• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
छुदेन काविमो
२०७६ जेठ १८ शनिबार ०८:५९:००
यात्रा

किताबले पु-याएको काठमाडौं

सहर यात्रा

२०७६ जेठ १८ शनिबार ०८:५९:००
छुदेन काविमो

सानामा जब रेडियो नेपालमा काठमाडौंको नाम सुन्थेँ । मलाई काठमाडौं सपनाको सहरजस्तै लाग्थ्यो । एकदिन आफ्नै किताबले सपनाको सहर पु-उनेछ, यो त मैले जीवनमा कहिल्यै सोचेको थिइनँ ।आज म त्यही सपनाको सहरको कुरा गर्नेछु ।काठमाडौं अर्थात् सपनाको सहर । जसको यात्रा मेरो किताबबाटै सुरु भएको हो । त्यसैले म केहीक्षण किताब पसलतिरै फर्किन चाहन्छु है त ! 
कालेबुङको बसुन्धरा पुस्तक पसल अहिले बन्द छ । रत्न अंकल खसेपछि फेरि पुस्तक पसल खोलिएन । अहिले पसलअघि एउटा भैयाले आइफल बेचिरहेको देख्नुहुन्छ । अर्थात्, त्यहाँ अहिले किताब होइन, फलफूल बेचेको देख्न पाइन्छ ।

हो, त्यही बसुन्धरामा नै हो । केही सालअघिसम्म नेपालका किताबहरू फटाकफुटुक आइपुग्थे । दुईचार पत्रिका नियमित आइरहन्थे । रत्न अंकलले कसरी किताब र पत्रिका कालेबुङ ल्याइपु-याउँथे ? त्यो उनैलाई थाहा होला । तर, प्रत्येक शनिबार कवि सुधीर छेत्री, मनोज बोगटी, राकेश क्रान्तिकारी, उज्वल बम्जनलगायत म त्यही पत्रिकाको निम्ति लाइन लागिरहेका हुन्थ्यौँ ।

हठात् एकदिन रत्न अंकल खस्नुभयो । त्यसपछि त दोकान सदाको निम्ति बन्द भयो । हामीले पत्रिका पाउनै छाड्यौँ । नेपालका किताबहरू देखिनै छाडे । दोकान बन्द भएकै साल त हो, संयोगले मसँग पहिलोचोटि काठमाडौं जाने अवसर जुरायो । 
‘टिस्टा–रंगीत’ भन्ने बहुभाषी पत्रिका कालेबुङबाट निस्किँदै थियो । जहाँ दार्जिलिङका साना–साना १२ वटा भाषालाई समावेश गरिएको थियो । त्यही किताबको निम्ति मैले पहिलोचोटि काठमाडौं जानुपर्ने भयो । 

उतिवेला म खुब किताब पढ्थेँ । नारायण वाग्लेको ‘पाल्पसा क्याफे’ पढिसकेको थिएँ । उपेन्द्र सुब्बाको ‘लाटो पहाड’ र राजन मुकारुङको ‘दमिनी भीर’ पुगिसकेको थिएँ । सुविन भट्टराईका ‘समर लभ’, नयनराज पाण्डेका ‘लू’ र अमर न्यौपानेका ‘सेतो धरती’ दोहो-याइसकेको थिएँ । मसँग नयाँ किताबको तलतल तीव्र थियो ।गाउँबाट कालेबुङ छिरेपछि रेडियो सुनिन छाडियो । त्यसैले होला, मेरो निम्ति सबथोक किताब भइसकेको थियो । किताब दोकान बन्द भएपछि पत्रिका पढ्ने छटपटी हुन्थ्यो ।

यस्तो वेला सपनाको सहर जान पाइने भो ! हर्कले बेलुनझैँ हलुका भएँ । खुसीले भुइँ छोडेर माथि–माथि उड्न थालेँ । नेपालका कुन–कुन नयाँ किताब राम्रा छन् हँ ? मैले हिँड्नुअघि किताबको सूची तयार गरेँ । पत्रपत्रिकाहरूको नाम कागजमा लहरै लेखेँ । 
मेरो आउनेजाने फ्लाइट टिकट तयार थियो । तर, अन्तिम क्षणमा मसँग त्यही भयो, जो कसैसँग नहुनु थियो । हवाईजहाज उड्नुभन्दा ठीक अघि म थला परेँ । मलाई चिकनपक्स निस्कियो । नेपाल छिर्ने बिहान मेरो अनुहार फापरको रोटीझैँ बन्यो । 
किताबको सूची डस्टबिनमा फालिए । मेरो पहिलो काठमाडौें सपना यहीँ टुंगियो । त्यसपछि कति समयपछि हो । मैले बल्ल फातसुङका कारण काठमाडौंको धरती टेकेँ । 

