• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रीता साह मधेसमा दलित
२०७६ जेठ २५ शनिबार १०:४१:००
रिपाेर्ट

२ मुसहर बस्ती, ४ दिन

२०७६ जेठ २५ शनिबार १०:४१:००
रीता साह मधेसमा दलित

गएको चैत महिनामा महोत्तरीको बर्दिवास पुगेको थिएँ । दलित बालिकाको शिक्षामाथि अनुसन्धान गर्नु थियो । हामी तीन महिला थियौँ– हेलेन जोन्स, कुसुमलता तिवारी र म । हेलेन बेलायतनिवासी हुन् । उनी दलित बालिकामाथि अनुसन्धान गर्न नेपाल आएकी थिइन् । म र कुसुम उनको अनुसन्धान टिममा थियौँ । देशको सबैभन्दा दोस्रो कम साक्षरता भएको जिल्ला हो– महोत्तरी । मधेसी दलित महिला शैक्षिक हिसाबले सबैभन्दा पछाडि छन् । त्यसैले अनुसन्धानका लागि महोत्तरीका मुसहर समुदायलाई छनोट गरेका थियाैँ । बर्दिवासबाट लगभग दुई किलोमिटर दूरीमा अवस्थित धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको मुसहर बस्ती अनुसन्धानको क्षेत्र थियो । 

धुर्मुस–सुन्तली फाउन्डेसनले एक वर्षअघि मुसहरहरू बसोवास गरेको सार्वजनिक जग्गा किनेर उनीहरूका लागि व्यवस्थित नमुना बस्ती बनाइदिएको छ । त्यहाँ ५३ घरधुरी मुसहर परिवार बसोवास गर्छन् । प्रत्येक परिवारका लागि पाँच धुर जग्गामा दुईतले पाँच कोठाको घर बनाइएको छ । घरअगाडि धारा, सामुदायिक भवन, कुलदेवताको मूर्ति, खेल्ने पिङ, वाइफाई, खानेपानीको व्यवस्था पनि गरिएको रहेछ । प्रत्येक घरमा ग्यास चुल्हो र सिलिन्डरको व्यवस्था छ । बालबालिकाको पढाइका लागि एकजना शिक्षकको पनि व्यवस्था गरिएको छ ।

 समग्रमा हेर्दा अति आवश्यक कुरा– गाँस, वास र कपास सबै पुगेझैँ लाग्छ यहाँ । अहिले यो नमुना मुसहर बस्ती पयर्टकको आकर्षण–केन्द्र बनेको छ । दिनहुँजसो आन्तरिक र बाह्य पयर्टक यहाँ आउँछन् । त्यसबापत नमुना बस्तीले प्रत्येकका लागि प्रवेशशुल्क २५ रुपैयाँ लिने गर्छ । त्यो पैसाले बस्तीको सरसफाइ र मर्मतसम्भार गरिने त्यहाँका कर्मचारी रामजी महतो बताउँछन् । महतो बस्तीका बालबालिकालाई पढाउँछन् र रेखदेख गर्छन् । 

नमुना बस्तीमा तीन दिन बिताएपछि हामी महोत्तरीकै अर्को मुसहर बस्ती औरही जाने भयौँ । औरही जानुको उद्देश्य थियो– दुवै मुसहर बस्तीबीचको तुलनात्मक अध्ययन । कुनै गैरसरकारी संस्थाले बनाएको बस्ती र आफैँ बनेको बस्तीबीचको भिन्नता–समानता केलाउनु थियो । तीन दिनमा मुसहर समुदायको शिक्षा, आर्थिक अवस्था, सामाजिक–सांस्कृतिक चलनलगायत विषयमाथि गहिरो अवलोकन गरेका थियौँ । 

मुसहरबारे एकजना गैरदलित महिलाको प्रतिक्रिया थियो, ‘जति गरे पनि मुसहर सुध्रिनेवाला छैनन् । दिनभरि दुःख गरेर कमाउँछन् । 
राति रक्सी खान्छन् र आफू–आफू झगडा गर्छन् ।’ के वास्तविकता यही हो ?

पहिलो दिन
मुसहर बस्ती पुग्दा कम्तीमा ५० जना बालबालिका र महिलाले हामीलाई घेरे । मधेसमै हुर्केकी मेरा लागि यो नौलो दृश्य थिएन । तर, हेलेनलाई उकुसमुकुस भइरहेको थियो । कोही हेलेनलाई छोइरहेका थिए भने उनीसँग टाँस्सिन आउँथे । पछि, मैले मैथिली भाषामै उनीहरूलाई भने, ‘हामी चार दिनसम्म यहाँ आइरहनेछौँ ।’ अनुसन्धानको उद्देश्य बताएपछि वातावरण अलि सहज भएको थियो । हामीलाई स्कुल जाने र नजाने बालिकासँग कुराकानी गर्नु थियो । रामजी महतोले केही स्कुल जाने बालिकालाई बोलाए । तर, बस्तीका सबै बालबालिका चाहन्थे– आफ्नो नाम डायरीमा लेखियोस् । उनीहरूलाई लागेको थियो– नाम लेखेबापत उनीहरूले केही सुविधा वा सामग्री पाउनेछन् । त्यस दिन हामी बालबालिका र महिलासँग घुलमिल भएका थियौँ । 

