
यो साता विश्व सञ्चारमाध्यममा सिरियाबाट लखेटिएका तानाशाह बसर अल असदलाई बेलायतमा जन्मेकी उनकी पत्नी आस्मा असदले सम्बन्धविच्छेद गर्न खोजेको भन्ने विवरणले चर्चा पायो । टर्की र केही अरबेली सञ्चार माध्यमले सिरियाली पूर्वप्रथम महिलाले रुसमा सम्बन्धविच्छेदका लागि प्रक्रिया चलाएको दाबीसहितका विवरण सार्वजनिक गरेका थिए । इकोनोमिक्स टाइम्समा प्रकाशित समाचारअनुसार आस्मा असदसँगको सम्बन्धमा पूर्णविराम लगाउन चाहन्छिन् । लामो गृहययुद्धपछि गत महिना असदको २४ वर्ष लामो सत्ता ढलेको थियो र मस्कोले असद दम्पतीलाई शरण दिएको थियो ।
आस्मा असदसँग सम्बन्धविच्छेद खोज्दै बेलायत फर्कन चाहेको भन्ने विवरणलाई रुसी प्रशासन क्रेमलिनले भने तत्कालै अस्वीकार गर्यो । यद्यपि यो आस्मा र असदको निजी मामिला थियो । अपदस्थ सिरियाली शासक र उनकी पत्नीलाई मस्कोमा सीमित पारेको र उनीहरूको सम्पत्ति रुसी अधिकारीले रोक्का गरेको दाबीलाई पनि मस्कोले अस्वीकार गर्यो । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभको भनाइ उद्धृत गर्दै द गार्डियनले लेखेको छ, ‘असद दम्पतीको सम्बन्धविच्छेदबारे सञ्चार माध्यमहरूमा आएका चर्चा वास्तविकतासँग मेल खाँदैनन् ।’ मस्कोमा उनीहरू निकै गोप्य रूपमा शरण लिइरहेका छन् । रुसमा असद परिवारको ठुलो परिणाममा सम्पत्ति छ । गृहयुद्धको समयमा असदले लाखौँ डलर देशबाहिर राखेका छन् । असदको विस्तारित परिवारका सदस्यले रुसी राजधानीमा १८ वटा विलासी अपार्टमेन्टहरू खरिद गरेको सन् २०१९ मा फाइनान्सल टाइम्सले गरेको एक अनुसन्धानले देखाएको थियो ।
आस्मालाई बेलायत फर्किन कति सहज ?
यतिवेला आस्मा आफ्नो जन्मदेश बेलायत फर्किन लागेको पनि चर्चा छ । तर, विगतमा उनलाई प्रतिबन्ध लागेकाले फर्किन सहज छैन । द टेलिग्राफका अनुसार आस्मासँग बेलायती नागरिकता छ । तर, नागरिकता भए पनि उनलाई बेलायतले अनुमति नदिने यस महिनाको सुरुमा विदेशमन्त्री डेभिड लामीले बताएका थिए । ‘म यो पुष्टि गर्न चाहन्छु कि उनी एक प्रतिबन्धित व्यक्ति हुन् र यहाँ उनलाई स्वागत छैन,’ लामीले संसद्मा भने, ‘असद परिवारका कोहीले पनि बेलायतमा स्थान नपाऊन् भन्ने सुनिश्चित गर्न म मेरो बलबुताले भ्याएसम्म सक्दो प्रयास गर्नेछु,’ उनले थपे । तसर्थ, आस्मा बेलायत फर्किएमा उनले आफ्नो बेलायती पासपोर्ट गुमाउने सम्भावना छ ।
