• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
भूषिता वशिष्ठ काठमाडाैं
२०७६ जेठ ११ शनिबार ०८:०७:००
साहित्य

अफिमदेखि अफिमसम्म

सारा दक्षिण एसियाकै भाग्यरेखा कायापलट गर्ने त्यो फूल आखिर कहाँबाट आएको थियो ?

२०७६ जेठ ११ शनिबार ०८:०७:००
भूषिता वशिष्ठ काठमाडाैं

‘एकादेशमा सिकन्दर नाम गरेका पराक्रमी र प्रतापी सम्राट् थिए । तेह्र वर्षको उमेरमा नै ती विलक्षण राजकुमारले कसैले तह लगाउन नसकेको मत्ता घोडालाई तह लगाएर सबैलाई चकित पारेका थिए ।’ झ्यालबाहिर अन्धकार, मसी पोखिएसरि थियो । रातको त्यो कालिमामा बाबाको आवाज पानीको छालझैँ कहिले सुमसुम्याउँदै, कहिले हुत्याउँदै मलाई कल्पनाको लोकमा पु-याउँथ्यो । मेरा आँखा लोलाउन थाल्दथे, सिरकभित्र शरीर मैनझैँ गल्दथ्यो अनि कल्पनाको लोकमा अनेक आकृति ब्युँझन थाल्दथे । 

किन हो किन, मेरो कल्पनामा सिकन्दर रमेश विकलको मधुकरजस्तै हुन्थे । उनको घोडा वायुपंखी हुन्थ्यो । कथा सुनिरहँदा ती सम्राट् बडो आनन्दित भएर त्यो घोडामा विचरण गरिरहेका हुन्थे । ती सम्राट् को थिए, कथाभरि के गरी बस्थे मलाई कहिल्यै थाहा भएन । वास्तवमा मलाई मेरा बाल्यकालका कुनै कथा पनि थाहा छैन । जब कथाले गति लिन थाल्दथ्यो म निदाइसकेकी हुन्थेँ। तैपनि सिकन्दर र उनका वायुपंखी घोडा मेरा बालचेतनाका अभिन्न हिस्सा थिए । 

अलि ठूली भएर विद्यालयको पुस्तकालयमा सिकन्दरको जीवनी पढ्दा म झसंग भएकी थिएँ । सिकन्दर राजकुमार दिक्पाल वा राजा मधुकरजस्ता काल्पनिक पात्र थिएनन् । उनका किस्सा समयातीत थिएनन्– फलाना फलाना मितिमा सिकन्दरले फलानो चिज गरे भनेर लेखिएको हुन्थ्यो । त्यसो त म इशापूर्व, ईश्वीसंवत, विक्रम संवत् भनेको पटक्कै बुझ्दिनथेँ । मलाई यी मितिहरू कल्पनाको उडानलाई रोक्न राखिएका अनावश्यक पेपरवेटजस्तै लाग्दथे । एकएक गरेर ती ढुंगा फ्याँक्दै म मेरा सिकन्दरहरूलाई इतिहासको पाशबाट मुक्त गरिदिन्थेँ । 

त्यसो गरेबापत उनीहरू मेरो स्वैरकल्पनामा अझ उँचो उडान भर्दथे । तर, त्यत्रो कपोलकल्पित उडान भरे पनि सिकन्दर र मेरो फूलबारीको अफिमको फूलसँगको अनौठो सम्बन्धबारे थाहा पाउँदा मलाई पत्याइनसक्नुभयो । पहिलोपटक अफिमको फूल देख्ता मेरो बालचित्त तिनको सौन्दर्यले आन्दोलित भएको थियो । ती फूलभन्दा मादक चिज मैले देखेकी थिइनँ, मलमलभन्दा कोमल फूलका गाभाभित्र भरिएको दूधको नशा ती फूलको सौन्दर्यभन्दा मादक हुन्छ भनेर कसैले भनेको भए मेरो नौ वर्षको मस्तिष्कलाई पत्याउन हम्मे पर्ने थियो । तर, त्यही नशालु दूधका निम्ति सिकन्दरले दूरदेशबाट अफिमका फूल भारत देश ल्याइपु-याएका थिए भन्दा मेरो प्रौढ मगजलाई पनि पत्याउन सकस प-यो ।

