
छाया सेन्टरस्थित ‘द कला सैलुन’मा १३ डिसेम्बरदेखि जारी प्रदर्शनी ९ फेब्रुअरीसम्म चल्ने
ग्यालरीमा पुगेर झट्ट हेर्दा पेन्टिङमा खाली लाइन कोरिएका र रङ पोतिएका मात्रै देखिन्छन् । तर, हेर्दै जाँदा आँखा, मुख, नाकलगायत धेरै आकृति देखिन थाल्छन् । अझ गहिरिएर हेरेमा मानव अनुहारमा छचल्किने विभिन्न अभिव्यक्ति (एक्सप्रेसन) देख्न सकिन्छ । जहाँ सुख, दुःख, पीडा, हाँसो, रोदन र उमंगका भाव कलाकृतिमा सजीव रूपमा उतारिएको छ ।
यहाँ श्रीलंकन आर्टिस्ट डा. मनोरञ्जन हेरथका पेन्टिङको चर्चा हुँदै छ, जसको कलात्मक आर्ट ठमेलको छाया सेन्टरस्थित ‘द कला सैलुन’मा प्रदर्शन भइरहेको छ । १३ डिसेम्बरदेखि सुरु भएको आर्ट प्रर्दशनी ९ फेब्रुअरीसम्म चल्नेछ । उनको आर्टमा मान्छेको अनुहारका विभिन्न आकृति देखिन्छन्, जसले गहिरो अर्थ र भावना प्रस्तुत गर्छन् । पेन्टिङमा प्रयोग भएको रङ र डिजाइनले दर्शकलाई लोभ्याउने कला सैलुनकी सञ्चालक सोफिया पाँडे बताउँछिन् ।
एउटै मान्छे खुसी हुँदा र दुःखी हुँदा अनुहारमा फरक एक्सप्रेसन देखिन्छ, त्यही एक्सप्रेसन हेरथले आफ्नो आर्टमा उतारेका सोफियाले बताइन् । प्रर्दशनीमा राखिएका सबै पेन्टिङमा अनुहारकै आकृति देखिन्छन् । तर, डिफरेन्ट रङ र डिजाइनमा । उनी भन्छिन्, ‘हेरथका पेन्टिङ एकदमै पावरफुल छन्, हेरिरहुँ लाग्छ, उहाँले मान्छेका अनुहारमा देखिने विभिन्न कथा आफ्नो कलामा उतार्नुभएको छ ।’
वरिष्ठ आर्टिस्ट हेरथ श्रीलंकाको युनिभर्सिटीमा मूर्तिकला पढाउँछन् । उनी श्रीलंकाका प्रसिद्ध मूर्तिकार हुन् । उनमा पेन्टिङप्रतिको मोह पनि गज्जबकै देखिन्छ । श्रीलंकाबाट ठुला मूर्तिहरू ल्याउनलाई कठिन हुने भएकाले हेरथका पेन्टिङ प्रदर्शनीमा राखिएको कला सैलुनकी सञ्चालक सोफियाको भनाइ छ । उनी भन्छिन्, ‘उहाँका मूर्तिहरू पनि ठुला हुन्छन्, नेपाल ल्याउन गाह्रो हुने भएकाले अहिलेलाई पेन्टिङ प्रदर्शनी गरिएको हो ।’
हेरथले ३० वटा पेन्टिङ प्रर्दशनीका लागि नेपाल ल्याएका छन् । उनका पेन्टिङ ‘क्युविज्म’ शैलीमा आधारित भएको कला सैलुनकी चक्षिता रानाले जानकारी दिइन् । उनले थपिन्, ‘आर्टमार्फत अनुहारको एक्सप्रेसन र आइडेन्टिटी एक्सप्लोर गर्न खोज्नुभएको छ ।’
हेरथको नेपालका वरिष्ठ कलाकारसँग राम्रै चिनजान छ । त्यसैले प्रदर्शनी अवलोकन गर्न गिनेचुनेकै कलाकार आइरहेका छन् । श्रीलंकन कलाकारको पेन्टिङ हेर्न आर्ट क्षेत्रकै विद्यार्थी, आर्टिस्ट, छाया सेन्टर (मल) र पाँचतारे अलफ्ट होटेलमा आउने अतिथिहरू धेरै हुने गरेको चक्षिताले बताइन् । तीनवटा पेन्टिङ बिक्री भइसकेका छन् । पेन्टिङको मूल्य एक लाख रुपैयाँसम्म रहेको छ ।