सीमा सुरक्षा तथा शरणमन्त्री डेम एन्जेला इगलले आस्मालाई शरण नदिने संकेत गरिन् । उनको भनाइ उद्धृत गर्दै टेलिग्राफले अगाडि लेखेको छ, ‘हामी व्यक्तिगत केसमा टिप्पणी गर्दैनौँ ।’ शरण दाबी निरन्तर समीक्षाअन्तर्गत रहेको इगलले बताइन् । शान्तिविरुद्धको अपराध, युद्ध अपराध, मानवताविरुद्धको अपराध, वा विदेशमा अन्य गम्भीर अपराध गर्ने कसैलाई पनि सुरक्षा दिन अस्वीकार गर्ने ‘मानक प्रक्रिया’ भएको उनको भनाइ थियो ।
आस्मा अनुमतिविना बेलायत प्रवेश गरिन् भने पक्राउ पर्नेछिन् । उनी आफैँ पक्राउका लागि तयार पनि हुन सक्छिन् । असद मस्को भागेपछि उनका बारेमा बेलायतले गहिरो चासो राखेको छ । सन् २०१२ को मार्चमा बेलायतले उनको सम्पत्ति रोक्का गरेको थियो । बेलायतले सन् २०२१ मा सिरियाको १३ वर्ष लामो गृहयुद्धमा सेनालाई उक्साएको र सहयोग गरेको आरोपमा प्रारम्भिक अनुसन्धान गरेको थियो ।
युद्धबाट लाभ लिने महिला
सन् २०२० मा अमेरिकाले आस्मा, उनका आमाबाबु र दुई भाइमाथि प्रतिबन्ध लगायो । त्यस समयका तत्कालीन विदेशमन्त्री माइक पोम्पेओले उनलाई ‘सिरियाको कुख्यात युद्धबाट सर्वाधिक लाभ लिनेमध्ये एक व्यक्ति’ भनेर वर्णन गरेका थिए । आस्मालाई बेलायतले कारबाही गर्नुपर्ने आवाज पनि उठेको छ । चथम हाउस थिंक ट्यांकका अनुसन्धानकर्ता बदर मोसा अल–सैफका अनुसार जसरी बेलायतले यसअघि अतिवादी समूह इस्लामिक स्टेटमा सामेल हुनेहरूको नागरिकता खोसेको थियो, आस्माको मामिलामा पनि त्यस्तै कदम आवश्यक छ ।
शिक्षित परिवारकी छोरी आस्मा
आस्मा ११ अगस्ट १९७५ मा सिरियाली आमाबाबुबाट बेलायतमा जन्मिएकी थिइन् र वेस्ट लन्डनको एक्टनमा हुर्किएकी थिइन् । उनका बाबु डा. फवाज अखरास कार्डियोलोजिस्ट हुन् भने उनकी आमा साहर सिरियाली दूतावासकी पूर्वकूटनीतिज्ञ हुन् । उनका दुवै भाइहरू चिकित्सक हुन् । बाल्यकालमा एम्मा नामले बोलाइने आस्मा बेलायतको एक स्थानीय स्कुलबाट विद्यालय तहको अध्ययन पूरा गरेपछि मेरिलेबोनको क्विन्स कलेजमा भर्ना भइन् । उनले किंग्स कलेज लन्डनबाट कम्प्युटर विज्ञानमा प्रथम श्रेणीको डिग्री हासिल गरिन् । तर, करिअर बैंकिङ क्षेत्र रोजिन् । ‘निश्चय नै यो सहज बाटो थिएन,’ धेरै वर्षअघि उनले भनेकी थिइन् । उनी ड्युस बैंक र त्यसपछि जेपी मोर्गनमा सामेल भइन् र न्युयोर्क, पेरिस र लन्डनमा काम गरिन् । बिदा मनाउन अभिभावकसँग सिरिया जाने गर्थिन् । सिरिया उनका लागि दोस्रो घरजस्तै बनेको थियो ।
प्रेम र विवाह
