
अहिले त पोखरा सहर भयो । महानगर बन्यो । त्यतिखेर सानो बजार थियो । पृथ्वीनारायण शाहको पालामा हटिया मात्रै रहेछ ।
गाउँमा ५ कक्षासम्म पढेपछि म पोखरा आएर पढेको हुँ । घरको एक्लो छोरो भएकाले बाबुआमाले मलाई एक वर्षपछि मात्र पठाउनुभयो ।
त्यतिखेर मंसिरमा जाँच हुन्थ्यो । २०१८ साल माघमा एउटै राशीमा आठवटा ग्रह बस्ने योग थियो, ती ग्रह आपसमा जुधे संसार ध्वस्त हुन्छ रे भन्ने हल्ला थियो । मानिसहरू त्राही–त्राही थिए । तर, त्यस्तो केही भएन । बजारतिर मानिसहरू चौतारामा पाल टाँगेर बस्थे । हामी पनि गाउँ आयौँ । गाउँ आउँदा उकालो–ओरालो चढ्नुपर्ने, कहिले घर आउला भन्ने हुन्थ्यो । दुइटा जब्बर उकालो हिँड्नुपथ्र्यो । बाटोमा मानिसहरूले मोही खाऊ, पानी खाऊ भन्थे । कसैकसैले च्या खाएर जाऊ पनि भन्थे ।
पोखरा त्यतिवेला निकै शान्त थियो । हामी आउँदा पोखरामा होटेल भन्ने थिएन । वास बस्ने ठाउँलाई भट्टी भन्थ्यौँ । भात पकाउने र खाने हाम्रै गाउँतिरको एकजना गुरुङसेनी महिलाको भट्टी पोखरामा थियो । गाउँका मानिस वास बस्न आउँदा चामल आफैँ ल्याउने गर्थे । एक छाकको एक माना चामल दिएपछि ती महिलाले खाना आफैँ पकाइदिन्थिन् । तिउनको प्रतिदिन एक रुपैयाँ खर्च तिर्ने गरेका थियौँ ।
केही समयपछि हामी साथीहरू आफैँ मिलेर एउटा घर भाडामा लिएर बस्न थाल्यौँ । भात आफैँ पकाउने, गाउँबाट भट्ट, सिन्की, घिउ ल्याउने, साग र दाउरा बजारमा किन्ने गरेका थियौँ । पोखरा बजारमा बिजुली थिएन । मट्टीतेलको टुकी टिनको बाकसमाथि राख्यो अनि पढ्यो । त्यसरी पढियो । हाम्रा कोही साथी रुख चढ्न पनि सिपालु थिए । साथीहरूले पीपलका रुखबाट सुकेका हाँगा झारेर ल्याउँथे ।
महिनाको अन्त्यमा साग कसले किनेको, नुन कसले किनेको भनेर हिसाब गरिन्थ्यो । त्यहीअनुसार कुल खर्चअनुसार सबैले खर्च बाँडफाँड बराबर गर्ने गरेका थियौँ ।
मैले सोल्डर्स बोर्ड हाइस्कुल पढेँ । अहिले यसलाई अमरसिंह उच्च मावि भन्छन् । त्यतिवेला भारतीय सोल्डर्स बोर्डले स्कुल चलाएको थियो । यो स्कुलमा नियम निकै कडा थियो । कपाल पाल्न नपाइने, नङ छोटो हुनुपर्ने, दाँत माझे–नमाझेको देखाउन ङिच्च हाँस्नुपर्ने, हाफ पाइन्टमा क्रिज हुनुपर्ने थियो । यही बोर्डले अस्पताल पनि चलाएको थियो । अहिलेको गण्डकी अस्पताल त्यसैको विकसित रूप हो ।
२०२२ मा मैले एसएलसी दिएँ । त्यसपछि साथीहरूसँगको मेस पनि टुट्यो । पृथ्वीनारायण कलेजमा मर्निङ क्लासमा भर्ना भइयो । बिहानै हावा चलेको हुन्थ्यो । कलेज गएर फर्कंदा बाँस काटेर ल्याउने चलन थियो । सबै कटेरा–कटेरीमा बसेर पढ्ने । हामी पढ्दै गर्दा बल्ल यहाँ पक्की भवन बन्न थाले ।
