• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
बिनु पोखरेल काठमाडाैं
२०७६ असार ७ शनिबार ०८:२९:००
समाज

युद्धका कारक महिला थिए ?

२०७६ असार ७ शनिबार ०८:२९:००
बिनु पोखरेल काठमाडाैं

आजको सामाजिक मनोविज्ञानमा एउटा मान्यता जबर्जस्त स्थापित गरिएको देखिन्छ कि युद्ध, झगडा र लडाइँका कारक महिला हुन्छन् । महिलामा हुने करुणा, प्रेम, कोमलता र स्नेह आमाको काखमा हुँदै महसुस गरेको व्यक्ति महिलालाई किन युद्धको कारक ठान्छ ? कतिपयले प्राचीन धार्मिक ग्रन्थहरूको बहुआयामिकतालाई समेत छोपेर यसबारे एकाङ्गी धारणा पस्किरहेको पाइन्छ । 

संसारको उत्कृष्ट काव्य मानिएको महाभारतमा राजनीति, कूटनीति, समाज विज्ञान, समाज धर्म, अधिकार र कर्तव्यका अनेक पाटा छन् । महाभारतकालीन युद्ध फगत त्यसकालको मात्रै युद्ध थिएन । आजको राजनीति, झगडा, लडाइँ, कटुता, कूटता सबैमा अनुसरण देखिन्छ । के त्यस्तो महाभयंकर युद्ध महिलाकै कारण भएको हो ? अझ केहीले किटेरै भन्ने गरेका छन्– महाभारतको युद्ध द्रौपदीको कारण भएको हो । 

यसका लागि महाभारतको मूल–शिक्षा के हो भन्नेतिर जानुपर्छ । महाभारत बुझ्न महाभारत ग्रन्थको अन्त्यतिर व्यास ऋषिले भनेको एउटा प्रसंग सान्दर्भिक छ । महाभारत काव्यलाई टुंग्याउँदै व्यास भन्छन्, ‘हे मानव, तिम्रो जीवनको वर्तमानसँग मेरो यो अन्तिम भेट हो । तिमी यस कथाको मसाल लिएर आफ्ना भित्र र बाहिरका कौरवसँग जुध । यसले तिम्रो आफ्नो युगका धृतराष्ट्र, दुर्याेधनको पहिचानमा तिमीलाई सहयोग गर्नेछ । तिमी देख्न सक्छौ– अन्याय आज (तिम्रो वर्तमानमा) पनि उस्तै बलियो छ, जति हस्तिनापुरमा थियो । तिमी आफ्नो युगमा पनि देख्नेछौ– अधर्मले धर्मको च्यादर ओढेर धर्मसँग लडाइँ लड्न आउनेछ, जसरी गुरु द्रोणाचार्यले कौरवको शिविरमा बसेर अन्यायको रक्षाका लागि वाण चलाएका थिए । र, जसरी दुःशासनले द्रौपदीको वस्त्रहरण गर्दा राजसभा मात्रै होइन, सिंगो भारत वर्ष चुप रहेको थियो । हे मानव ! तिमी यिनीहरूबाट पर हटेर आफ्नो बाटो बनाऊ ।

नत्र कर्णले जस्तो शक्ति भएर पनि तिमी अन्धकारमा भासिनेछौ र आफूले के गर्ने, के नगर्ने थाहै नपाई मर्नेछौ । तिमी प्रकाश, न्याय र धर्मको उत्तराधिकारी बन । तिमी आफूभित्रको कुरुक्षेत्रलाई धर्मक्षेत्र बनाऊ, यही मोक्ष हो ।’ऋषिका माथिका कुराले महाभारत काव्यका पात्रहरूको औचित्य, उनीहरूका भूमिका र युद्धको कारण पनि बताउँछन् । युद्धको कारण अधर्म हो, अन्याय हो । व्यासले भनेजस्तै राजनीति आज पनि छ, युद्ध आज पनि छ, सत्तापक्ष र प्रतिपक्ष आज पनि छ । न्याय–अन्याय, असल–खराबबीचको लडाइँ आज पनि छ । सत्ता र प्रतिपक्ष भनेको सरकारमा बस्ने र संसद्को प्रतिपक्षी बेन्चमा बस्ने होइन । उनीहरूले लिएका पक्षधरताको सत्य परख गरेर पहिल्याउने विषय हो । यस्तो लडाइँ, झगडा, युद्ध भोलि पनि चलिरहन्छ, जसरी हिजो चलेको थियो, जसरी आज चलेको छ ।