बाल्यकालमा मलाई तिनको कोमलता, तिनको लच्काइ, तिनको लालिमा सबैले विभोर बनाएको थियो । यदि परमात्मा हुदो हो त त्यसको सगुण दर्शन मैले प्रथमपटक अफिमका फूलमा पाएकी थिएँ । यस अर्थमा मेरो आस्तिकता अफिमबाट सुरु भएको थियो । तर, ऐतिहासिक रूपमा हेर्ने हो भने अफिम र आस्तिकताको सम्बन्ध त्यति सहज छैन ।

सन् १८४३ मा कार्ल मार्क्सले हेगेलको सिद्धान्तमा टिप्पणी गर्ने क्रममा भनेका थिए, ‘धर्म उत्पीडितको अफिम हो ।’प्राचीन युनानमा सञ्जीवनी बुटीसमान मानिने अफिमको पतनको कहानी आफैँमा एक दन्त्यकथाजस्तो छ । कार्ल मार्क्समा आइपुग्दासम्म अफिम मृत्युको द्योतक बन्न पुगिसकेको थियो । मार्क्सको यो प्रसिद्ध उद्घोषको ठ्याक्कै एक दशकअघि, भारतको बंगालमा द्वारिकनाथ ठाकुरले ब्रिटिस किम्पनीसँग मिलेर विशाल फाँटमा अफिम खेती सुरु गरेका थिए ।

सायद ती लहलाउँदा फूलको प्रथम दर्शन हुँदा द्वारिकानाथका नाति रवीन्द्रनाथ टैगोरको कविहृदय ड्याफोडिल देख्ताका वड्र्सवर्थको झैँ आप्लावित भएको थियो होला । तर, रवीन्द्रनाथ टैगोरले अफिमका फूलमाथि कविता लेखेनन् । बरु कादम्बरी देवी, जो साइनोमा रवीन्द्रनाथकी भाउजू थिइन्, उनीमाथि टैगोरले धेरै कविता लेखेका थिए । कादम्बरी देवीको मृत्यु २६ वर्षको उमेरमा अफिमकै सेवनका कारण भएको थियो भनेर पनि भनिन्छ । तर, द्वारिकानाथको अफिमको असली सिकार कादम्बरी देवी होइनन्, भारत देशभन्दा पर जिउँदै मरिरहेका लाखौँ चिनियाँ नागरिक थिए ।

इस्ट इन्डिया कम्पनीले भारत छिरेलगत्तै चीनमाथि गिद्धेदृष्टि हालेको थियो । सन् १७९३ मा ब्रिटिस दूत लर्ड म्याक्काट्र्नी पहिलोपटक चिनियाँ सम्राट्काे दरबार पुग्दा त्यहाँको अकल्पनीय वैभव देखेर विस्मित भएका थिए । उनले आफ्नो संस्मरणमा लेखेका थिए, ‘चिनियाँ दरबारको शालीन अभिजात्यता र परिष्कृतताको दाँजोमा पुग्न युरोपलाई अझैँ  धेरै वर्ष लाग्नेछ ।’

त्यस समयमा पनि चीन चिया र रेसमको प्रमुख निर्यातकर्ता थियो । स्वभावतः युरोप र अमेरिका चिनियाँ सामानका सबभन्दा ठूला उपभोक्ता थिए । तर, तिनताका विदेशी सामान प्रयोग नगर्ने चीनको आन्तरिक नीति थियो । फलस्वरूप, सन् १८१६ सम्म आइपुग्दा युरोप र चीनबीच ठूलो व्यापार घाटा हुन पुग्यो । सो घाटालाई हल गर्न इस्ट इन्डिया कम्पनीले चलाख जुक्ति निकाल्यो जसले कम्पनीलाई अप्रत्याशित नाफा त दिलायो नै, साथै चीनको आन्तरिक राजनीति र अर्थतन्त्रलाई पनि छियाछिया बनायो । 

इस्ट इन्डिया कम्पनीले बाँकी ऋण चुक्ता गर्न चाँदीका सिक्का नभई सोबराबरको कृषि सामग्री चीन पठाउने भयो र सो सामग्री थियो– अफिम । केही दशकको अन्तरालमै चीनमा अफिम दुव्र्यसन महामारीझैँ फैलियो । जति चिनियाँ अफिम दुव्र्यसनका सिकार हुँदै जान्थे, त्यति नै कम्पनीको नाफा मोटो हुँदै जान्थ्यो । यस्ता तथ्यलाई नै मनन गरेर महात्मा गान्धीले भनेका थिए, ‘युरोपेली औद्योगिकीकरण र विकासको प्रारूप एसियाका निम्ति अनुकूल छैन । चरम शोषणमा आधारित सो विकासको ढाँचाको विकल्प खोज्नु नै हाम्रो चुनौती हो ।’

