• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
डा. कपिल लामिछाने काठमाडाैं
२०७६ असार ७ शनिबार ०९:२५:००
साहित्य

लन्डनका सात साँझ

२०७६ असार ७ शनिबार ०९:२५:००
डा. कपिल लामिछाने काठमाडाैं

कवि छविरमण सिलवाल ऊर्जाशील नियात्राकारका रूपमा प्रकट भएका छन्, नियात्रा–किताब ‘ग्रीनविचको साँझ’ किताबमार्फत । यिनमा आत्मपरक निजात्मक निबन्ध छन् । किताबको विषय लन्डन–यात्रा हो । सन् २०१७ अगस्ट १९ देखि लन्डनमा गरिएको एक सप्ताहव्यापी यात्रालाई टेकेर यी नियात्राको रचना गरिएको छ । 

‘हतारको बेलायत यात्रा’ नियात्रामा नेपालबाट १९ अगस्टमा कतारको दोहा हुँदै लन्डनमा रहेका विजय सापकोटाको घर एजवेयरसम्म यात्रा गर्दाका अनुभव र अनुभूति छन् । यसमा लन्डनको अध्यागमन अधिकारीले आफू कवि भनेर थाहा पाएपछि देखाएको सम्मानको सन्दर्भ उल्लेख गर्दै नेपालमा कला र साहित्यलाई अनुत्पादक क्षेत्र भनेर हेप्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त भएको छ ।

‘लन्डनको पहिलो दिनको रमाइलो घुमघाम’मा सिलवाललाई विजयले एजवेयरबाट दोस्रो दिन सेन्ट्रल लन्डनका हाइड पार्क, स्पिकर कर्नर, बकिंघम प्यालेस, क्विन्स गार्डेन, ट्राफलगर स्क्वायर, नेसनल ग्यालरी आदि ठाउँमा दिनभर घुमाएको वर्णन छ । हाइड पार्कको प्राकृतिक सौन्दर्य, बकिंघम प्यालेसको भव्यता, ट्राफलगर स्क्वायर र नेसनल ग्यालरीको विविधताबाट लेखक रोमाञ्चित र प्रभावित छन् । लन्डनको सफाइ, नियम र व्यवस्था देखेर उनी नेपालको फोहोर, दण्डहीनता र अव्यवस्था सम्झेर झस्केका छन् । लन्डनका डबल डेकर बस व्यवस्थाबाट प्रभावित भएका छन् । नेसनल ग्यालरी विश्वका उत्कृष्ट ग्यालरीमध्येको एक हो । यहाँ माइकल एन्जेलो, भ्यानगन, लियोनार्दो दा भिन्ची, रेम्ब्रान्ट, सिजारो, मोन्तेन आदि विश्वचर्चित चित्रकारका चित्रकारिताको झलक देख्न पाइन्छ । ती देखेर उनी हर्षित भएका छन् ।

‘ग्रीनविचको साँझ’ शीर्षक नियात्रामा यात्राको तेस्रो दिनका भ्रमणका कुरा छन् । यसमा टेम्स नदीवरिपरिको ग्रीनविच, लन्डन ब्रिज (टावर ब्रिज), १ सय ३५ मिटर अग्लो ठूलो रोटेपिङ, वेस्टमिन्स्टरस्थित संसद् भवन, बिग बेन, अब्जर्भेटरी, म्युजियम आदिको यात्रानुभूति प्रस्तुत छ । ग्रीनविच लन्डनको पूर्वी–दक्षिणी भागमा पर्ने ठूलो जिल्ला हो । लन्डनको दुई सय ४४ मिटर लामो पुल टावर ब्रिजलाई लन्डनको आइकोनिक सिम्बोल भनिँदो रहेछ भन्ने कुरा पनि यहाँ छ ।

‘क्यामडेन टाउनमा ठमेलको झल्को’मा क्यामडेन टाउनले काठमाडौँको ठमेलको झल्को दिएको अभिव्यक्ति छ । बेलायतका बजारमा नेपाली पसल र नेपाली पसलमा नेपालका उत्पादन बिक्री भइरहेको देख्दा लेखकमा गौरवको अनुभूति भएको छ । यस्तै यहाँ ट्युब (भूमिगत ट्रेन) को यात्राको अनुभूतिको अभिव्यक्ति छ । लेखक ठमेलमा नेपाली हस्तकलाका सामग्रीको व्यापारमा संलग्न छन् । यहाँ नेपाली पसल देख्दा उनी प्रसन्न हुन्छन् । क्यामडेनमा कार्लमाक्र्स, एंगेल्स, भर्जिनिया उल्फ, जर्ज ओरबेल, अगाथा क्रिस्टीजस्ता विश्वप्रसिद्ध व्यक्तित्वसँग सम्बन्धित स्थान रहेको थाहा पाएर उनी पुलकित हुन्छन् । यहाँका स्कुलमा १२० भाषा बोलिन्छन् भन्ने थाहा पाएर उनी रमाउँछन् । 

‘बेलायती बारीमा गणेशचौथीको काँक्रा’मा बेलायती कृषि फार्मको सजीव चित्रण गरिएको छ । लन्डनदेखि करिब ६७ किलोमिटर उत्तरमा पर्ने ग्रोभ फार्ममा पुगेका छन् । त्यहाँका तरकारी–फलफूल खान पैसा नलाग्ने, तर लैजान पैसा तिर्नुपर्ने व्यवस्थाअनुसार लैजाने सामान छुट्याउँछन् र काँक्रा टिपेर त्यहीँ खान्छन् । त्यो दिन गणेशचौथी परेको थियो । चौथीमा काँक्रो चोर्ने प्रचलन छ । 

किताबका नियात्रा पढ्दा नियात्रा–सङ्ग्रह नभएर एउटै स्थानको यात्राविषयलाई लिएर योजनाबद्ध र क्रमिक रूपमा गरिएको सिर्जनाजस्तो लाग्छ । यसमा यात्रावृत्तान्त मात्र छैन, यात्राका सत्यतथ्यलाई कुतूहलपूर्ण तरिकाले पाठकलाई आद्यन्त तानेर लैजाने अपूर्व कौशल पनि छ । यसमा आत्मपरकता छ, निजत्व छ, सत्यतथ्यता छ, अनुभूतिको तीव्रता छ, सुबोध सरल मानक भाषाको प्रयोग छ, विगतको स्मरण छ ।