• वि.सं २०७६ असार ३१ मंगलबार
  • Tuesday, 16 July, 2019

‘फोसा’मा फिल्म हेर्दा

२०७६ असार ७ शनिबार ०८:०४:०० | काठमाडाैं

०२८ मंसिर महिना । १० वर्षकी म महेन्द्र भवन स्कुलमा ५ कक्षामा पढ्थेँ । फिल्म हेर्न र कथा पढ्न असाध्यै सौखिन थिएँ । मामाघर उत्तर प्रदेशको लखिमपुर भएकाले हिन्दी भाषाको राम्रो ज्ञान थियो । मलाई घरमा ‘नराम्री’ भनेर सबैले जिस्काउने हुनाले म अपमानित महसुुस गर्थें । आफ्नो ‘विशेषता’ देखाउन म धेरै पढ्थेँ । १० वर्षमा मैले स्कुलको ८–९ कक्षाको नेपाली किताब, नेपाली दन्त्य कथा गुरुप्रसाद मैनालीको ‘नासो’ पढिसकेकी थिएँ । अरूले मलाई ‘ओहो, कति जानेकी’ भनून् भन्ने भित्री इच्छाले मलाई पढ्न प्रेरित गरेको थियो । त्यो बानीले मलाई जीवन जिउन धेरै सजिलो गरायो । 

मंसिर महिनाको त्यो दिन मेरी आमा र ठूलीआमा ‘आराधना’ फिल्म हेर्न जाने रे भन्ने कुरा गाइँगुइँ सुनेँ । मलाई पनि जान त मन लागेको थियो, तर स्कुल जानुपर्ने, के निहुँ बनाएर स्कुल जान नपरोस् भन्ने लागेको थियो । घरबाट बिस्तारै हिँडेँ । सामान्य अवस्थामा मलाई कालिकास्थानबाट सानो गौचरणमा रहेको स्कुल पुग्न आधा घन्टा पनि लाग्दैनथ्यो । तर, त्यस दिन अलमल, अलमल गरेँ । मसँग मेरी ठूलो बुबाकी छोरी पनि थिइन् । दुवैजना फिल्म हेर्न जाने दाउले स्कुल छुटाउन खोजिरहेका थियौँ । स्कुलछेउ पुग्न लाग्दा १० बजेको घन्टी टङटङ बज्यो । अरू वेला हस्याङफस्याङ गर्दै दौडेर स्कुलको ढोकाभित्र छिर्ने हामी त्यस दिन छिरेनौँ । एकछिन बाटोमा बसेर घर फर्कियौँ । घरमा भन्यौँ, ‘ढिलो भएर कक्षाकोठाभित्र छिर्न दिएनन् ।’

आमाहरूले फिल्म हेर्न लैजानुभयो । ‘आराधना’ फिल्म हे-यौँ । फिल्म हेरिरहँदा ‘म पनि फिल्म खेल्न पाए हुन्थ्यो, मलाई पनि कस्तो राम्रो एक्टिङ गर्न आउँछ’ भन्ने लागिरह्यो । फिल्ममा हिरो–हिरोइन थिए– राजेश खन्ना र शर्मिला टैगोर । किशोर कुमार र लता मंगेसकरले गाएको गीत ‘कोरा कागज था ए मन मेरा’ धेरै गुनगुनाइरहेँ । अहिले पनि गुनगुनाउँछु ।

आमा र ठूलीआमाहरू फिल्म हेर्न जाने थाहा पाएपछि म स्कुल नजाने कुनै न कुनै बहाना बनाउँथेँ । कि पेट दुख्यो भन्थेँ, कि जाँचका लागि स्कुलमा छुट्टी छ भन्थेँ । त्यस वेला १२ वर्षभन्दा मुनिका केटाकेटीलाई टिकट लाग्दैनथ्यो । त्यसैले केटाकेटीलाई ‘फोसा’ भनेर लैजाने चलन थियो । २–३ घन्टासम्म एउटा सिटमा कोचिएर बस्नुपर्दा गाह्रो भए पनि फिल्म हेर्ने मोह छुट्दैनथ्यो । मैले पुरानो नेपाली फिल्म ‘आमा’, ‘माइतीघर’, ‘कुमारी’ त्यसैगरी हेरेकी थिएँ । एकदम मन पनि परेको थियो । त्यो वेलाको फिल्म ‘माइतीघर’को गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ’ त अहिले पनि त्यति नै लोकप्रिय छ । हामी कतिचोटि त साथीहरूसँग भेटघाटमा रमाइलो गर्दा त्यसमा नाच्ने पनि गर्छाैं । ‘कुमारी’ फिल्मचाहिँ ‘इस्टमेन कलर’ (रंगीचंगी) भनेर हेर्न गइयो । 

