• वि.सं २०८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
सविता भट्ट
२०८१ माघ ५ शनिबार ०८:१५:००
इतिहास

नेपाल चिनाउने दस्ताबेज

२०८१ माघ ५ शनिबार ०८:१५:००
सविता भट्ट

 

नेपालमा भूगर्भसम्बन्धी अध्ययन र अनुसन्धान गर्न आउने पहिलो व्यक्ति टोनी हागनले आफूले नेपालमा रहेर अध्ययन गर्दाका अनुभव समेटिएको पुस्तक हो ‘नेपालमा मेरो खोज यात्रा ।’ वसन्त थापाले अनुवाद गरेको यो किताब हिमाल किताबद्वारा प्रकाशित छ ।

 

सन् १९५० मा स्विस सरकारले ६ महिनाका लागि नेपाल पठाएको प्राविधिक टोलीको रूपमा टोनी हागन पहिलोपटक नेपाल आएका थिए । मुख्य काम नेपालमा आधुनिक पश्चिमा शैलीको विकास पद्धति थाल्नु तथा विभिन्न खनिज भण्डार पत्ता लगाउन सहयोग गर्नु थियो । यही यात्राबाट उनले नेपालसँग निकट सम्बन्ध कायम गर्ने अवसर प्राप्त गरे । नेपालको प्राकृतिक, सांस्कृतिक तथा विविध पक्षबारे बुझ्न यो पुस्तक उपयोगी छ । 

 

आठ वर्षमा झन्डै १४ हजार किलोमिटर तेर्सो र ९५० किलोमिटरभन्दा बढी उकालो पैदलयात्रा गर्ने पहिलो विदेशी नागरिक टोनी हागन हुन् । भूगर्भसम्बन्धी अभिलेख र पूर्वाधार नै नभएको अवस्थामा उनले नेपालको भौगर्भिक अध्ययन सुरु गरेका थिए । बाल्यकालदेखि नै भूगर्भ र चट्टानसम्बन्धी अध्यनमा रुचि राख्ने सपना बोकेका टोनी हागन आफ्नो अनुभवलाई अल्पविकसित मुलुकमा प्रयोग गर्न सफल भएका थिए । 

 

किताबको सुरुवातमा प्राकृतिक तथा सांस्कृतिक रूपमा त्यति वेलाको नेपालको निकै सुन्दर चित्रण गरिएको छ । नेपालको कृषि, जलविद्युत् र यातायात प्रणालीको विकासको रूपरेखा तयार गर्ने पहिलो व्यक्ति टोनी हागन रहेको कुरा यस पुस्तकबाट थाहा हुन्छ । नेपालको जलस्रोतलाई उनले ‘ह्वाइट गोल्ड’को नाम दिएका छन्।

 

उनी नेपाल प्रवेश गर्दा जब यात्रा उपत्यकातिर बढ्छ, त्यतिवेलाको वर्णित दृश्यले फेरि नेपालका शासकबारे गहिरिएर सोच्न बाध्य बनाउँछ । भीमफेदीबाट एउटा कारलाई ४० जना भरियाले बाँस र काठको घारामा बाँधेर महिनौँ लगाई काठमाडौं ल्याउँथे । उक्त कार चढ्ने शासकको मनोविज्ञानको अनुमान सजिलै लगाउन सकिन्छ ।

 

नेपालको विकासमा भारतको धेरै चासो रहने र हस्तक्षेप गर्ने गरेको यथार्थ पुस्तकमा गरिएको छ । शिवपुरीको पानीमा पाइने कीटाणुले उपत्यकावासीमा पेटको समस्या हुने र पानीको अर्को व्यवस्थापन गर्ने उपायअन्तर्गत गोसाइँकुण्ड र हेलम्बुको पानी ल्याउनुपर्ने सुझाब उनको पुस्तकमा पाइन्छ ।

 

चीनद्वारा तिब्बत कब्जा गर्दा नेपाल आएका शरणार्थीलाई विभिन्न माध्यमबाट सहयोग गरेको कुरा पनि लेखेका छन् । काठमाडौंको बजारमा तिब्बतीहरूले गलैँचालगायत हस्तकलाका सामग्री बेच्ने गरेको थाहा पाएका र उनीहरूको कौशलबाट प्रभावित भएका हागनले तिब्बती शरणार्थीलाई गलैँचा बुन्ने काममा लगाइयो भने उनीहरूको पुनस्र्थापना पनि हुने र नेपाललाई आर्थिक सहायता पनि हुने विश्वासमा उनले गलैँचा उद्योगको स्थापना गरे ।