आखिर मलाई किताबकै निम्ति काठमाडौं पुग्नुरहेछ, ढिलोछिटो किताबकै कारण काठमाडौं आइपुगेँ ।  पहिलोचोटि काठमाडौं पुग्दाको अनुभव कस्तो रह्यो ? त्यो कुरा म यहाँ दोहो-याउँदिनँ । किनकि तपाईँले त्यो फातसुङको भूमिकामा पढिसक्नुभएको छ । नपढेकाहरूले नि ढिलोछिटो पढ्नु नै हुनेछ ।म सोझै आज दोस्रो यात्राको कुरा गर्नेछु ।संयोग गजबको थियो । उतिवेला प्रिय लेखक सुविन भट्टराईको ‘प्रिय सुफी’को विमोचन थियो । काठमाडौं प्रेममय बनेको थियो । तर, काँकडभिट्टा छिरेपछि बल्ल हामीले थाहा पायौँ, ‘विप्लव समूहले नेपाल बन्द गरेको छ !’

‘के को बन्द नि ?’ हामी नर्भस भयौँ । खासमा बन्द चालकहरूकै रहेछ । ऊवेला गाडी दुर्घटनाबारे नयाँ ऐन बन्दै रहेछ । चालकहरूले त्यही ऐनको विरोध गरेका रहेछन् । त्यही विरोधको समर्थन विप्लव समूहले गरेको रहेछ । ‘विप्लवको समर्थन भएपछि बन्द खतरै हुन्छ,’ काँकडभिट्टाका एक पसलेले आङ तन्काउँदै भने । ‘अब के गर्ने होला नि ?’ हामी दोधारमा प-यौँ । नेपाल र दार्जिलिङको राजनीतिक अस्थिरता एकै–एकै हुन्छ । कहिले बन्द हुन्छ र कहिले खुल्छ ? त्यो बन्द गर्ने र खुलाउनेलाई धरि पत्तो हुँदैन । तर, दुवैतिर नै बन्दमा पनि लुकी–लुकी चल्ने गाडीचाहिँ पाइँदो रहेछ । हामीले बन्दको बेलुकी त्यस्तै एउटा गाडी भेट्टायौँ । जो डबल भाडा लिएपछि काठमाडौं हिँड्न तयार भयो ।

मसँग सुरज रोसुरी थिए । ४ बजे नेपाल छिरेका हामी ७ बजेतिर माइक्रोमा चढ्यौँ । गाडी ८ बजे गुड्यो । गाडी मूलबाटो छोडेर सटकट दगुर्दै थियो । छेवैको सानो पुल पुगेको थिएन, एक हुल केटाहरूले झ्याप्प रोकी हाले । मेरो सास बन्द होलाजस्तो भयो ।
ठीक त्यहीवेला हो, हाफपाइन्ट मात्र लगाएका अधबैँसे चिच्चाउँदै अघि आए । गाडीको बनोटमा एक घुस्सा हाने र भने, ‘ए केटा हो, खुकुरी ले । यसको हात काट्नुपर्छ !’ड्राइभर राम्रै कथाकार रहेछन् । उसले नयाँ कथा बुन्यो । र, सुनायो, ‘होइन हजुर ! मेरी स्वास्नी अस्पतालमा साह्रै छे । आज जान मात्र दिनुहोस् । यो गाडी भोलि फर्किन्न । कस्ससम..।’

थोइट ! के जोतेको त्यस्तो ? यत्रो प्यासेन्जर हालेर पनि कोही बिमारी बुढी हेर्न जान्छ ? मैले त पत्याउनै सकिनँ । अचानक हाफपाइन्टवालाले अगाडिको समूहलाई फोन लगायो । र, करायो, ‘यहाँबाट एउटा माइक्रो छिरेको छ । त्यो चोरलाई गाडीसँगै जलाइदिनू !’‘फर्कौं होइन ?’ सुरजले बिस्तारै कानमा भन्यो । मेरो मुखबाट एक शब्द फुत्किएन । गाडी गुडी नै रह्यो । अब हाम्रो सातो हराइसकेको थियो ! 

