• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अरुण गुप्तो काठमाडौं
२०७६ जेठ १८ शनिबार ११:०२:००
समाज

हामी अझै रैती

२०७६ जेठ १८ शनिबार ११:०२:००
अरुण गुप्तो काठमाडौं

००७ सालमा देशवासीको नाममा सम्बोधन गर्दा त्रिभुवनले जनतालाई ‘रैती दुनियाँ’ भनेका थिए । ०१७ सालमा महेन्द्रले ‘प्रजा’ भनी सम्बोधन गरे । वीरेन्द्रले ‘देशवासीहरू’ भने । ज्ञानेन्द्रले गद्दी छाड्ने वेला ‘नेपाली दाजुभाइ दिदीबहिनी’ भने । अहिले नयाँ संविधानको प्रस्तावनामा लेखिएको छ– हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता । संविधानमा लेखिएजस्तै के अहिले हामी सार्वभौमसत्तासम्पन्न नागरिक हौँ त ? कि त्रिभुवनले भनेझैँ ‘रैती दुनियाँ’कै हैसियतमा छौँ ? यसबारे ‘झन् नयाँ’ले बहस सुरु गरेको छ । यसपटक बहसमा प्रोफेसर अरुण गुप्तो छन् । गुप्तो ‘गडेसेज अफ काठमान्डु भ्याली : ग्रेस, रेज, नलेज’का लेखक हुन् । गुप्तोसँग राजु स्याङ्तानले गरेको कुराकानीको अंशः

‘प्रजा’ शब्दलाई अंग्रेजीको ‘सब्जेक्ट’सँग जोड्न सकिन्छ । राजाको प्रजा, सामन्तको प्रजाले ‘निर्देशित’, ‘निर्धारित’ बुझाउँछ । ‘प्रज’ शब्दलाई चाहिँ संस्कृतमा लोग्ने पनि भनिन्थ्यो । र, प्रजालाई कोखको अर्थमा बुझिन्थ्यो । यसको अर्थ वीर्य पनि थियो । सन्तान जन्माउन नसक्ने महिलालाई मृतप्रजा पनि भनिन्थ्यो । प्रजा शब्दको व्युत्पत्ति (इटेमोलोजी) को इतिहास अध्ययन गर्न लायक छ । ‘प्रजा’को अर्थ सधैँ नकारात्मक थिएन । यसको अर्थमा विभिन्नता थियो । तर, राजनीतिमा प्रजा भक्तिसँग जोडिएको छ । 

हामी इतिहासबाट निर्धारित मानव हौँ । इतिहासमा हामी कहिले राजसंस्थाबाट प्रजा बन्यौँ, कहिले धार्मिक संस्थाबाट । हामीलाई कहिले निरंकुश संविधानले प्रजा बनायो, कहिले उपनिवेशले त कहिले पुँजीवादले । इतिहासले हामीमाथि जहिल्यै ‘प्रजापन’ थोपरिरहेको छ । हामी कुनै पनि युगमा प्रजापनबाट मुक्त हुन सकेका छैनौँ । राजनीतिक परिर्वतनले हामीलाई शाब्दिक रूपमा ‘नागरिक’ त बनायो, तर हाम्रो हैसियत ‘प्रजा’बाट माथि उठेको छैन । नागरिक र नागरिकताको बुझाइ राहदानीको नम्बरले निर्धारण गर्न सक्दैन । यसमाथिको बुझाइ फराकिलो पार्नुपर्छ । प्रजा र नागरिकको विषयमा चर्चा गर्नुअघि नागरिकतासम्बन्धी चलेका केही अवधारणाबारे छलफल गर्नु उपयुक्त हुन्छ । 

नागरिकता राष्ट्र र राज्यसँग सम्बन्धित हुन्छ । अहिले माइग्रेन्ट वर्कर, रिफ्युजी र सेक्स वर्करको आवतजावत संसारैभरि तीव्र छ । तर, कुनै पनि देशमा उनीहरूको सुरक्षा छैन । किनकि, उनीहरू त्यहाँका नागरिक नै होइनन् । नागरिक भनेको ‘नेसन स्टेट’भित्र रहेका कानुनी रूपमा सुरक्षित व्यक्ति हुन् । उनीहरूको मात्रै नागरिक बन्ने दाबी हुन्छ । यो अवस्थामा सरकारले आफ्ना नागरिकलाई नागरिकता दिएर उनीहरूको सुरक्षा गर्छ । नागरिकले भोट हाल्ने अधिकार पाउँछ ।