‘आमा’ फिल्म चल्ने वेला म ४–५ वर्षकी थिएँ होला । आमाबुबासँग फिल्म हेर्न गएको थिएँ । त्यो फिल्म हेरेपछि केही दिनसम्म ‘आमालाई एकदम माया गर्नुपर्छ’ भन्ने भाव मनमा आयो । पहिले–पहिले हलमा गएर फिल्म हेर्नु एउटा उत्सवजस्तै हुन्थ्यो । आमा, ठूलीआमाले ३–४ दिनअघि टिकट ‘बुक’ गराएर ल्याएको थाहा पाएपछि म के निहुँ बनाउएर स्कुल नजाने भन्ने विचार गर्थें । छुट्टीको वेला छ भने त के चाहियो र ! हलभित्र लैजाने खानेकुराको जोहो गरिन्थ्यो । अम्बा, बासी रोटी, खजुरी पोको पारेर लगिन्थ्यो । अनि फिल्म हेर्दै खानुको मज्जा नै बेग्लै । अहिले पनि त्यही बानी छ । 

कक्षा ७ पछि चाहिँ ‘फोसामा’ फिल्म हेर्न जाने चलन टुंगियो । त्यो वेलामा शनिबार बिहान विद्यार्थीहरूका लागि सहुलियत भनेर एक रुपैयाँको टिकटमा दोस्रो श्रेणीमा बस्न पाइन्थ्यो । ०३३ सालसम्म मैले यसरी शनिबार धेरै फिल्म हेरेँ । पुरानो हिन्दी फिल्म चाहिँ भक्तपुरमा मात्र लाग्थ्यो । आजभन्दा झन्डै ४०–४२ वर्षअघि भक्तपुरमा फिल्म हेर्न जानु निकै गाह्रो काम हुन्थ्यो । एक त घरमा सोध्न डर लाग्ने । डराई–डराई सोध्दा प्रायः ‘हुँदैन’ भन्ने उत्तर आउँथ्यो । फेरि भक्तपुरमा फिल्म हेर्न जान पूरा एक दिन लाग्थ्यो । 

भक्तपुरको फिल्म हलमा दिलीप कुमारको फिल्म बढी लाग्थ्यो । दिलीप कुमार भनेपछि १४–१५ वर्षको उमेरमा नै मलाई खुब मन पर्ने । दिलीप कुमारको ‘कोहिनुर’ त्यहाँ चलेको थाहा पाएपछि दिदी र मैले हेर्न जाने योजना बनायौँ । हाम्रो योजना थियो– बिहानै घरबाट दिदीको साथीको जन्मदिन छ भनेर ज्ञानेश्वर जाने, त्यसपछि बागबजारबाट भक्तपुरको बस चढ्ने । फिल्म हेरेर बेलुकी फर्किने ।

त्यो वेला टिकटका लागि पैसा जोहो गर्न समय लाग्थ्यो । बाटोमा कसैले देखेर घरमा भनिदेला कि भन्ने डर पनि हुन्थ्यो । दसँै–तिहारमा जम्मा गरेको पैसा, घरमा कसैले माया गरेर दिएको पैसाबाहेक मेरो आम्दानीको अर्को स्रोत पनि थियो, त्यो हो बुबाले चुरोट किन्न दिएको पैसाबाट अलि–अलि पैसा जोगाएर राख्ने । १२ वटा चुरोटको पैसा बुबाले दिनुभएको छ भने म १० वटा मात्र किन्थेँ । २ वटा चुरोटको पैसा फिल्म हेर्न छुट्याउँथेँ । त्यही १० वटा चुरोट पनि बुबाले यताउता राख्दा म लुकाउँथेँ । ‘चुरोट किनेर ल्याइदेऊ’ भन्दा म लुकाएको चुरोट बुबालाई नै बेच्थेँ । 

