• वि.सं २०७६ असार ३१ मंगलबार
  • Tuesday, 16 July, 2019

मौन भाषाको शक्ति

२०७६ असार १४ शनिबार ०६:३४:००

मौन संवाद गर्ने महान् कला हो – सिसेरो ।

निरर्थक शब्द फलाक्ने मानिसहरू यथार्थमा केही बोलिरहेका हुँदैनन् । तिनले अमूल्य शब्द र समयको अवमूल्यन गरिरहेका हुन्छन् । हास्य शृंखलाका पात्रका बोली सुन्दा संवेदनशील मान्छेलाई कहिलेकाहीँ बोल्नु नै निरर्थक लाग्न सक्छ । हामी देख्छौँ, गफाडी सुगा पिँजरामा थुनिन्छ । शान्तिपूर्वक गीत गाउने चरा खुला आकाशमा उड्न पाइरहेका हुन्छन् । एडवार्डो गालिआनो भन्छन्, ‘मौनसँग कुनै भाषाले प्रतिस्पर्धा गर्न सक्दैन किनभने यो पूर्ण भाषा हो ।’ रमण महर्षिको शब्दमा ‘मौन सधैँ वाचाल हुन्छ । यसले भाषाको अनन्त प्रवाह गरिरहेको हुन्छ ।’ 

‘बरान’को मौन
इरानी निर्देशक मजिद मजिदीको एउटा सानदार फिल्म छ, ‘बरान’ । अनन्त विपत् भोगिरहेको शरणार्थी परिवारकी नायिका सिनेमाभरि एउटै संवाद बोल्दिनँ । नायकले ऊसँग आफ्नो प्रेम प्रकट गर्न पनि पाउँदैन । तर, एकै शब्द नबोल्ने नायिकाको अभिव्यक्ति सिनेमाभरि सबैभन्दा बढी वाचाल छ । नायकले प्रकट गर्न नपाएको प्रेम नै सबैभन्दा प्रकट छ । यथार्थमा, सबैभन्दा सुषुप्त कुरा नै सबैभन्दा शानदार तरिकाले दृश्यमान हुन्छ ।

सिनेमाले अफगानिस्तानमा तत्कालीन सोभियत संघको सैनिक हस्तक्षेप र तालिवान शासन खप्न नसकेर इरान पुगेका शरणार्थीको कथा भन्छ । तेहरानको भवन निर्माण क्षेत्रमा गैरकानुनी रूपमा अफगानी शरणार्थी पनि काम गरिरहेका हुन्छन् । इरानी अधिकारीले जाँचपडताल गर्दा उनीहरू लुक्न बाध्य हुन्छन् । अफगानी शरणार्थी नजाफ लडेर बिरामी भएपछि उसको साटो १४ वर्षे ‘छोरो’ रहमान काममा आउँछ । सिमेन्टको बोरा र बालुवा तलमाथि गर्नुजस्तो दुसाध्य काम त्यो निर्धो केटाका लागि असम्भव देखेपछि ठेकेदार भान्छाको काम सम्हाल्ने लतिफलाई उसको काम सुम्पन्छ । उसलाई भान्छाको काम दिइन्छ । सजिलो काम छाडेर गाह्रो काम गर्नुपरेकोमा लतिफ रहमानमाथि रिस पोख्छ । अनेक निहुँ खोजेर गाला चड्काउँछ । 

एक दिन लतिफले देख्छ, रहमान केटो नभई कलिली केटी पो रहिछ । बाँच्नुपर्ने बाध्यताले उसले यो नाटक गर्नुपरेको रहेछ । केटी, त्यसमाथि यति सानी किशोरीलाई नत्र कसले काम दिन्थ्यो त ! लतिफको रिस फतक्कै गल्छ । ऊ त्यसलाई मौन प्रेम गर्न थाल्छ । इरानी अधिकारीको फन्दाबाट बच्न ठेकेदोरले बाध्य भएर अफगानी शरणार्थीलाई कामबाट निकाल्छ ।

