• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सुनिता खनाल काठमाडौं
२०७६ जेठ १८ शनिबार ०८:४९:००
फिल्म

पवित्र रंगमञ्च

२०७६ जेठ १८ शनिबार ०८:४९:००
सुनिता खनाल काठमाडौं

रामेछापकी पवित्रा खड्काको थिएटरमा सात वर्ष बित्यो । काठमाडौं आउनुअघि अभिनय र डान्सबारे उनलाई थाहा थिएन । स्कुल पढ्दा उनलाई अभिनयबारे रुचि थिएन । किनकि पवित्रा पढेको स्कुल सेतीदेवी माध्यमिक विद्यालयमा डान्स र अभिनय केही हुन्थेन । सरस्वती पूजामा जाने, मिठाई खाने मात्रै हुन्थ्यो । 

आठ कक्षा पढेपछि पवित्रा काठमाडौं आइन् । काठमाडौंमा उनी रहर र सपनाले भन्दा ज्यादा बाध्यताले आइन् । गाउँमा माओवादीले स्कुल बन्द गरिदिएको थियो । देशमा द्वन्द्व चर्किरहेको थियो । रेडियोमा मानिसको मृत्यु भएको समाचार बाराम्बर आइरहन्थ्यो । द्वन्द्वको डरले उनकी आमा (गीता खड्का) आत्तिइन् । घरबाट छोरीलाई माओवादीले लैजाने डरले काठमाडौं पठाइन् । 

काठमाडौंको असनमा सानिमाको घरमा बस्न थालिन्, पवित्रा । त्यहीँ नौ कक्षामा भर्ना भइन् । उनी जन्मनुअघि नै उनका बुबा रूखबाट लडेर संसार छाडिसकेका थिए । आँप खान वनमा गएका बाबाको मृत शरीर घर आएको घटना सुन्दा उनको बालहृदय लथालिङ्ग भएको थियो । भन्छिन्, ‘बाबाको माया कस्तो हुन्छ थाहा पाइनँ ।’ 

पवित्रा घरको एक्लो सन्तान । परिवारमा कमाउने कोही थिएनन् । आमाले कसरी हुर्काइन् र पढाइन् पवित्रा सोचमग्न हुन्छिन् । ‘आर्थिक पाटोमा सायद मामाहरूले सहयोग गर्नुहुन्थ्यो कि,’ उनी अनुमान मात्र लगाउँछिन् । पवित्रा पढ्ने स्कुलमा डान्स पनि सिकाउँथ्यो । उनलाई डान्स गर्न मन त लाग्थ्यो, तर आँट थिएन । सहरको माहोलमा भिज्न उनलाई समय लाग्यो । 

पवित्राले ०६४ मा एसएलसी पास गरिन् । त्योवेलासम्म पनि पवित्राको भविष्यको सपनाको टुंगो थिएन । सिद्धार्थ एकेडेमी कलंकीमा प्लस टु भर्ना गरिन् । विषय रोजिन् कमर्स । मर्निङ वाक जाने भनेर डान्स क्लासमा जान थालिन् । कलेजको डान्सहरूमा भाग लिन थालिन् । बिस्तारै स्टेज कार्यक्रममा पनि पवित्राले डान्स गर्न थालिन् । आमाको सपना पवित्रा आर्मी, पुलिस बनोस् भन्ने थियो । एकपटक सशस्त्र प्रहरीमा भर्ना हुन गइन् पनि । तर, पास भइनन् । पढाइमै फर्किइन् । पद्मकन्या क्याम्पस पढ्न थालिन् । डान्सबाटै ब्याचलर गरिन् ।

पवित्राले प्लस टु पास गरेपछि एमआर थिएटरमा अभिनय सिक्न थालिन् । उनका प्रशिक्षक थिए वीरेन्द्र हमाल । अभिनय सिकिरहेकै वेला सिल्पी थिएटरसँग आबद्ध रहेर सडक नाटकमा भाग लिन थालिन् । सिल्पी आइसकेपछि घिमिरे युवराजसँग उनको भेट भयो । युवराजले गरेको ‘कोमा अ पोलिटिकल सेक्स’ भन्ने नाटकमा सावर गर्लको भूमिका निभाइन् पवित्राले । सत्यमोहन जोशीको ‘मजिपा लाखे’ नाटकमा बाला मैचाको क्यारेक्टर गरिन् । त्यसपछि पवित्राको अभिनय यात्रा निरन्तर अघि बढिरह्यो । अहिले उनले सडक नाटकबाहेक नै १५ भन्दा धेरै नाटकमा अभिनय गरिसकेकी छन् । भन्छिन्, ‘अब सोलो अभिनय गर्ने रहर छ ।’ 

पछिल्लो समय पवित्राले भृकुटी भन्ने नाटकको डाइरेक्सन पनि गरेकी थिइन् । नाटक लिएर विभिन्न जिल्ला–जिल्लामा पुगेकी छन् । भन्छिन्, ‘गाउँ–गाउँमा पुग्दा समाजलाई नजिकबाट बुझ्न पाइन्छ ।’  पवित्राले सिल्पी थिएटरमा पैसा तिरेर नाटक सिक्नुपरेन । अहिले उनी सिल्पीमै जागिरे छिन् । सानिमाको घर छाडेर शिल्पीमै बस्न थालेको ५ वर्ष बितिसक्यो । अहिले उनी संगीता उराँवसँगै बस्छिन् । नाटकको महŒवबारे घरपरिवारलाई बुझाउन नसकेकोमा गुनासो छ उनको । पवित्राकी आमा घर कुरेर बसिरहेकी छिन् । दसैँ–तिहार तथा वेला–वेलामा घर जान्छिन् पवित्रा ।

 भनिन्छ, ‘नरसाएको आँखा र नरोएको मन कसैको हुन्न ।’ पवित्राले जीवनमा धेरै पीडा भोगेकी छिन् । २४ वर्षपछि पवित्राको माइलो बुबाले एल्बमको एउटा धमिलो फोटो देखाउँदै भनेका थिए, ‘तिम्रो बाबा यही हो ।’ पवित्राले त्यसदिन बुबाको फोटो धेरैबेर हेरिरहेकी थिइन् । अनि भित्रभित्रै भक्कानिएकी थिइन् । 

उनको आइडल आमिर खान हो । थिएटरमा घिमिरे युवराज, दिया मास्के र सरिता गिरी उनलाई मनपर्छ । उनी नाटककै सिलसिलामा इन्डिया र बंगलादेश पुगेकी छिन् । सर्ट फिल्म ‘धर्को’को निर्देशन पनि गरेकी छन् ।  थिएटरमा पवित्रा सन्तुष्ट छिन् । फिल्ममा जाने उद्देश्य नभए पनि राम्रो भूमिका पाए खेल्ने सोच छ उनको । पवित्रालाई प्रेम विवाहबारे सोच्ने फुर्सद छैन । पहिला मन्जिल चुम्नुछ उनलाई । अभिनयको भोको छिन् पवित्रा । भन्छिन्, ‘यो क्षेत्रमा केही गरेर देखाउने सपना छ ।’