• वि.सं २०७६ मङ्सिर ६ शुक्रबार
  • Friday, 22 November, 2019

ती दुई दिदीबहिनी

अनुवाद कथा

२०७६ जेठ १८ शनिबार ०८:२३:००

बर्नेल परिवारसँग बसेर सहर फर्केपछि बुढीआमै हेले बच्चाहरूका लागि उपहारमा एउटा पुतलीको घर पठाइदिइन् । यो कति ठूलो थियो भने बग्गीवाल र प्याटले बोकेर आँगनमा राख्नुप-यो । कति दिन गोठको ढोकानजिक काठको बाकसमाथि यसलाई राखियो । गर्मी मौसम थियो । त्यसैले यसलाई कुनै हानि हुनेवाला थिएन । भित्र लैजाने वेलासम्म सायद यसमा लगाइएको रङको गन्ध पनि उडिसक्ला । प्यारी बुढीआमै हेको कृपा ! तर, बेरिल काकीको विचारमा बेरिएको बोरा नखोल्दै पनि यसको कडा गन्धले जो–कसैलाई बिरामी बनाइदिन सक्थ्यो ।

अँध्यारो, तेलजस्तै चिल्लो, पालुंगोको पातजस्तो हरियो र हल्का पहेँलो रङले सानदार देखिने पुतलीको घर आँगनमा थियो । यसको छानामा रहेका दुई चिम्नी रातो र सेतो रङका थिए । ढोका पहेँलो बार्निसले चम्किएको । चार ढोका, साँच्चैका ढोका, चौँडा हरिया धर्काले छुट्याइएका थिए । अनि पहेँलो रङले सजिएको साँच्चै सानो आकारको बुइँगल जसको छेउतिर रङ थुप्रेको देखिन्थ्यो । तर, यो पुतलीको घर सम्पूर्ण रूपले पक्का सुन्दर थियो । यसको सुन्दरता देखेर रङको गन्धलाई जोकसैले सजिलै बिर्सन सक्थ्यो । यो एउटा आनन्दीको र नयाँपनको एउटा अंश थियो ।

‘मलाई खोल कसैले,’ घर सायद यसो भनिरहेको थियो । छेउतिर घरको आग्लो बेस्सरी टाँसिएको थियो । प्याटले सानो चक्कुले बल लगाएर यसलाई खोल्दा पूरै घर पिङ खेल्न थाल्यो । लौ त, तपाईं अब एकसाथ बैठक कोठा, भान्छाघर र दुइटा सयन कक्ष देख्न सक्नुहुन्छ । घर खोल्ने तरिका त यो हो नि ! किन सारा घरहरू यही पाराले खुल्दैनन् ? क्या मज्जाको कुरा छ भने ढोकाबाट चिहाउनेबित्तिकै सानो हल देखिहालिन्छ, जहाँ ह्याटस्ट्यान्ड र छाताहरू छन् । कुरा यो हो नि, होइन त ? जब तपाईं कुनै घरको ढोका ढकढकाउनुहुन्छ, यही त देख्न चाहनुहुन्छ । ईश्वर पनि देवदूतसँग राति घुम्न आउँदा घरहरू सायद यसैगरी खुल्छन् होला ।

‘उ ह ह,’ बर्नेल केटाकेटीको मुखबाट यस्तो आवाज निस्कियो, मानौँ उनीहरू अचम्मित थिए । यो अचम्मकै जिनिस थियो । जिन्दगीमा यस्तो कुरा उनीहरूले देख्न पाएकै थिएनन् । त्यहाँ भित्तामा सुनौला किनारा भएका चित्र थिए । भान्छाघरबाहेक सबैतिर भुइँमा रातो कार्पेट बिछ्याइएको थियो । बैठककोठामा राता कुर्सी, खाना खाने कोठामा हरिया टेबुलहरू, साँच्चैको तन्नासहित खाट, कोक्रो, स्टोभ, साना प्लेटहरू राखिएको कपबोर्ड र एउटा ठूलो जग । तर, केजियालाई सबैभन्दा मन परेको, बहुतै आकर्षक कुराचाहिँ लाल्टिन थियो । यो खाना खाने टेबलको बीचमा थियो । सेतो ग्लोभसहित गजबको बत्ती । भित्र तेलजस्तै देखिने केही चिज थियो, जुन चलाउँदा हल्लन्थ्यो ।

