• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
राजु स्याङ्तान काठमाडाैं
२०७६ असार ७ शनिबार ०७:४९:००
यात्रा

हिउँको संसारमा कान्छीमाया तामाङ

२०७६ असार ७ शनिबार ०७:४९:००
राजु स्याङ्तान काठमाडाैं

तीनपटक सँगसँगै सगरमाथा चढ्ने श्रीमान्–श्रीमती हुन्, पेम्बा दोर्जे शेर्पा र कान्छीमाया तामाङ । उनीहरूका अनेक हिमाली कीर्तिमान छन् । पेम्बाले २० पटक सगरमाथा चढिसके भने कान्छीमायाले तीनपटक । हिमाल चढ्ने दुई साहसिक आरोहीको संघर्ष कथा हो यो । 

वरिपरि हिमशिखर । बीचमा स–साना टेन्टहरू । फरफराइरहेका लुङ्दार । घामको स्पर्शले हिमालमा बाफ उडिरहेको दृश्य । आरोहीहरूको ओहोरदोहोर । त्यही लुङ्दारबीच सगरमाथा आधारशिविरमा आरोहीलाई सगरमाथा चढाउन कस्सिएका छन्, पेम्बा दोर्जे शेर्पा । आरोहीको समूहमा छिन्, कान्छीमाया तामाङ । 
आरोहीलाई सगरमाथा चढ्ने तयारी गराउँछन्

पेम्बा । साथमा छ– झोलामा अक्सिजन सिलिन्डर, खानेकुरा, स्लिपिङ ब्याग, स्नो ग्लास, हेलमेट, डोरी, हिउँ काट्ने बन्चरो ।टोली सुरुमा हिँउको ढिस्कोले पुरिएको छ्यार्तेनमा पूजा गर्छ । र, उक्लिन थाल्छ– क्याम्प १ तिर । माथि–माथि उक्लिँदै गर्दा कान्छीमाया सम्झिन्छिन्– सिन्धुपाल्चोक, पाँचपोखरी । त्यहीँ बिताएकी हुन् उनले, बालापन ।
०००
पाँचपोखरी–थाङ्पालस्थित भोटाङमा जन्मिएकी हुन्, कान्छीमाया । आमा बिसिरी तामाङ र बुबा लक्षे तामाङले उनीसहित चार छोरी र तीन छोरा हुर्काए । कान्छीमाया स्कुल जान थालेपछि आमाले भनेको उनी आज पनि सम्झिन्छिन्, ‘तिम्री ठुल्दिदी तिमी जन्मिएको एक घन्टापछि भारत हिँडेकी थिइन् । तर, आजसम्म घर फर्किएकी छैनन् ।’ 

गाउँमा छोरा होइन, छोरी जन्मिए हर्कबढाइँ हुन्थ्यो । किनभने, छोरी हुर्किएको घरको छाना टिनले छाइएको हुन्थ्यो । तर, कान्छीमाया बुझ्दिनथिन्– बाख्रा चराउँदाचराउँदै किन हराउँछन् छोरीहरू गाउँबाट ? कहाँ हो भारत भनेको ? आङी र नानाहरू (माइजू र दिदी) किन कुनै पुरुषको पछि लागेर कहिल्यै नफर्किने गरी जान्छन् ? स्कुलबाट फर्किंदा उनले देखिन्– वर्षौंदेखि हराएका आङीहरू दुब्लो शरीर लिएर गाउँ चढ्दै गरेको । बुढाबुढीहरू लौरो टेक्दै आफ्ना सन्तानको अप्रत्याशित आगमनमा हर्षले आँसु बगाएको । 