महाभारत काव्य टुंग्याएपछि व्यासको भनाइले यही बताउँछ । महाभारतको युद्ध दुई किसिमका थिए– एउटा भौतिक युद्ध, अर्काे मानसिक युद्ध । भौतिक युद्ध कुरु (कर्म) क्षेत्रमा थियो, मानसिक युद्ध धर्मक्षेत्रमा थियो । धृतराष्ट्रलाई महाभारत युद्धको वर्णन गर्ने जिम्मेवारी पाएका सञ्जयले धर्मक्षेत्र र कुरुक्षेत्र दुवैको वर्णन गर्थे । अर्थात् युद्ध मैदानमा कसले के गरिरहेको छ र योद्धाहरूका मनमा के खेलिरहेको छ, उनी सविस्तार बताइदिन्थे । आजको मानव जीवनको कथा पनि त्यही हो । आजको मान्छे पनि कर्मक्षेत्रमा दौडिरहेको छ, युद्धमा जस्तै ।

जीवनमा एउटा बाहिरी युद्ध छ । अर्काे उसको मनमा अनेक विचारहरू लडिरहेका छन् । मनमै दुर्याेधन छन्, धृतराष्ट्रको अन्धता छ, द्रौपदीको वस्त्रहरण गर्ने दुःशासन पनि छ । मनमै युधिष्ठिर जस्तै सत्यवादी चिन्तन पनि छ, अर्जुनको जस्तो पराक्रम पनि छ, भीमको जस्तो मुढेबल, शकुनीको जस्तो षड्यन्त्र र कर्णको जस्तो दुरूपयोग भएको सामथ्र्य पनि छ । कृष्णको जस्तो सौन्दर्यबोध छ, द्रौपदीको जस्तो सामथ्र्य छ । 

मानिसको मनभित्र पनि यी विरोधाभाषी चरित्र आपसमा लडिरहेका छन् । त्यसैले आज पनि महाभारतमा जस्तो जुवा हुन्छ, द्रौपदी वस्त्रहरण जस्तो बलात्कार हुन्छ । हेर्दा न्यायाधिकारी द्रोणाचार्य जस्ता लाग्ने पात्रहरू असत्य पक्षको शिविरभित्र धर्मको वस्त्र भिरेर सत्यमाथि प्रहार गरिरहेका हुन्छन् । यहाँ सत्तामा जान लडाइँ लडिरहेका छन् र त्यसलाई न्यायको लडाइँ भनिरहेका हुन्छन् । यहाँ दिनहुँ सत्ताको जुवा खेलिन्छ र पासाबाट निर्माण–विघटन हुन्छन् । हिजो जस्तो थियो, आज पनि छ । यस्ता विचलन आजको समाजमा पनि देखिन्छ । आजको समयमा आफ्नो जीवनको गहनतम बोध प्राप्त गर्न महाभारत जस्तो ग्रन्थ नहुने भए मानिसभित्र पीडा झन् बढी हुन्थ्यो । पाण्डव जस्ता महापराक्रमीले पनि १२ वर्ष बनवास र १ वर्ष गुप्तावास बसेको दृष्टान्तले चित्त बुझाउने ठाउँ पाउँदैनथ्यो । महाभारत युद्ध नहुँदो हो भने न्यायको कुरा हुँदैनथ्यो, अन्यायको कुरा पनि हुँदैनथ्यो होला । न्याय र अन्यायका मानक पनि आजको समाजले त्यही प्राचीन ग्रन्थबाट तयार गरेको छ । 

