबैथोक पु-याइदिउन् ? साथीहरू क्यान्टिनमा खाजा खान जाउँ भन्दा ‘डाक्टरले बाहिरको नखानु भनेको छ’ भनेर ढाँट्थेँ । त्यसो भनेर कक्षाकोठामै बसिरहन कति अप्ठ्यारो हुन्थ्यो, सम्झिँदा अहिले पनि रुन मन लाग्छ । अनेक बहाना झिकेर कलेज नजानुलाई आफ्नो जितजस्तो ठान्न थालेँ । तथापि जुन स्नेह र सम्मान मैले बुटवलमा पाएको थिएँ, त्यो अरू कतै सम्भव थिएन । यसरी नै केही महिना बित्यो । खाना कम, आँसु बढी पिएर दिन बिताएँ ।

रेडियो कपिलवस्तु खुलेको र रेडियोमा तालिम लिने अवसर जुरेको खबरले मेरो जीवनमा अर्को मोड ल्याइदियो । बुटवलबाट उही राजेश दाइ र सरिताको गाउँको घरमा फर्केँ । त्यहीँ बसेर तालिम लिएँ । तालिमबाट छानिएँ । रेडियोमा काम पाएँ । तर, सुरुका दुई महिना स्वयंसेवक भई खट्नुपर्ने थियो । घरबाट रेडियो स्टेसन २० किलोमिटर टाढा थियो । आफूसँग रेडियोमा धाउने गाडीभाडा थिएन, अरू कुनै साधन हुने कुरै भएन । तर, हात परेको काम छोड्ने मसँग सुविधा थिएन । 

कक्षा सात पुग्दानपुग्दै विवाहका प्रस्ताव आउन थाले । यस्ता प्रस्ताव आउनु कुनै अनौठो कुरा थिएन । मैले इन्कार गर्नु बरु अनौठो घटना थियो ।

जाँदा २० किलोमिटर हिँड्यो । थाकेर चुर भएको शरीर लतार्दै रेडियोमा समाचार वाचन ग¥यो, आइपरेका अरू काम भ्यायो । काम सकेर हतार–हतार फेरि पैदल नै बाटो ततायो । दैनिक ४० किलोमिटर पैदल हिँडेर काम गरेँ । तर एफएमको कामले दिएको इज्जत र मभित्र बढाएको हिम्मतले मलाई ऊर्जा प्रदान गरिरह्यो । अरू केले कुदायो होला त मलाई त्यो अप्ठ्यारो म्याराथन ?

केही दिनपछि रेडियोका अध्यक्ष पर्शुराम यादव र स्टेसन म्यानेजर तुलसीराम यादवले मेरो दुःख कम गर्ने उपाय निकाले । रेडियोबाट साइकल किनिदिए । यसपछि निरन्तर चल्यो त्यो नव रेडियो पत्रकारको साइकल यात्रा । ४० किलोमिटर साइकलका पैयाँ दौडाउनु मेरा लागि उन्मुक्तिका पँखेटा लगाउनु नै थियो । 

स्वतन्त्रताको उडान भर्ने ती पँखेटाले आखिर मलाई जीवनप्रति सकारात्मक बन्न सघायो । मासिक तलबका रूपमा हात लाग्ने दुई हजारभन्दा कता हो कता प्यारो थियो मैले प्रमाणित गरेको मेरो क्षमता । त्यसैले मलाई सधैँ हिम्मत दिइरह्यो । 
पछि म तौलिहवामा रहेको रेडियोको सम्पर्क कार्यालयमै बस्न लागेँ ।

हेड अफिस र सम्पर्क अफिसको दुरी ४ किलोमिटर छ । ४ किलोमिटर मात्रै भएको भए केही थिएन, तर त्योबीचमा एउटा ठूलो वाणगंगा नदी छ । त्यो नदीमा आजको चार वर्ष पहिले पुल थिएन र नदी तरेर रेडियोमा समाचार भन्न आउनुपथ्र्यो । नदी तर्न अरू समयमा त ठीकै थियो, तर वर्षामा एकदमै गाह्रो हुन्थ्यो । ठूलो बाढी तरेर समाचार वाचन गर्न जानुपथ्र्यो ।