‘सिटीजनसिप एन्ड फेमिनिस्ट प्रस्पेन्टिभ’ भन्ने रुथ लिस्टरको किताब अहिले चर्चामा छ । उनले नारीवादी दृष्टिकोणबाट नागरिकताको विषयलाई अगाडि सारेकी छन् । उनले नागरिकता ‘जेन्डर न्युट्रल’ होइन, ‘जेन्डर सेन्सेटिभ’ हुनुपर्छ भनेकी छन् । समाजमा पछाडि परेको समुदायको रुचिलाई अगाडि राखेर नागरिकताको अवधारणा विकास गर्नुपर्छ भनेकी छन् । 

नागरिकतासम्बन्धी ‘इन्भारमेन्टल सिटिजनसिप’को विषय पनि उठिरहेको छ । नागरिकता भनेको एउटा कागज र त्यसमा तोकिएको नम्बर मात्रै होइन, दिगो विकासका लागि व्यक्तिले समाजमा कसरी व्यवहार गर्ने र उत्तरदायित्व कसरी निर्वाह गर्ने भनेर हेरिनुपर्ने धारणा यसले अगाडि सारेको छ । यो पश्चिमी धारणाजस्तो पनि लाग्छ । तर, दक्षिण एसियाको सांस्कृतिक व्यवहारलाई केलाएर हेर्ने हो भने वातावरणप्रति जागरुक भएर मान्छेले व्यवहार गरेको उदाहरण प्रशस्त देख्न सकिन्छ । 

अर्को ‘इकोनोमिक सिटिजनसिप’ पनि छ । महिलाको निर्भरता पुरुषमा छ र त्यो परनिर्भरताबाट महिलालाई स्वतन्त्र गर्नुपर्छ भन्ने विचार यसले अघि सारेको छ । पुरुष बहादुर र विजेता हो भनिन्छ । यसो भन्नेबित्तिकै महिला परनिर्भर भइहाल्छन् । परनिर्भर महिलाले उत्तरदायित्व बहन गरेर नागरिकको जिम्मेवारी बहन गर्न सक्दैनन् । इकोनोमिक सिटिजनसिपले फेमिनिस्ट पोइन्ट अफ भ्युबाट पुरुष ‘ब्रेड विनर’ हो भन्ने विचारलाई प्रश्न गरेको छ । 

अर्को छ ‘कल्चरल सिटिजनसिप ।’ यसमा वेशभूषा, सम्पदा, रीतिरिवाजलाई जोड दिइन्छ । यो विचारले विभिन्नता होइन, विविधतामा जोड दिन्छ । कल्चरल सिटिजनले ‘तिम्रो धर्म र मेरो धर्म’ भन्ने मान्दैन । यसले विविधतामा हेर्छ । यसरी नागरिक र नागरिकतालाई हेर्ने पुरानो दृष्टिकोणमा परिवर्तन आउनुको एउटा कारण ग्लोबलाइजेसन हो । संसारैभरि माइग्रेसनमा तीव्र वृद्धि भएपछि नागरिक र नागरिकताको बुझाइ बृहत् हुनुपर्छ भन्ने बहस उठ्यो ।

 भूमण्डलीकरण र उदारवादले नागरिकताको संकुचित धारणालाई फराकिलो बनाउँदै लग्यो । तर, विकसित देशहरू फेरि नागरिकताको संकुचित धारणामै फर्किएका छन् । अमेरिका, ब्राजिल, इटालीलगायतका देशहरू नागरिकताको संकुचित धारणातिर फर्किएको देखिन्छ । ‘वी मेक अमेरिका ग्रेट अगेन’ भन्ने धारणा बृहत् नागरिकको धारणामाथिको ठूलो धक्का हो ।