मानिसको ज्ञान र कर्मक्षेत्रलाई निरन्तर निर्देशित गरिरहने महाभारत ग्रन्थ र त्यसवेलाको समाज स्त्रीद्वेषी थियो त ? प्रश्नको जवाफ आज खोज्दा माथि भनिएजस्तो मनको धर्मक्षेत्रतिर नजर लगाउनुपर्छ । अर्थात् समाजका हरेक पुरुषपात्रले यो प्रश्न आफूलाई नै सोध्नुपर्छ– के म स्त्रीद्वेषी छु ? इमानदारितापूर्वक आफूबाटै प्राप्त भएको जवाफले महाभारतमा महिलाको स्थान बताइदिन्छ । तपाईं दुःशासन हुनुहुन्छ कि कृष्ण ? दुःशासन भएर सोच्नुभयो भने द्रौपदीलाई नांगै घिसारेर कुरुसभामा बेइज्जत गर्नुहुन्छ र भन्नुहुन्छ– यिनै हुन् युद्धको कारक । कृष्ण हुनुभयो भने संकटमा परेकी द्रौपदीलाई वस्त्र दिन थाल्नुहुन्छ । अनि तपाईंको मनको महाभारतमा नारीको सोहीअनुसारको स्थान फेला पर्छ । 

महाभारत काव्यलाई एकाङ्गी रूपमा बुझ्नेले महाभारत युद्ध महिलाका कारण भएको थियो भनिदिन सक्छन् । किनभने उनीहरूले जीवनको कुरुक्षेत्र (कर्मक्षेत्र) मात्रै बुझेका हुन्छन्, धर्मक्षेत्रमा उनीहरूको दृष्टि पर्नै सक्दैन । पाण्डवहरूको इन्द्रप्रस्थको दरबारमा जाँदा मायावी दरबारमा दुर्याेधन सुक्खा जमिनमा तलाउ देख्छन्, तलाउमा सुक्खा जमिन । कतै झरना भएका ठाउँमा आगोको लप्का देख्छन्, कतै आगो भएका ठाउँमा झर्ना । यस्तै दृष्टिभ्रमका कारण दुर्याेधन तलाउमा लड्छन् र यस्तो दृश्य देखिरहेकी द्रौपदी हाँस्छिन् । त्यसैवेला दुर्याेधनमा गढेको अपमानको खिलले युद्धको आधार तयार भएको यस्तो तर्क गर्नेहरूले बताउँछन् । पाण्डव परिवारमा द्रौपदी नभित्रिँदै भीमलाई विष मिसाएको खानेकुरा खुवाएर दुर्याेधनले नदीमा फालिदिएको, लाहाको सुन्दर घर बनाएर पाण्डवहरूलाई राखी आगो लगाएकोतिर उनीहरू जाँदैनन् । किनभने यस्तो तर्क गर्नेहरूका चिन्तनमा नारी एउटा मृगतृष्णा बनेर बसेको हुन्छ र उसले कथामा पनि नारीकै दोष खोज्छ । 

महाभारतका महिला पात्र शक्तिशाली मात्रै होइन, ज्ञानी पनि थिए । ती द्रौपदी हुन् या गान्धारी, कुन्ती हुन् वा अम्बालिका । कुनै न कुनै रूपमा वैचारिक विमर्शहरूमा उनीहरूको सक्रियता र उनीहरूले राखेका तर्कले यस्तो देखाउँछ । प्राचीन ग्रन्थमा महिलालाई कमजोर पात्र बनाइएको थियो भन्ने कुरा यसले खण्डित गर्छ । जसले ती पात्रको भूमिकामाथि मसिनो अध्ययन गरेका छन्, उनीहरूले कहिल्यै ती पात्रलाई कमजोर ठान्दैनन् । 

महाभारतको युद्ध सकिएपछि कौरव पक्षका धृतराष्ट्र र गान्धारी मात्र बाँच्छन् । युद्ध जितेर हस्तीनापुर दरबारमा पुगेका पाण्डवहरूसँग गान्धारीले भनेका शब्दका गहिराइले गान्धारी कति वस्तुनिष्ठ अध्ययन गर्ने विदुषी थिइन् भन्ने बताउँछ । युद्ध जितेका युधिष्ठिर आफ्ना सबै भाइहरूलाई लिएर गान्धारीसमक्ष पुग्छन् । गान्धारीले सुखी रहने आशीर्वाद दिन्छिन् ।

