• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शान्ति तामाङ काठमाडाैं
२०७६ असार ७ शनिबार ०७:०८:००
यात्रा

रसियामा पूर्वकुमारी

२०७६ असार ७ शनिबार ०७:०८:००
शान्ति तामाङ काठमाडाैं

‘हेलो, नमस्कार !’
‘नमस्कार !’ 
पूर्वकुमारी मतिना शाक्यले नमस्कार मात्र फर्काइन् ।करिब दुई वर्षअघि भेट्दा जुन रूपमा प्रस्तुत भएकी थिइन् । त्योभन्दा खास भिन्न थिइनन्, उनी । फरक एउटै थियो । दुई वर्षअघि भेट्दा उनी नौ वर्ष कुमारी भएर भर्खरै खुला संसारमा आएकी थिइन् । यसपटक भेट्दा उनी पहिलोपटक विदेश यात्रापछि फर्किएकी थिइन् ।

‘पहिलोपटक हवाईजहाजमा यात्रा गर्दा तपाईंलाई कस्तो लाग्यो ?’ उनले रमाइलो उत्तर दिइन्, ‘डर लागेन । बरु रमाइलो लाग्यो ।’ कुमारी बस्दा साँघुरो संसारमा थिइन् उनी । मुस्किलले चन्द्रागिरि केबलकारसम्म पुगेकी थिइन् । काठमाडौंभन्दा बाहिर लुम्बिनीसम्म घुम्न पाएकी थिइन् । तर, यसपटक उनी रसिया पुगेर फर्किएकी छिन् । 

वैशाख पहिलो साता बुबा प्रतापमान शाक्य, आमा सुनिता शाक्य र कुमारीघरका अर्का अभिभावक महेन्द्ररत्न शाक्य उनीसँगै थिए । जसले उनको यात्रालाई उत्सुक र रमाइलो महसुस गराएको थियो । मतिना नेपालमा कुमारी परम्पराबारे आफ्नो अनुभव साट्न रसिया पुगेकी थिइन् । त्यहाँ उनले कम बोलिन् । तर, धेरै कुरा सिकिन् र देखिन् पनि । आठ दिनको भ्रमणले उनलाई नेपालभन्दा भिन्न अनुभव गरायो । 

त्यहाँ रहँदा उनी नेपाली राजदूतावास र रसियाली रुडन विश्वविद्यालयको कार्यक्रममा सहभागी भइन् । अन्तरिक्षयात्री प्रशिक्षण केन्द्रमा पनि भ्रमण गरिन् । यात्राको भोलिपल्ट नै रुडन विश्वविद्यालयमा भव्य कार्यक्रम राखिएको थियो । जहाँ उनीसहित नौजना पूर्वकुमारीका तस्बिरले भित्ताहरू सजिएका थिए । मतिनासहितका पूर्वकुमारीका तस्बिर आयोजकले केही मतिनाको बुबा प्रतापमान र केही गुगलबाट लिएका थिए । मतिनाको स्वागतमा रसियामा रहेका नेपाली तथा रसियनहरू पनि सहभागी थिए । मतिनाको बाल मानसपटलमा भने खास उत्सुकता थिएन । किनभने उनी नौ वर्षसम्म कुमारीघरमा धार्मिक र सांस्कृतिक गतिविधिमै सहभागी भएर स्वतन्त्र भएकी थिइन् । 

‘रुडन विश्वविद्यालयमा कार्यक्रम हुँदा लबीदेखि नै नौजना कुमारी र इन्द्रजात्राका तस्बिर राखिएका थिए । भित्ताहरू तस्बिरले सजिएका थिए । त्यहाँका प्राध्यापक र विद्यार्थीले स्वागत गरे । यो कुमारी र हाम्रो संस्कृतिप्रति सम्मान हो,’ प्रतापमानले भने ।भ्रमणमा छँदै मतिनालाई रसियाकै जनमैत्री विश्वविद्यालयले कक्षा १२ सम्म पढ्न आग्रह ग-यो । त्यसबारे अहिले केही नसोचेको उनले बताइन् । ‘उहाँहरूले आफ्नो विश्वविद्यालयमा पढ्न आग्रह गर्नुभयो । यसबारे मैले अहिले केही नसोचेको जवाफ दिएँ,’ उनले भनिन् ।

रुडन विश्वविद्यालयको कार्यक्रमपछि उनीहरू दूतावासको कार्यक्रममा सहभागी भए । दूतावासको कार्यक्रम केही फरक भयो । उनी रातो कपडामा सजिएकी थिइन् । झन्डै कुमारीको भेषमा । वर्तमान कुमारी तृष्णा शाक्यको तस्बिरलाई पुज्दै सुरु भएको कार्यक्रममा नेपालमा कुमारी संस्कृतिबारे चर्चा–परिचर्चा भयो । जिज्ञासा उठ्यो । कार्यक्रममा सहभागीले कुमारी संस्कृति र हालको अवस्थाबारे बुझ्ने अवसर पाएका थिए । 