पुतलीघरभित्र बाबु र आमा बैठक कोठामा बेहोस अवस्थामा भएझैँ देखिन्थे । तिनका दुई साना बच्चा भ-याङमाथिको कोठामा निदाइरहेका थिए । पुतलीको घरको आकारका हिसाबले ती अलि ठूलै देखिन्थे । तिनीहरू त्यहाँ उपयुक्त भएझैँ लाग्दैनथ्यो । तर, बत्तीचाहिँ पक्का थियो है ! यसले केजियालाई हेरेर हाँस्दै भनिरहेझैँ लाग्थ्यो, ‘म यहाँ छु ।’ बत्ती साँच्चै गजब थियो ! भोलिपल्ट बिहान बर्नेलका नानीहरू स्कुल पुग्ने हतारमा थिए । उनीहरू स्कुलको घन्टी लाग्नुअघि नै हरेकलाई पुतलीको घरबारे गफ दिन, त्यसबारे बढाइचढाइ सुनाउन हतारिएका थिए ।

‘म भन्छु,’ इजाबेलले भनी, ‘म जेठी हुँ नि त ! तिमीहरूले मेरो कुरामा थपथाप गरे हुन्छ ।’यसमा अरूले बोल्ने कुरै थिएन । इजाबेल त हाकिम पाराकै थिई । ऊ सदैव सही हुन्थी । लोट्टी र केजिया पनि जेठी हुनुको अर्थ के हो भन्ने राम्रै बुझ्थे । उनीहरू बटरकपको झाडी हुँदै सडकमा चुपचाप हिँडिरहे ।‘अनि म नै हेर्न चाहनेमध्ये पहिले को आउने भनेर छान्छु । कुरो बुझ्यौ त फुच्ची हो, आमाले भनेको यो निर्णय मैले नै गर्ने हो !’

निर्णय यस्तो भयो, पुतलीको घर आँगनमा रहुन्जेल एकपल्टमा स्कुलका दुईजनाले हेर्न पाउने भए । चिया खाने, घरभित्र छिर्ने चानस हुनेछैन । मात्र आँगनमा उभिरहने, जबसम्म इजाबेलले यसको सुन्दरताबारे बताउँछे अनि लोट्टी र केजिया मख्ख परिरहनेछन् ।
जति हतार गरे पनि उनीहरू केटाहरूको खेलमैदान पुग्दा स्कुलको घन्टी बजिहाल्यो । रोल नम्बर बोलाउनुअघि उनीहरूले आफ्नोे ह्याट उतारेर लाइनमा बस्न मात्र भ्याए । केही छैन । इजाबेलले आफूलाई अत्यन्त महत्वपूर्ण  र रहस्यमयी देखाएर यसको भर्पाई गरिछाडी । आफूपछाडि उभिएकी केटीसँग फुसफुसाउँदै उसले भनी, ‘हाफ टाइममा मलाई भेट है ! तिमीलाई एउटा गजबको कुरा भन्छु ।’

हाफ टाइममा इजाबेललाई सबैले घेरा हाले । केटीहरूबीच इजाबेललाई अँगालो हाल्ने, ऊसँग हिँड्ने उसको विशेष साथी हुँ भनेर खुसामद गर्नमा होडबाजी नै चल्यो । खेलमैदानको एक कुनामा देवदारुको रुखमुनि इजाबेलको भारदारी सभा नै बस्यो । जिस्किँदै, ङिच्चिँदै केटीहरू आपसमा कोच्चिएर बसे । दुईजना, हो, मात्र दुईजना यस घेराबाट बाहिर थिए, जो सदैव बाहिरै रहन्थे । ती थिए फुच्ची केल्भीहरू । बर्नेल केटाकेटीको नजिक जानु हुँदैन भन्ने उनीहरूलाई राम्ररी थाहा थियो ।