युधिष्ठिरले सुख आफ्नो वशमा नभएको बताउँदै आफूले युद्धमा प्रिय भाइहरूको हत्या गर्नुपरेको, भाइ भीमले दुर्याेधनको जाँघ तोडेर मारेको, दुःशासनको छातीको रगत झिकेर द्रौपदीको शिरमा नुहाइदिएको र यस्तो युद्धले आफूलाई सुखी नबनाएको बताउँछन् । युद्धमा आफ्ना सय छोरा गुमाएकी गान्धारीको जवाफ एक विदुषी ऋषिको भन्दा कम छैन । उनी भन्छिन्– ‘बाबु युधिष्ठिर, दुर्याेधन र दुःशासनले द्रौपदी, भरत वंश र मानव सभ्यताको अपमान गरे । त्यसबापत उनीहरूले यति दण्ड पाउनु आवश्यक थियो । भीमले उनीहरूको हत्या गरेका होइनन्, दण्ड दिएका हुन् । दण्ड सजाय होइन । 

एउटी आमाका लागि सन्तानको प्रेम कति गहिरो हुन्छ ? तर, प्रेमको त्यो गहिराइ छिचोलेर गान्धारीले छोराका गलत काम तथा उनीहरूको मृत्युलाई गलत कर्मबापतको सजाय मानिन् । यस्तो वस्तुनिष्ठ र शान्त जवाफ दिन सक्ने गान्धारीलाई चानचुने विदुषी मान्न सकिँदैन । महाभारतमा गान्धारी एक पराजित योद्धाकी आमा हुन् । उनले युद्धपछि दिएको विचारले युद्धमा महिला कारक थिएनन् भन्ने देखिन्छ । महाभारतले त्यत्रो युद्धबाट मनस्थितिमा कम्पन पैदा गरेका महिला पनि कति उत्तेजनाहीन निष्कर्ष निकाल्न सक्थे भन्ने स्पष्ट देखिन्छ । यसका लागि महाभारतको स्वर्गारोहण पर्वका केही संवादले सहयोग गर्छन् । युद्धमा विजय भएपछि हस्तिनापुर दरबारमा आफूलाई भेट्न आएकी द्रौपदी र धृतराष्ट्रबीचको संवाद यस्तो छ–धृतराष्ट्र– मैले तिमीसँग क्षमा माग्नुपर्छ द्रौपदी, मेरो कारण तिम्रो अपमान भयो । मेरा कारण हजारौँ योद्धा मरे । मेरै कारण हजारौँ बालक अनाथ भए । म आफ्नो दोषको दलदलमा छु । अब म आफ्नो आत्माको शान्तिका लागि वनवास जान्छु ।

मानिसको ज्ञान र कर्मक्षेत्रलाई निरन्तर निर्देशित गरिरहने महाभारत र त्यसवेलाको समाज स्त्रीद्वेषी थियो ? प्रश्नको जवाफ आज खोज्दा मनको धर्मक्षेत्रतिर नजर लगाउनुपर्छ । अर्थात् समाजका हरेक पुरुषपात्रले यो प्रश्न आफैँलाई सोध्नुपर्छ– के म स्त्रीद्वेषी छु ?

द्रौपदी– हामीलाई अभिभावकको अभाव बनाएर वनवास नजानुस् । धृतराष्ट्र– तिमी आफ्नो घोर अपमानको यस प्रतीकलाई किन वन जानबाट रोक्छौ ? म तिमीसँग क्षमा माग्नका लागि पनि योग्य छैन । द्रौपदी– म कूलवधू हुँ, परिवारको विभाजन चाहँदिनँ । मेरो जो अपमान भएको थियो, त्यो मेरो अपमान थिएन । त्यो भरतवंश र सभ्यताको अपमान थियो । सभ्यताको अपमानमा मेरो अपमान धुलोको एक कण मात्रै हो । त्यसमा क्षमा दिने–नदिने म एक्ली को हुँ ? द्रौपदी र धृतराष्ट्रबीचको यो संवादपछि महाभारत युद्धको थप कारण खुल्छ, धृतराष्ट्र–गान्धारी संवाद र पाण्डवहरू र भीष्मको संवादमा । स्वर्गारोहण पर्वमा जब युद्धको समीक्षा हुन्छ र त्यसवेला सबै पक्षले आफ्नो कमजोरी स्वीकार गर्छन् । त्यसैवेला युद्धको वास्तविक कारण पहिचान हुन्छ । 