बीचमै छाड्छन् स्कुल
फाउन्डेसनले मुसहर बालबालिकालाई आवाससँगै स्कुल जाने चेतना पनि दिएको रहेछ । एक वर्षअघि ९० बालबालिकालाई फाउन्डेसनले स्कुल भर्ना गरेको थियो । तर, २०–२५ जना मात्रै निरन्तर स्कुल आउने गरेको स्थानीय जनता माविका शिक्षक दिलीप यादवले बताए । अधिकांश मुसहर बालबालिका ५–६ कक्षा पुगेपछि स्कुल छाड्दा रहेछन् । स्कुल छाड्ने बालकहरू ट्र्याक्टरमा मजदुरी गर्दा रहेछन् । ‘उमेर ढल्केपछि स्कुल भर्ना भएकाहरू साना बालबालिकासँग कक्षाकोठामा बस्दा लाज मान्छन् र स्कुल छाड्छन्,’ १४ वर्षीय शान्ति सदाले भनिन् । पूजा सदाको अनुभव फरक छ । आमा काममा जाँदा भाइबहिनीको रेखदेखका लागि पूजाले स्कुल छोडेकी थिइन् । तर, पुजाको मनमा अंगे्रजी बोल्ने रहर जिउँदै छ । 

मायापिरतीमा युवा 
बस्तीमा बालविवाह गर्नुहुन्न भन्ने चेतना त छ । तर, पनि अधिकांश बालिका २० वर्ष नपुग्दै बिहे गर्छन् । यहाँ भागी र प्रेम विवाह दुवै चल्छ । ‘अचेल मुसहर बस्तीका बालबालिकामा उमेर नपुग्दै भागेर विवाह गर्ने चलन बढ्दो छ,’ सबी सदा भन्छिन् । मुसहर बस्तीमा मधेसी समुदायभित्र विरलै देखिने दृश्य देखियो– त्यस बस्तीका युवती मायापिरती र बिहेबारे मन फुकाएर समूहमा सहजै गफिन्छन् । 

घरबाहिरै भान्सा 
दोस्रो दिन बिहानै त्यही बस्ती पुग्यौँ । खाना पकाउने वेला भएको रहेछ । फाउन्डेसनले प्रत्येक परिवारलाई ग्यास चुलो र सिलिन्डर उपलब्ध गराएको भए पनि सबैजना घरअघि माटोको चुलोमा खाना पकाउँदै थिए । एक महिलाले भनिन्, ‘ग्यास चुलो र सिलिन्डर त दिए । तर, महिनैपिच्छे सिलिन्डर भराउने पैसा हुँदैन । अनि के गर्नु ? नजिकै जंगल छ त्यहाँबाट दाउरा ल्याएर खाना पकाउने गर्छौँ  । खाना पकाएपछि चुल्हो घरभित्र लुकाएर राख्छौँ ।’ 

खानेपानीको धारा भए पनि उनीहरू नजिकैको पोखरीमा नुहाउँछन्, पोखरीमै लुगा धुन्छन् । यसले खानेपानीको महसुल कम उठ्दो रहेछ । एकपटकका लागि जति नै सुविधा दिए पनि त्यसको निरन्तरताका लागि उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउनैपर्छ । क्षणिक सुविधा दिगो हुँदैन भन्ने उदाहरण यहाँ देखियो । बस्तीलाई आर्थिक रूपले सक्षम बनाउन फाउन्डेसनले सामूहिक तरकारी खेती गर्न लिजमा जग्गा पनि उपलब्ध गराएको छ ।

बाख्रापालनका लागि ब्राखा पनि किनिदिएको छ । तर, त्यहाँ १०–१२ जनासँग मात्रै बाख्रा बाँकी थियो । केही संघसंस्थाले मुढा बनाउन, सिलाइ र च्याउखेती गर्न तालिम पनि दिएका थिए । तर, च्याउखेती गर्न न उनीहरूसँग जग्गा छ । न त सिलाइ गर्न मेसिन । खेतीको सिजनबाहेक बस्तीका महिला दिनैभर गफिएर बसिरहेका हुन्छन् । बस्तीमा तीन सय मुसहरको बसोवास छ । तीमध्ये सानु सदाले फाउन्डेसनबाट २० हजार ऋण काढेर बस्तीमै ठेला लगाएकी छिन् । ठेलामा चटपटे, पानीपुरी, बिस्कुट, चकलेट पाइन्छ । 

