• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
डा. सावित्री कक्षपति काठमाडाैं
२०७६ असार ७ शनिबार ०९:१९:००
साहित्य

कथ्य, सत्य र योगमाया

२०७६ असार ७ शनिबार ०९:१९:००
डा. सावित्री कक्षपति काठमाडाैं

योगमायाको जीवनमा आधारित उपन्यास ‘योगमाया’ केही समयअघि प्रकाशित भयो । अहिले सोही पुस्तकमा आधारित नाटक ‘योगमाया’ रंगमञ्चमा मञ्चन भइरहेको छ । नाटकको कथ्य प्रवाहले पाठक वा दर्शकमा कौतूहल सिर्जना गरिदिन्छ । घटनाप्रवाह सँगसँगै कथ्य अगाडि बढेको हुन्छ । यो वास्तविक पठन अनि दर्शनको वास्तविक र शाश्वत स्वरूप हो । 

पढेर वा सुनेर थाहा पाइएका ऐतिहासिक र सामाजिक कथ्यमा आधारित सिर्जनाबारे स्रष्टा र द्रष्टा दुवै चनाखो हुनुपर्ने देखिन्छ । यस्तो सिर्जनामा कथ्यले त्यस्तो खालको कौतूहल सिर्जना गर्दैन, जुन गैरऐतिहासिक वा सामाजिक कथ्यले गर्ने गर्दछ । यही परिदृश्यमा योगमायाको यात्रा तय भएको छ । पुरानो पुस्ता आफैँले देखेको अनि भोगेको, दोस्रो पुस्ताले प्रत्यक्षदर्शीबाट सुनेको अनि तेस्रो पुस्ताका केहीले अलिकति आधिकारिक रूपमा सुनेको, केहीले किंवदन्तीका रूपमा भए पनि यस्तो थियो रे भन्ने भाका र भावमा आजसम्म बचाइराखेको नेपालको सामाजिक क्रान्तिकारी योद्धा ठूलीहजुरको कथा पूर्वी नेपालको भू–भागको वातावरणले सम्हालेर राखेको छ ।

जहानियाँ शासनको चरमोत्कर्ष, चार सहिदलाई हत्या गरिएको वेला नेपालको इतिहासमा सामाजिक जागरणको मुद्दालाई कुरा र विचारमा मात्र होइन, गाउँको धरातलमै ओर्लिएर निडरता र दृढताका साथ विचारलाई आन्दोलनका रूप दिएर अगाडि बढेको जीवन्त पात्र योगमायाबारे छोइएर वाङ्मयका इतिहास, संस्कृतिजस्ता विषयले अभिलेखीकरण गरेका छन् । तर, साहित्यको आख्यान विधामा योगमायाको सामाजिक जागरणको इतिहासलाई भित्र्याउने  र स्थापित गर्ने काम उपन्यासकार नीलम कार्की ‘निहारिका’ले गरेकी छन् । 

पुस्तकले २०७४ सालको मदन पुरस्कार पाएपछि यसले प्रवाह गरेको कलात्मक साहित्यिक सूचनाको गतिको वेगले नाट्यनिर्देशक टंक चौलागाईंको निर्देशकीय चिन्तनमा धक्का दिएको हुनुपर्छ । यो नाटकको प्रस्तुति महिलाको विषयलाई लिएर काम गर्ने अर्को फड्को हो निर्देशकको ।  रंगमञ्चमा ऐतिहासिक विद्रोही पात्र योगमायाको जीवनमा आधारित कथ्यले प्रवेश पाएको छ । यो नेपाली रंगकर्मको यात्रामा सुखद क्षण हो । विशाल कथाको केन्द्रीय कथ्यमा टेकेर डेढ घन्टाको समयमा नाट्य रूपान्तरण गर्ने कार्य कम चुनौतीपूर्ण होइन ।

नाट्य परिमार्जन र निर्देशनमा देखिएको सिर्जनात्मक कल्पनाशीलताको प्रयोगमा चौलागाईंको सफलता देखिन्छ । केन्द्रीय कथ्यले सामाजिक परिवर्तनका लागि नेपालमा दासप्रथा र सतीप्रथाको अन्त्य भए पनि महिला, दलित र किसानको अधिकार सुनिश्चित भएन । यसबारे उठाइएको कथ्यले झन्डै ९० वर्र्षपछिको स्थितिमा पनि तात्विक भिन्नता नआएको अवस्थाले दर्शकलाई रोमाञ्चित बनाएको छ । 

