• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सुरेश निरौला काठमाडाैं
२०७६ जेठ ११ शनिबार १०:५०:००
समाज

देश खस्कँदै, खेलाडी उक्सँदै

२०७६ जेठ ११ शनिबार १०:५०:००
सुरेश निरौला काठमाडाैं

‘इकोनोमिक फ्रिडम अफ द वल्र्ड’का अनुसार, अर्जेन्टिना यस ग्रहकै असफल राष्ट्रमध्ये एक हो, जस्तो हालत लिबिया वा भेनेजुएलाको छ । यसको मुद्रास्फीति ४५ प्रतिशत छ । सन् २०१९ को अनुमानित आर्थिक वृद्धिदर १ दशमलव २ प्रतिशत नकारात्मक (माइनस) छ । अर्जेन्टिनाको ऋण १ सय ६२ अर्ब डलर छ । यो ऋणलाई ४ करोड ५० लाख अर्जेन्टिनीको भागमा पार्ने हो भने प्रत्येकको थाप्लोमा करिब ४ लाख रुपैयाँको बोझ पर्नेछ ।

अर्जेन्टिनाको आर्थिक अवस्था बिग्रिरहेकै वेला सन् १९८६ मा फुटबलका नक्षत्र म्याडोनाको उदय भएको हो । त्यसयता यो देशले विश्वले गर्व गर्न लायकका फुटबल खेलाडी जन्माइसकेको छ । ग्राबियल बाटिस्टुस्टा, अल्फ्रेदो डी स्टेफानो, मारियो केम्पस, ओमार सिभोरी पनि यही देशका उत्पादन हुन् । पछिल्लो समयका २१औँ शताब्दीकै सबैभन्दा उत्कृष्ट खेलाडी लियोनल मेस्सी पनि यही देशका हुन् ।

अर्जेन्टिनालाई नेपालीले चिन्ने धेरै आधार छन् । कुनैवेला फोकल्यान्डको युद्धमा गोर्खालीले देखाएको वीरताका कारण चिनिन्थ्यो । अहिले विश्व प्रसिद्ध खेलाडीका कारण चिनिन्छन् । नेपाली फुटबल प्रेमीहरू सबैभन्दा धेरै अर्जेन्टिनाकै फ्यान छन् । 

आधा शताब्दीअघिसम्म यो देशको छुट्टै पहिचान थियो । दोस्रो विश्वयुद्धपछि अर्जेन्टिना विश्वका १० धनी देशमध्ये एक थियो । जर्मनीको समर्थक रहेको यो देशले हिटलरलाई भरपूर सहयोग ग-यो । तर, सन् १९५० को दशकपछि भने सैनिक सरकार र अन्य देशसँगको युद्धका कारण यो देशको आर्थिक स्थिति खस्कँदै गयो । फोकल्यान्ड टापुको युद्ध हुँदासम्म यो देश केही मजबुत नै थियो । त्यो युद्धमा बेलायतले निक्कै कठिनसाथ अर्जेन्टिनालाई हराएको थियो । त्यसपछि भने देशको हालत नाजुक बन्दै भयो । 

सन् १९८३ मा यो देशमा सैनिक शासनबाट स्वतन्त्र भई गणतन्त्र स्थापना भयो । तर, गणतान्त्रिक सरकारले स्थितिमा सुधार ल्याउन सकेन । देश खस्कँदै थियो तर अर्जेन्टिनामा फुटबलको भने उदय हुँदै थियो । देशको आर्थिक अवस्था बिग्रिरहेकै वेला हो, सन् १९८६ मा फुटबलका नक्षत्र म्याडोनाको उदय भएको हो । त्यसयता, यो देशले विश्वले गर्व गर्नलायकका फुटबल खेलाडी जन्माइसकेको छ ।

ग्राबियल बाटिस्टुस्टा, अल्फ्रेदो डी स्टेफानो, मारियो केम्पस, ओमार सिभोरी पनि यही देशका उत्पादन हुन् । पछिल्लो समयका २१औँ शताब्दीकै सबैभन्दा उत्कृष्ट खेलाडी लियोनल मेस्सी पनि यही देशका हुन् । उनी फुटबल जगतका क्रिस्टियानो रोनाल्डोपछि दोस्रो धनी खेलाडी हुन् । विश्वका धनी फुटबल खेलाडीमध्ये धेरैजसो यही देशका छन् । यो देशका युवाले विश्वका विभिन्न मुलुकका राष्ट्रिय टिमबाट खेलेर अर्बौं कमाएका छन् । 

यता, अर्जेन्टिना देशको भने दुर्दिन हट्न सकेको छैन । झन् गहिरिँदो छ । यतिवेला अर्जेन्टिना यस्तो अवस्थामा छ, जुन हामी कल्पना पनि गर्न सक्दैनौँ । इकोनोमिक फ्रिडम आफ द वल्र्डका अनुसार अर्जेन्टिना यस ग्रहकै असफल राष्ट्रमा एक हो, जस्तो हालत लिबिया वा भेनेजुएलाको छ । यसको मुद्रास्फीति ४५ प्रतिशत छ ।