कुरा के थियो भने जुन स्कुलमा बर्नेलका केटाकेटी पढ्न जान्थे, कुनै विकल्प हुँदो हो त बाबुआमाले उनीहरूलाई पक्कै त्यहाँ पठाउँदैनथे । विकल्पै थिएन । कोसौँको दूरीमा यही एउटा स्कुल थियो । त्यसैले वरपरका सबै बालबालिका, जस्तो कि न्यायाधीशका छोरीहरू, डाक्टर साहेब, स्टोरकिपर, दूध विक्रेता सबैसबैका केटाकेटी त्यहीँ छ्यासमिस हुन बाध्य थिए । त्यहीँ उत्तिकै संख्यामा गतिछाडा र कर्कस फुच्चे केटाहरू पनि छँदै थिए । तर, कहीँ त रेखा खिच्नु नै थियो ।

यो रेखा केल्भीका बच्चाहरूबाट सुरु हुन्थ्यो । बर्नेलसहित थुप्रै बालबालिकालाई उनीहरूसँग बोल्न दिइँदैनथ्यो । घमन्डले टाउको फुलाएर उनीहरू केल्भीहरूकै अगलबगल भएर हिँड्थे । तर, केल्भीहरू हरेक बालबालिकाबाट बहिष्कृत थिए । कहाँसम्म भने उनीहरूसँग बोल्नलाई शिक्षकासमेत बेग्लै रुखो स्वर प्रयोग गर्थिन्, जब लिल केल्भी अत्यन्त सामान्य खालको फूल लिएर शिक्षकाको डेस्कतिर जान्थी । अरू बच्चाका लागि भने उनको मुहारमा विशेष प्रकारको मुस्कान हुन्थ्यो ।

यिनीहरू हरेक दिनजसो घर–घर चहारेर लुगा धुँदै हिँड्ने मिहिनेती धोबिनीका छोरीहरू थिए । यतिले कहाँ पुग्थ्यो र ? धोबिनीको लोग्ने कहाँ थियो ? कसैलाई पक्का थाहा थिएन । तर, सबैजसोले भन्थे, ऊ जेलमा छ । त्यसैले तिनीहरू धोबिनी र कैदीका छोरी थिए । अरू बालबालिकाका लागि असल साथी । तिनीहरू त्यस्तै देखिन्थे । थाहा छैन, श्रीमती केल्भी किन उनीहरूलाई यस्तो भेषमा राख्थिन् । सत्य के थियो भने उनीहरू तिनै कपडा लगाउँथे, जुन तिनका आमाले काम गर्ने घरबाट दयास्वरूप पाउँथिन् ।

जस्तो कि, अनुहारमा ठूला दागहरू भएकी मोटी र साधारण देखिने लिल जुन लुगा लगाएर स्कुल आउँथी, तिनमा बर्नेलको घरको मेच पुछ्ने हरियो कपडाबाट सर्ट र त्यसको बाहुला लोगानको घरबाट ल्याइएको पुरानो पर्दाबाट बनेको हुन्थ्यो । उसको ठूलो ह्याट पोस्टमास्टरकी पत्नी मिसेज लेकीको थियो । यो पछाडिपट्टि फर्केको र रातो फुर्कोले कसिएको थियो । कस्ती देखिन्थी यो फुच्ची ?