तर, सारा दक्षिण एसियाकै भाग्यरेखा कायापलट गर्ने त्यो फूल आखिर कहाँबाट आएको थियो ?पेपरवेटले थिचेको इतिहासको पाना भन्छ– ईशापूर्व ३३० मा मेसोपोटामिया सहरबाट ठूलो दलबलसहित एक जत्था निस्कियो । विश्वविजयको महत्वाकांक्षा लिएर हिँडेको त्यो टोली युनानबाट पर्सिया हुँदै भारत आइपुग्दासम्म त्यसका अनेक योद्धा अंगभंग भएका थिए, कत्तिका घाउमा किरा परेका थिए, कत्ति महिनौँदेखि अनिँदो थिए, तर त्यसका बाबजुद तिनका चेहरा अनौठो नशाले प्रदीप्त थियो । देख्दामा शिवका भूत, प्रेत, पिशाच गणजस्ता देखिने त्यो दलका नाइके थिए उनै मेरा बाल्यकालका पराक्रमी राजकुमार सिकन्दर । र, तिनको अविच्छिन्न विजयको राज थियो– अफिम । 

निश्चय नै सिकन्दरको सैन्य कुशलता त अद्भुत थियो नै, तर इतिहासकारहरू मान्छन्, सायद अफिम नभएको भए सिकन्दरको विश्वविजयको लक्ष्य त्यति सहज हुने थिएन । उनीहरूसँग भएको अफिम–लठ्ठ्याइकै कारण उनीहरू अनवरत युद्ध गर्न सफल भए । तर, भारतपश्चात् सिकन्दरको विश्वविजयको सपना त्यसै तुहियो, त्यहाँ उनले कुनै महल ठड्याउन सकेनन्, तर उनले ल्याएका अफिमका बिउले भारतीय माटोमा जरा अवश्य गाडे । 

सिकन्दर र अफिमको कथा मान्छेको सुख–खोजको अजीव दास्ताँ हो । त्यो मानेमा सिकन्दरको कथा पढ्दा म अक्सर सिद्धार्थ गौतमलाई सम्झिन्छु । सिकन्दरले दुःख निरोधको खोज महत्वाकांक्षाले नशामार्फत खोजे, बुद्धले दुःख निरोधको उपाय धर्मको माध्यमबाट खोजे । तर, एक अर्थमा यी दुवैको जोड व्यक्तिगत उपलब्धिमा थियो । उन्नाइसौँ शताब्दीको मध्यान्तरमा एउटा यस्तो व्यक्तिको उदय भयो जसले भने– मनुष्य आफ्नो सामाजिक परिवेशको उपज हो ।

जबसम्म बृहत्तर सामाजिक न्यायको व्यवस्था आउँदैन, व्यक्ति एक्लैको पौरखले कदापि सुखी हुन सक्तैन भलै ऊ जति नै समृद्ध वा ज्ञानी किन नहोस् । यी प्रतिभाशाली युवा तिनै कार्ल माक्र्स थिए जसले कालान्तरमा उद्घोष गरे, ‘धर्म उत्पीडितको अफिम हो ।’ वास्तवमा माक्र्स न अफिमको विरोधमा थिए, न धर्मको । वास्तवमा उनले लेखेको जर्मन टिप्पणीमा अफिम उल्लेख पनि थिएन । तर, मार्क्सले योचाहिँ भनेका थिए, ‘मान्छेलाई अन्धविश्वासको जरुरत रहुन्जेलसम्म कुनै न कुनै रूपमा यो यथावत् नै रहन्छ ।’ जबसम्म समता र न्यायमूलक समाज बन्दैन मान्छेले आफ्नो दुःखद यथार्थबाट कहालिएर कि त नशा कि त काल्पनिक देवताको शरणमा जानैपर्छ । 

