• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ७ शनिबार ०९:१९:००
समाज

‘म पाठेघरमा जे अनुभव गर्छु, त्यो पुरुषले गर्न सक्दैन’ : अस्मिना रञ्जित

२०७६ असार ७ शनिबार ०९:१९:००
नयाँ पत्रिका काठमाडाैं

आर्ट ग्यालरीभन्दा पनि पब्लिक स्पेसमा बढी भेटिइन्छिन्– अस्मिना रञ्जित । उनी क्यानभासमा रङ कोर्नभन्दा पनि सडक र चोकमा रङ पोतिरहेकी र पर्फर्मेन्स गरिरहेकी देखिन्छिन् । कुचिकारिता, इन्स्टलेसन (प्रतिस्थापन), अभिनय, मल्टिमिडिया आदि बहुल माध्यम सम्मिश्रित ‘पर्फर्मेन्स आर्ट’ अस्मिनाको कलात्मक अभिव्यक्ति रहँदै आएको छ । कहिले लैंगिक र राजनीतिक मुद्दाप्रति सरोकार राख्दै त कहिले प्रदूषण र वातावरणीय विनाशलाई लिएर पिठ्युँमा मानव अस्थिपञ्जर बोकेर हिँडिरहेकी देखिने उनी आफ्नो असहमति र प्रतिरोधलाई ‘आर्टिभिज्म’ भन्न रुचाउँछिन् । ‘आर्ट’ र ‘एक्टिभिज्म’ संयोजित उनको अभियानका मुख्य मुद्दा नारीको यौनिकता, राजनीति र पर्यावरण रहँदै आएका छन् ।

अस्मिनाका दुई दशकभन्दा बढी समयदेखिको यसै ‘आर्टिभिज्म’लाई समेटेर बज्र बुक्सले ‘साइलेन्स नो लङ्गर, आर्टिभिज्म अफ अस्मिना’ शीर्षकको कफी टेबल पुस्तक प्रकाशन गरेको छ । पुस्तकमा सूत्र, लसना र नेक्सस् समूहमार्फत अस्मिनाको कामबारे स्वर्गीय डिना वाङ्देल, अर्चना थापा, एनी इभानोभा, दीपक थापा, क्रुची दासगुप्ता, लाउरा कुनरिउथर, मारिना कानेटी, माइकल गिल, ओवेन डफी, प्रणिका कोयू, रश्मि शिला र साच्ची कार्की घिमिरेजस्ता लेखक, कला समीक्षक र कला इतिहासकारले विशद चर्चा गरेका छन् । पुस्तकको सेरोफेरोमा लेखक एवं वृत्तचित्र निर्माता शेखर खरेलले अस्मिना रञ्जितसँग उनको बखुन्डोल ललितपुरस्थित नेक्सस् सेन्टरमा ‘झन् नयाँ’का लागि अन्तरंग कुराकानी गरेका छन् :

प्रतिष्ठित कला समीक्षक, कला इतिहासकार र प्राज्ञिक व्यक्तिको तपाईं र तपाईंका काममाथिको गहकिला आलेख र समीक्षाको संग्रह ‘साइलेन्स नो लंगर’ तपाईं स्वयंलाई चाहिँ कस्तो लागिरहेको छ ?
प्रायः कलाका पुस्तक कलाकार आफैँ वा कला समीक्षक र इतिहासकारद्वारा लेखिएका पाइन्छन् । तर, यो पुस्तक के मानेमा फरक छ भने यसका लेखकहरू कला लेखक, समीक्षक र इतिहासकारबाहेक राजनीतिशास्त्री अनि समाज र मानवशास्त्रीसम्म छन् । जसका कारण यो (पुस्तक) फरक र युनिक छ । अहिलेसम्म मैले गरेका काम कति मानिसले बुझेका वा नबुझेका हुन सक्छन्, जुन कुरा यो पुस्तकले फराकिलो गरेर बुझाउन सहयोग गरेको छ । मैले आफ्नो कलाको यात्रा चित्रकार र मूर्तिकारका रूपमा सुरु गरेकी थिएँ । तर, समयक्रममा कुनै एक मिडियम (माध्यममा) बाँधिएर बस्न चाहिनँ । अहिले त मेरो मिडियम छैन नै भन्दा पनि हुन्छ । कतिपय मानिस त मेरो कामलाई ‘यो कला नै होइन’ भन्ने जस्तो टिप्पणीसम्म गरिदिन्थे । यो पुस्तकले छुट्टै कोणबाट ती सबै कुरा बुझाउने हुँदा मलाई खुसी लागेको छ ।

तपाईंको त्यो लामो कलायात्रालाई कुन हदसम्म समेटेको छ पुस्तकले ?

