• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
ध्रुवचन्द्र गौतम
२०७६ असार २१ शनिबार ०७:१८:००
इतिहास

वीरगन्जको अखडामा धनुषचन्द्रको ‘दंगल’

पात्रहरू/अनुहारहरू

२०७६ असार २१ शनिबार ०७:१८:००
ध्रुवचन्द्र गौतम

वीरगन्ज कुम्हालटोलको हाम्रो घर भन्नलाई पक्की थियो । तर, त्यसमा केवल तीन कोठा थिए । हाम्रा गाउँका मानिस भन्नलाई भन्थे, ‘वीरगन्ज में उनकर कोठा बा ।’ ‘कोठा’ अर्थात् पक्की घर । किनेको घर हुनाले, जस्तो थियो, त्यस्तै स्वीकार्य थियो । सिमेन्टको घर होइन त्यो । सुर्की–चुना–इँटाले बनेको पक्की घर, कति पक्की थियो, हामीलाई थाहा थिएन । बा (गोविन्दचन्द्र गौतम) त्यहीँबाट साइकलमा अफिस जानुहुन्थ्यो, धनुषचन्द्र त्यसैको बरन्डामा, एउटा ठूलो पित्ले बाटामा पानी भरेर, साइकलको ट्युबमा हावा भरेर पन्चर जाँचिरहेका हुन्थेँ, बुलबुला कहाँ–कहाँबाट निस्कन्छ ।

गोपालचन्द्र र ईश्वरचन्द्र त्यतै कतै आँगनमा वा भित्र कोठामा कुनै तस्बिर टाँग्ने वा अन्य कुनै काम गरिरहेका हुन्थे । आमा दीपवती बिहानै तुलसी मोठमा पानी चढाइरहेको देखिनुहुन्थ्यो । कान्छा बा, कान्छी आमा, म, मेरा भाइबहिनी, उत्तम, नानी, इन्दु र हजुरआमा... यतिका नाउँ लिनाको अर्थ छ । घरका अन्य ‘खामी–खुबी’को कुरा अहिले नगरुँ, तर यी नाउँहरू मैले अहिले पनि आश्चर्यचकित भएरै लिएको हुँ । त्यो ‘कोठा’मा थिए केवल तीन कोठा । मान्छे, अक्षरशः त्यति । हामी दडबा भन्थ्यौँ, खोर भनौँजस्तो थिएन होला त त्यो घर, त्यतिका सदस्य अटाउनाले ? जुन बखतको म कुरा गर्दै छु, त्यसबखत, पछि केही विस्तार जुन गरियो, त्यो पनि भएको थिएन ।

मलाईजस्तै पाठकलाई पनि यो पढ्दा अचम्मै लाग्न सक्छ । तैपनि हाम्रो घर त्यसबखत कुम्हालटोलका गिनेचुनेका पक्की घरमध्ये एक थियो । घरको पश्चिमतिरको तेस्रो कोठामा मलाई सबभन्दा बढी रुचि थियो । त्यो कोठामा एउटा काठको दराज थियो । भित्र तीन खण्ड भएको । म पछि त्यही दराजसित टाँसिइरहन्थेँ । दराजमा तीनै खण्डमा विभिन्न खालका किताब कोचाकोच गरेर भरिएका हुन्थे । मेरो आकर्षण त्यही दराजमा सबभन्दा बढी थियो । त्यहाँ मेरा तीनैजना दाइहरू, गोविन्दचन्द्रदेखि धनुषचन्द्र, गोपालचन्द्र र ईश्वचन्द्र आ–आफ्ना रुचिका पुस्तक ल्याएर राख्थे । त्यसको तारतम्य कसरी मिलाउँथे, त्यो मलाई थाहा छैन । मलाई के थाहा छ भने, त्यही दराज मेरो जीवनको प्रथम पुस्तकालय थियो । 