 

खाद्यान्न र जुट मात्रै निर्यात गर्दै आएको नेपालबाट गलैँचा निर्यात गरी नेपाल र तिब्बतीहरूको आर्थिक विकासमा सहायता पुगेको कुरा पुस्तकमा दाबी गरिएको छ । शरणार्थीलाई पुनः स्थापना गर्न हागनले दुई योजना अपनाए, पहिलो– हरेक तन्दुरुस्त शरणार्थीले काम गर्नैपर्ने र दोस्रो, काम गरेबापत उनीहरूलाई ज्याला दिनुपर्ने । उनको यस योजनाको उद्देश्य शरणार्थीलाई कपडा र गलैँचा बुन्न लगाउने नै थियो । तिब्बती शरणार्थीको संस्कृतिको जगेर्ना गर्न र भविष्यमा आइपर्न सक्ने समस्याको समाधान खोज्न भारतको धर्मशालामा रहेका दलाइ लामासँग भेटेर सल्लाह गरेका थिए ।

 

हागनले आफ्नो यात्रामा खिचेका तस्बिर र भिडियोहरू तत्कालीन प्रधानमन्त्री (बिपी कोइराला)लाई देखाएका थिए । खतरनाक साँघुहरू, अप्ठ्यारो बाटो, भत्किन लागेको जीर्ण झोलुंगे पुलहरू, बिरामी मानिस, जंगल फँडानी, पहिरो आदि दृश्य भएका स्लाइडहरू राजदरबारमा उनले प्रदर्शन गरेपछि राजा महेन्द्रले ‘अब मैले मेरो मुलुक हेर्नुपर्छ’ भनेर आफ्नो विचार राखेका थिए ।

 

यात्राका क्रममा मुस्ताङ पुग्दा मुस्ताङी राजाले भेट्न नमानेको र रानीको विदेशी क्रिमप्रतिको मोहका कारण राजासँग भेट भएको रमाइलो प्रसंग पनि यस किताबमा पाइन्छ । रानी एलिजाबेथसँग काठमाडौँमा भएको भेटघाटको रमाइलो प्रसंग पनि छ । 

 

हागनले करिब तीन दशकअघि नै नेपालको पदयात्रा पर्यटनको सम्भावनाबारे भनेका रहेछन्, ‘स्थानीय बासिन्दाको पूर्ण सहभागितालाई सुनिश्चित गरेर पदयात्रा पर्यटनको सकारात्मक प्रभावलाई अझ बढी प्रभावकारी बनाउन सकिन्छ ।’

 

नेपालमा यातायात र सञ्चारको पूर्वाधार बनेको, स्वास्थ्य सेवा सुचारु भएको, शिक्षामा लगानी र सहभागिता बढेको देखेर हागनले खुसी व्यक्त गरेका थिए । विकसित देशबाट आएका ठुला विकासे मोडेलभन्दा रैथाने र साना मोडेलको पैरवी गर्नुपर्ने हागनको निष्कर्ष छ । सहरकेन्द्रित विकास र अनुदान दिएर खाद्यान्नको मूल्य कम राख्ने नीति किसानको हितविपरीत रहेको उनको विचार छ । भुइँ तहमा भिजेर काम गर्ने विकासे कार्यकर्ताको विचार र अनुभवलाई मान्यता दिनुपर्ने विचार उनको रहेको छ । ५ जुन १९८४ मा हागनले दिएको भाषण विशिष्ट मानिन्छ । राजा वीरेन्द्रले उनलाई विदेशीहरूलाई प्रदान गरिने सबैभन्दा विशिष्ट विभूषण प्रदान गरेका थिए । विभूषणको नाम ‘वीरेन्द्र प्रज्ञालंकार’ थियो । यस पुरस्कारले हागनलाई नेपालमै रहेर काम गर्न थप हौसला मिलेको थियो ।

 

स–सानाजस्ता लाग्ने तर महत्वपूर्ण विषय उठान गर्ने विशेषता यस पुस्तकको सबैभन्दा विशिष्ट पाटो हो । नेपाल चिनाउने महत्वपूर्ण दस्ताबेज हो यो पुस्तक । उतिवेलाको नेपाल र अहिलेको नेपालको तुलनात्मक अध्ययन गर्न अहिलेका पुस्ताले पढ्नै पर्ने पुस्तक हो ‘नेपालमा मेरो खोज यात्रा ।’