यो सन् १९९१ यताकै सबैभन्दा उच्च हो । सन् २०१९ को अनुमानित आर्थिक वृद्धिदर १ दशमलव २ प्रतिशत नकारात्मक (माइनस) छ । अर्जेन्टिना अन्तर्राष्ट्रिय मुद्रा कोषबाट सबैभन्दा बढी ऋण लिने राष्ट्र पनि हो । हालै मात्र यो देशले ५० अर्ब डलर (नेपालको करिब ४ वर्षको बजेट रकम)बराबरको ऋण लियो । योसँगै अर्जेन्टिनाको ऋण १ सय ६२ अर्ब डलर पुगेको छ । अर्जेन्टिनाले हालसम्म लिएको ऋणलाई ४ करोड ५० लाख अर्जेन्टिनीको भागमा पार्ने हो भने प्रत्येकको थाप्लोमा करिब ४ लाख रुपैयाँको बोझ पर्नेछ । 

फुटबल खेलाडीको आर्थिक अवस्था  
१. लियोनल मेस्सी 
खुद सम्पत्ति : ४० अर्ब रुपैयाँ  

२०औँ शताब्दीका महान् खेलाडी पेले र म्याडोनालाई एकछिनका लागि बिर्सिने हो भने २१औँ शताब्दीका अहिलेसम्मका महान् खेलाडी लियोनल मेस्सीलाई मानिन्छ । मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टिमका कप्तान हुन् । उनी स्पेनिस फुटबल क्लब बार्सिलोनाको पनि कप्तानी गर्छन् । फुटबलको सबैभन्दा चर्चित सम्मान ‘ब्यालोन डि, ओर’ नै उनले ५ पटक जितिसकेका छन् । उनले ला लिगालगायत विभिन्न खेलमा विश्व कीर्तिमान कायम गरेका छन् । उनले आफ्नो क्लब बार्सिलोनाका लागि सबै वास्तविक ‘टाइटल’ जितिसकेका छन् । 

मेस्सी अर्जेन्टिनाको रोसारियो भन्ने एक गाउँमा सन् १९८७ जुन २४ मा जन्मेका हुन् । उनका बुबा एक स्टिल उद्योगका कामदार थिए । आमा सफाइ कामदार थिइन् । उनी ११ वर्षको हुँदा उचाइ बढाउने हर्मोनको कमी भएको रोग देखिएको थियो । बार्सिलोनाका कोच कार्लस रिचक मेस्सीको खेल कौशल देखेर यति प्रभावित भएका थिए कि उनलाई खेलाउन राजी मात्र भएनन्, स्पेनमै उनको सम्पूर्ण उपचार गरिदिने प्रतिबद्धतासमेत जनाए । अहिले बार्सिलोनाले उनलाई प्रतिहप्ता ६ लाख ४५ हजार डलर भुक्तानी गर्छ । 

२. सर्जियो अगिरो 
खुद सम्पत्ति : ७ अर्ब रुपैयाँ 

म्यानचेस्टर सिटीका स्ट्राइकर अगिरो अर्जेन्टिनाका धनी खेलाडीमध्ये दोस्रोमा पर्छन् । उनी इंग्लिस प्रिमियर लिग (इपिएल)का यस्ता खेलाडी हुन्, जसले अपेक्षा गरेभन्दा धेरै राम्रो खेल खेलेर सबैलाई छक्क पार्ने गर्छन् । उनी इपिएल टप गोल स्कोरर खेलाडी हुन् । सन् २०१४ को विश्वकपमा उनी उत्कृष्ट खेलाडीमा सेकेन्ड रनरअप स्थान हासिल गरेका थिए । सन् २०१५ को कोपा अमेरिका र सन् २०१६ को कोपा अमेरिका कन्टेनारियाका पनि उत्कृष्ट खेलाडी हुन् । 

अर्जेन्टिनको ब्युनस अयर्समा जन्मेका अगिरोका बुबा ट्याक्सीचालक थिए । उनकी आमा गृहिणी थिइन् । अहिले उनी म्यानचेस्टरका महँगा खेलाडीमध्येका एक हुन् । उनलाई क्लबले प्रतिहप्ता करिब ३ लाख डलर दिने गरी दुई वर्षका लागि अनुबन्ध गरेको छ ।  