‘फर्किने कि जाने ? फर्किने कि जाने ?’ हुँदै थियो । गाडी राजमार्गमा फुत्त निस्कियो । राजमार्गछेउ एक हुल बन्द समर्थक रहेछन् । चिच्चाइहाले, ‘ए चोर ! गाडी रोक !’ अब परेन त फसाद ? मैले तर्सिएर ड्राइभरलाई हेरेँ । उसले छड्के आँखाले पिकेटर्सलाई हेरेर अचानक गिअर बदल्यो ।त्यसपछि ? आकाशमा नै उडाउलाजस्तो गरेर  गाडी कुदायो । नाथु एउटा ड्राइभरले नपत्याउँदा बन्दकारीलाई झोँक चल्दैन त ? बन्द समर्थकहरूले बाइक स्टार्ट गरे । र, राजेश हमालको फिल्मको स्टाइलमा हाम्रो गाडीलाई खेदाउन थाले । हामी काँप्दै–काँप्दै दमक पार ग-यौँ । 

काठमाडौंका केही प्रिय लेखक पत्रकारलाई पहिलोचोटि भेटेको त्यही बन्दको पछिल्लो दिन हो । जीवनमा कहिलेकहीँ नसोचेको कुरा फ्याट्ट भइदिन्छ । मलाई लाग्छ, मान्छेहरू त्यसैलाई संयोग भन्छन् । काठमाडौंमा भएको मेरो हरेक भेट, खासमा त्यही संयोग थियो । जुन किताबकै कारण सम्भव भएको थियो । 

एउटा लेखकको निम्ति किताब, किताब मात्रै होइन रहेछ । सपना पनि हुने रहेछ ।  मेरो तेस्रो काठमाडौें यात्रा सपनासँगको यात्रा थियो । अर्थात्, म फातसुङ विमोचनको निम्ति काठमाडौं गइरहेको थिएँ । कुरा अप्रिल पहिलो हप्ताको हो । यसचोटि यात्रामा म एक्लै थिएँ ।

जब म यात्रामा एक्लो हुन्छु, अर्थात् कोहीसँग हुँदिनँ । म जहिले कल्पनामा हुन्छु । अर्थात् कुनै न कुनै नयाँ कथासँग हुन्छु । यसकारण पनि मलाई एक्लै यात्रा गर्न निकै रमाइलो लाग्छ । जहाँ म जहिले केही न केही सोचिरहेकै हुन्छु । गाडीमा हल्का गीत बज्न थालोस् । वरपर चिनेको मान्छे नभइदिइयोस् ।

म सपनाको दुनियाँमा पुगिहाल्छु । जुन दुनियाँ मेरा लागि जहिले खास हुन्छ । फातसुङसँग मैले यसरी धेरै यात्रा गरेको छु । यसचोटि अन्तिम यात्रा गर्दै थिएँ । किनकि, किताब सार्वजनिक भएपछि लेखकको हुँदैन । पाठकको हुन्छ । त्यसैले पनि भोलिबाट मैले पाउने कि गाली थियो, कि ताली थियो ? त्यही सोच्दै सोच्दै म तेस्रोचोटि सपनाको सहर आइपुगेँ ।

हो, अझै पनि, काठमाडौेंमा धेरैको निम्ति मेरो नाम नयाँ थियो । अझ किताबको नाम त दार्जिलिङकै निम्ति पनि नयाँ थियो । कसैले नाम सोधे, म केही क्षण रोकिन्थेँ । र, हल्का श्वास तानेर बिस्तारै जवाफ दिन्थेँ । सुनेपछि धेरैको प्रतिक्रिया हुन्थ्यो, ‘खोइ तपाईँको त नाम पनि अप्ठ्यारो । किताबको नाम पनि अप्ठ्यारो ।’

गाउँबाट कालेबुङ छिरेपछि रेडियो सुनिन छाडियो । त्यसैले होला, मेरो निम्ति सबथोक किताब भइसकेको थियो । किताब दोकान बन्द भएपछि पत्रिका पढ्ने छटपटी हुन्थ्यो ।