लतिफलाई हैरान हुन्छ, उसकी प्यारी केटीको के हालत भयो होला ! बहिनी बिरामी परेकी बहाना पारेर ऊ बिदा लिन्छ र टाढा रहेको शरणार्थी शिविर पुग्छ । केटीको परिवारमा ठूलो संकट परेको हुन्छ । विचरी ऊ बाढी आएको नदीबाट ठुल्ठूला ढुंगा झिक्ने काम गरिरहेकी हुन्छे । एकपल्ट झन्डै उसलाई नदीले बगाएको । त्यो दुब्ली, कलिली केटीले सकी, नसकी यस्तो काम गरेको देख्दा लतिफको हृदय छियाछिया हुन्छ । ऊ ठेकेदारसँग सबै हिसाब–किताब मागेर सुल्तानमार्फत केटीको बाबुलाई पैसा पठाउँछ । केटीको बाबु नजाफ आफूलाई भन्दा बढी आवश्यक परेको ठानेर त्यो पैसा सुल्तानलाई नै दिएर अफगानिस्तान पठाउँछ । अर्को दिन लतिफ नजाफका लागि बैसाखी लिएर जान्छ । घरमा रुवावासी चलिरहेको हुन्छ । । नजाफको दाजु अफगानिस्तानमा मारिएको हुन्छ ।

विपत्मा परेको नजाफले ऋण माग्दा ठेकेदारबाट तिरस्कृत हुनुपरेको देखेर लतिफ दुःखी हुन्छ । ऊ आफूले खाइनखाई जम्मा गरेको खुत्रुक्केको पैसा बोकेर हिँड्छ । आफ्नो नाममा रहेको परिचयपत्र अफगानीलाई बेच्छ र ठेकेदारले पठाएको भनी त्यो पैसा नजाफलाई दिन्छ । नजाफ त्यसको भोलिपल्टै आफ्नी छोरीलाई लिएर अफगानिस्तान फर्कन लागेको हुन्छ । यो सुन्दा लतिफलाई कस्तो भयो होला ? ऊ रन्थनिँदै त्यहाँबाट दौडिन्छ । जुन मौन प्रेमका लागि ऊ यति धेरै उत्सर्ग गर्छ, त्यही प्रेम भोलिदेखि सदाका लागि टाढा हुँदै छ । 

यही मोडमा दर्शकको सासै रोकिएलाझैँ, हृदयगति नै बन्द होलाझैँ हुन्छ । मानौँ, त्यो दर्शक आफैँ लतिफ हो, जसको प्रेमको सपना दश रेक्टर स्केलको भूकम्पमा परेको घरजस्तै भत्कँदै छ । तर, सबै कुरा सामान्य हुन्छ । भोलिपल्ट पनि लतिफ बरानकहाँ पुग्छ । गाडीमा सामान लाद्न मद्दत गर्छ । पोखिएका आलु, गोलभेडा र खत्राकखुत्रुक उठाउने क्रममा बरानसँग उसका आँखा जुध्छन् । बरान बुर्काले मुख छोप्छे र दौडँदै जान्छे । उसको जुत्ता हिलोमा गाडिन्छ । लतिफ त्यो जुत्ता झिकेर बरानको खुट्टामा लगाइदिन्छ । उसकी हृदयकी रानी बरान यसरी सदाका लागि बिदा हुन्छे । एकैछिनमा पानी पर्छ । जुत्ता गाडिएको खोपिल्टा पानीले भरिन्छ । जति दुःख र अवसाद भए पनि जीवन त चली नै रहन्छ । लतिफको दुःखान्त प्रेमको घाउ पनि यसरी नै पुरिनेछ जसरी बरानको जुत्ता गाडिएको खोपिल्टा पानीले भरिएको थियो । 

चल्तीको कुनै उत्तेजनाविना साधारण तरिकाले फिल्म सकिन्छ । सुन्दर कलाकृतिले सदैव वैधानिकता र नैतिक बन्धनभन्दा बढी मानवीय सम्बन्धलाई महत्व दिन्छन् । नैतिक बन्धन र नियम त समाजले बनाउँछ । करुणा, प्रेम र मानवीय सम्बन्ध तीभन्दा धेरै महत्वपूर्ण  हुन्छन् । कानुनको नजरमा इरानमा अफगानी शरणार्थीले काम गर्नु अपराध हो । कानुनको पालनाभन्दा बढी महत्वपूर्ण  विपत्मा परेका मान्छेलाई सघाउनु हो । मान्छे भनिसकेपछि इरानी र अफगानी भनेर छुट्याइरहनु पर्दैन ।