पूरै त भन्दिनँ, ४० वा ५० प्रतिशतसम्म समेटिएको हुन सक्छ । 

स्वर्गीय डिना वाङ्देलको टिप्पणी छ– ‘अस्मिना महिला र कलाकार भएकै कारण उनी महिलाका एजेन्डा लिन्छिन् वा उनको लैंगिक हैसियतका कारण मानिसहरू उनको कामलाई महिलावादी भन्दै आग्रहपूर्वक हेरिदिन्छिन् ।’ वास्तविकताचाहिँ के हो ?
यो प्रश्नको उत्तर दिन अलिकति मेरो विगततिर तपाईंलाई लैजान्छु । मेरा बुबा कलाकार, घरमै कलाको वातावरण भए पनि मैले कलाकार बन्छु भनेर सोचेकी थिइनँ । सानो छँदा म बादल हेर्दै कल्पनामा रमाइरहेकी हुन्थेँ । घरमा एकजना भान्छे बज्यै पनि हुनुहुन्थ्यो । उहाँले एकदिन भन्नुभयो, ‘छोरीमान्छे भएर बादल हेर्दै उड्नु हुँदैन ।’ केटी मान्छे भएर उड्नु हुँदैन भन्ने कुराले मलाई यतिसम्म छोयो कि मैले यसै कुराभित्र विद्रोह खोजेँ । ठूलो भएपछि उड्नुपर्छ र पछि उड्छु भन्ने भावना मभित्र विकसित भयो । पितृसत्तात्मक सोचले पुरुष–महिलाबीच जसरी विभाजनको रेखा कोरिदिएको थियो, त्यसबाट उकुसमुकुसिएको थिएँ म । पछि उड्नका लागि त पाइलट बन्नुपर्ने रहेछ भन्ने सोचेर विज्ञान विषय लिएर पढ्न थालेँ । मैले एउटा विषयमा जाँच नदिएकाले एक वर्ष त्यत्तिकै बस्नुप¥यो । त्यो खाली समय म ललितकला (कलेज) जान थालेँ । त्यहाँ मैले बोध गरे“– मेरो उडान भौतिक नभएर स्वतन्त्रताको हो, जुन कलाबाट मात्र सम्भव थियो । 

पिता चित्रकार भए पनि उहाँको र तपाईंको माध्यम बिल्कुलै भिन्न देखिन्छ नि त !
हो, कलेज पढुन्जेलसम्म पोट्रेट, ल्यान्डस्केप म राम्रोसँग गर्थेंं । क्यानभासमा राम्रा कुरा हुबहु उतार्दै गएँ भने मेरो आफ्नो चिनारी त हराउँछ भन्ने बोध गरँे । आफूले अनुभूत गरेको वा सोचेको कुरा कसरी अभिव्यक्त गर्ने भनेर छटपटिएँ । र, यही बिन्दुबाट महिलाको विषय सुरु भएको हो । तर, त्यो वेलासम्म मलाई कुन चाहिँ राजनीतिक कुरा हो भन्ने केही थाहा थिएन ।

कुन राजनीतिक र कुन महिलावादी कुरा भन्नुभन्दा पनि मेरो केही कुरा अभिव्यक्त गर्नु छ, मलाई स्वतन्त्रताको उपभोग गर्नु छ, म आफू भएर बाँच्नुपर्छ भन्ने जस्ता विषयलाई लिएर यो (कलायात्रा) सुरु भएको हो । त्यतिवेला पनि मलाई धेरैले औँला ठड्याएर भनेका थिए, ‘सबैको कुरा गर्ने, तर आइमाईको कुराचाहिँ होइन है ।’ उनीहरूले पेन्टिङमा ‘जेन्डर’ (लिंग) हुँदैन भन्दा मैले छक्क परेर हेरेको अहिले पनि याद छ । पुरुष र मैले शारीरिक रूपमा भोग्नुपर्ने कुराहरू भिन्नैै छन् । जस्तै, मैले पाठेघरमा जे अनुभव गर्छु, त्यो पुरुषले गर्न सक्दैन । छोरी भएर मलाई गर्ने व्यवहार फरक छ भने मेरो अभिव्यक्ति पनि फरक हुन्छ । समाजको दृष्टिबाट हेर्दा जुन विभेद र अन्याय देखेँ, त्यो ‘मेरो’ भन्दा पनि ‘हाम्रो’ कुरा बन्यो ।