उसलाई देखेर हाँसो रोक्न मुस्किल पथ्र्यो । उसकी सानी बहिनी, अर्थात् हाम्री एल्स नाइट गाउनजस्तो लामो सेतो लुगा र केटाको बुट लगाउँथी । तर, एल्सले जे लगाउँथी, उसलाई अनौठो देखिन्थ्यो । ऊ दुब्ली, छोटा कपाल र उल्लुका जस्ता उदास आँखा भएकी केटी थिई । बिरलै बोल्ने यो केटी हाँसेकी त कसैले देखेको छैन । सधैँ दिदीको स्कर्टको फेर समातेर पछिपछि हिँड्थी । लिल जताजता जान्थी, हाम्री एल्स उसैको पछि लाग्थी । खेल मैदान, सडक, स्कुल आउँदा–जाँदा लिल अघिअघि र एल्स पछिपछि । केही भन्नुपर्दा वा सास फेर्न गाह्रो पर्दा ऊ लिलको फ्रकमा एक झड्का दिन्थी । लिल पछाडि फर्केर हेर्थी । यी केल्भी बालिका एक–अर्काको मर्का बुझ्न कहिल्यै चुक्दैनथे ।

अहिले पनि यिनीहरू अरू केटीको घेराबाट बाहिर थिए । तर, तिनलाई सुन्न कसैले रोक्न सक्दैनथ्यो । जब अन्य केटीले फर्केर उनीहरूतिर घुर्दै हेरे, लिल सधैँजसो हडबडाएर बेवकुफ पाराले हाँसी । हाम्री एल्स भने ट्वाल्ल परेर हेरी मात्र रही ।
इजाबेल गर्वोन्मत आवाजमा बताइरहेकी थिई । कार्पेट गज्जबको छ, साँच्चैको तन्ना हालिएको खाट र ओभनवाला चुलो पनि कम छैन है ! उसको कुरा सकिएपछि केजियाले थपी, ‘तिमीले लालटिनबारे भन्न बिर्सियौ दिदी ।’‘ए, हो त !’ इजाबेलले भनी, ‘भान्छाघरमा सानो बत्ती छ, पँहेलो  सिसा र सेता ग्लोब भएको । यो, साँच्चैको बत्तीभन्दा कम छैन, कस्सम...!’

‘सबभन्दा दामी नै बत्ती हो क्या !’ केजिया चिच्याई । उसलाई लाग्यो, इजाबेलले यसको भव्यताबारे आधा पनि बताउन सकिन । तर, उसको कुरामा कसैले ध्यान दिएन । इजाबेलले त्यस दिन अपराह्न आएर हेर्नलाई दुईजना छानी । एम्मी कोल र लिना लोगान । सबैजना पालैपालो हेर्न जान पाउनेवाला थिए । इजाबेलको कम्मरमा हात राखेर उनीहरू ऊसँगै हिँडिरहेका थिए । उनीहरू ऊसँग साउती मार्न चाहन्थे, ‘इजाबेल तिमी मेरो सबभन्दा मिल्ने साथी हौ क्या !’

केबल केल्भी नानीहरू छुटे । उनीहरूलाई अरू कुरा सुन्नु पनि थिएन ।दिनहरू बिते । धेरै बालबालिकाले पुतलीको घर हेर्न पाए । यसको प्रसिद्धि व्यापक भयो । कुरा गर्ने विषय नै अब त यही थियो । प्रश्न हुन्थ्यो, ‘तिमीले बर्नेलकहाँ पुतलीको घर हे¥यौ ? मज्जाको छैन त ? अझैसम्म नहेरेको ? लौ, अवश्य हेर्नू है !’