फिल्म हेर्न पैसा जोहो गर्ने अर्को पनि उपाय थियो मसँग । त्यो हो, घरको खाली सिसी र पुराना कागज बेच्नु । ०३०÷०३२ सालतिर एक धार्नी कागजको २ रुपैयाँ दिन्थ्यो । एउटा सिनेमाको टिकट त आइहाल्ने । म बाठी भएर कागजको खामभित्र साना साना ढुंगो राख्दा २ धार्नीजति हुन्थ्यो । खाली सिसी किन्ने ती बाजेले थाहा पाउँदैनथे । म पैसा कमाइयो भनेर रमाउँथेँ । 

सानो छँदा हेरेका फिल्महरूमा मलाई याद भएको ‘देवदास’, ‘दिल अपना’, ‘प्रित पराई’, ‘आमा’, ‘कुमारी’, ‘हरहर गंगे’ ‘बादशाह’, ‘अनारकली’ आदि हुन् । राजकुमार, दिलीप कुमार, सञ्जीव कुमार, शशी कपुर मलाई अति मन पर्थे । ‘राजकुमारसँग त भेट्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । तर, भेटेर के भन्थेँ भन्ने थाहा थिएन । मैले ‘अनारकली’ हेर्दा दिलीप कुमारको माया लागेर आँसु खसालेकी थिएँ । पछि–पछि फिल्म हेर्दा रोएको दिन सम्झेर हाँस उठ्ने भयो ।  म १४–१५ वर्षको हुँदा भारतीय पुस्तकालय गइरहन्थेँ । त्यहाँ हिन्दी फिल्मी पत्रिका ‘माधुरी’ आउँथ्योे । माधुरीमा हिरो–हिरोइनको जीवनका बारेमा साथै फिल्मको कथा पनि पूरा दिन्थ्यो । म कतिचोटि त पुस्तकालयबाट ‘माधुरी’ पत्रिकालाई स्कटभित्र घुसाएर (चोरेर) घरमा ल्याउँथेँ, पढ्थेँ र फेरि खुरुक्क त्यहीँ लगेर राखिदिन्थेँ । इमानदार चोर थिएँ । 

एसएलसीको परीक्षापछि चाहिँ पैसाको केही जोहो भयो । म राम्रो विद्यार्थी भएकाले ३ र ५ कक्षा पढ्ने ४ जना विद्यार्थीलाई पढाउन छिमेकीले बोलाए । महिनाको सय रुपैयाँ दिन्छु भने । म दंग परेँ । पढाउन सुरु गरेँ । एक महिना पढाएपछि पहिलोचोटि हातमा एकैपटक सय रुपैयाँ प¥यो । ०३३ सालतिर त्यो पैसा मेरा लािग निकै धेरै थियो । म खुसीले दंग परेँ । त्यो पैसाले ‘सुष्मा’ भन्ने साहित्यिक पत्रिका र फिल्मी गसिपले भरिएका ‘दिवाना’, ‘नदंन’, ‘चंपक’ जस्ता पत्रिकाहरू किनेँ । केही बालपत्रिका पनि किनेँ । दिदीलाई ‘शुभ दिन’ भन्ने फिल्म जय नेपाल चित्रघरमा देखाएँ । त्यो धार्मिक फिल्म बडो मन परेको थियो । इन्टरभलमा बाहिर निस्केर सिन्कामा राखेको खुवा बरफ खाँदाको आनन्द अझै पनि छ । 

कमाएको पैसा हातमा आएपछि अलिकता साहस पनि आएको थियो । कहिले काहीँ घरमा नभनी साथीहरूसँग फिल्म हेर्न जान्थेँ । भक्तपुर गएर मैले ‘सुजाता’, ‘नुतन’ र ‘बन्दिनी’ जस्ता त्यो वेलाका क्लासिकल मानिने फिल्म हेरेँ । फिल्म हेरेर घरमा आएपछि वरिपरि साथी र साना भाइबहिनीलाई राखेर फिल्मको कहानी सुनाउँथेँ । ‘ढिसुँ–ढिसुँ’ गरेर हिरोले भिलेनलाई हानेको दृश्य वा हिरोइन रोएको ‘नहीँ’ भन्दै नाटकीय दृश्य देखाउनमा पनि पोख्त थिएँ । नाटक खेल्न खुब मन लाग्ने, तर नाटक र फिल्ममा खेल्ने मेरो इच्छा चाहिँ अधुरो नै रह्यो ।