कलाकारको ‘आफ्नो’ शैली हुनु एउटा कुरा हो । तर, तपाईंले चाहिँ कला मात्र गर्नेभन्दा पनि कलाका माध्यमबाट समकालीन मुद्दालाई लिएर विरोध, प्रतिरोध र असन्तुष्टि अभिव्यक्त गर्न थाल्नुभयो, जसलाई तपाईं ‘आर्टिभिज्म’ भन्नुहुन्छ । यो कुरा कला गर्दै जाने क्रममा वा योजनाबद्ध रूपमा सुरु भएको हो ?
यो क्रमिक रूपमा नै ‘इभोलुसन’का रूपमा विकसित भएको हो । ललितकला (पढाइ) सकेपछि मैले केही प्रदर्शनी गरेँ । त्यसवेला मलाई सैद्धान्तिक रूपमा धेरै थाहा नभए पनि बाहिर के हुँदै छ भन्ने अनुभव त हुँदै थियो नि ! म छात्रवृत्तिमा अस्ट्रेलिया जानुअघि महिलाको ‘सेक्सुआलिटी’बारे अनुसन्धान गरिरहेकी थिएँ । यद्यपि, त्यसवेलासम्म मलाई ‘सेक्सुआलिटी’ भन्ने शब्दको अर्थसमेत थाहा थिएन । कसरी महिलाको शरीरलाई एउटा वस्तुका रूपमा लिइएको छ भन्ने सोच्दै हाम्रो समाजको जस्तो संरचना छ त्यसमा ‘वेश्या’ र गृहिणीको अवस्थामा के फरक छ भन्ने विषय खोतल्दै मैले कलामा काम गर्न सुरु गरेकी थिएँ । अस्ट्रेलिया पुगेर फेरि मैले बिएफए (ब्याचलर्स इन फाइन आर्ट) दोहो-याएँ र नेपालमा सुरु गरेको विषयमा काम गर्न थालेँ । त्यहाँ एक वर्ष कला–इतिहास पढेपछि र आफैँले पनि अनुसन्धान गर्दै जाँदा धेरै कुरा खुल्दै गए । त्यहाँका एक प्राध्यापकले मलाई अर्का एक व्यक्तिसँग परिचय गराउँदा ‘अस्मिनाले महिलाको शरीरबारे प्रभावपूर्ण अभिव्यक्ति गरिरहेकी छिन् र उनी राजनीतिक रूपले सचेत छिन्’ भन्दा, ए मेरो काम त त्यस्तो पो रहेछ भनेर आश्चर्यचकित भएँ ।

महिलाका सरोकार, लैंगिक मुद्दा त छन् नै, तर तपाईंका कलामा किन यति धेरै राता रङ, रगत, चुरा, पोतेजस्ता ‘मोटिफ’ देखिन्छन् ? 
म नेपालमा रहँदासम्म रातो रङमा काम गर्दिनथेँ । किनकि, त्यो रङ मलाई मन पर्दैनथ्यो । त्यसैगरी म अत्यन्तै सादा खाना मात्र खान्थेँ । उता (अस्ट्रेलियामा) जसको लुगा हे-यो, कि खैरो हुन्थ्यो कि त कालो । त्यस्तो फिक्कापन देखेपछि रङहरू खोज्न थालेँ । त्यसअघि कहिल्यै रातो लुगा नलगाउने मान्छे म, यस्तरी रातो र रंगीचंगी लुगा पहिरिएर हिँड्न थालेँ कि तास्मिनिया (अस्ट्रेलियाली सहर) मा हिँड्दा टाढैबाट मानिसले ‘ऊ अस्मिना’ भनेर चिन्न थालेका थिए । सायद त्यसो गर्नु मेरो ‘होम सिकनेस’ को क्षतिपूर्ति पनि थियो कि ! किनकि, हामी यहाँ त रङहरूबीच हुर्किएका हौँ नि ! यो कारणले पनि मेरो कलामा ‘सिम्बोल’ धेरै आएको हुन सक्छ ।