त्यसै पुस्तकालयमा एकदिन किताब खोतल्दाखोतल्दै मेरो हातमा एउटा कापी पर्‍यो । ६४ पाने, हात्तीछाप कापी हुन्थ्यो, चल्तीमा । त्यही हुँदो हो । कापी साधारण थिएन । त्यसलाई केही मर्मत गरेर सकेसम्म आकर्षक बनाइएको थियो । उत्सुकतावश निकालेँ । जिल्लाभन्दा पनि अघि, मोरेर एउटा अर्को खाली कागत थियो । त्यसमा राम्रो र ठूलो अक्षरमा माथिबाट तल लेखिएको थियो :
नी
हा
रि
का
आसपास र मास्तिर स–साना ताराहरूको बुट्टा बनाइएको थियो । त्यसैको बीचमा थियो ‘नीहारिका’ । तल लेखकको नाउँ लेखिएको थियो –धनुषचन्द्र गौतम । 
भित्र हिन्दीका कविता थिए, छायावादी प्रकृतिका । पढ्दै जाँदा ‘बरबस’ जयशंकर प्रसाद, महादेवी बर्मा र सुमित्रा नन्दन पन्तको सम्झना आउने खालका । 
त त्यही थियो, धनुषचन्द्र गौतमको पहिलो कवितासंग्रहको पाण्डुलिपि । छापिएको भए, धनुषचन्द्रको पहिलो पुस्तक त्यही कवितासंग्रह हुन्थ्यो, ‘नीहारिका ।’

धनुषचन्द्रको हिन्दी अत्यन्त माझिएको र आकर्षक थियो । उनले पछि छपाएका संस्मरणमा गरिएको हिन्दी प्रयोगबाट पनि थाहा हुन्छ । त्यस्तो माझिएको हिन्दी मैले पछि लोकेन्द्रबहादुर चन्दका हिन्दी कवितामा देखेँ । फरक यत्ति थियो, लोकेन्द्रबहादुर चन्दको कवितासंग्रह प्रकाशित थियो, मैले पढ्दा, धनुषचन्द्रको ‘नीहारिका’ कहिल्यै प्रकाशित भएन । तर, मैले आफ्नो जीवनमा पढेको पहिलो पाण्डुलिपि त्यही ‘नीहारिका’ नै थियो । अरूको र आफ्नो केही पढ्ने त अहिले वेलै भएको थिएन । त्यो वेलाको कल्पनासम्म पनि थिएन । मेरो पहिलो कविता त अवचेतनमा पनि थियो कि थिएन, पाण्डुलिपि त छाडिदिऊँ । 

‘नीहारिका’ पढेपछि म ‘स्पेल बाउन्ड’, भन्छन् नि मन्त्रमुग्ध ! हो, त्यस्तै भएको थिएँ । कुनै–कुनै कविता त्यसमा प्रगतिशील प्रकारका पनि थिए । धनुषचन्द्र त्यसबखतसम्म कम्युनिस्ट पार्टीमा संलग्न भइसकेका थिए, यद्यपि राजनीतिक थालनी उनको कांग्रेस पार्टीबाटै भएको थियो । कृष्णप्रसाद भट्टराईबाट ‘दीक्षा’ लिएको कुरो, उनले आफैँ लेखेका छन् कतै । संवत् २००४ सालमा । 

धनुषचन्द्र ‘पर्फेक्सनिस्ट’ थिए । त्यति पर्फेक्सनको त म सोच्नै सक्दिनँ । म उनकै बाटोमा हिँड्न असम्भव थियो । उनी त आफ्नो स्थानमा ‘जो हम से टकराएगा, चुरचुर हो जाएगा’ भन्ने किसिमले उभिएका थिए । त्यसैले, म उनले छाडेको छेउको बाटो लागेँ । जहाँ पुगेँ, त्यसै बाटोबाट पुगेँ । 