नदीमा डुंगा कहिले चल्ने कहिले नचल्ने हुन्थ्यो । डुंगा नचल्दा एक हातले झोला समाइ अर्को हातले पौडी खेलेर नदी पार गरी रेडियोमा समाचार वाचन गर्न जान्थेँ । एकपटक ठूलो बाढी आउँदा पुल बनाइरहेको जेसिबी डोजरलाई बोलाएर डोजरको लोमो हेन्डमा बसी नदी तरेँ अनि समाचार पढ्न पुगेँ । 

सुरुमा रेडियोमा समाचार पढ्दा अवधी भाषा मेरो जिब्रोमा जँचेन । स्वर पनि असाध्यै सानो सुनियो । वरपरका मान्छेले स्टेसनका अध्यक्षलाई फोन गरेर ‘किन बच्चालाई समाचार पढ्न लगाएको’ भने । तर, न अध्यक्ष पछि हटे, न त्यो प्रतिक्रियाले मलाई कमजोर बनायो । म डटिरहेँ । निरन्तर मिहिनेत गर्दै गएँ, तालिमका अवसरहरूको सदुपयोग गरिरहेँ । मौका मिलाएर उच्च शिक्षा पनि पढिरहेँ । विभिन्न व्यक्ति र संस्थाको सहयोगमा स्नातकोत्तर पनि उत्तीर्ण गरेँ । समयक्रममा मैले पढेको समाचारका कारण मलाई एफएममा भेट्न आउन थाल्नेको संख्या बढ्दै गयो । कालान्तरमा म त्यही रेडियोको स्टेसन म्यानेजर बनेँ । 

रेडियोमा काम गर्दा समाजले मलाई गलत नजरले हे-यो । मेरोे इज्जतमाथि दाग लगाउन पनि पछि परेन । तर, म अगाडि बढिरहेँ । रेडियोसम्बन्धी तालिमहरू लिएँ । ‘इक्वयल एक्सेस नेपाल’को रेडियो कार्यक्रम बनाउनेसम्बन्धी तालिम लिएँ । तालिममा सिकेका ज्ञान सीपलाई व्यवहारमा उतार्दै गएँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको तालिम लिने अवसर पाएँ ।

पहिलो अन्तर्राष्ट्रिय स्तरको तालिम लिन भारतको नयाँदिल्ली पुगेँ । त्यहाँ सात देशका महिला पत्रकार सहभागी थिए । त्यो तालिम सन् २०१३ एसिया प्यासिफिक आर्मकबाट दिइएको थियो । त्यो तालिम लिएपछि मभित्र झनै उत्साह भरियो । मलाई मानिसहरूले सम्मानको नजरले हेर्न थाले । एकोराब र पूर्वाञ्चाल विश्वविद्यालयको सहयोगमा हाफ स्कलरसिपमा मास कम्युनिकेसनमा स्नातकोत्तर पढ्ने मौका पाएँ ।

सामुदायिक रेडियोहरूको विश्व संगठन एसिया प्यासिफिक आर्माक र नर्वे सरकारको एफके नर्वेको सहयोगमा बंगलादेशमा गएर ६ महिना तालिम लिएँ । थाइल्यान्ड पुगेर विश्वलाई कसरी बुझ्ने र सहस्राब्दी विकास लक्ष्यलाई पूरा गर्न पत्रकारको भूमिका के हुने भन्ने विषयमा ज्ञान लिने मौका पनि पाएँ । 

यो दश वर्षको म्याराथनमा अरू त केही गर्न सकिनँ । तर, जिम्दारको अत्याचारबाट मुक्त हुन ११ धुर जमिन किनेर आमाको नाममा पास गरेँ । आफ्नो खटिक समुदायको बालविवाह रोक्न पहल गरेँ ।