कान्छीमायालाई सम्झना छ– आङीहरू गाउँ पसेपछिका कैयन् रात बोम्बो (झाँक्री)ले एकोहोरो ढ्यांग्रो बजाइरहे । निको नहुने रोगलाई महिनौँ झारफुक गरिरहे । जडीबुटी खुवाइरहे । कालो पोथी काटेर भोग दिइरहे । कुलपित्तृ खुसी पार्न अनेक उपाय गरिरहे । तर, एक रात कान्छीमायाको निद्रा झस्किने गरी लामाहरूले विरहलाग्दो शंख बजाए । भोलिपल्ट बिहानै उनले देखिन्, सबै गाउँलेको लस्कर डाँडामाथि उक्लिरहेको थियो– आङीको मृत शरीर बोकेर । ७ कक्षा पढ्दापढ्दै बिहेको पोङ लिएर गाउँको आस्याङ (मामा) घरमा आइपुगे । जबर्जस्ती आमाबुबाले पोङ स्विकारे । कान्छीमायाले आत्महत्याको कोसिस पनि गरिन्, तर सकिनन् । 

केटो औधी माया गथ्र्यो कान्छीमायालाई, तर उनलाई पढ्नु थियो । स्कुल जाँदा–आउँदा बाटो छेकेर घर जाऔँ भन्न थाल्यो, केटोले । तनावै दिएपछि एक दिन केटालाई कुटिदिइन्, कान्छीमायाले । कुटिसकेपछि पो कान्छीमायामा ऊप्रति माया पलाउन थाल्यो । तर, कान्छीमायाले निकै ढिलो माया गरिन् । उनले एसएलसीको परीक्षा दिँदादिँदै केटोले अर्कै केटीसँग बिहे ग-यो । कान्छीमाया भिनाजुको पछि लागेर भारत पसिन् । 

कान्छीमायासँगै जोडिएर आउँछ– पेम्बाको कथा । अब छोटोमा पेम्बा–संघर्ष सुनौँ । ३९ वर्षअघि दोलखा गौरीशंकरको फेदी, छो–रोल्पा तालनजिकै रोल्वालिङमा जन्मिए– पेम्बा शेर्पा । ४२०० मिटर अग्लो ठाउँमा जन्मिएका पेम्बाले एडमन्ड हिलारीले निर्माण गरेको स्कुल पढे । स्कुल त भन्नु मात्रै थियो, वर्ष दिनमा ६ महिना पनि राम्रोसँग पढ्न नपाइने । भन्छन्, ‘मास्टरहरू जाडो महिनाको बिदा भनेरै तीन महिना स्कुल आउँदैनथे ।

फेरि दसैँ बिदा भनेर अर्को तीन महिना हराउँथे ।’ पेम्बालाई अहिले पनि सम्झना छ– स्कुलको चिसो कक्षाकोठामा पढ्न नसकी घाम खोज्दै हिँडेका चिसा दिनहरू । भन्छन्, ‘जहाँ–जहाँ घाम लाग्छ, त्यहीँ–त्यहीँ पढ्दै जाँदा स्कुल छुट्टी हुने वेलासम्म घाम भिरको फेदमा पुग्थ्यो ।’ ६ छोरा र एक छोरी हुर्काउन पेम्बाका बुबाआमालाई सकस भयो । खान–लाउनै नपुग्ने ! पढ्नु त कहाँ हो कहाँ ! भेडा, चौँरी र याक चराउँदै बिताए बाल्यकाल । कक्षा ३ पास गरेर १३ वर्षको उमेरमा पेम्बा निस्किए बुबा र दुई दाइसँगै आरोहीको भारी बोक्न हिमालतिर । 
०००
पेम्बाको टोली आधारशिविरबाट क्याम्प– १ पुग्नै लाग्दा घाम ढल्किँदै थियो । पेम्बा अघि–अघि, कान्छीमाया पछि–पछि । पेम्बा वेला–वेला कान्छीमायातिर हेर्थे । टोली क्याम्प १ पुग्यो । कान्छीमायालाई खासैै गाह्रो भएन । हिउँमा एकैछिन सुस्ताउँदा कान्छीमायाको आँखामा आइपुग्थे– दिल्लीका ओसिला गल्लीहरू । भिनाजुको पछि–पछि गाउँबाट हिँडेकी कान्छीमाया दिल्ली पुगिन् । उतै बस्दाबस्दै एसएलसी नतिजा आयो– पास भइन् । गाउँकै पहिलो एसएसली पास गर्ने महिला भइन् । घर फर्किन खोजिन् । तर, फर्किने कसरी ? उतै पढाइदिने वाचा गरे, दिदी–भिनाजुले ।