बस्तीमा तीन सय मुसहरको बसोवास छ । सानु सदाले फाउन्डेसनबाट २० हजार ऋण काढेर बस्तीमै ठेला लगाएकी छिन् । ठेलामा चटपटे, पानीपुरी, बिस्कुट, चकलेट पाइन्छ । 

नागरिकता छैन
सानु सदा बस्तीकै सबैभन्दा सशक्त महिला हुन् । उनले सानै उमेरमा मोरङबाट भागेर विवाह गरेकी थिइन् । हालै भएको स्थानीय चुनावमा उनले त्यही वडाबाट दलित महिला सदस्यमा चुनाव पनि लडेकी थिइन्, तर जितिनन् । उनलाई बस्तीकै मुसहरले पनि भोट दिन पाएनन् । मुसहर बस्तीमा तीन सय जनसंख्या भए पनि ४० जनासँग मात्रै नागरिकता छ । नमुना बस्तीका मुसहर वंशज नागरिक भए पनि २०६४ सालमा उनीहरूमध्ये अधिकांशले जन्मसिद्ध नागरिकता पाएका थिए । अहिले उनीहरूका सन्तानलाई नागरिकता दिन रोक लगाइएको छ । त्यसैले मुसहर बस्तीका लगभग आधा मानिससँग नागरिकता छैन । 

बस्तीमा सबैभन्दा बढी पढेका युवा मन्जे सदासँग पनि नागरिकता थिएन । उनी अहिले बस्ती नजिकैको कलेजमा स्नातक दोस्रो वर्ष अध्ययन गरिरहेका छन् । हालै सर्वोच्च अदालतको आदेशमा केहीलाई बाँड्दा मन्जेले पनि नागरिकता पाएका छन् । तर, सर्वोच्चले फेरि रोक लगाएपछि बस्तीका अरूले नागरिकता पाउने–नपाउनेमा अझै अन्योल बढेकै छ । 

औरहीको अनुभव 
बर्दिवासबाट लगभग २५ किलोमिटर दक्षिण भेगमा छ– औरही । त्यही सडक महोत्तरीको सदरमुकाम जलेश्वरसम्म पुग्छ । बाटो हेर्दा सुगम जिल्लाको दुर्गम क्षेत्र हो भन्ने लाग्छ । आफैँ बनेको औरहीको मुसहर बस्तीमा पनि अघिल्लो नमुना बस्तीकै झैँ दृश्य देखियो । विदेशी देखेपछि बस्तीका बालबालिका र महिलाले हामीलाई एकैपटक घेरे । कुराकानी थालेपछि केही युवती लजाएर भागे ।

यहाँको मुसहर टोलनजिकै दुईवटा स्कुल छन्– एउटा सरकारी र अर्को प्राइभेट । प्राइभेट स्कुलमा कोरियन संस्थाको सहयोग रहेछ, जहाँ मुसहर बालबालिकालाई पढाउन विशेष पहल गरिएको थियो । यस बस्तीका मानिस तुलनात्मक रूपमा शिक्षाको सवालमा अघिल्लो बस्तीका भन्दा बढी सचेत थिए । यहाँ मुसहर बालिका पनि १० कक्षासम्मै स्कुल जाँदा रहेछन् । यहाँ पनि घरको ‘कामकाज’ भन्दै केही बालबालिकाले स्कुल छाडेका रहेछन् । यहाँ केहीसँग मोटरसाइकल पनि थियो । केही आफैँ व्यापार–व्यवसाय पनि गर्थे । दुवै बस्तीको तुलना गर्दा औरहीका मुसहर बढी सचेत र सशक्त देखिन्थे । 

यहाँका केही मानिस वैदेशिक रोजगारीमा पनि पुगेका छन् । कुर्मी थरकी एक महिलाले भनिन्, ‘मेरा श्रीमान् दुई वर्षदेखि मलेछिया (मलेसिया) बस्नुहुन्छ । कहिलेकाहीँ पैसा पनि पठाउनुहुन्छ । त्यही पैसाले हाम्रो गुजारा चल्छ ।’ मुसहरबारे एकजना गैरदलित महिलाको प्रतिक्रिया थियो, ‘जति गरे पनि मुसहर सुध्रिनेवाला छैनन् । दिनभरि दुःख गरेर कमाउँछन् ।

राति रक्सी खान्छन् र आफू–आफू झगडा गर्छन् ।’ त्यस्तै भनाइ थियो स्थानीय शिक्षकहरूको पनि । भन्थे, ‘मुसहर बालबालिका पढ्न मनै गर्दैनन् । धेरै कमजोर हुन्छन् । उनीहरूमा जति लगानी गरे पनि बालुवामा पानी हालेजस्तो हुन्छ ।’ दलित समुदायबारे समाजमा अझै यस्तो सोच व्याप्त छ । यस्ता शिक्षकले आफ्नो कर्तव्य कसरी निर्वाह गर्छन् ? देशमा संविधान मात्रै परिर्वतन भएको रहेछ, सोच परिवर्तन हुन अझै धेरै दशक कुर्नुपर्नेछ ।