२००४ सालमा कांगे्रसकै आह्वानमा त्रिजुद्ध हाई स्कुलबाट एक दिन कैयौँ विद्यार्थी क्लास बहिष्कार गरेर अचानक हुरुरुरु बाहिर दगुरेका थिए । तिनमा, दुईजनाको नाउँ मलाई थाहा छ– धनुषचन्द्र र उनकै सहपाठी श्यामप्रसाद शर्मा । ती दुवैलाई स्कुलबाट ‘रेस्टिकेट’ गरिएको थियो पछि । कालान्तरमा ‘ध. च. गोतामे स्मृति–सम्मान’ स्थापित भएपछि कथाकार, एकेडेमीका तत्कालीन सदस्यसचिव सनत रेग्मीको प्रमुख आतिथ्यमा, ध. च. गोतामेसम्बन्धी पहिलो सम्मान ध.च.कै सहपाठी वरिष्ठ साहित्यकार श्यामप्रसादलाई उनकै निवासमा हस्तान्तरण गर्न जाँदा, उनले धुनषचन्द्रलाई सम्झँदै भनेका शब्द म अझै स्पष्ट सम्झन्छु, ‘रेस्टिकेट भएपछि, धनुषजीले त पढ्नुभयो, म त त्यसपछि पढ्नै सकिनँ ।’

हामीलाई चाहिँ के खुसी थियो भने ध. च. गोतामेको नाउँको पहिलो पुरस्कार हामीले उनकै सहपाठी श्यामप्रसाद शर्मालाई दिन पायौँ । अब दुवै यस संसारमा छैनन् । श्यामप्रसादलाई सनत रेग्मीद्वारा हस्तान्तरण गरिएको ध. च.को नाउँको प्रमाणपत्र कतै होला कि नहोला ! त्यो पनि अब भन्न कठिन छ । श्यामप्रसाद एकताका वीरगन्जको नुन गोदाममा बस्थे । उनले आफ्नो निवासको नाउँ ‘सेवा–सदन’ राखेका थिए । त्यहीँबाट उनी ‘सेवा’ नामक एक पत्रिका निकाल्थे । धुनषचन्द्रको मैले पहिलो प्रकाशित देखेको रचना, त्यही ‘सेवा’मा हो । तर, त्यो एउटा कथा थियो– ‘कहानीको प्लाट’ । सम्भवतः धनुषचन्द्रको पहिलो प्रकाशन त्यही हो पनि । त्रिजुद्धबाट निष्कासित हुँदा उनको नाउँ, धनुषचन्द्र गौतम थिएन, धनचन्द्र गौतम थियो । पछिसम्म पनि घरमा उनलाई आमा–बाहरू धन वा धने नै भनेर बोलाउँथे । 

रक्सौलको स्कुलमा नाउँ लेखाउन जाँदा, हाम्रा हजुरबा छविलालले भन्नुभएछ, धनचन्द्र गौतम । त्यसका हेडमास्टरले धनचन्द्र भएन भनेर नाउँ लेखिदिएछन्, धनुषचन्द्र गौतम । त्यहाँदेखि उनी धनुषचन्द्र भए । नाउँ नयाँ र अप्रचलित थियो, त्यसकारण धनुषचन्द्र नाउँ धारण गरेपछि दाजु पनि निकै प्रसन्न भए । यसरी उनको नाउँ धनुषचन्द्र गौतम, तत्कालीन हेडमास्टर निकुञ्ज झाले राखिदिएका थिए । त्यसपछि, घरका ठूलाले त धन वा धने नै भनिरहे, अझ हाम्रो गाउँ बेतौनावासीहरू पनि उनलाई धन वा धाना मालिक नै भन्थे । उनका मित्रहरू भने, धनुष वा धनुषजी भनेर सम्बोधन गर्थे । 

००७ सालआसपास धनुषचन्द्र कम्युनिस्ट पार्टीमा राम्रै हैसियतमा पुगेका थिए, भनिन्छ । त्यसबखतसम्म कुम्हालटोलमा हाम्रो एउटा अर्को फुसको छाप्रो बनिसकेको थियो, ठूलै । त्यहाँ, सबै ठूला कम्युनिस्ट नेताहरूको जमघट भइरहन्थ्यो । सबै ‘कामरेड’ सम्बोधन गर्थे एक–अर्कालाई र छोटो नाउँले सम्बोधन गर्थे । जस्तो, कामरेड पिएल (पुष्पलाल), टिएल (तुलसीलाल), एमएम (मनमोहन अधिकारी), एसके (शैलेन्द्र कुमार) र एकजना केदारजीलाई पनि सम्झन्छु । ती हामीकहाँ आइरहन्थे । सबैले मलाई माया पनि गर्थे । मलाई बिँडी आदि किन्न पठाइरहन्थे । गोपालचन्द्र त थिए नै । यी सबै प्रजातन्त्र आइसकेर पनि ‘अन्डरग्राउन्ड’ नै थिए, कारण, अझै त्यो पार्टी प्रतिबन्धित नै थियो । 