कलेज खोज्न पनि गए । तर, हिन्दी र इंग्लिस उनलाई नआउने । पढाइको सपना मधुरो हुँदै गयो । दिन–महिना उसै बित्न थाले । फार्म हाउसमा काम गर्ने दिदीले कान्छीका लागि काम खोजिदिइन् । काम थियो– अर्काको बच्चा स्याहार्ने । ६ महिना त्यही काम गरिन् । चित्त नबुझेपछि छाडिदिइन् । अर्को घरमा काम पाइन्– बुढी मान्छे स्याहार्ने । 

बुढीमान्छेको छोराबुहारी माथिल्लो तलामा बस्थे । बुहारी अफिस गएपछि, सँगै काम गर्ने बंगाली केटीलाई मालिस गर्ने निहुँले बोलाएर छोराले बलात्कार गथ्र्यो । त्यस्तो थाहा पाएपछि कान्छीले तुरुन्तै काम छाडिन् । थुपै्र घरमा काम गरेर दिल्लीका गल्लीमा उनका तीन वर्ष बिते । त्यहाँ मजदुरी गरेको पैसाले टिनको छाना फेर्न त सकिनन् । तर, घरमा टिभी किनेर पठाइन् ।

भारतमै बस्ने माइली र साइँली दिदी इजिप्ट गए । कान्छीमाया पनि अवैधानिक बाटोबाट इजिप्ट पुगिन् । कान्छीमायाको बाँकी कथा फेरि भनौँला । अहिले पेम्बातिर जाऔँ । पेम्बाको पोर्टर जिन्दगी सुरु भयो । एकपछि अर्को अग्ला हिमाल भारी बोकेरै उक्लिन थाले पेम्बा । पछि–पछि हुन्थे पर्यटक । अघि–अघि हुन्थे उनकै परिवारका बुबा र दाजुभाइ । अब पेम्बा पोर्टरबाट हाइ–अल्टिच्युड वर्कर हुँदै क्लाइम्बर गाइड बनिसकेका थिए । हिमालमा अनेक कीर्तिमान बनाउँदै गए पेम्बा ।
०००
पेम्बाको टिमको क्याम्प २ यात्रा सुरु भयो । त्यसैवेला कान्छीमाया ‘मिन्स’ भइन् । कान्छीमाया भन्छिन्, ‘निकै गाह्रो भयो । रुँदै बिस्तारै हिँडे ।’ हिउँमा पाइला सुस्ताउन थालेपछि हिमाल चढ्नकै लागि पोल्टाबाट झिकेर पाँच सय रुपैयाँ दिने हजुरआमा सम्झिन्थिन् कान्छीमाया । आँखाअघि आइपुग्थे– इजिप्टमा भोगेका दुःखका दिन ।

इजिप्ट पुगेपछि कान्छीमाया अलमलमा परिन् । देश फरक, भाषा फरक । तर, काम फरक भएन । नयाँ संघर्ष सुरु भयोे । कुनै इजिप्सियनको घरमा भाँडा माझ्दामाझ्दै सानोमा हजुरबुबाले भनेको सम्झिन्थिन्, ‘कुनै वेला मामहरू (हजुरआमाहरू)लाई दरबारमा सुसारे बनाउन राजाको सिपाहीले लैजान्थ्यो रे । त्यसपछि आङी र आमाहरूलाई भारत लगियो ।’ 

पेम्बाको टोली क्याम्प ४ का लागि निस्कियो । टोलीमा २० जना आरोही र गाइड छन् । अगुवाइ गरिरहेका छन् पेम्बा । कान्छीमाया अगाडि–अगाडि छिन् । पेम्बाको पवित्र इच्छा छ, ‘अब कान्छीमायाले पनि एक्लै हिमाल चढ्न सिक्नुपर्छ ।’ 