हिन्दी फिल्मकी हिरोइन मिना कुमारीको मृत्यु हुँदा म १३ वर्षकी थिएँ । त्यसवेला ८ कक्षामा पढ्थेँ । उनको मृत्युको खबर ‘टाइम्स अफ इन्डियामा’ छापिएको र मैले पर्खालमा उभिएर पढेको अझै याद छ । हाम्रो घरमा बुबाले समय–समयमा ‘टाइम्स अफ इन्डिया’ र ‘दिनमाने’ भन्ने पत्रिका ल्याउनुहुन्थ्यो । मिना कुमारीले ‘भाभी’, ‘माँ’ को भूमिकामा अभिनय गरेको धेरै फिल्म हेरेको छु । ‘पाकिजा’ हेर्न म आमाबुबासँग गएको थिएँ । फिल्म अति राम्रो लागेको थियो । राजकुमार त मेरा प्रिय नै थिए, मिना कुमारीले पनि ‘अन्तिम’ फिल्म राम्रोसँग खेलेकी थिइन् ।

फिल्मको गीत ‘युँ ही कोही मिल गया था, सरेराह चलते चलते’ अहिले पनि गाउँछु । फिल्म आएको केही दिनपछि नै उनको ४० वर्ष नपुग्दै मृत्यु भएको थियो । ‘माधुरी’ पत्रिकामा उनी ‘दुःखी’ रहन्थिन् र धेरै रक्सी पिउँथिन् भन्ने पढेपछि मलाई लागेको थियो–त्यति धेरै पैसा कमाउने प्रसिद्ध मान्छेलाई पनि केको दुःख होला र जस्तो लाग्थ्यो । धेरै पछि मात्र बुझेँ बाहिरी चमकदमकले मानिसको मनमा सुख दिन सक्दैन रहेछ ।म त ठूलो भएपछि हलको गेटकिपरसँग विवाह गर्छु, अनि फिल्म त सित्तैमा हेर्न पाइन्छ’ भनेर मैले दिदीलाई एकचोटि भनेकी थिएँ रे ! मलाई त्योचाहिँ याद छैन तर धेरै फिल्म हेर्ने धुनले मलाई कहिल्यै छाडेन ।

त्यसवेला १२ वर्षमुनिका केटाकेटीलाई फिल्म हेर्न टिकट लाग्दैनथ्यो । टिकट नलाग्ने केटाकेटीलाई ‘फोसा’ भनिन्थ्यो । ३ घन्टासम्म एउटा सिटमा दुई–तीनजना केटाकेटी कोचिएर बस्थ्यौँ । फिल्म हेरेर घर पुगेपछि वरिपरि साथी र भाइबहिनी राखेर कहानी सुनाउँथेँ । हिरोले भिलेनलाई गोदेको ‘ढिसुँ–ढिसुँ’ आवाज निकाल्दै सुनाउँथँे । हिरोइन ‘नहीँ’ भन्दै रोएको दुरुस्तै उतार्थेंं ।

०३४/०३५ सालको कुरा हो, महाराजगन्जमा हेल्थ असिस्टेन्ट पढ्दै थिएँ । डा. उपेन्द्र देवकोटाले सर्जरी पढाउनुहुन्थ्यो । एक दिन दिउँसो उहाँले ‘एपेनडिसाइटिस’ पढाइरहेका वेला साथीसँग कुरा गरिरहेको देखेर ‘उप्रेती, तिमी उठ’ भन्नुभयो । म उठेँ । ‘ल भन त ‘एपेनडिसाइटिस’को लक्षण के–के हुन्छ ?’ उहाँले सोधेपछि मलाई ‘पेट दुख्ने’ मात्र भन्न आयो । अरू त सुनेको नै थिइनँ । लाज लागेर घोसे मुन्टो लगाएँ । ‘जय नेपाल चित्र घरमा चलेको फिल्म त थाहा छ होला नि,’ डा. देवकोटाले भन्नुभएपछि मैले छिटो भनिहालेँ ‘सादीके वाद ।’ एक हप्ताअघि मात्र त्यो फिल्म हेरेकी थिएँ । ‘ए फिल्म हेर्न फुर्सद छ, कक्षामा ध्यान चाहिँ नदिने’ उहाँले भन्नुभयो । आज ४२ वर्ष बितिसकेपछि पनि त्यो दृश्य अझै याद छ । किन हो थाहा छैन । सायद फिल्मसँग जोडिएर हो कि ? 