म केटाकेटी थिएँ, तैपनि यति समझ र संस्कार त आइसकेको थियो, यिनीहरू छन् भनेर बाहिर भन्नुहुँदैन । म आफ्ना साथीलाई समेत भन्दिनथेँ । उनीहरूको एउटा कुरा भने मलाई मनोरञ्जक लाग्थ्यो । बर्खा भए पनि, नभए पनि रातबिरात बारीतिर जाँदा ती प्रायः एउटा भएको घुँडासम्मको गमबुट पालैपालो लगाएर जान्थे । त्यो खाली छैन भने पालो पर्खेर बस्थे । सर्पको भयले हो कि के हो ? जबकि हामी नांगैै खुट्टा ‘बेधडक’ हिँड्थ्यौँ । 

अलिक पछि धनुषचन्द्रको पार्टीगत सक्रियता छुट्दै गयो । उनी जागिरको जोहोमा काठमाडौंतिर लागे । उनको संघर्षको अझ कठिन समय आयो । विवाह पनि भइसकेको थियो । परिवारको चिन्ता पनि थपियो । संघर्ष आफ्नो जीवनमा हामी सबैले गरेका थियौँ । तर, धनुषचन्द्रको संघर्ष आफ्नो खालको थियो । सम्भवतः ००९ वा ०१० तिर उनी काठमाडौं प्रवेश गर्दा उनको खल्तीमा जम्मा तीन मोहोर थियो रे– धनुषचन्द्र सुनाउँथे । ‘नंगा नहाएगा क्या, निचोडेगा क्या’ भन्ने हिन्दी उखानको हालत थियो । 

पछि परिवार पनि ल्याउनै परेपछि त्यो संघर्षमा अझै वृद्धि भयो । त्यसपछि, जीवनका त्रिविध होइन, अनेक विध दुःख झेले । कोसी प्रोजेक्ट, कन्या मन्दिरमा शिक्षक, पत्रकारिता आदि सबै कर्म गरे, सबै अस्थायी प्रकारका थिए । तबसम्म रह्यो, जबसम्म उनी रेडियो नेपालको पत्रिका ‘झंकार’का सम्पादकमा नियुक्त भएनन् । ‘झंकार’को सेक्सन अफिसरमा नियुक्त हुँदा उनलाई तारिणीप्रसाद कोइरालाले पनि सहायता गरेका थिए भन्ने मैले बुझेको छु । सहित्यिक कारणले हुन सक्छ, तारिणीप्रसादसँग उनको सम्बन्ध पछिसम्म आत्मीय रह्यो । 

कन्या मन्दिरमा पनि धनुषचन्द्र एक सफल शिक्षक साबित भएका थिए । डुगमबहीलको एक घरमा डेरा गरेर बस्दा उनीकहाँ ट्युसन पढ्ने छात्रा आइरहन्थे, कन्या स्कुलको शिक्षकका नाताले । गणितबाहेक उनी सबथोक पढाउँथे । धनुषचन्द्रलाई, राजनीतिक कुरामा म भन्न सक्दिनँ, एकेडेमिक रूपमा बहुमुखी प्रतिभाका धनी सहजै के, अझ घनीभूत रूपमा भन्न सकिन्छ । 