काम गर्ने घरनजिकै एकजना नेपाली चेलीलाई खानासमेत नदिई थुनेर राखेको थाहा पाइन् कान्छीमायाले । आफू बस्ने घरको ड्राइभरको सहयोग लिइन् । ड्राइभरकै माध्यमबाट लुकाईलुकाई खाना पु-याइन् । ड्राइभरसँगै मिलेर एक रात ती चेलीलाई घरबाट निकालेर अन्तै काम लगाइदिइन् । भन्छिन्, ‘त्यो साथीलाई मैले भगाएको साहुले थाहा पाएको भए मलाई जेलमा सडाइदिन्थ्यो ।’
०००
पेम्बाले एकपछि अर्को कीर्तिमान थप्दै गए । १० दिनमा तीनपटक सगरमाथा चढे, सातपटक त विनाअक्सिजनै चढे । एउटै परिवारबाट सातजनाले सगरमाथा चढेको कीर्तिमान पनि उनकै परिवारले बनायो । एकै समयमा एउटै परिवारबाट चारजनाले सगरमाथा चढेको नयाँ रेकर्ड पनि बन्यो । आठ घन्टा १० मिनेट अर्थात् सबैभन्दा छिटो सगरमाथा आरोहण गरेको कीर्तिमान पनि उनकै नाममा छ । अहिलेसम्म २० पटक त सगरमाथा चढिसके । आमादब्लम हिमाल १६ पटक चढे । सगरमाथाको चुचुरोमा गौतम बुद्धको १३ इन्च, १५ केजीको मूर्ति पनि उनैले राखे । पृथ्वीनारायण शाहको २५ किलोको मूर्ति पनि उनैले राखे । राष्ट्रपति भवनको
पाँच फिटको झन्डा पनि उनैले शिखरमा पु-याए । ‘गिनिज बुक अफ वल्र्ड’ मा ६ वटा रेकर्ड बनाएका पेम्बालाईनेपाल सरकारले पर्यटन वर्ष– २०११ को सद्भावना दूतसमेत नियुक्त ग-यो । 
०००
पेम्बाको टोली क्याम्प ३ बाट क्याम्प ४ का लागि निस्कियो । एउटै डोरीमा छन् सबैजना । टोलीमा २० जना आरोही र गाइड छन् । कान्छीमाया अलि अगाडि छिन् । सबैको अगुवाइ गरिरहेका छन्, पेम्बा । उक्लिँदै गर्दा पेम्बाले कान्छीलाई वेला–वेला तान्ने र धकेल्ने पनि गरे, कतै–कतै एक्लै पनि छाडिदिए । पेम्बा सुनाउँछन्, ‘उसले पनि एक्लै हिमाल चढ्न सिक्नुपर्छ ।’ 
०००
कान्छीमाया इजिप्ट बसेको ६ वर्ष लाग्दै थियो । बीचमा नेपाल आएर इजिप्ट बसाइलाई वैधानिक बनाएकी थिइन् । काम सकेर ओच्छ्यानमा पल्टिएको एक रात फेसबुकमा पेम्बाको फ्रेन्ड रिक्वेस्ट आयो । पेम्बालाई आफ्नो कीर्तिमानले अमेरिका पु-याइसकेको थियो । दुई छोरी, एक छोरा र श्रीमतीसहित क्यालिफोर्निया पुगिसकेका थिए, पेम्बा । कान्छी छोरीको उपचार गर्न गएका पेम्बा उपचारपछि उतै बस्न थाले । मन भने हिमालतिरै थियो । कीर्तिमानको भोक मेटिएको थिएन । त्यसैवेला पेम्बाको बहिनी–ज्वाइँको आरोहणकै क्रममा मृत्यु भयो । एक्ली बहिनी र भान्जाभान्जीलाई साथ दिन पेम्बा नेपाल आउन चाहन्थे । तर, श्रीमतीले मानिनन् । भन्छन्, ‘त्यसपछि हाम्रो सम्बन्ध बिग्रियो । दिनहुँ कलह हुन थाल्यो । र, सम्बन्धविच्छेद भयो । कान्छी छोरीसँगै म नेपाल फर्किएँ ।’