कतिपय देशहरू फेरि राष्ट्रवादको साँघुरो घेरातर्फ फर्किएको देखिन्छ । यहाँनेर दुईजना विचारकको विचार अघि सार्न उपयुक्त हुन्छ । एक हुन्– जिन ज्याक रुसो र अर्का हुन्– जिवर्जिव आगामबेन । आगामबेन भन्छन्, ‘अहिलेका मानिस प्रजा पनि होइनन्, नागरिक पनि होइनन्, खाली जिन्दगी मात्रै लिएर संसारभरि हिँडिरहेका छन् ।’ प्रजा कसैबाट निर्देशित हुन्छ, नागरिकसँगचाहिँ कानुनी मान्यताप्राप्त नागरिकता हुन्छ । आगामबेनकै विचारलाई मान्ने हो भने हाम्रै देशमा अफ्रिकालगायतका देशबाट आएका कैयन् शरणार्थी छन्– उनीहरू प्रजा पनि होइनन्, नागरिक पनि होइनन् । उनीहरू मात्र ‘जिन्दगी’ लिएर बाँचिरहेका छन् । त्यसैले नागरिक र नागरिकताले बृहत् आयामको अर्थ खोजेको छ । रुसो भन्छन्, ‘मान्छेलाई प्रजा वा नागरिक बनाउनुछ भने उसलाई स्वतन्त्र रहन दिनुपर्छ । र, उसको उत्तरदायित्व विशाल हुनुपर्छ ।’ 

इतिहासरूपी वैचारिक दुःस्वप्नले हामीलाई सधैँ निर्धारित गरिरहेको हुन्छ– त्यो दुःस्वप्न चाहे धर्मको होस् वा ‘ग्लोबल कन्फ्लिक्ट’को वा उपभोक्तावादको होस् वा आर्थिक उपनिवेशको । हामी आफूलाई नागरिक हौँ भन्छौँ, तर ‘म नागरिक हुँ’ भन्ने विषयमा जहिल्यै प्रश्न उठिरहन्छ । किनकि नागरिक जहिल्यै आर्थिकलगायतको दबाबमा थिचिएको हुन्छ । पुँजीवादी उपभोक्तावादको दबाबमा, धर्म संस्थाको दबाबमा र कानुनको दबाबमा हुन्छ । त्यसैले मानिस ‘पूर्ण नागरिक’ हो भन्नेमा प्रश्न उठिरहन्छ । नागरिकता शासकले नागरिकमाथि शासन गर्ने हतियार पनि हो । र, यहाँ नागरिक शासित हुन राजी हुन्छ । शासकले शासन गर्ने नियम बनाउँछ । नागरिक नियम मान्न राजी हुन्छ । त्यसैलाई ‘हेजेमोनी’ भनिन्छ ।

मानिसलाई कहिले धर्मले चलाउँछ,कहिले पुँजीवादले । कहिले साम्राज्यवादले चलाउँछ, कहिले उपनिवेशवादले । यी सबै हेर्दा सोध्न मन लाग्छ– के मानिस इतिहासमा फ्याँकिएको निर्जीव वस्तु हो ? 

 
नागरिकसम्बन्धी बहस १८औँ शताब्दीको पुनर्जागरणको समयमा युरोपमा निकै प्रचलनमा आएको थियो । नागरिक ऊ हो जो विवेकले काम गर्छ । त्यसैले डेकार्टले भनेका थिए, ‘आई थिंक, देअर फर आई एम’ अर्थात् ‘म सोच्न सक्छु, त्यसैले म छु ।’ १७औँ शताब्दीको अन्त्यतिर युरोपमा चलेको ‘इन्लाइटमेन्ट’को विचारधाराबाट पनि बुझ्न सकिन्छ– जसले विवेक र तर्कबाट आफूलाई निर्देशित गर्छ ऊ नै नागरिक हो । इतिहासमा नागरिकले विवेक र तर्कद्वारा आफूलाई चिनाउँछु भन्दा त्यसले साम्राज्यवादी विकराल रूप लिएको थियो । त्यसपछि उपनिवेशहरू खडा भए । ‘मसँग विवेक र ज्ञान छ, म संसारलाई बाटो देखाउन सक्छु’ भन्ने धारणाको विकास भयो । त्यो सोच ब्रिटिस साम्राज्यमा पनि देखा प-यो । त्यसैले ‘इन्लाइटमेन्ट समय’को विवेकलाई आलोचना गरिन्छ । 