डुगमबहीलको डेरामा बस्दा नै मेरो स्थायी खालको प्रवेश काठमाडाैंमा भएको थियो । त्यहाँ यति मानिस आउँथे, साहित्यिक र गैरसाहित्यिक– तिनका कुराले मेरो अनुभवमा धेरै वृद्धि गराउँथ्यो । त्यस नाताले मेरो प्राथमिक साहित्यिक पाठशालाजस्तै थियो, त्यो डेरा । मैले ‘प्रयोगवाद’ भन्ने शब्द धनुषचन्द्रबाटै सुनेँ । मेरो साहित्यिक निर्माणमा माता–पिता र तीनै दाइहरूको योगदान छ, यहाँ धनुषचन्द्रको प्रसंग वाञ्छित भएकाले कित्ताकाट गरेर धनुषचन्द्रकोे मात्र लेखेको हुँ । 
धनुषचन्द्र यस्ता कुरा आफ्ना साथीभाइसित गफ गर्ने क्रममा बताइरहन्थे । जब मैले ‘प्रयोगवाद’ सुनेँ, म पनि त्यसको खोजी गर्दैै पढ्न थालेँ । अस्तित्ववाद सुनेँ, म आफैँ पनि पढ्न थालेँ । प्रयोगवादी कविता भनेर कुनै हिन्दी कविको कविता धनुषचन्द्रले सुनाएको अझै याद छ :
नयाँ साथी मुझे प्यारा है 
जैसे लुजफिटका पैन्ट प्यारा है । 

यो ०१६ सालको कुरो हो । त्यसबखतसम्म पनि धनुषचन्द्रको नोकरी थिएन, त्यसमाथि म थपिएको थिएँ परिवारमा । तैपनि दैनिक एक मोहोर मलाई दिइन्थ्यो– पकेट खर्च । संयोग यो भयो कि, तिनै समयमा उनी ‘झंकार’का सम्पादकमा नियुक्त भए । त्यसपछि विभिन्न मन्त्रालय हुँदै, सूचना विभागको निर्देशक पनि भए । एकताका प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालको सल्लाहकार भए । त्यसबखत सम्भवतः धनुषचन्द्रले आफू पावरफुल भएको अनुभव पनि गरेको हुनुपर्छ । मैले त्यसको अनुमान कसरी गरेँ भने– एकपटक त्यसबखतको ‘इन्डियन एड मिसन’ (जुन पछि ‘इन्डियन कोअपरेसन मिसन’ भयो)का एक बंगाली कर्मचारी गुप्ताले समेत आफ्नो अफिसमा आफ्ना लागि अनुकूल हुने गरी भनिदिन भनेर, दाइलाई भनिदेऊ न भनेरसमेत अनुरोध गरेका थिए । 

मुर्किपलियाजस्तो गाउँको अनुभव बटुलेर केटाकेटीमा ‘मैनी के बचवा भुचेङ्वा रे, दुगो जामुन गिरा’ भनेर जामुनको रूखमुनि गाउँदै खेल्ने धनुषचन्द्र आफ्नो सम्पूर्ण लेखनमा कसरी ठेट नेपाली उखान–टुक्का र उपमाको प्रयोग गर्न निष्णात भए, त्यो अद्भुत छ

त्यसैबखत नै धनुषचन्द्रले बिए, एमए पास गरे । साहित्यको प्रतिभा उनमा पुनः जागृत भयो र पुरानो धुलो टक्टकाएर उनी उठे । उनी कविता र कथा लेख्न थाले । उनको एउटा कथा ‘अँध्यारोमा हराएको छायाँ’मा मैले एउटा टेलिफिल्म पनि बनाएँ । त्यसमा उनकै नातिनी अंशुले पनि एउटा भूमिका खेलेकी छिन् । कन्या मन्दिरमा पढाउँदा, उनको कृष्णचन्द्रसिं प्रधानसँग झन् घनिष्टता भयो । त्यो पछिसम्म कायम रह्यो । एकपटक कृष्णचन्द्रले भनेछन्, ‘तपाईं हामीले पनि कथा, कविता लेखेर बस्ने हो ? समालोचना–अनुसन्धान पो लेख्नुपर्छ ।’ त्यसपछि उनले शक्ति वल्लभको ‘हास्य कदम्ब’बारे एउटा लामो अनुसन्धानात्मक लेख लेखे । त्यसलाई नाघ्ने गरी त्यस विषयमा फेरि अरूले लेखेको मैले पढिनँ होला भनुँ । त्यसबखतका अत्याधुनिक कवितामाथि यति राम्रा लेख लेखेका थिए कि, उनको समकालीन विश्व साहित्यको ज्ञान चकित पर्ने खालको देखिन्थ्यो । एडिथ सिटवेल आदिको नाउँ त मैले उनैबाट सुनेर पढेँ । 