कान्छीमाया र पेम्बाबीचको प्रेमसम्बन्ध झाँगिँदै गयो । दुवै नेपाल आए । तामाङ परम्पराअनुसार टीकाटालो गरे । नेपाल आएपछि कान्छीमायाको दैनिकी फेरियो । उनी श्रीमान्लाई सघाउन थालिन् । कान्छीमायाले पनि सगरमाथा चढ्ने सोचिन् । सन् २०१३ मा तयार भयो कान्छीमायासहित सगरमाथा आरोहणको टिम । उनको आरोहणको नारा थियो, ‘महिला बेचबिखन अन्त्य ।’वैदेशिक रोजगारबाट फर्किएकी महिला भनेर ‘युएन वुमेन’ले कान्छीमायालाई सहयोग ग-यो । उनका गाउँले, तामाङ समुदाय र वैदेशिक रोजगारमा बस्ने महिलाले सगरमाथा आरोहणमा उनलाई सहयोग गरे । गाइड थिए, आफ्नै श्रीमान् । 
०००
उनीहरू क्याम्प ४ पुगे । अब समिट सुरु भयो । अनुकूल मौसमको पर्खाइमा बस्न थाले । केही शेर्पाहरू अघि लागे । पेम्बाका लागि अन्य आरोहणभन्दा त्यो आरोहण भिन्न थियो । आफ्नै श्रीमतीको गाइड थिए । श्रीमतीको गाइड भएर सगरमाथा चढेको त्यो पहिलो घटना थियो ।  ‘साउथ कोल’ कटेर ‘डेथजोन’ पुगे । कान्छीमायाले हिमालमुनि हेरिन् । हिँउ नै हिउँको सेतो संसार । आरोहीको लस्कर पछाडि छ । डोरीको सहारामा छन् सबैजना । अघि–अघि छन् पेम्बा । बिहान ६ बजे उनीहरू चुचुरो पुगे । कान्छीमायाले खुसीले आँसु झारिन् । तामाङ समुदायबाट सगरमाथा चुचुरोमा पुग्ने पहिलो तामाङ महिला बनिन्, कान्छीमाया । पेम्बा र कान्छीमायाले एक–अर्कालाई खादा लगाइदिए । 
०००
त्यसपछि कान्छीमाया लगातार तीनपटक सगरमाथा चढिसकिन् । पतिपत्नी एकैसाथ तेस्रोपटक सगरमाथाको शिखर चुम्ने यो पनि पहिलो रेकर्ड हो । उनीहरू सामाजिक काममा पनि व्यस्त छन् । कान्छीमायाको गाउँका १९ बालबालिकालाई पढाउँदै आएका छन् उनीहरूले । पेम्बा भन्छन्, ‘स्कुलको झन्डा सगरमाथाको टुप्पोमा लगिदेऊ भन्छन् स्कुलहरू । म बालबालिका पढाइदेऊ भन्ने सर्त राख्छु ।’ 

कान्छीमाया ‘युएन वुमन’को सद्भावना दूत–२०१७ पनि भइन् । ‘भिजिट नेपाल २०२०’ को सद्भावना दूत छन् दुवैजना । अब कान्छीमाया एक्लै हिमाल चढ्न सक्छिन्, आरोहीलाई चढाउन पनि सक्छिन् । भन्छिन्, ‘टुरिस्ट गाइडको लाइसेन्स लिइसकेँ ।’ पेम्बाको योजना छ– अझै पाँच वर्ष हिमालचढ्ने । भन्छन्, ‘तीसपटक सगरमाथा चढेर नयाँ रेकर्डराख्न चाहन्छु ।’