• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
आरके अदीप्त गिरी काठमाडाैं
२०७६ जेठ ११ शनिबार ११:४३:००
समाज

शा ऽ कर्णाली

२०७६ जेठ ११ शनिबार ११:४३:००
आरके अदीप्त गिरी काठमाडाैं

कर्णाली प्रदेश सभ्यता र संस्कृतिको केन्द्रबिन्दु हो । यसलाई भाषाको उद्गमस्थल मानिन्छ । भौगोलिक विविधता, प्राकृतिक सुन्दरता र विविध जातजातिको सामूहिक बासस्थान पनि हो– कर्णाली । सुन्दर कर्णालीमा मिसिएको छ– गरिबी, मानव विकास सूचकाङ्क, बेरोजगारी, मौसमी बसाइँसराइँ, पातला बस्ती, सीमित आर्थिक अवसर, भौगोलिक विकटता र दौडिरहेको विनाश । कमजोर व्यापार र बजार, असहज सञ्चार सुविधा र दुरावस्था पनि भोगिरहेकै छ– कर्णाली । 

कर्णालीमा धेरै छन् घुम्ने ठाउँ– रारा ताल, शे–फोक्सुण्डो, नेपाली भाषा र सभ्यताको  उद्गमस्थल जुम्लाको सिञ्जा उपत्यका, कालिकोटको रास्कोट, जुम्लाको पाण्डवगुफा, पञ्चदेवल, विश्वकै अग्लो मानिएको पाताल छहरा, विकट जिल्ला डोल्पो सदरमुकाम दुनै, कालिकोटको मान्म बजार, जुम्लाको खलङ्गा, मुगुको गमगढी, हुम्लाको श्रीनगर, लिमी, हिमाली पठार क्षेत्र हिल्सा आदि । यहाँ नाम लिइएका यी ठाउँ प्रमुख पर्यटकीय स्थल हुन् । तिब्बत मानसरोवरका लागि आधार प्रवेशद्वार पनि हो कर्णालीको हुम्ला । 

मुगुको मुगुभोट, डोल्पाको सर्वाधिक उचाइमा रहेको मानवबस्ती छार्काभोट, स्थानीय जनजीवन र समाज पर्यटकका लागि रमणीय स्थल पनि हुन् । यहाँ प्राकृतिक आनन्द मात्र होइन, सांस्कृतिक मिस्ट्री, मौलिक परम्परा, रहनसहन र वस्तुस्थितिको पनि अवलोकन गर्न सकिन्छ ।

कर्णाली घुम्दा लाग्छ– राज्यको उपस्थिति यहाँ न्यून छ । राज्यका थोरै संयन्त्र मात्रै परिचालित छन् । हिजोदेखि आजसम्मै राज्यले सौतेनी व्यवहार गर्दै आएको छ भन्ने मुख्य उदाहरण हो– कर्णाली ।पदयात्रा र साहसिक पर्यटनस्थलका रूपमा पनि ठूलो सम्भावना देखिन्छ कर्णालीको । कर्णाली नदीको पश्चिमी किनारबाट सुरु हुने पदयात्रामा  पर्यटकहरू आफ्नो इच्छाअनुसार जहाँ पनि जान सक्छन् । नदीको किनारैकिनार उत्तरतर्फ हुम्ला, मुगु, पूर्वी डोल्पाका साथै दैलेख–सुर्खेत–नेपालगन्जलगायत विभिन्न भू–भागको यात्रा पनि यहीँबाटै गर्न सकिन्छ ।  

कठिनतम भूगोल र यातायातको सहज पहुँच नहुँदा कर्णाली क्षेत्र अथाह सम्भावना भएर पनि सधैँ पर्यटन विकासका दृष्टिले पछि छ ।  सरकारले हवाई तथा सडक यातायातलाई सर्वसुलभ, सुरक्षित, विश्वसनीय र व्यवस्थित बनाउन सके कर्णाली क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकका लागि स्थायी गन्तव्यस्थल बन्न सक्छ ।

कर्णाली राजमार्गको निर्माणलाई गति दिन सके यस भेगलाई झनै पर्यटनमैत्री बनाउन सकिन्छ । संघीय संरचनामा मुलुक प्रवेश गरिसकेको हुनाले पनि यहाँको प्रदेश सरकार र स्थानीय तह दुवैले समग्र  कर्णालीको विकासका लागि स्थानीय स्तरबाटै धेरै काम गर्न सक्ने  सम्भावना छ । स्थानीय महत्वका  धार्मिक एवं सांस्कृतिक स्थानसम्म पुग्नलाई पदमार्ग निर्माण गर्ने तथा त्यसलाई सञ्चारका माध्यमबाट प्रचारप्रसार गर्नाले स्थानीय पर्यटन सुदृढ बन्न सक्छ ।

घन्टौँ आँखा टिकाउन सकिने कर्णाली साँच्चै मनप्रिय छ । आफ्नो अज्ञानतामै मुग्ध हुन सिकेका हामीलाई कर्णाली शा ऽ कर्णालीको दुःखान्त आलाप लिएर डाकिरहेको छ ।

कर्णाली आर्थिक वृद्धि, भोकमरी, विकटता र साना दीर्घकालीन रोगव्याधिबाट सधैँ ग्रसित छ । यसमा राज्यको सामान्य आँखा पुग्ने हो भने कर्णाली पिछडिएको होइन, सम्भावनाको खानी लाग्छ । जो उज्यालो आकाशमुनि उज्याला सम्भावना बोकेर बसिरहेको छ ।

विकटता अभिशाप होइन । बरू यसलाई मानिसले कसरी आफ्नो पक्षमा पार्न सक्छ त्यो महत्वपूर्ण  कुरा हो । विश्वका सबै देशमा आ–आफ्नै विकटता छन् । कतै भीरपाखा मात्रै छन् त कतै बञ्जर मैदान । कतै हिउँकै मात्र साम्राज्य छ त कतै पठार । मानिसकै बलबुताले त्यसलाई सुगम बनाउने हो । यो कुरा सबै नेपालीलाई बोध भयो भने कर्णाली आफ्नै मुटुको टुक्राझैँ लाग्छ । 

नयाँ गन्तव्यको खोजीमा जान रुचाउनेका लागि कर्णाली नै उपयुक्त स्थान हो । यसबारे धेरै लेखिए बोलिए र बहस चर्चा भए पनि यहाँको माटो अझै नौलो नै छ । आखिर मानिसको आँखाले सधैँ नौलो चिज नै खोजिरहन्छ । घन्टौँ आँखा टिकाउन सकिने कर्णाली साँच्चै मनप्रिय छ । आफ्नो अज्ञानतामै मुग्ध हुन सिकेका हामीलाई कर्णाली शा ऽ कर्णालीको दुःखान्त आलाप लिएर डाकिरहेको छ ।