महिलाका मुद्दा सँगसँगै राजनीति र पर्यावरणलाई चाहिँ कसरी आत्मसात् गर्न थाल्नुभयो ?
हामी कलेज पढ्दाताका हाम्रा अग्रजहरू ‘कलाकारले राजनीतिप्रति सरोकार राख्न हुँदैन, अलग बस्नुपर्छ’ भन्थे । राम्रा कुराको चित्रण, अर्थात् ‘एस्थेटिक’ (सौन्दर्य चेत) नै कला भनेजस्तो थियो । राजनीतिबारेको त्यो वेलाको मेरो बुझाइ केवल पार्टी मात्र थियो । तर, मेरो अस्तित्व आफैँमा पनि राजनीतिक रहेछ भन्ने पछि बुझ्दै गएँ । माओवादी सशस्त्र द्वन्द्वका कारण त्यो समय अत्यन्तै निराशाजनक थियो । मञ्जुश्री (थापा) र म निकै मिल्ने साथी थियौँ । उनीलगायत अरू साथीसँग कुरा चल्थ्यो र हामी प्रश्न गथ्र्यौं– के हामी हेरेर मात्र बस्ने त ? के गर्नुपर्ने हो हामीले ? त्यो नेटवर्क बढ्दै गएर एउटा कलाकार वा लेखका रूपमा हामीले केही गर्नुपर्छ भन्ने निर्णयमा पुग्यौँ । त्यसवेलाको उकुसमुकुसको सामूहिक परिणाम थियो– हामीले सन् २००२ मा गरेको पर्फर्मेन्स आर्ट ‘विचलित वर्तमान ।’ 

तपाईंको ‘पर्फर्मेन्स आर्ट’मा कलाको प्रभाव त ज्यादै देखिन्छ । तर, पेन्टिङ र मूर्तिकलाजस्तो त्यो चिरस्थायी नभएर क्षणभंगुर हुने डर पनि त हुन्छ । तपाईंलाई आफ्नो काम दीर्घजीवी होस् जस्तो लाग्दैन ?
बौद्ध दर्शनमा विश्वास गर्ने मान्छे भएर हुन सक्छ– मेरो कामलाई पनि त्यसै (दर्शन) ले दिशानिर्देश गरिरहेको हुन्छ । कुनै पनि कुरा स्थायी हुन्छ भनेर म विश्वासै गर्न सक्दिनँ । कला लामो समयसम्म रहेको त राम्रो हो । तर, यसै विषयमा मात्र केन्द्रित हुँदा मैले जस्तो प्रभाव चाहिरहेकी हुन्छु, त्यो सम्भव हुन सक्दैन । यस्तो वेला कुन विषय बढी महत्वपूर्ण  भन्ने प्रश्न पनि उठ्छ । त्यो क्षणले के प्रभाव पार्छ अनि त्यसको ‘रिपल्स’ (तरंग) कस्तो हुन्छ, त्यो महत्वपूर्ण  विषय हो । क्षणिक भएकै कारण पनि त्यसको महत्व झन् बढिरहेको पनि हुन सक्छ । तर, पनि त्यस कुराको ‘डकुमेन्टेसन’ हुनुचाहिँ जरुरी छ ।

यस्तो कलाको आर्थिक मूल्य कस्तो हुन्छ ? कलाका निम्ति कसरी स्रोत जुटाउनुहुन्छ, किनकि यो पेन्टिङ वा मूर्तिकलाजस्तै बिक्री भइरहेको हुँदैन !
यो पक्कै पनि मुस्किल पक्ष हो । विदेशतिर यस्तो कामका लागि अनुदान, विद्वत्वृत्ति दिइने चलन छ । ठूला संस्था, संकलक र संग्रहालयले यस्तो काममा लगानी गरिरहेका हुन्छन् । तर, हामीकहाँ चाहिँ हरेक प्रस्तुतिका लागि आफ्नो खल्ती रित्तिइरहेको हुन्छ । आफूलाई गर्न मन लागेका कतिपय काम पैसाकै कारण हुन नसकेको अनुभव पनि छ मेरो । अनुदान नै नपाए पनि कार्यशालाजस्ता कामले मलाई सघाउ पु-याइरहेका हुन्छन् ।