खाने वेला पनि यसैबारे कुरा हुन्थ्यो । देवदारुको रुखमुनि बसेर उनीहरू बाक्लो मटन स्यान्डविच र नौनी दलिएको मोटो केक खान्थे । जति सकिन्छ मिलेसम्म नजिक बसेर केल्भी बच्चीहरू, रातो दाग लागेको अखबारबाट जाम स्यान्डविच चपाउँदै उनीहरूका कुरा सुनिरहेका हुन्थे । एल्सचाहिँ यस्तो वेला पनि दिदीको फ्रक समातिरहेकी हुन्थी । ‘आमा,’ केजियाले भनी, ‘एकचोटि मात्र भए पनि केल्भीहरूलाई बोलाउँछु नि हुन्न ?’
    ‘हुँदैन केजिया ।’
    ‘किन हुँदैन आमा ?’
‘भाग् बदमास ! किन हुन्न भन्ने तँलाई राम्ररी 
थाहा छ ।’
उनीहरूबाहेक सबैले हेरिसके । त्यो दिन यो विषय अझ चर्कोसँग उठ्यो । देवदारुको रुखमुनि उनीहरू उभिएका थिए । जब उनीहरूले केल्भीहरू अखबारको पानाबाट झिकेर खाना खाइरहेका र उनीहरूका कुरा सुनिरहेका थाहा पाए, उनीहरूलाई एकपल्ट तिनलाई धच्का दिने मनुसुवा भयो । 
एम्मी कोल फुसफुसाउन सुर गरी, ‘लिल केल्भी ठूली भएपछि कसैकहाँ नोकर्नी बस्न जान्छे रे बाबै !’
‘ओहो, कस्तो नमज्जा !’ इजाबेल बर्नेलले एमीतिर हेर्दै भनी ।
एमीले गाँस निल्दै त्यही शैलीमा इजाबेललाई टाउको हल्लाएर संकेत गरी जस्तो उसकी आमाले वेला–वेलामा गर्थिन् ।
‘हो भन्याँ, हो, हो, हो, साँच्ची हो ।’
त्यसपछि लिना लोगानका साना आँखा उत्ताउलिए । ‘म सोधूँ त्यल्लाई ?’ साउतीको स्वरमा ऊ बोली ।
‘बाजी राख्छु, तँ सोध्न सक्दिनस्,’ जेस्सी मेले भनी ।
‘म डराउँछु भन्ठानेकी, हेरिराख् है त ?’ हाँस्दै ऊ केल्भी दिदीबहिनीको नजिक गई ।
‘फुस्सा,...म डराउने खालकी केटी होइन,’ लिनाले भनी । अकस्मात् ऊ चिच्याई र केल्भीहरूसामु नाच्न थाली । ‘हेर...लौ हेर...लौ अब मलाई हेर,’ लिनाले भनी । चिप्लिँदै, हल्लिँदै, उफ्रिँदै, एउटा खुट्टा लतार्दै, खितखिताउँदै, हात पछाडि राखेर ऊ केल्भी दिदीबहिनीसामु पुगी ।
खाँदा–खाँदै लिलले माथितिर हेरी । छिटो–छिटो उसले खानेकुरा पत्रिकाको पानामा पोको पारी । हाम्री एल्स भने खाना चपाउन छाडेर चुपचाप हेरिरही । के हुन खोज्दै छ यहाँ ?
‘कुरा के हो ? ठूली भएपछि तँ कसैकी नोकर्नी बन्छेस्, हैन त लिल केल्भी ?’ कर्कस स्वरमा 
उसले सोधी ।
मृत मौनता । जवाफ दिनुको सट्टा लिल लज्जित र बेवकुफ पाराले आत्महीन हाँसो हाँसी । उसले यस प्रश्नलाई गम्भीर रूपमा लिइन । लिना अब के गरोस् ? केटीहरू हाँस्न थाले ।
यो कुरा लिनाले सहन सकिन । उसले आफ्नो हात पछाडि राखी र बमजस्तै पड्कन थाली, ‘अँ, तेरो बाऊ झ्यालखानामा छ, हैन ?’ ऊ घृणाले 
सर्पजस्तै हिसहिसाई ।
यति भन्न सक्नु ठूलै कुरा थियो । उनीहरू एकछिन दौडिए, गज्जबसँग उत्ताउलिए । कसैले डोरी ल्यायो । उनीहरू खेल्न थाले । डोरी खेल्दा उनीहरू यति माथि, दायाँ र बायाँ कहिल्यै उफ्रेका थिएनन् । अझ भनूँ बिहान–बिहान यस्तो साहसिक काम कहिल्यै गरेका थिएनन् ।
अपराह्न प्याटले बर्नेल नानीहरूलाई बोलायो र बग्गीमा राखेर लग्यो । घरमा पाहुना आएका थिए । इजाबेल र लोट्टी पाहुना आएकोमा खुसी भए र घाँघर फेर्न गए । तर, केजिया आँखा छलेर बाहिर निस्किई । कसैले याद गरेन । ऊ आँगनको ठूलो सेतो ढोकामा झुन्डिएर पिङमा झैँ मच्चिई । टाढा सडकमा उसले दुई थोप्लाजस्तो केही देखी ।