मानिस प्रजा र नागरिक दुवै रूपमा देखियो । प्रजा कसैबाट निर्धारित थियो भने नागरिक पनि कसैबाट निर्धारित हुन्छ । त्यसैले नागरिकलाई व्यापक अर्थमा लैजानुपर्छ भन्ने बहस चल्ने गरेको छ । मानिसलाई कहिले धर्मले चलाउँछ, कहिले पुँजीवादले । कहिले साम्राज्यवादले चलाउँछ, कहिले उपनिवेशवादले भन्ने ग्रान्ड न्यारेटिभहरू छन् । यी सबै हेर्दा सोध्न मन लाग्छ– के मानिस इतिहासमा फ्याँकिएको निर्जीव वस्तु हो ? के मानिसको मूलताको कुनै विचारधारा छैन ? के हामी स्वतन्त्र हुन सक्दैनौँ ? सायद सक्दैनौँ पनि । किन सक्दैनौँ भने सत्यता एउटा मात्रै छैन । किनकि ज्ञान विरोधाभासपूर्ण छ । आजको ज्ञानले भोलि विकराल रूप निम्त्याउन पनि सक्छ । ज्ञान नै पूर्ण रूपमा छैन भने हामी पूर्ण रूपमा स्वतन्त्र नागरिक हौँ भन्न सक्ने अवस्था रहँदैन । 

शब्दहरूमा विचारधारा हुन्छ । दुनियाँ, प्रजा, रैती, नागरिकजस्ता शब्दावली प्रयोगमा छन् । शब्दहरूमा आएको परिवर्तनले सोचाइमा आएको परिवर्तनको संकेत गर्छ । प्रजा र नागरिकको सोचाइमा पनि फरकपना आएको देखाउँछ । भोट हाल्ने अधिकार प्राप्त गर्दैमा मानिस नागरिक हुँदैन । किनकि भोट पनि निर्देशित कुरा हो । अहिले पनि हामी प्रजाबाट बाहिर निस्कन सकेका छैनौँ । राजसंस्थाको सट्टामा अरू संस्थाले नै हामीलाई रैती बनाइरहेको छ । पुँजीवादी उपभोक्तावादले हामीलाई राजसंस्थाले भन्दा खतरनाक रूपमा रैती बनाएको छ । पुँजीवादले हामीलाई यसरी समाएको छ कि हामी स्वतन्त्र रूपमा हिँडडुल पनि गर्न सक्दैनौँ ।

कोकोकोलोनियालिज्म, म्याकडोनाल्डलाइजेसन, कन्ज्युमराइजेसनबाट हामी बाहिर निस्कनै सकेका छैनौँ । हिजो रैती बनाउने राजा आँखा अगाडि देखिन्थे । अहिले रैती बनाउने शासक देख्दै देखिन्न । अदृश्य रूपमै हामी शासित भइरहेका छौँ । हामीलाई रैती बनाउनेहरू डिजिटल र भर्चुअल स्पेसमा आइरहेका छन् । विज्ञापन र कोकाकोलाको माध्यमबाट आइरहेका छन् ।

कोकोकोलोनियालिज्मले जसरी रैती बनाइरहेको छ, त्यो राजाले बनाएको रैतीभन्दा कम खतरनाक छैन । हामी प्रजाबाट नागरिकमा बदलियौँ भनिएको छ । तर, त्यो देशबाहिर ‘डिसप्लेस’ हुनुपरेको यथार्थ हाम्रा सामु छ । जब एउटा नागरिक सिमाना काटेर बाहिर जान्छ त्यसपछि ऊ पुनः रैतीमा परिणत हुन्छ । यो निकै विडम्बनापूर्ण स्थिति छ । देशबाहिर जाने लाखौँ मानिस रैती नै हुन् । हामी आज ‘पूर्ण नागरिक भयौँ’ भनेर ठोकुवा गर्ने समय यो होइन । प्रजा बन्ने क्रम हिजो–आज झन् बढेको छ । हामी कहिले प्रजा हुने र कहिले नागरिक हुने क्रम जारी छ । फुकुयामाले इतिहासको अन्त्य, द्वन्द्वको अन्त्य भयो भनेका छन् । यो गलत साबित भयो । समाजमा द्वन्द्व झन् बढेर गयो । राष्ट्रियता झन् बढेर गयो । र, नागरिकको स्थिति झन् दयनीय हुँदै गयो । 

