• वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
निनाम कुलुङ काठमाडाैं
२०७६ जेठ ११ शनिबार ०९:२८:००
साहित्य

‘तोस पूजा’को कथा

नेपालमा रहेका विभिन्न समुदायसँग आ–आफ्नै मिथक छन् । तीनै मिथकमध्ये यसपटक कुलुङ जातिसँग सम्बन्धित ‘तोस पूजा’को मिथकलाई समेटेका छौँ । ‘झन् नयाँ’का आगामी अंकहरूमा पनि विभिन्न समुदायका मिथक समेट्ने हाम्रो प्रयास जारी रहनेछ ।

२०७६ जेठ ११ शनिबार ०९:२८:००
निनाम कुलुङ काठमाडाैं

लुङ समुदायमा प्रचलित लोक कथाअनुसार खोक्चिलिपले आफ्नो बाबुले प्रयोग गर्ने पुरानो पासो थापेर ढुकुर मारे । ढुकुरलाई पोलेर मासु काट्ने वेला उनले ढुकुरको गाँडलाई आफू बस्ने ओडारनजिकै फाले । समय क्रममा खोक्चिलिपले आफूले  मारेर खाएको ढुकुरको गाँड फालेको ठाउँमा ढुकुरले खाएको अन्नहरू, जस्तैः कोदो, गहुँ, मकै, धान आदि फलेको देखे । त्यसपछि खोक्चिलिपले आफूले  पासो थापेर मारेर खाएको ढुकुरको गाँडबाट उम्रेर फलेको अन्न मान्छेले पनि खान हुन्छ होला भन्ने अनुमान लगाए । 

आफ्नी श्रीमती बेइलिम्मासँग सल्लाह गरेर आफ्नो घु-यानमा पाकेको अन्न–बाली संकलन गरे । तर, त्यो वेला घर बनाएर स्थायी रूपमा पस्ने प्रचलन नभएकाले संकलन गरेको अन्न कहाँ राख्ने ? खोक्चिलिप र बेइलिीमा बस्दै आएको ओडार पनि साँघुरो थियो । उनीहरूले केही पर रहेको चिप्लेटी ढुंगोमा संकलन गरेको अन्नलाई भण्डारण गरे । साथै, सोही चिप्लेटी ढुंगोमै अन्न कुट्ने पिस्ने गर्दै खान थाले । 

तर, अचम्म के भयो भने खोक्चिलिप र बेइलिम्माले अन्न भण्डारण गरेको चिप्लेटी ढुंगोमा रातको समयमा उज्यालो देखिन थाल्यो । त्यही समयमा लुइँचे, सेतो भालेलगायत चराचुरुंगीहरू भण्डारण गरेको अन्न खान आउने तर ती चराचुरुंगीहरू दिउँसो भने देखिँदैनथे । अतः सो चिप्लेटी ढुंगोमा केही न केही (अन्नको सह !) छ भन्ने लागेर खोक्चिलिप र बेइलिम्माले पूजा गर्न थाले । त्यसपछि रातमा आएर चराचुरुंगीहरूले अन्न खान छाडे । खोक्चिलिप र बेइलिम्माले निरन्तर अन्नको खेती÷बाली लगाउन थाले भने बर्सेनि तोस पूजा पनि गर्न थाले भन्ने कुलुङ समुदायमा विश्वास गरिन्छ । 

यसरी कुलुङ इतिहास र सभ्यता हेर्दा खेतीपातीको सुरुवात गर्ने पुर्खाका रूपमा खोक्चिलिप र बेइलिम्मालाई लिइन्छ । समयक्रमसँगै आदिम पुर्खाहरू खोक्चिलिप र बेइलिम्माले सुरु गरेको सो पूजालाई नै कालान्तरमा कुलुङ समुदायले तोस पूजा (भूमि÷भूमे) भन्न थाल्यो । हालसम्म पनि कुलुङ समुदायले तोस पूजा गर्दै आएको छ । यसरी गरिने तोस पूजाहरूमा पनि थो तोस, येनाम तोस, गुमेल तोस, चारी तोस, याउ तोस प्रमुख हुन् । यी सबै तोस ऋतुअनुसार गर्ने गरिन्छ ।