यी सब हुँदाहुँदै पनि, उनको सिर्जन–प्रतिभा मानिरहेको थिएन भित्र । त्यसलाई निकास दिन उनले संस्मरण र हास्य–व्यंग्य लेखे । पहिले हास्य–व्यंग्यको कुरा गरुँ । ‘दाँतजुत्ता’, ‘गफ ः एक परिचर्चा’ आदिको हालै एक संकलन प्रकाशित छ । यद्यपि, उनको हास्य–व्यंग्यको उचित मूल्यांकन भएजस्तो लाग्दैन, किनभने उनको हास्य–व्यंग्य नेपालीको कुनै हास्य–व्यंग्यकारभन्दा फरक छ । सर्वश्रेष्ठ भन्न आँट आउँदैन, श्रेष्ठ अवश्य छ र मौलिक त निश्चित रूपमा छ । संस्मरण उनको यति दमदार छ कि नयाँ पुस्ता पनि त्यसबाट प्रभावित छ । मुर्किपलियाजस्तो गाउँको अनुभव बटुलेर केटाकेटीमा ‘मैनी के बचवा भुचेङ्वा रे, दुगो जामुन गिरा’ भनेर जामुनको रूखमुनि गाउँदै खेल्ने धनुषचन्द्र, आफ्नो सम्पूर्ण लेखनमा कसरी ठेट नेपाली उखान–टुक्का र उपमाको प्रयोग गर्न निष्णात भए, त्यो अद्भुत छ । यो म भाइ भएर भनिरहेको छैन, एक सजग पाठक भएर भनिरहेको छु । 

अनि आउँछ त्यो समय, जब उनी भन्न थाले– अब मलाई टुक्राटाक्रीमा रुचि छैन, उपन्यासै लेख्छु । लेख्न थाले पनि । वीरगन्ज या काठमाडौंमा जहिले पनि दाजु, गोपालचन्द्र र म जम्मा हुनासाथ भन्थे, ‘धुरे दंगल गर्ने होइन ?’अनि गोपाल दाइ र मलाई लेखेको उपन्यासको अंश सुनाउथे । वास्तवमा त्यो पूरा उपन्यास ‘सिरियल’जस्तै गरेर हामीले पूरा सुन्यौँ । बीच–बीचमा भन्थे, ‘यस्तोलाई मदन पुरस्कार नदिए कस्तोलाई दिन्छ ?’वास्तवमा उनलाई पक्का थियो, यसमा मदन पुरस्कार पाइन्छ । गोपाल दाइ पनि भन्थे– हो । म पनि भन्थेँ भन्न त । तर, म त्यति विश्वस्त किन थिइनँ भने पुरस्कार हो, के भन्न सकिन्छ भनेर सोच्थेँ । 

तिनताक हामी ‘दंगल’का लागि कुथ्र्यौँ । उपन्यासप्रति उत्सुकता पनि थियो, दंगल माने दाजुको उपन्यास सुन्ने कार्यक्रम । अहिले शीर्षक जुरेको थिएन । शीर्षकबारे चर्चा पनि हुँदैनथ्यो, केवल लेखिएको अंशबारे सुझाब–सहमति । दाजु त्यति रिजिड पनि होइन । कुनै उचित सुझाब छ भने मान्थे पनि वा भन्थे, ‘यसलाई यसो गरिदिन्छु हुन्न ?’

त्यसैबीचमा म पुना गएँ, डक्टरेट गर्न । म उनीहरूलाई बोलाइरहन्थेँ । गोपाल दाइले आउने असमर्थता देखाए । तर, धनुषचन्द्र र भाउजू शान्तादेवी एक अपराह्न आए पुना । दसैँताक हुँदो हो । खुब रमाइलो भयो । क्यान्टोमेन्टबाट सस्तो ‘थ्री एक्स’ रम पाइन्थ्यो, त्यही ल्याउँथेँ । वीरगन्जमा पनि ‘दंगल’पछि ‘बैठकी’ चल्थ्यो, तीनजनाको । पुनामा पनि त्यस्तै चल्न थाल्यो । धनुषचन्द्र बीच–बीचमा भन्थे, ‘अहिले गोपाल भएको भए कत्ति रमाइलो हुन्थ्यो !’ वास्तवमा ‘बैठकी’ अर्थात् ड्रिंक’मा तीनजना हामी भएपछि कोही चाहिँदैनथ्यो कसैलाई । चौथो बरू बाधक हुँदो हो । ‘बैठकी’ हामी अन्त पनि गथ्र्यौँ । तर, मैले पाएको ‘बेस्ट कम्पनी’ यही थियो । ‘बैठकी’ नाउँ पनि, ‘दंगल’जस्तै धनुषचन्द्रकै देन थियो । 