आइए पढ्दा बजारको संगत पनि बाक्लियो । धेरै कुरा बुझन् थालियो । औँसी, पूर्णे, एकादशी अष्टमीमा नेवारहरूको भजन हुन्थ्यो । भजन सकिएपछि कहिले मालपुवा त कहिले अन्य प्रसाद बाँड्थे । नेवारी संस्कृति र खानपान बुझ्न थालियो । शनिबारको दिन कपडा धुन सेती गण्डकी गइन्थ्यो ।
आइएको परीक्षा दिएपछि नतिजा आउन एक वर्ष कुर्नुपर्ने थियो । त्यही अवधिमा मैले गण्डकी हुलाक कार्यालयमा प्रशासनिक मुखियामा जागिरका लागि आवेदन दिएर पास भएँ । तलब एक सय थियो । मादीपूर्व र रुदी पश्चिमका ६ गाउँमा पर्ने पाँचवटा गाविसलाई २०३२ सालमा मात्रै लमजुङबाट अलग गरेर कास्कीमा गाभिएको हो । ०२३ सालमा जागिर गर्दासम्म मेरो गाउँ लमजुङ जिल्लाअन्तर्गत थियो, फरक जिल्लामा काम गरेकाले ३५ रुपैयाँ भत्ता पनि पाउँथेँ ।
हुलाक कार्यालयमै काम गर्दा बिए भर्ना भएँ, पास गरेँ । ०२८ सालमा विवाह पनि गरेँ । ०३० मा पृथ्वीनारायण क्याम्पसमा हेड असिस्टेन्टमा आवेदन दिएँ । त्यो सुब्बा सरहको जागिर थियो । गणेशमान पालिखे क्याम्पस प्रमुख हुनुहुन्थ्यो, तलब ३२० रुपैयाँ थियो ।
त्यसपछि स्थायी सहायक प्रशासकमा जाँच दिएर पास भएँ । जागिर खाएँ । स्थायी सहायक प्रशासक भनेको शाखा अधिकृतसरह (तलब चार सय २०) रुपैयाँ थियो । त्यहाँ कायम–मुकायम उपप्रशासकको जिम्मेवारी पनि सम्हालिरहेको थिएँ । सेवा आयोगमा उपप्रशासकको जाँच दिएको फेल भइयो । त्यसपछि मेरो ठाउँमा अर्को साथी आउनुभयो ।
त्यतिखेर मानविकीको डिन कार्यालय पोखरामा थियो । यहाँका मानविकीका डिनले काठमाडौंको नेपाल एसियाली अनुसन्धान केन्द्रमा काजमा पठाउनुभयो । त्यहाँ उपप्रशासकमा पास भएको भए त्यतै हुन्थेँ । फेल भएको हुनाले काठमाडौं आइयो ।
पहिलोपटक काठमाडौं टेकेको ०३५ सालमा हो । काठमाडौं निकै सुन्दर थियो । डाँडाहरूले घेरिएको, हरियाली, ऐतिहासिक र सांस्कृतिक बिरासत बोकेको स्थल हो ।
सुरुमा ६ महिना काजमा आएको थिएँ । तर, यहाँका एकजना स्थायी सह–प्रशासक राजन सुवेदी नेपाल सरकारको शाखा अधिकृतका रूपमा सरुवा हुनुभयो । त्यसपछि सहायक प्रशासकको दरबन्दी खाली भयो । त्यसमा मलाई सरुवा गरियो ।
डोरबहादुर विष्टले नेपाल एसियाली अनुसन्धान केन्द्रमा विविध भाषा र संस्कृतिका मानिसलाई ल्याउने लक्ष्य राख्नुभएको थियो । एकपटक मलाई भन्नुभयो, ‘तपाईंलाई धुरन्धर विद्वान् भनेर बोलाएको पनि होइन । नभई नहुने खाँचो परेर बोलाएको पनि होइन । गुरुङ एउटा पिछडिएको वर्ग हो । उन्नति प्रगतिका लागि बोलाएको हो । पढ्ने पनि एउटा अनुसन्धान नै हो, त्यहीकारण यहाँ बसेर पढ्दै गर्नुस् ।’