नाटकीय कथ्यले जनतामा प्रत्याभूत भएको सामाजिक जागरणको इतिहासलाई समेटेको देखिन्छ । विशाल उपन्यासलाई नाट्य रूपान्तरण गरी आफैँले निर्देशन गर्ने योजना बुनेका चौलागाईंलाई कलाकारको खोजी अर्को चुनौतीको विषय भएको हुनुपर्छ । तापनि योगमाया उपन्यासलाई नाट्य रूपान्तर गर्दैगर्दा योगमायाभित्र मिथिला शर्मा अन्तर्भूत हुनु संयोगको विषय बनेको छ । रंगमञ्चको अभिनयलाई चुनौतीका रूपमा स्वीकार गरी २० वर्षपछि कलाकार मिथिला शर्माको कलाकारिता रंगस्थलमा भित्रिएको छ ।

सानो रंगमञ्चमा पनि यति विशाल कथ्यलाई निर्देशकीय कुशलताले स्थापित गरिदिएको छ

कथ्यको केन्द्रीय पात्र योगमायाको चरित्रलाई नृत्यांगना भनेर चिनिएकी अनि सिनेमा र टेलिसिनेमामा आफ्नो अभिनय दिइसकेकी अभिनेत्री मिथिला शर्माले निकै मिहिनेत गरेको देखिन्छ । शिल्पी थिएटरको रंगमञ्चमा आफ्नो सिर्जनशील कलाकारीय ऊर्जाका साथ उनले योगमाया बनेकी छिन् । नाट्य रूपान्तरभित्र आएका गहन संवादमा सकभर जिउने प्रयास गरेकी छन् । यसबाट उनको संवादप्रवाहले जीवन्तता पाएको छ । अन्य कलाकारहरूको अभिनय पनि चरित्रअनुसार केन्द्रीय चरित्रको गतिशीलतालाई अगाडि बढाउन सहयोगी बनेका छन् ।

मिथिला शर्माको अभिनयले योगमाया चरित्रको वेशभूषा र रूपसज्जामा  योगमायाको योगिनी जीवनको स्वाभाविकतालाई बचाएर समग्रमा उनलाई न्याय गरेको देखिन्छ । अन्य कलाकारले बोल्ने संवादको प्रवाह, वेशभूषा र शृंगारले दर्शकलाई पूर्वी नेपालको भोजपुरकै भूगोल, वातावरण अनि अरुण नदीको किनारवरिपरि पु-याएको छ । समग्रमा प्रस्तुतिभित्र सम्पूर्ण कलाकारले आ–आफ्नो चरित्रअनुसारको भूमिका ऊर्जासहित निभाएको देखिन्छ । निर्देशकले धर्मराज्य स्थापनाका लागि भोजपुरबाट हिँडेका जनता काठमाडौं आइपुग्दाको दृश्यलाई थोरै समयको अन्तरालमा बडो कुशलतापूर्वक स्थापित गरिदिएका छन् । 

कथा पुरानो छ, तर भर्खर किनेर ल्याइएका नयाँजस्ता देखिने दृश्य सामग्री, अनि प्लास्टिकको नाम्लोको प्रयोगले कथालाई पुरानो प्रवाहतिर लैजान बाधा दिएको देखिन्छ । तथापि सानो रंगमञ्चमा पनि यति विशाल कथ्यलाई निर्देशकीय कुशलताले स्थापित गरिदिएको छ । सामाजिक न्यायका लागि आन्दोलन गर्दा सफल नभएपछि सरकारलाई चुनौती दिन सामूहिक जलसमाधि लिएको दर्दनाक घटनाको दृश्यविधान त्यत्ति नै काँडा उमार्ने खालको रहेको छ । 

रंगमञ्चमा इतिहास वा अतीतका विषयवस्तु भए पनि त्यो वर्तमानमा घटित भइरहेको हुन्छ । यसैले रंगमञ्चमा इतिहास होइन, वर्तमान देखिन्छ । आजको दिनसम्म पनि झन्डैझन्डै त्यस्तै स्थितिमा बाँच्न विवश नेपाली समाजमा योगमाया जीवन बाँच्नुपर्ने अवस्थालाई निर्धक्कसाथ उजागर गरिदिएर अहिलेको समकालीन युद्धलाई रंगमञ्चबाट सस्वर संकेत गरिरहेको छ । रंगमञ्चमा देखिएकी योगमाया हिजोको नभएर अहिले वर्तमानमा बाँचेकी योगमाया हुन् भन्ने तथ्यलाई दर्शकमा सम्प्रेषित गर्न सक्नु यस रंगकर्मको मौलिक विशेषता हो ।