बंगलादेशबाट फर्केर आएको ६ महिनापछि सन् २०१८ को अगस्टमा नेपालबाटै आफूले गरेको संघर्षका दिन गर्दै आएको कामका बारेमा दर्नाल आवर्ड कार्यक्रममा पेपर प्रस्तुतीकरण गर्ने मौका पाएँ । त्यही दिनदेखि मलाई धेरैले चिन्न थाले । विभिन्न मिडियाले मेरो संघर्षलाई स्थान दिन लाग्यो । अनलाइन पत्रपत्रिकामा मेरो नाम आउन थाल्यो । विश्व बैंकले १६ दिने हिंसाविरुद्धको अभियानमा सन् २०१८ अन्तर्गत नेपालको पे्ररणादायी नायक (इन्सपाइरिङ हिरो) को अवार्ड मलाई दियो । रोटरी इन्टरनेसन अवार्ड–२०१८ बाट पनि सम्मानित भएँ । 

यो दश वर्षको म्याराथनमा अरू त केही गर्न सकिनँ । तर, जिम्दारको अत्याचारबाट मुक्त हुन ११ धुर जमिन किनेर आमाको नाममा पास गरेँ । आफ्नो खटिक समुदायको बालविवाह रोक्न पहल गरेँ । त्यसैगरी करिब ५० जना दलित, विपन्न र सीमान्तकृत समुदायका पढाइ छाडेर बसेका बालिकाहरूलाई पढ्नका लागि हौसला दिएँ । हिम्मत दिएँ । विद्यालयमै गएर कुरा गरी पढ्ने वातावरण मिलाएँ । घरमा अभिभावकहरूलाई शिक्षाको महत्व, छोरीले भोग्नुपर्ने समस्याका बारेमा सम्झाइबुझाइ गरेँ । अहिले गाउँमा बिएडसम्म पढ्ने भाइबहिनीहरू छन् । 

बुबालाई चौकीदारीबाट मुक्ति दिलाएँ । घरबाट निकालिएकी दिदीको वारेस बसी अदालतमा मुद्दा लडेँ । ८ वर्षपछि अंश दिलाएँ । दिदीको नाममा लालपुर्जा बनाउन सफल भएँ । घरमा चरम अभाव थियो । जागिरको तलबले सबै आवश्यकता पूरा हुँदैनथे । कतिपटक चामल किन्न नसकेर भोकै बसेँ ।

कहिले खाना पकाउने ग्यास नभएर नुनपानीले भोक मारेँ । तर, हिम्मत हारिनँ । आफ्नी हिम्मतिली आमा सम्झिएँ, ऊर्जा पाएँ । दिदीका संघर्ष सम्झिएँ, अघि बढिरहेँ । सहृदयी सरिता सम्झिएँ, निरन्तर काम गरिरहेँ । राजेश दाइको स्नेह सम्झिएँ, नहार्ने अठोट गरिरहेँ । अहिले सम्झँदा कान्छो दाइको त्यो खप्कीले पनि आखिर मलाई सहयोग नै ग-यो । उसलाई सम्झँदा म अझै हिम्मतिली बन्छु । 

समाजमा विभेद अझै कायम छ । मजस्ता सयौँ छोरीहरूले संघर्षका बाबजुद सफलता पाउन सकेका छैनन् । सामाजिक संरचनाले जातको घानमा पिसेर हजारौँ मान्छेका सपना क्षतविक्षत बनाइरहेकै छ । छुवाछुतका कहर अझै सकिएका छैनन् । तर, त्यसका विरुद्ध संघर्षहरू भएका छन् ।

हामीजस्तै साना मान्छेले लडेर, हिम्मत नहारेर, जुधेर आशाको उज्यालो बालेका पनि छन् । त्यही उज्यालोको सहाराले अघि बढ्नुको विकल्प छैन । समाज निष्ठुरी छ, तर यही समाजमा सरिताहरू छन्, राजेश दाइहरू पनि छन् । मजस्ता युवाहरूमा विश्वास गर्ने व्यक्ति र संस्थाहरू पनि छन् । समता र न्यायको लडाइँ धीमा हुन सक्छ, रोकिँदैन ।

उज्यालोतर्फको यात्रामा कठिनाइ आउँछन्, तर निडर भइ त्यो बीचैमा सकिँदैन । आफूले गरेको संघर्षले मैले थोरै सफलता प्राप्त गरेकी छु । अझै धेरै गर्न बाँकी छ । मेरो खुसी मेरी आमा र बाबाको खुसी हो । मेरो खुसी त्यो जिम्दारको गालामा चोट पनि हो । मेरो दाइहरूको आँखाबाट बगेको रगतको बदला पनि हो ।