३. जाभियर मासेरानो 
खुद सम्पत्ति : ४ अर्ब रुपैयाँ

स्पेनी क्लब बार्सिलोनाका मासेरानो शक्तिशाली डिफेन्सिप खेलाडी थिए । अहिले उनी चिनियाँ क्लब हेवेईमा अनुबन्ध भएका छन् । उनी खेलमा फुल ब्याक, राइट फुल ब्याक र सेन्टर ब्याकका रूपमा खेल्ने गर्छन् । उनी विरोधीको सही मार्किङ, कठिन ट्याकल, बहुमुखी प्रतिभा, समारिक गेम प्लेका लागि लोकप्रिय छन् । उनले बार्सिलोनाका लागि सबै प्रकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टाइटल्स जितिसकेका छन् । बार्सिलोनामा जानुअघि इंग्लिस क्लब लिभरपुलका तर्फबाट खेल्थे । उनले सन् २००४ र २००८ ओलम्पिकमा अर्जेन्टिनाका तर्फबाट गोल्ड मेडल जितेका थिए । उनी २०१४ को विश्वकपका रनरअप खेलाडी हुन् ।   मासेरानोका बुबा ओस्कार पनि खेलाडी नै थिए । उनले राष्ट्रिय टिमबाट विश्वकपमा समेत भाग लिएका थिए । जाभियर मासेरानोलाई अहिले चिनियाँ क्लबले साताको २ लाख डलर दिने गरी अनुबन्ध गरेको छ । 
 ४. इजिक्विल लाभेजी 
खुद सम्पत्ति : ४ अर्ब रुपैयाँ   

अर्जेन्टिनामा जन्मे पनि लाभेजी चिनियाँ क्लब हेवेईका तर्फबाट खेल्ने गर्छन् । उनी अर्जेन्टिनाका चौथा धनी फुटबल खेलाडी हुन् । फास्ट रनर लाभेजी चिनियाँ क्लबका जबर्दस्त स्ट्राइकर र आक्रामक मिडफिल्डर हुन् । लाभेजी अर्जेन्टिनाको गोवेर्नाडोर गाल्भेज भन्ने गाउँमा जन्मेका थिए । हेवेईले उनलाई साताको २ लाख ९० हजार डलर दिने गरी अनुबन्ध गरेको छ । 

५. कार्लोस टेभेज    
खुद सम्पत्ति : ३ अर्ब रुपैयाँ
  
जब चिनियाँ सुपर लिगले युरोपेली क्लबसँग प्रसिद्ध खेलाडी लिने सम्झौता गरिरहेको थियो, त्यतिवेला कसैले अनुमान लगाएका थिएनन् कि कार्लोस टेभेजको मूल्य ५ करोड डलरभन्दा अधिक हुनेछ । तर, जब उनले खेल कौशल प्रदर्शन गर्न थाले उनीमा लगाएको रकम सजिलै असुली भएको महसुस गर्न थालेका छन् । उनले प्रतिष्ठित इंग्लिस प्रिमियर लिग, म्यानचेस्टर युनाइटेड, युइएफए च्याम्पियन्स लिग र जुवेन्ट्सका लागि सबै टाइटल जितिसकेका छन् । 

उनी अर्जेन्टिनाको ब्युनस अयर्स राज्यको स्युडाडेला भन्ने ठाउँमा जन्मेका हुन् । सानै हुँदा उनका बुबाको मृत्यु भएपछि आमाले बडो कष्टले पालेकी थिइन् । उनी कुनैवेलाका सबैभन्दा महँगा खेलाडी पनि थिए । उनलाई चिनियाँ क्लबले प्रतिहप्ता ८ लाख २० हजार डलर दिनेगरी अनुबन्ध गरेको थियो । तर, त्यो धेरै समय कायम भएन । उनको अधिक तौलका कारण पारिश्रमिक रकममा पछि संशोधन भएको थियो । 

६. एन्जेल डी मारिया 
खुद सम्पत्ति : २ अर्ब ५० करोड रुपैयाँ 

अर्जेन्टिनाका सबैभन्दा बिकाउ खेलाडीमा डी मारिया पनि पर्छन् । सन् २०१४ को विश्वकप फुटबलको फाइनलमा उनको खेलकौशल देखेर सबै दर्शक चकित परेका थिए । उनले घरेलु टिमदेखि स्पेनी, इंग्लिस क्लबमा रहेर खेलिसकेका छन् । 
पहिला उनी रियल म्याड्रिडमा थिए ।

पछि म्यानचेस्टर युनाइटेड गए । अहिले उनी फ्रान्सको पेरिस सेन्ट जर्मन क्लबबाट खेलिरहेका छन् । उनी आक्रामक मिडफिल्डरका रूपमा खेल्छन् । सानोमा उनी कमजोर थिए । फुटबलप्रति रुचि थिएन । यसैकारण उनका बाबुआमा निकै चिन्तित थिए । ३ वर्षको उमेरमा चिकित्सकले शारिरीक वृद्धिविकासका लागि खेल खेलाउन अत्यन्त आवश्यक भएको सुझाब दिएपछि उनलाई जबरजस्ती फुटबल खेलाउन थालियो । अहिले उनलाई क्लबले साताको २ लाख ९० हजार डलर दिने गरी अनुबन्ध गरेको छ ।