सुरुमा दुई साताका लागि भनेर प्रदर्शनी सुरु गरिएको थियो । तर, नेपाली योङ आर्टिस्ट र कलाकृतिका सौखिन दर्शकहरूले हत्तपत्त विदेशी कलाकारको आर्ट हेर्न पाउनुहुन्न भनेर एक महिना समय थपेको सोफियाले बताइन् ।
यसअघि हेरथले सन् २०१९ मा पनि पुल्चोकको पार्क ग्यालरीमा सो गरेका थिए । जुन ग्यालरी अहिले म्युजियममा परिणत भएको छ । त्यही समय सोफियाको आमा प्रतिमा पाँडेले फेमिली कलेक्सनका लागि एक दर्जन पेन्टिङ खरिद गरेकी थिइन् । हेरथ र पाँडे परिवारबिच त्यही वेला चिनजान भएको थियो । सोफियाको पूरै परिवार आर्टको पारखी हो । बुबा पृथ्वीबहादुर पाँडेसँग स्वदेशी तथा विदेशी कलाकारहरूको ठुलो आर्ट कलेक्सन छ । आमा प्रतिमा र भाइ शिवान्त पनि आर्टका सौखिन हुन् । पाँडे परिवारले स्वदेशी आर्टिस्टलाई ठुलो सहयोग गर्दै आइरहेको छ ।
पाँडे परिवारले छायाँ सेन्टरमा ‘द कला सैलुन’ सञ्चालन गरेका छन्, जसको उद्देश्य नै स्वदेशी कलाकारलाई सहयोग र कला प्रवद्र्धन गर्ने रहेको छ । गैरनाफामूलक कला सैलुनमा स्वदेशी तथा विदेशी आर्टिस्टले आफ्नो कला प्रर्दशन गर्न सक्छन् । अझ कतिपय कलाकारहरूलाई ग्यालरीले नै खाने बस्ने सुविधासमेत उपलब्ध गराउने गर्छ । हेरथको प्रदर्शनीको हस्पिटालिटी पार्टनर पाँचतारे अलफ्ट होटेल बनेको छ । यस्तै, ग्यालरीमा बिक्री हुने आर्टबाट प्राप्त हुने रकम पनि कलाकृतिकै श्रीवृद्धिमा खर्च गरिन्छ ।
पाँडे परिवारले ग्यालरी खोलेको थाहा पाएपछि श्रीलंकन आर्टिस्ट हेरथले पुनः प्रदर्शनी गर्न इच्छुक रहेको भन्दै सम्पर्क गरेका थिए । ‘कला सैलुन’ सञ्चालन भएको एक वर्षमै स्वदेशी तथा विदेशीका ११ वटा आर्ट प्रदर्शनी भइसकेको सोफियाले बताइन् । उनी सुनाउँछिन्, ‘कला सैलुन योङ आर्टिस्टहरूलाई सपोर्ट गर्ने प्लाटफर्म हो ।’
कला सैलुनमा इटालियन फोटोग्राफर, बेल्जियमदेखि राजस्थानी आर्टिस्टसम्मको कलाकृति प्रदर्शनी भइसकेको छ । नेपाली आर्टिस्ट र पाण्डे परिवारकै फेमिली कलेक्सन पनि प्रदर्शन गरिन्छ । अहिलेसम्म तीनवटा फेमिली कलेक्सन एक्जिबिसन भइसकेको छ । एब्सट्र्याकतर्फ ६ जना आर्टिस्टको एक्जिबिसन सम्पन्न भयो । चक्षिताले भनिन्, ‘कला सैलुनमा फोटो, पेन्टिङ, हस्तकला (मूर्तिहरू) र पर्फर्मेन्स आर्ट (लाइभ) पनि हुन्छ, यो मल्टी आर्ट फोरम हो ।’
कला सैलुनले यसै वर्षदेखि आर्टको तालिम दिने तयारीमा छ । ‘सरकारी स्कुलमा पढ्ने विद्यार्थीलाई निःशुल्क आर्टका क्लास गराउने सोचमा छौँ’ कला सैलुनकी सञ्चालक सोफियाले भनिन्, ‘हामी अनुभवी आर्टिस्टलाई ल्याएर क्लास गराउनेछौँ ।’ निजी स्कुल र त्यहाँ पढ्ने विद्यार्थीहरू आफैँ सक्षम हुने हुँदा सरकारी विद्यालयका विद्यार्थीलाई प्राथमिकता दिने सोच उनको छ ।