कलेज पढ्ने क्रममा आस्माकोे भेट लन्डनमा नेत्र चिकित्सा अध्ययन गरिरहेका बसर अल असदसँग भयो । उनी सिरियाका तत्कालीन राष्ट्रपति हफेज अल असदका कान्छा छोरा थिए । बसर बेलायतमा नेत्र चिकित्सा शास्त्रको अध्ययन गर्थे । उनीहरूको भेट बाक्लियो । बसरलाई आस्माका अभिभावकले पनि चिन्थे । उनीहरूबिच १० वर्षको उमेर अन्तर थियो । तैपनि प्रेम गर्न उमेरले छेकेन । बिदा हुनेबित्तिकै असदलाई भेट्न सिरिया जान्थिन् । ‘बिदाको समयमा म सुटुक्क सिरिया जान्थेँ,’ आस्मा भन्छिन् ।
सन् १९९६ मा कार दुर्घटनामा उनका दाइ बासेलको मृत्यु भएपछि असद उत्तराधिकारी बने । सन् २००० मा आफ्ना बुबा हाफेजको मृत्युपछि आस्मा र बसरको प्रेम अन्ततः विवाहमा परिणत भयो । उनीहरूको तर्फबाट तीन सन्तान छन् । सन् २०१८ देखि २०१९ को बिचमा स्तन क्यान्सरको उपचार गरिसकेकी उनलाई मे महिनामा ल्युकेमिया भएको थियो ।
तानाशाही छवि सुधार्ने प्रयास विफल
सत्ता सम्हालेपछि असद दम्पतीले आफ्ना बुबाको क्रूर तानाशाहीको दशकौँपछि विश्व मञ्चमा सिरियाको छवि सुधार्ने प्रयासमा विदेशी प्रतिष्ठित व्यक्ति र युरोपेली राजपरिवारलाई भेट्न थाले । नयाँ प्रथम महिलाले २००२ मा बकिंघम प्यालेसको राज्य भ्रमणको क्रममा महारानी एलिजाबेथ द्वितीयलाई भेटिन् र हलिउडका स्टारसँग काँध मिलाइन् ।
ब्राड पिट र एन्जेलिना जोलीलाई
२००९ मा दमस्कसमा निम्तो दिइयो । बाहिरी रूपमा देखिने उनीहरूको निर्दोष र पश्चिमीअनुकूल छविमा सन् २०११ मा सिरियाली विद्रोहमा असदको बर्बर दमनको समयमा कालो धब्बा लाग्यो । युद्धले देशलाई १४ वर्षको रक्तपात र गृहयुद्धमा डुबाइदियो ।
मरुभूमिकी गुलाब’ आस्मा
फेसन तथा सेलिब्रेटी म्यागिजन भोगले आस्मालाई सन् २०११ मा ‘रोज इन द डेजर्ट’ अर्थात् मरुभूमिकी गुलाब भनेको थियो । उनी आफ्ना निरंकुश पतिको हिंसाविरुद्ध केही नबोलेपछि अन्तर्राष्ट्रिय रूपमा एक्लिइन् । देश भोकमरी र पीडामा रहेका वेला उनी भने पेरिस र लन्डनका बिचौलियामार्फत विलासी सामग्री किन्न तल्लीन रहेको भन्दै उनको आलोचना भएको थियो । असदहरूले मध्यम–वर्गीय जीवन बिताउने दाबी त गरे तर उनीहरूले पाएको वास्तविक विलासिताको पर्दाफास त्यतिवेला भयो, जतिवेला विद्रोहीहरूले दमस्कस कब्जा गरे र सिरियालीहरूले असदको राष्ट्रपति भवन र निजी घर लुटे ।
गत महिना असदको सत्ता ढलेपछि सडकमा खुसियालीमा रमेका सिरियालीले आस्माले प्रयोग गर्ने महँगा कपडा र विलासिताका सामग्री देखे । दरबारभित्र भेटिएका ब्यागभित्र डाअर र लुइस भ्युटजस्ता फेसन हाउसका लेबल अंकित थिए । तिनीहरूको सुत्ने कोठाको एउटा भुइँ गहना, पुरातात्विक वस्तुहरू र अन्य भव्य सामानले ढाकिएको थियो । तानाशाहले कतिसम्म अकुत सम्पत्ति जोहो गर्न सक्छन् भन्ने उक्त दृश्यले देखाउँछ ।
(एजेन्सीको सहयोगमा सुभाष शर्मा)