बिस्तारै तिनीहरू ठूला देखिन थाले, जो ऊतिरै आइरहेका थिए । उसले देखी, एउटा अगाडि र उसको नजिकै पछाडि अर्को कोही छ । उसले चिनी, ती केल्भी दिदीबहिनी थिए । केजिया मच्चिन छाडी । ऊ ढोकाबाट बाहिर निस्किई, मानौँ ऊ भागिरहेकी थिई । तब ऊ एकछिन अडिई । केल्भीहरू नजिकिँदै थिए, सँगै तिनका सडकसम्म पुगेका लामा छाया हिँडिरहेका थिए । टाउकाहरू बटरकपको बोटसम्म तन्केका थिए ।
केजिया फर्केर फेरि ढोकामै मच्चिई । उसले मन दरो पारी र मच्चिन छाडी ।

‘हल्लो,’ जाँदै गरेका केल्भीहरूलाई उसले बोलाई । तिनीहरू कति अचम्मित भए भने चुपचाप रोकिए । लिलले बेवकुफ पाराले दाँत देखाई । हाम्री एल्स चुपचाप हेर्न थाली ।‘तिमीहरू पनि आएर हाम्रो पुतलीको घर हेर्न सक्छौ है !’ केजियाले खुट्टाको बुढीऔँला भुइँमा लतार्दै भनी । तर, लिल लाजले राती भई र डराएर नाइँ भन्न टाउको हल्लाई । ‘किन र ?’ केजियाले सोधी ।सास फुलाउँदै लिलले भनी, ‘तिम्री आमाले हाम्री आमालाई भनेको, तिमीहरू हामीसँग बोल्नु हुँदैन रे ।’‘ए !’ केजियाले भनी । अब के भन्ने हो, ऊ अकमकिई । ‘केही छैन । जे भए पनि तिमीहरू आएर हेरे हुन्छ । आऊ, आऊ । कसैले देख्दैन ।’

तर, लिलले अझै अस्वीकृतिमा टाउको हल्लाइरही ।
‘नआउने त ? तिमीहरूलाई हेर्न मन छैन 
त्यसो भए ?’
एक्कासि लिलले आफ्नो स्कर्ट तानिएको थाहा पाई । ऊ पछाडि फर्किई । हाम्री एल्स आफ्ना ठूला आँखाले बिन्तीभाउ गरिरहेकी थिई । ऊ पुतलीको घर हेर्न चाहन्थी । दिदीले एकछिन बहिनीलाई शंकाको नजरले हेरी । हाम्री एल्सले दिदीको स्कर्ट फेरि तानी । ऊ आफैँ अगाडि लागी । केजियाले बाटो देखाई । दुई छाडा बिरालाजस्तै आँगनमा तिनीहरू केजियाको पछि लागे जहाँ पुतलीको घर थियो ।
‘यहाँ छ,’ केजियाले भनी ।
मौन । केबल मौन । लगभग घुरेजस्तै गरी लिलको सास फुल्यो । हाम्री एल्स भने ढुंगाजस्तै चुपचाप थिई ।
‘लौ, म खोलेर देखाउँछु है त ?’ केजियाले मायालु स्वरमा भनी । उसले आग्लो खोली र उनीहरूले भित्रपट्टि राम्ररी हेरे ।
‘त्यो बैठक कोठा, त्यो खाना खाने कोठा र त्यो... ।’
    ‘केजिया !’
    उनीहरू तर्सिए ।
    ‘केजिया !’
यो बेरिल काकीको आवाज थियो । उनीहरूले फर्केर हेरे । पछिल्लो ढोकामा उभिरहेकी बेरिल काकी अचम्मित भएर हेरिरहेकी थिइन्, मानौँ उनलाई आफ्नै आँखाले देखेको दृश्यमाथि विश्वास भइरहेको छैन ।
‘केल्भीहरूलाई यहाँ आँगनसम्म बोलाउने दुस्साहस तैँले कसरी गरिस् हँ ?’ अत्यन्त रिसाहा आवाजमा उनी पड्किइन् । ‘तिनीहरूसँग बोल्न हुन्नँ भन्ने तँलाई राम्ररी थाहा थियो । भाग, भाग छौँडी हो । फेरि–फेरि आयौ भने तिमेर्का छाला काढेर नुनचुक लाउँछु,’ बेरिल काकीले भनिन् । तिनले आँगनमा जुत्ता यसरी बजारिन्, मानौँ केल्भीहरू कुखुराका चल्ला थिए ।
‘भागिहाल, तुरुन्तै,’ उनले घमन्डले भरिएको चिसो स्वरमा भनिन् ।