मार्क्सका निम्ति अफिम र धर्म मान्छेलाई उसको दुःखद यथार्थप्रति अचेत बनाउने सब चिजको समष्टिगत बिम्ब थिए । तर, बिम्बको भाषा बुझ्न कविहृदय चाहिन्छ र अक्सर कविहरू राजनीतिमा जाँदैनन् । खैर, हरेक चिन्तक उसको परिवेशको उपज भएझैँ मार्क्स पनि एक विशेष कालखण्डका प्रतिनिधि थिए । उन्नाइसौँ शताब्दी क्रमशः दास युग, सामन्ती युग हुँदै व्यापक औद्योगिकीकरणको दोसाँधमा थियो । एक प्रकारले यो युग ‘सिन्ड्रेला’ युगको सुरुवात थियो । यसअघि राजाको छोरा राजै हुने, पण्डितको छोरा पण्डितै र सार्कीको छोराले छालाकै काम गर्नुपर्ने व्यवस्था थियो । 

औद्योगिकीकरणसँगै बढेको बजारीकरणले यो व्यवस्था तोडिदियो । यो नयाँ व्यवस्थाअन्तर्गत कुनै पनि पृष्ठभूमिको मान्छे आफ्नो वर्गबाट छलाङ मारेर अर्को वर्गमा पुग्न सक्थ्यो, अर्थात् ‘सिन्ड्रेला’ कथाको भाष्यमा भन्दा कुनै सामान्य युवती राजकुमारी बन्न सक्दथिन् । तर, अचम्मको कुरो, पुँजीवाद जति मौलाउँदै गयो, आर्थिक असमानता त्यति नै विकराल बन्दै गयो । यदाकदा ‘सिन्ड्रेलाहरू’ नबनेका पनि होइनन्, तर बृहत्तर समुदाय अझै भयावह गरिबीको भुमरीमा फस्दै गयो । 

मेधावी मार्क्सले देखे– जबसम्म आर्थिक र राजनीतिक व्यवस्थामा आमूल परिवर्तन आउँदैन, मान्छेको दुःख निवारण हुँदैन । फलस्वरूप उनले भने– उत्पादनका साधनको स्वामित्व केही चुनिँदा पुँजीपतिहरूसँग रहँदासम्म, मरणासन्न काम गरे पनि मजदुर वर्ग रैतीसमान उपेक्षित र आर्थिक रूपमा दुर्बल रहन्छ । पुँजीवादी व्यवस्थामा पुँजीको बढोत्तरी एक मात्र लक्ष्य हुन्छ । त्यो पुँजी वा अतिरिक्त नाफा कामदारहरूको श्रमद्वारा सिर्जना हुन्छ । तसर्थ, स्वभावतः पुँजीवाद वर्गशोषणमा आधारित व्यवस्था हो, जहाँ जसले मुनाफा सिर्जना गर्छ ऊ नै सधैँ गरिब रहन अभिशप्त हुन्छ । 

त्यसकारण जबसम्म हाम्रो अर्थ वा राजनीति शोषणमा आधारित हुन्छ, त्यस व्यवस्थाअन्तर्गतका कोही पनि न शोषक न शासित, पूर्ण रूपमा मनुष्य बन्न पाउँछन् । शासित त गरिमाशून्य हुन्छ नै, मार्क्स भन्छन्, ‘शोषण गर्नेहरू अझ निकृष्ट चेतनाको स्तरमा झर्न बाध्य हुन्छन् । त्यसकारण पुँजीवादी व्यवस्थामा मनुष्य, मनुष्यै बन्न सक्तैन ।’ 

नेपाल अद्भुत देश छ । यहाँ नशा, धर्म र कम्युनिजम उत्तिकै सप्रिएका छन् । त्यही पशुपतिनाथ मन्दिरतिर नशानिमग्न जोगीहरू धुनीमा रमाउँदै हुन्छन्, छेउमा बौद्धनाथ पुग्दा कलेजी चीवरधारी, केश मुण्डन गरेका नरनारी लम्पसार परेर स्तूपलाई दण्डवत् गरिरहेका हुन्छन् र त्यहीँबाट बाहिर निस्किँदा सारा सडक जाम पारेर कम्युनिस्ट नेताहरू सवारीमा सहरको विचरण गरिरहेका हुन्छन् । 

त्यस्तै सवारी छिचोल्दै, एक महिनाअघि म सोह्रखुट्टेको एउटा सानो गल्लीमा पुगेकी थिएँ । त्यहीँ कतै नेचुरल हेभन ट्राभल एण्ड टुर्स खोलेर बसेका दुई जनमुक्ति सेनाका पूर्वलडाकुलाई भेट्नु थियो । धुलाम्य सडक, ती सडकका पेटीमा छाला टट्टाएर केही कोसा केरा र मकै बेच्न बसेका जनता, फुटेको ढलको दुर्गन्ध, अनि पूर्वक्रान्तिकारी लडाकुहरूसँग अन्तर्वार्ता लिन, सवारी छलेर आइपुगेकी म– समाजवादउन्मुख देशको नागरिकका आफ्नै खालका व्यथा छन् । 