त्यो कार्यक्रममा मतिनालाई कुमारी भएकोमा गौरव लाग्यो । हालको कुमारी तृष्णा शाक्यको फोटोलाई पूजा गरेर उनीबाट आशीर्वाद लिइरहेका थिए । त्यहाँ रसियाका लागि नेपाली राजदूत ऋषिराम घिमिरे, पूर्वराजदूत सेर्गेई भेलिच्किनसहित अन्य विशिष्ट रसियन नागरिक सहभागी थिए । कार्यक्रममा रसियन नागरिक रासुल हाम्जातोभले कुमारीबारे लेखेको कविता वाचन गरिएको थियो । कवितालाई रसियामा बस्दै आएका कृष्णप्रसाद श्रेष्ठले नेपालीमा अनुवाद गरी सुनाए । ‘उपस्थित सबैलाई आशीर्वाद दिन पाउँदा गौरवान्वित महसुस गरेँ,’ मतिनाले भनिन् ।

बुबा प्रतापमानलाई भने त्यहाँ पनि कुमारीप्रति आस्था राख्नेको संख्या यति धेरै छ जस्तो लागेको थिएन । नेपालमा कुमारीको दर्शन गर्न आइरहने रसियन नागरिक इगोर अगोरोद्निकोभको आग्रहमा बल्लबल्ल भ्रमण जुटेको थियो । डेढ वर्षपछि जुटेको भ्रमणले उनलाई रसियामा कुमारीप्रतिको आस्था, त्यहाँको भक्तजनको व्यवहारले उत्साहित बनायो । भ्रमणका क्रममा कुमारीप्रतिको आस्थाले उनी दंग छन् । इगोर कुमारीको दर्शन गरेर कैलाश जान्थे र कैलाश चढेर आएपछि पनि कुमारीकै दर्शन गर्थे । 

गणतन्त्रपछि कुमारी बनेकी मतिना शाक्य पहिलोपटक रसिया पुगेर फर्किइन् । भ्रमणका क्रममा उनले रसियामा समेत कुमारीप्रति आस्था राख्ने रसियन भेटिन् । भ्रमणबारे मतिना भन्छिन्, ‘रसिया सुन्दर लाग्यो ।’

‘इगोर आएर कुमारीको दर्शन गरेर सधैँ कैलाश जाने भएकाले त्यहाँ कुमारीसँगै शिवका भक्तहरू छन् भन्ने थाहा थियो । तर धेरै हुनुहुन्छ जस्तो लागेको थिएन,’ प्रतापमानले भने, ‘छोरी कुमारी हुँदादेखि नै रसियाबाट निमन्त्रणा आइरहेको थियो । उनको पढाइमा हानि नहोस् भनेर समय मिलाउँदा डेढ वर्षपछि मात्र भ्रमणको अवसर जु-यो ।’ 

रोचक त के भने रसियामा समेत पाँचौँपटकसम्म कुमारीको दर्शन गर्ने रसियन उनीहरूले भेटे । उनीहरूलाई भेट्दा प्रतापमान आश्चर्यचकित भएका थिए । औपचारिक कार्यक्रम सकेपछि उनीहरू मस्कोका केही ठाउँ र अन्तरिक्ष प्रशिक्षण केन्द्र घुमे । अन्तरिक्षयात्री प्रशिक्षण केन्द्रमा घुम्दा मनिता चकित परिन् । त्यहाँको सफा सहर, व्यवस्थित ट्राफिक व्यवस्था देखेर उनी अचम्मित भइन् । ‘त्यहाँको सहर सफा थियो । एकोरेममा खेलिरहेका माछा, सर्कस हेर्दा रमाइलो लाग्यो,’ उनले भनिन् । 

मतिनाका बुबा प्रतापमानका अनुसार अन्तरिक्षयात्री सलिजन खलिफाबले मतिना आएको थाहा पाएपछि अन्तरिक्षयात्री प्रशिक्षण केन्द्र घुमाउने प्रस्ताव गरे । खलिफाबले अन्तरिक्षको यात्रा र त्यहाँको अवस्थाबारे वर्णन गरेका थिए । प्रतापमानले भने, ‘ती अन्तरिक्षयात्री पनि कुमारीका भक्त रहेछन् ।’मतिनाको रसिया भ्रमणले कुमारी संस्कृतिबारे नकारात्मक भ्रम चिरेको प्रतापमानको भनाइ छ । ‘जीवित देवी कुमारी राख्ने संस्कृतिले बालअधिकार हनन भयो भन्ने कुरा उठ्छन् । कुमारी भएपछि विवाह गर्नु हँुदैन । पढाइ राम्रो हुँदैन । हुर्काई, बढाईसँगै मानसिक असर पर्छ भन्ने भ्रम चिर्न सफल भएका छौँ,’ प्रतापमानले भने । 

गणतन्त्र स्थापनापछिको पहिलो कुमारी मतिना १२ वर्ष पुगेकाले महाअष्टमीको दिन पोहोर साल राजकीय सम्मानका साथ कुमारी घरबाट बिदाइ भएकी थिइन् । बालिकालाई शक्तिको स्रोत मान्दै देवीका रूपमा स्थापना गरेर पूजा गर्ने यो चलन काठमाडौंको मौलिक परम्परा हो । संसारले नै कुमारीलाई ‘जीवित देवी’का रूपमा मान्दै आएको छ ।