मानवीय गरिमालाई राष्ट्रियताको सीमाले खुम्च्याउन सक्दैन । लतिफले आफ्नो परिचयपत्र अफगानीलाई बेच्नु कानुनका दृष्टिमा अपराध हो । तर, विपत्मा परेको मान्छेलाई सहयोग गर्नुपर्ने अवस्थामा कानुनभन्दा ‘अपराध’ नै बढी मानवीय र महत्वपूर्ण  हुन्छ । मजिदीले दिएको यो महान् सन्देश मननीय छ । उनको सबैभन्दा प्रसिद्ध फिल्म ‘चिल्ड्रेन अफ हेभन’ हो । सायद यो उत्कृष्ट विदेशी सिनेमाका लागि ओस्कार मनोनयनमा परेर होला । तर, सिर्जनात्मक हिसाबले अन्धो बालकको संघर्षको कथा ‘कलर अफ प्याराडाइज’, सौतेलो बाबुप्रति एक किशोरको आकस्मिक प्रेमको कथा ‘फादर’ र ‘बरान’ अझ महत्वपूर्ण  छन् ।

मौन भाषा
संसारमा नाम चलेका सुन्दर सिनेमा धेरै छन् । तर, किन हो म सबैमा आनन्दित हुन सक्दिनँ । संसार हल्लाएका कतिपय फिल्म बारम्बार प्रयास गर्दा पनि पूरा हेर्न नसकेर म हैरान छु । तिनले भुसुक्कै निद्रा लगाइदिन्छन् । तर, कतिपय सिनेमा कति हृदयस्पर्शी हुन्छन् भने जति हेरे पनि तिर्सना मेटिँदैन । इटालीका निर्देशक भित्तोरियो डेसिकाको ‘उम्बर्टो डी’ र ‘टु वमेन’ जति हेरे पनि म थाक्दिनँ । जति हे-यो उत्तिकै आनन्द दिने सिनेमामा मलाई अकिरा कुरुसावाको ‘रसोमन’, फेडेरिको फेलिनीको ‘ला डोल्स भिटा’, ओङ कार वाईको ‘इन द मुड फर लभ’, झाङ यिमुको ‘फ्लावर्स अफ द वार’, सत्यजीत रेको ‘अरण्यर दिनरात्री’, अपर्णा सेनको ‘मिस्टर एन्ड मिसेज अयर’, महेश भट्टको ‘अर्थ’ सँगै ‘बरान’ को झट्ट सम्झना हुन्छ । 

हालसालै एकपल्ट फेरि मैले ‘बरान’ हेरेँ । सुन्दर सिनेमाले दिने आनन्द नयाँ प्रेमको असरजस्तै अनुपम हुन्छ । यस्तो सिनेमा आफैमा पृथक् साहित्य हो । नायिकाको यस्तो मौन भाषाले दिने प्रेरणा बेग्लै हुन्छ । नेपाली फिल्म ‘पशुपतिप्रसाद’की मूक नायिकाको भूमिका सम्झँदा पनि मलाई यस्तै अनुभूति हुन्छ । सुन्दरी नायिका वर्षा सिवाकोटीले मौन भाषामै त्यसलाई जीवन्त बनाएकी छिन् । यो बेग्लै प्रसंग हो, निरपेक्ष मौनता स्वीकार्य हुँदैन । मार्टिन लुथर किङ भन्छन्, खराब मान्छेले अत्याचार गर्नु र क्रूरता देखाउनु त्यति दुःखद हुँदैन जति दुःखद असल मान्छे त्यसप्रति मौन बसिदिनु हुन्छ । 
(लेखक मधुपर्क मासिकसँग सम्बद्ध छन् ।)

 


 

प्रतिकृया दिनुहोस