म निकै असहज बन्थेँ । तैपनि मनमनै दोहो-याइरहन्थेँ, ‘सजिलो थोक सजिलै बिर्सिने हो । अप्ठ्यारो थोकलाई दिमागमा राखे, कहिले नबिर्सिने हो ।’के मेरो अप्ठ्यारो नामलाई काठमाडौेंले साँच्चै केही एकक्षण दिमागमा राख्लान् त ?  त्यो पाँच अप्रिल ! पहिलोचोटि मैले प्रिय साहित्यकार खगेन्द्र संग्रौला भेटेँ । मैले उहाँलाई युट्युबमा धेरैचोटि सुनेको हुँ । चाँदीजस्ता सेतै केश भएका खगेन्द्र सरको ओठमा सुनजस्ता बहुमूल्य मुस्कान सधैँ हुन्छन् । जो मेरो निम्ति जहिले प्रिय छ । मलाई थाहा छैन, म उनको उमेरसम्म बाँच्छु वा बाँच्दिनँ । बाँचे पनि यी मुस्कानलाई उनले जसरी जोगाइराख्न सक्छु वा सक्दिनँ । तैपनि उनलाई भेटेपछि मैले पहिलोचोटि अनुभव गरेँ, ‘मान्छेले जोगाइराख्नुपर्ने त ओठको मुस्कान मात्रै हो । जसले जतिसुकै उमेर गए नि, मान्छेलाई तन्नेरी बनाइराख्न सक्छ ।’

‘तपाईँ त सानै हुनुहुँदो रहेछ । किताब पढेपछि मैले त आफ्नै उमेरको सोचेथेँ,’ उहाँले त्यही मुस्कान देखाउँदै भन्नुभो, ‘फातसुङको विमोचन नभएको भए म यतिवेला अप्रेसन थिएटरमा हुन्थेँ ! बुझ्नुभो त ?’ मैले बुझेँ, ‘यो फातसुङले काठमाडौंबाट पाएको पहिलो प्रेम थियो ।’भोलिपल्ट, हामीलाई पोखरा जानु थियो । तर, बिहानदेखि पानी पर्न सुरु भयो । मौसम यति बिग्रियो, हाम्रो हवाईजहाजले चल्मलाउन धरि पाएन ।

२ बज्नलाग्दा आकाश अलिकति उघ्रियो । उघ्रिएको आकाशमा बादलका टुक्राहरू लुकामारी गर्दै थिए । त्यही बादलमाथिबाट धरती चियाउँदै हामी पोखरा पुग्यौँ ।  पोखराको धरती टेक्नसाथ फेरि आकाश धमिलियो । चारैतिर बादलले छेक्यो । फेरि पानी पर्न सुरु भयो । अँध्यारो मौसमबीच उज्यालो अनुहार बनाउँदै अजित सरले भन्नुभो, ‘तपाईँको गुडलक जस्तो छ । यो मौसम एकक्षण तपैँकै लागि खुलेको हो कि !’

म यस्तो लकको कुरामा थोरै मात्रै विश्वास गर्छु । त्यसैले चुपचाप मुस्कुराइ मात्रै दिएँ । त्यसपछि बल्ल हामी कार्यक्रम स्थलतिर लाग्यौँ । ४ बज्न लागेको थियो, हामी एउटा सुन्दर किताबघरभित्र छि¥यौँ । जहाँ मभन्दाअघि नै फातसुङ पुगिसकेको रहेछ । चहल–पहल गजबकै थियो । यस्तो भिडभाडमा पनि एक युवक किताब पढ्न व्यस्त थियो । यति व्यस्त कि उनलाई को गयो र को आयो ? कसैसँग सरोकार थिएन ।

पोखराको फेवातालवरिपरिको सुन्दर जंगल । त्यो अलिकति देखिएको माछापुच्छे« । हरेक आँखामा झल्किने प्रेम । सबै–सबैको सम्झना बटुलेर भोलिपल्ट कालेबुङ फर्किएँ । मेची पुल तर्दै गर्दा अलि भावुक भएँछु । फेसबुक खोलेर हेरेँ, ‘फेसबुक फातसुङको कभरले रंगिन भइसकेको रहेछ ।’