क्रान्तिकारीहरूप्रतिको मेरो आकर्षण म आफैँले बुझेकी छैन । तर, रोजमर्राको दैनिकीमै सन्तुष्ट मान्छेको जमातमा समानता र न्यायको नाराले आन्दोलित हुने हृदयहरूप्र्रति मेरो मनमा ठूलो सम्मान छ । त्यसैले होला, रुमानी दुःखान्त नाटकहरूभन्दा तुहिएका क्रान्तिका सपनाहरू ज्यादा त्रासद लाग्छन् मलाई ।प्रियजनको मृत्युपछि बारम्बार उसको चिहानमा गएर एकान्तमा रुनु मानवीय प्रेमका अनेक अजीव पहलुमध्ये एक हो । केही हदसम्म मेरा लागि पूर्वलडाकुहरूसँगको कुराकानी यही खरानीको न्यानोको तलास हो । 

तर, त्यो भेट मेरा निम्ति सोचेभन्दा बढी नै प्रेरणादायी रह्यो । त्यसै पनि लडाकुहरूसँग भेट्दा उनीहरूको समयचेतले म अवाक् हुन्छु । धेरैजसो त मेरो संगत पढाकुहरूसँग नै हुने गर्छ । धेरै क्रान्तिकारीहरूको भनाइ छ– हाम्रो यथावत् शिक्षा प्रणालीको औचित्य विद्यार्थीमा विवेक वा स्वचिन्तनलाई अभिप्रेरित गर्नु होइन, अपितु त्यसलाई शून्य बनाएर विद्यमान व्यवस्थाका स्वचालित अंग बनाउनु मात्र हो ।

 शिक्षकहरूको विद्यार्थीसँगको आज्ञाकारिताको पूर्वाग्रह देख्दा म कहिलेकाहीँ एरिक फ्रोमको कथन सम्झिन्छु –‘स्वतन्त्रता र अवज्ञा एक–अर्काका पूरक हन् । कुनै पनि सामाजिक, राजनीतिक र धार्मिक व्यवस्था जो स्वतन्त्रताको वकालत गर्छ, तर व्यक्तिको अवज्ञा गर्न सक्ने अधिकारलाई दबाउन खोज्छ, त्यो सत्यमा पुग्न सक्तैन ।’

एकप्रकारले हेर्ने हो भने अवज्ञा गर्ने हरेक व्यक्तिको दुस्साहसले मलाई प्रेरित गर्छ । ती कलिला उमेरमा समाज सुधारका निम्ति सहादतसम्मको मूल्य चुकाउन तयार भएर हिँडेका लडाकुका कथाले मलाई भावुक बनाउने नै भयो । १२ वर्षसम्म जनमुक्ति सेनामा रहेर बटालियन कमान्डरसमेत भइसकेका नीराजन कुँवर जनयुद्धका कुरा गर्दा अझै रन्किन्थे । उनको मुहार अनौठो आभाले मण्डित हुन्थ्यो । 

यदि परमात्मा हुँदो हो त त्यसको सगुण दर्शन मैले प्रथमपटक अफिमका फूलमा पाएकी थिएँ । यस अर्थमा मेरो आस्तिकता अफिमबाट सुरु भएको थियो । तर, ऐतिहासिक रूपमा हेर्ने हो भने अफिम र आस्तिकताको सम्बन्ध त्यति सहज छैन ।

‘हाम्रो लडाइँ स्वाधीनताको लडाइँ थियो,’ उनी भन्दै थिए, ‘दीर्घकालीन गृहयुद्ध हरकहीँ सम्भव छैन । यसका लागि केही निश्चित भौतिक अवस्था अपरिहार्य छन् । हाम्रो जस्तो प्राक्–पुँजीवादी समाजमा मात्रै क्रान्ति सम्भव छ ।’ त्यति भनेपछि उनी केही बेर टोलाए, नेपथ्यमा सहरको कोलाहल फेरि ब्युँतियो । म सोच्छु, त्यत्रो क्रान्तिकारी भएर हिँडेकाहरूलाई फर्किएर काठमाडौंको साँघुरो गल्लीमा ‘बुर्जुवा’ सपना पछ्याउन कति सकस पर्दो हो । उनीहरू हिजोआज सपनामा के देख्छन् होला ?