म बिहान जान्थेँ । हाजिर गर्थें । कुर्सी टेबुल केही थिएन । मेरो कुनै प्रशासनिक जिम्मेवारी थिएन । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा संस्कृति विषयमा मास्टर्स गर्न थालेँ । अन्य साथीलाई यो चित्त बुझेको रहेनछ । उनीहरूको गुनासो सुनेपछि एकदिन सहायक निर्देशक प्रा.डा. सूर्यलाल अमात्यले भन्नुभयो, ‘तपार्इं कर्मचारी मान्छे, १० बजेदेखि ५ बजेसम्म कार्यालयमै बस्नुपर्छ ।’ उहाँको कुरा पनि सही नै थियो ।
हप्तामा दुई दिन पढ्न छुट दिनुस् भनेँ । मुद्रा शास्त्र, लिपि र पुरातत्व पढ्न जानैपर्ने थियो । यसका लागि स्वीकृति मागेँ । अन्य विषय पढ्न नजाने भएँ । लगत्तै सूर्यलाल अमात्य पनि युनिसेफको सहायक निर्देशक बनेर जानुभयो । त्यसपछि मलाई पढ्न नजाऊ भन्ने मानिस भएन । निकै मिहिनेतका साथ मैले प्रथम श्रेणीमा एमए पास गरैँ ।
काठमाडौंमा ३६–३७ सालसम्म पुस र माघमा हुस्सु लाग्थ्यो । कीर्तिपुरमा निकै चिसो थियो । आधा दिनसम्म हुस्सु लाग्थ्यो । साझा बसमा ठेलमठेल हुन्थ्यो । म पुल्चोक बस्थेँ । त्रिपुरेश्वर आएर बस चढेर कीर्तिपुर जानुभन्दा मलाई सोझै हिँडेर जान सहज लाग्थ्यो । झन्डै ५० मिनेटजतिमा त्यहाँ पुग्थेँ । रिङरोडमा गाडी निकै कम थिए । प्रदूषण कम थियो । एमए पास गरेपछि मैले विश्वविद्यालयमा सहायक प्राध्यापकको जागिर सुरु गरेँ ।
पुल्चोकमा जेठानको घरमा बस्ने भएकाले मैले भाडा तिर्नुपरेन । दाल, चामल, तेल र कहिलेकाहीँ पैसा पनि घरबाटै आउँथ्यो । नत्र, सहायक प्राध्यापकको जागिरले मात्रै घर धान्न गाह्रो हुनेवाला थियो ।
सुरुमा मैले कहिले एक र कहिले दुई क्लास लिन्थेँ । हिन्दु सोसल अर्गनाइजेसन, आइकोनोग्राफी (प्रतीमा लक्षण) पढाएँ । हामीले पढ्दा रेगुलर विद्यार्थीले रिलिजन पढ्नुपर्ने थियो । प्राइभेट दिनेहरूले फिलोसोफी पढ्थे । पछि मैले पढाउने वेलामा फिलोसोफी पनि कोर्समा राखियो । फिलोसोफी पढाउनलाई अरू मानिस थिएन ।
अहिलेको काठमाडौं र त्यतिवेलाको काठमाडौंमा धेरै परिवर्तन भइसकेको छ । घरहरू बढे । यातायत बढे । प्रदूषण बढ्यो । पहिले सिमेन्टेड घर थोरै थिए । अहिलेजस्तो भड्किलो फेसन थिएन । रात्रिजीवन बढेको छ । रेस्टुरेन्ट बढे । पार्टी प्यालेस बढे । उहिले त विवाह हुँदा पार्टी प्यालेस भन्ने छँदै थिएन ।
प्रस्तुति : अन्वेषण अधिकारी