गान्धारी महाभारत युद्धको महाविनाशमा आफ्ना छोरा दुर्याेधनमा हुर्केको ईष्र्याको विष चिन्तनलाई कारक औँल्याउँछिन् । धृतराष्ट्र तत्काल जवाफ दिन्छन्– ‘अपराधी त म हुँ गान्धारी । मलाई श्राप दिएर मेरो मनलाई हलुका बनाउने अवसर देऊ । म अन्धो थिएँ । जतिवेला मेरा हात अगाडि बढ्थे, दुर्याेधनको शिरलाई नै छुन पुग्थे । म सोच्थेँ, दुर्याेधन नै हस्तिनापुर हो, दुर्याेधन नै संसार । जब कोही राजा मेरो जस्तो पुत्रमोहमा रहन्छ, तब ऊ देशबाट कटेर एक्लो हुन जान्छ ।’

भीष्म पितामहलाई महाभारतका आदिपात्र नै मान्न सकिन्छ । किनकि उनको उपस्थितिपछि महाभारतको कथा प्रभावकारी रूपमा अगाडि बढ्छ । बाल्यकालमा उनको नाम देवव्रत थियो । एउटा कठोर प्रतिज्ञापछि उनको नाम भीष्म भयो । धृतराष्ट्रको पुत्रमोह जस्तै भीष्मको पितृमोह महाभारत युद्धको कारक हो । आजीवन ब्रह्मचारी बस्ने, हस्तिनापुरको सिंहासनमा जो बस्छ, उसैलाई आफ्ना पिता मान्दै त्यसको रक्षा गर्ने उनको प्रतिज्ञाले महाभारतको शासक चयनमा समस्या निम्त्याएको थियो । उनी आफ्नो प्रतिज्ञाको रक्षाका लागि विवेक सम्पूर्ण रूपमा बन्द गरेर युद्धका महत्वपूर्ण मोडमा मौन बसिदिन्छन् ।

कौरव पक्षले असत्य र अन्यायको वकालत गर्छ भन्ने जान्दाजान्दै हस्तिनापुरको सिंहासनमा जो बस्छ, उसैको रक्षाका लागि लडाइँ लड्छु भन्ने प्रतिज्ञाका कारण कौरव पक्षको प्रधान सेनापति उनै हुन्छन् । उनको शरीर कौरवको पक्षमा लडिरहेको हुन्छ, मन पाण्डवको पक्षमा हुन्छ । त्यसैले उनी युद्धमैदानमा रहुन्जेलसम्म युद्धको अभिनय मात्रै भयो भनेर कर्णले पनि गुनासो गर्छन् । भीष्म आफैँले आफूलाई युद्ध मैदानबाट हटाउने उपाय अर्जुनलाई सिकाउँछन् । महाभारत युद्धको मैदानमा शिखण्डी त्यसैवेला आउँछन् । शिखण्डी अगाडि आएपछि भीष्मले शस्त्रास्त्र त्यग्छन् र उनी ढल्छन् । उनलाई आफ्नै प्रतिज्ञाका कारणले शिखण्डीका अगाडि शस्त्रास्त्र त्याग्न बाध्य बनाएको हुन्छ । भाइको विवाहका लागि अपहरण गरेर ल्याइएकी अम्बिकाले आफूसँग विवाह गर्न गरेको आग्रह भीष्मले नमानेपछि उनले भीष्मलाई श्राप दिएर आत्मदाह गरेकी थिइन् र शिखण्डीका रूपमा जन्म लिएकी थिइन् । 

महाभारत युद्धमा भीष्म किन कारक थिए भन्ने ग्रन्थको सुरुतिरैको आदिपर्वले बुझाउँछ । भीष्मका पिता राजा शन्तनु सत्यवतीसँग मोहित हुन्छन् । राजा शन्तनु जब एउटी किशोरीको प्रेममा पर्छन्, तब त्यसको प्रभाव राजकाजमै पर्छ । भीष्मले कारण खोज्छन् । सत्यवतीका पिता दाशराजलाई भेट्छन् । भीष्मले बाबुका लागि सत्यवतीको हात माग्छन् । दाशराजले आफ्नी छोरीबाट जन्मेको राजकुमारलाई युवराज बनाउने भए मात्रै छोरी शन्तनुलाई दिने बताउँछन् । त्यसवेला भीष्म युवराज भइसकेका थिए । भीष्मले युवराज त्याग्ने घोषणा गर्छन् ।