हिजो हामीलाई रैती बनाउने राजा आँखाअगाडि देखिन्थे । अहिले रैती बनाउने शासक अदृश्य छ । अदृश्य रूपमै हामी शासित भइरहेका छौँ । हामीलाई रैती बनाउनेहरू डिजिटल र भर्चुअल स्पेसमा आइरहेका छन् ।

देशमा क्रान्ति भयो । व्यवस्थामा बदलाव आयो । तर, हामी महेन्द्रमालाबाट निस्कनै सकेनौँ । मानिसलाई रैतीबाट नागरिक बनाउन विश्वविद्यालयको महत्वपूर्ण  भूमिका हुन्छ । त्यसैले विश्वविद्यालयले मानविकी संकायमा जोड दिनुपर्छ ।  विश्वविद्यालयमा इतिहासको समस्याबारे पढाइ हुँदैन । इतिहासलाई दन्त्यकथाजस्तो बनाएर पढाइन्छ । एक–दुईजना वीरहरूलाई नायक बनाएर पढाइन्छ । यो ठीक भएन । विश्वविद्यालय भनेको प्रश्न गर्ने ठाउँ हो । त्यहाँ पनि प्रश्न गरिन्न भने कहीँ पनि गरिन्नँ । विश्वविद्यालयमा जस्तो पनि प्रश्न गर्न सकिन्छ । देउतालाई राक्षस र राक्षसलाई देउता भन्न सकिन्छ ।  तर, विश्वविद्यालयबाट प्रश्न उठ्न थालेपछि आक्रमण भएका प्रशस्त उदाहरण छन् । 

नेपालमा पनि मानविकी संकायलाई कम बजेट दिइन्छ । किनकि मानिविकीले प्रश्न र तर्क गर्ने नागरिक उत्पादन गर्छ, राज्यप्रति आलोचनात्मक हुन सिकाउँछ र गल्ती औँल्याइदिन्छ । त्यसकारण अहिले पनि विश्वविद्यालयलाई कमजोर बनाउने अभ्यास चौतर्फी भइरहेको छ । विश्वविद्यालयले मानिसलाई धेरै बोल्न सिकायो भनिइरहेको छ । विश्वविद्यालयमा आफ्नै सरकारका मानिस नियुक्त गरिन्छ । राज्यबाट सीधै निर्देशित विश्वविद्यालयबाट रैती नै उत्पादन हुने हो । जब विद्यार्थीले सोच्न र प्रश्न गर्न सक्दैन, त्यसपछि उनीहरू रैतीमै परिणत हुने हो । 

सामन्तवादी समाजमा सबैभन्दा शक्तिशाली सामन्त हुन्थे । उसलाई सहयोग गर्ने सैनिक हुन्थे । कृषिप्रधान समाजमा जमिनदार सबैभन्दा शक्तिशाली हुन्थे र किसानहरू कमजोर हुन्थे । औद्योगिक समाजमा सबैभन्दा शक्तिशाली उद्योगपति हुन्थे । तल थिचिएको अवस्थामा मजदुर हुन्थे । अहिलेको युगलाई डिजिटल ग्लोबलाइजेसनले प्रभाव पारिरहेको छ । अहिले रिसर्चरहरू शक्तिशाली भइरहेका छन् । 

विज्ञान–प्रविधिको विकासका कारण आगामी ५० वर्षमा मानिसले कामै नपाउने वातावरण बन्न सक्छ । त्यसपछि समाजमा अपराध बढ्छ । मानिसले भनिरहेका छन्, ‘क्लाइमेट चेन्जपछिको सबैभन्दा ठूलो खतरा प्रविधिले मानिसलाई कामविहीन बनाइदिनु हो ।’ त्यसैको प्रभावस्वरूप अहिले संसारैभरि बेरोजगारी बढिरहेको छ । विज्ञान–प्रविधिका कारण मानिस कामविहीन भइरहेका छन् । यो एउटा खतरनाक पक्ष हो । रैती वा प्रजाले त बरु काम पाउँछ । उसको केही पहिचान त हुन्छ । तर, आजको मानिस रैतीभन्दा पनि तल कामविहीन बन्दै जाने खतरा संसारमा बढ्दै गएको छ ।