उनीहरूलाई दोहो-याएर भन्नु परेन । लज्जित र हीनभावले खुम्चिँदै लिल आफ्नी आमाकै शैलीमा दच्किएर हिँडी । पछिपछि हाम्री एल्स । स्तम्भित हुँदै कसैगरी तिनले आँगन पार गरे र च्यापिँदै सेतो ढोकाबाट बाहिर निस्किए ।‘बदमास, तँलाई अटेरी !’ तिछरो स्वरमा काकी बेरिलले केजियालाई हकारिन् र पुतलीको घरको ढोका ढ्याम्म बन्द गरिदिइन् ।

त्यो अपराह्न बेरिल काकीका लागि तनावपूर्ण थियो । विली ब्रेन्टले उनलाई एउटा चिठी पठाएको थियो । चिठीमा पुलमन झाडीमा भरे साँझ उसलाई भेट्न नआए उनको घरको गेटअगाडि नै आउने धम्की दिएको थियो । केल्भीहरूलाई बेसरी तर्साएपछि र केजियालाई हकारेपछि उनको हृदय शान्त भयो । त्यो तनाव मानौँ फोहोरजस्तै बढारियो । उनी गीत गुनगुनाउँदै घरभित्र छिरिन् ।
बर्नेलको घरबाट ओझेल परेपछि केल्भीहरू सडकको एकाछेउमा रातो ढलमाथि बसे । लिलका गाला अझै रातो भइरहेको थियो ।

उसले त्यो प्वाँखवाला ह्याट खोली र घुँडामाथि राखी । कतै हराएझैँ उनीहरू परालको कुन्युमाथि खोलापारि चाङ लगाइएका खम्बाहरू हेर्न थाले, जहाँ लोगानका गाईहरू दूध दुहिने प्रतीक्षामा थिए । उनीहरू के सोचिरहेका होलान् ? हाम्री एल्स दिदीसँग टाँसिई । अब उसले त्यो रिसाहा आइमाईलाई बिर्सिसकेकी थिई । उसले एउटा औँला अगाडि बढाई र दिदीको ह्याटको फुर्कोमा अड्याई । कहिल्यै नहाँस्ने हाम्री एल्सको मुखमा मुस्कान फैलियो ।
‘मैले त्यो बत्ती देखेँ नि दिदी !’ नरम स्वरमा 
उसले भनी । 
दुवैजना एकपल्ट फेरि मौन भए । 

ढाँट र पाखण्डमा रमाउने श्रमविरोधी समाजमा अछुत बनाइएका धोबिनी र कैदीका दुई कलिला छोरीले भोग्नुपरेको आत्महीनता, उत्पीडन अनि अपमानको हृदयविदारक कथा । म्यान्सफिल्डको विश्वप्रसिद्ध यो कथा ‘द डल्स हाउस’को अनुवाद हो । ‘द डोभ्स नेस्ट’बाट लिइएको यो कथा कवि तथा कथाकार अभय श्रेष्ठले अंग्रेजीबाट अनुवाद गरेका हुन् ।

 

 

प्रतिकृया दिनुहोस