दाशराजले भीष्मले युवराज त्यागेर नपुग्ने भीष्मका सन्तानले फेरि सिंहासन आफैँ लिन सक्ने शंका गर्छन् । त्यस्तो शंका निवारण गर्न भीष्म आजीवन विवाह नगर्ने प्रतिज्ञा गर्छन् । दाशराज अझ शंका गर्छन्, तिमीले विवाह नगरे पनि मेरी छोरीका सन्तानलाई अन्य देशका राजाले युद्धमा पराजित गरेर अपदस्थ गर्छन् । तब भीष्म फेरि प्रतिज्ञा गर्छन्– हस्तिनापुरको सिंहासनमा जो बस्छ, म त्यसको रक्षा गर्न आजीवन उभिनेछु । यही प्रतिज्ञाले भीष्मलाई युद्धको कारक बनाउन पुग्छ । भीष्मले इच्छामरणको वरदान पाएका हुन्छन् । युद्धमा सरशøयामा ढलेपछि उनी युद्ध नसकिउन्जेलसम्म त्यहीँ सुतिरहन्छन् । युद्ध सकिएपछि जब पाण्डवहरू कृष्णलाई लिएर कुरुक्षेत्रमा भेट्न पुग्छन्, तब आफ्नो प्रतिज्ञाको कारण युद्ध भएको स्वीकार गर्छन् । 

स्वर्गारोहण पर्वमा कृष्ण र पाण्डवहरूलाई सरशय्याबाट भीष्म भन्छन्, ‘विदुरले मलाई बारम्बार भनेका थिए, हस्तिनापुरको गद्दीमा को छ नहेर्नुस्, हस्तिनापुर हेर्नुस् । तर, म आफ्नो प्रतिज्ञाले बाँधिएको थिएँ । मैले हस्तीनापुरको सिंहासनमा बस्ने राजा धृतराष्ट्रमा आफ्ना पिताको छाया देखेँ । देशभन्दा ठूलो कोही हुँदैन, न पिता, न पुत्र न कुनै प्रतिज्ञा । मेरो प्रतिज्ञाले मलाई देशको हितबाट धेरै टाढा लिएर गयो । तर, मैले त्यही प्रतिज्ञालाई छातीमा टाँसेर देशको सर्वनाशको बाटो हिँडिरहेँ । आफ्नो प्रतिज्ञाप्रतिको निष्ठाले मलाई देशद्रोहको मार्गमा लग्यो । वाणको शय्यामा सुतिरहेको म एक देशद्रोही हुँ । हस्तिनापुरको विभाजनको कारण म हुँ, लाक्षागृहको उत्तरदायी म हुँ । द्रौपदीको वस्त्रहरण गर्ने मै हुँ ।

मलाई वाणका हरेक घाउले भन्छन्– हे देवव्रत ! आफ्नो भूमिको आवाज सुन् । आफ्नो पिताको छविका लागि तैँले यसलाई त्यसै छाडिदिइस् । म त्यस्तो क्षत्रीय हुँ, जो आफ्नो प्रतिज्ञाको दास बनेर बाँचेँ । हे अर्जुन ! तिमी पनि कहिल्यै यस्तो प्रतिज्ञा नगर, जसले तिमीलाई आफ्नो मातृभूमिबाट छुट्याएर परपर लैजान्छ । यदि तिमीले यसलाई भुल्यौ भने तिम्रो अन्त्य पनि यसैगरी वाणको शय्यामा हुनेछ । जब–जब कोही देवव्रत आफ्नो प्रतिज्ञा र पिताको छविको रक्षाका लागि देशको मार्गमा अवरोध बनेर देखापर्छ तब–तब उसलाई सरशय्यामा सुताउन कुनै न कुनै अर्जुनले अवश्य जन्म लिनेछ ।’ 

भीष्म र धृतराष्ट्रका यति कुराले महाभारतको युद्ध कसका कारणले भएको थियो स्पष्ट हुन्छ । तर, हर्दम मनमा स्त्रीद्वेषी चिन्तन हुर्काउने सामाजिक पद्धतिले महिलाका कारण महाभारतको युद्ध भएको बताउँदै आयो । वास्तवमा महाभारतको युद्ध महिलाका कारण भएको थिएन ।