उनी फेरि भन्न थाल्छन्, ‘तर हामीले यत्रो आहूति दिएर ल्याउन खोजेको क्रान्ति यो थिएन । हामीले सोचेका थियौँ, यो क्रान्तिले आत्मनिर्णयसहितको संघीय संरचना ल्याउनेछ । अधिकारसम्पन्न जनता बनाउनेछ । तर, आज पनि प्रचण्ड, देउवा, ओलीलाई कानुन लाग्दैन र हामीलाई लाग्छ । खोइ के फरक भयो त ? जनता आखिर अधिकारसम्पन्न कहाँ भए त ? हाम्रो क्रान्तिको वाचा पनि अर्को अफिम बनेर गयो ।’

कुँवरजस्ता हजारौँ युवालाई नेतृत्व गरेर हिँडेका क्रान्तिकारी नेताहरूले अहिले सत्ताको बागडोर सम्हालेका छन्, तर क्रान्तिकारी चेतना शून्यप्रायः छ । आखिर सत्तामा त्यस्तो के हुन्छ जसले क्रान्तिलाई सधैँ घात गर्छ ?
म केशव दासको दोहा सम्झिन्छु –
‘कनक कनक ते सौ गुनी मादकता अधिकाय । 
या खाए वौराए जग, वा पाए वौराए ।’
संस्कृतमा अफिम र सुनलाई जनाउने एउटै शब्द छ– कनक । कार्ल माक्र्स आज छैनन् । सायद अहिलेको राजनीतिको कायाकल्प देखेका भए उनले यी दुई कनकको नशाको भेद अवश्य बुझ्ने थिए । क्रान्तिलाई गलाउन सक्ने ल्याकत सम्भवतः केवल सुवर्णको नशामा छ । केशव दास भन्छन्, ‘सत्ता, वैभवको नशाका अघि अफिमको नशा पनि साह्रै फितलो छ । अफिमको नशा त खानेलाई मात्र लाग्छ, तर सुनको नशा छुनाले मात्र पनि लाग्छ ।’ 

कार्ल मार्क्र्स यदि यो युगमा जन्मेका भए यो सुवर्णको नशामा गलेको क्रान्तिको दुर्दशा हेरेर सायद भन्ने थिए होलान्, ‘कम्युनिजम उत्पीडितको अफिम हो ।’ तर, ‘वाद’को पतन हुँदैमा क्रान्तिको औचित्य सकिँदैन, अपितु त्यसको महत्व अझ प्रबल भएर आउँछ । नीराजन कुँवरको क्रान्तिको नशा ओर्लिरहँदा मैले पाकिस्तानी कवि फैजलाई सम्झिरहेकी थिएँ :
यो मैलो उज्यालो,
रातको कालिमामा मलीन उषा
यो त्यो बिहान त होइन जसको प्रतीक्षा थियो

यो त्यो बिहानी त होइन, जसलाई खोज्न 
काला रातहरूको व्यग्र ज्वारभाटा छिचोल्दै
हाम्रो दुःखले लवालव डुंगालाई किनारा लगाउन निस्किएका थियौ । 

यौवनका वागहरूबाट गुज्रिँदै गर्दा
अनेकन् हातले हामीलाई रोक्न नखोजेका होइनन्
अनेक मनोहर कायाका छाया
हाम्रा पथभरि नखसेका होइनन्
तर यिनको आमन्त्रणभन्दा
कैयौँगुणा मोहक थियो उषाको त्यो आग्नेय मुस्कान
जसको प्रभा हामीबाट किञ्चित मात्रै दूर थियो

खोइ भन्नलाई प्रकाशको जित भयो भन्छन्
हाम्रो यात्राको लक्ष्य आइसक्यो भन्छन्
तर उत्पीडनको अन्धकार ज्युँको त्युँ छ

पख, पख, अहिल्यै नथाकिहाल
दूर, दूर अझै लक्ष्य छ हाम्रो, 
अनेक थकान बिर्सिंदै, अनेक व्यवधान छिचोल्दै
अनेक कामनालाई तिलाञ्जली दिँदै
आफ्नै आहूति दिएर मागेकोे 
बिहान यो अझै होइन ।
यो प्रभा अझै होइन । 
(भावार्थ मात्र अनूदित)