‘मदर इन्डिया’ सुनिल दत्त र नरगिसले अभिनय गरेको फिल्म पनि म आमासँग ‘फोसामा’ हेर्न गएकी थिएँ । फिल्म बनिरहेका वेला नै नरगिस र सुनिल दत्तको प्रेम परेको थियो रे भनेर माधुरीमा पढेकी थिएँ । त्यो फिल्म त विदेशमा पनि गयो रे भन्ने पनि सुनेँ । नेपाली फिल्म हेरेपछि चाहिँ मेरो बुबाले ‘फिल्म कस्तो लाग्यो ?’, ‘को–को खेलेका थिए ?’ भनेर लेख्न लगाउनुभएको याद छ । सन् १९७७ मा भारतमा इन्दिरा गान्धीको राजनीतिक बोलवाला थियो । त्यो वेलामा कमलेश्वरले लेखेको ‘आँधी’ फिल्म इन्दिरा गान्धीको जीवनमा आधारित थियो रे भनेर प्रतिबन्ध लगाइएको थियो । त्यो समयमा मैले फिल्मको रिभ्युहरू मात्र पढ्ने मौका पाएँ । फिल्म नै हेर्न त दिल्लीमा १० वर्षपछि मात्र पाइयो । सञ्जीव कुमार र सुचित्रा सेन खेलेको फिल्मलाई इन्दिरा गान्धीले ‘बन्देज’ लगाएपछि झन् लोकप्रिय बनाइदिएकी थिइन् रे ! 

नेपाली फिल्म चाहिँ मैले थुपै्र हेरेँ । ‘प्रेमपिण्ड’, ‘के घर के डेरा’, ‘कट्टेल सरको चोटपटक’, ‘भानुभक्त’ आदि चाहिँ वयस्क भएपछि हेरियो ।एक अनाथ केटीको बारेमा बनाइएको फिल्म १० कक्षामा पढ्दा हेरेकी थिएँ । त्यो वेला भाषा राम्रोसँग बुझिएन तर फिल्मको कथा राम्रोसँग बुझेकी थिएँ । त्यसपछि मैले ‘हाइडी’ फिल्म ४–५ चोटि हेरेँ । तत्कालीन सोभियत संघमा बस्दा धेरै नै रसियन, अंग्रेजी फिल्म हेरियो । दोस्रो विश्वयुद्धका कथाहरू समेटिएका फिल्महरू त्यहाँ अंग्रेजीमा अनुवाद गरी देखाइन्थ्यो । इरानी र फ्रेन्च फिल्महरू पनि मलाई अहिले पनि रमाइलो लाग्छ । मैले पछिल्लोपटक हिन्दी फिल्म ‘मन्टो’ हेरेँ । फिल्म असाध्यै मन प-यो । सानोमा लागेको फिल्मी धुन अहिलेसम्म मनमा नै छ । 

मेरो फिल्मी ‘धुन’ ले हिन्दी भाषामा मद्दत पनि ग-यो होला सायद । पाकिस्तानमा गएर त्यहाँका साथीहरूसँग कुरा गर्दा ‘तिमीले यस्तो राम्रो उर्दू बोल्न कहाँ सिक्यौ’ भनेर प्रश्न गर्दा ‘मैले त हिन्दी बोलेको’ भनेकी थिएँ । सायद हिन्दी र उर्दू भाषामा बोलीमा धेरै फरक छैन । लेखनी चाहिँ पूर्ण रूपमा फरक छ । म फिल्मको सौखिन छु । अहिले पनि फिल्म हेर्छु । ‘फिल्मी धुन’ अझै टुटेको छैन ।

 

 

 

प्रतिकृया दिनुहोस