गोपालचन्द्र आफूलगत्तैको भाइ हुनाले होला वा अन्य पनि कारणले, धनुषचन्द्रको उनीप्रति विशेष लगाव थियो । त्यसैले पुनामा उनी गोपालचन्द्रलाई बारम्बार ‘मिस’ गरेको कुरो बताउँथे, खासगरी ‘दंगल’ र ‘बैठकी’को वेलामा । धनुषचन्द्र भाइहरूलाई माया गर्थे । अन्य दाइ–भाइ पनि एक–अर्कालाई माया गर्थे । वीरगन्जमा कहिलेकाहीँ हामी सबै एकैसाथ सडक ओगटेरै पनि हिँड्थ्यौँ । हामीलाई देखेर ‘यिनीहरूको फेमिली युरोपियन फेमिलीजस्तो छ’ भन्नेहरूको पनि कमी हुँदैनथ्यो । यसको अर्थ के होइन भने– हामीमा कहिल्यै कुनै खटपट हुँदैनथ्यो ! एउटै कुरो हो, समय सँगसँगै त्यो खटपट हामी आफैँ मिलाउँथ्यौँ । कोही बाहिरिया चाहिन्नथ्यो । रबर हो, केही समय तान्किन्थ्यो, फेरि साइजमा आएर आफ्नो लचिलोपन कायम राखिहाल्यो । 

जुन उपन्यास दाजु लेखिरहेका थिए, त्यसको पाण्डुलिपि साथै लिएर आएका थिए पुनामा, मैले नसुनेको अंश सुनाउने गरी । एक दिन धनुषचन्द्रले घोषणा गरे, ‘ल धूरे, उपन्यास आज पूरा गरेँ, घामका पाइलाहरू ।’ यसरी ‘घामका पाइलाहरू’को समापन पुनामा भएको थियो । त्यस दिन हामी सारा गएर स्टेसननजिक, एउटा ‘शिव–कैलाश’ भन्ने डेरी प्रोडक्टको पसल थियो, त्यहाँका आइसक्रिमदेखि अन्य नाउँ चलेका डेरी प्रोडक्ट ‘छकेर’ खायौँ, समारोहपूर्वक– राति घर गएर खानु नपर्ने गरी । दाजु पनि खुसी थिए । ‘घामका पाइलाहरू’को सम्मानमा ‘थ्री एक्स’ भने फेरि उपन्यासको मोटाइअनुसार नै जमेर सेवन गरियो, ‘बैठकी’मा । 

दाजु–भाउजू फर्केर गए । म आफ्नो काममा लागेँ । त्यसपछि छुट्टी, माने छुट्टी लिएर घर जाने अवसर आयो । परिवार पुनामै छाडेर म काठमाडौं आएँ । त्यसबखत के थियो मलाई सम्झना छैन, तर म दाजुकहाँ जान चाहिनँ । काठमाडौंकै इन्द्रचोकतिर एउटा ‘हिल–भ्यू’ भन्ने होटेल थियो, त्यहीँ बसेँ । त्यति धेरै त केही थिएन, त्यसैले फोनचाहिँ गरेँ दाजुकहाँ । फोन उठाइन् भाउजू शान्तादेवीले । उठाउनासाथ भनिन् भाउजूले, ‘तपाईंले  थाहा पाउनुभएन ?’

मैले भने, ‘अहँ, के भाउजू ?’
‘दाजुले ०३५ सालको मदन पुरस्कार पाउनुभयो नि ! ‘घामका पाइलाहरू’मा ।’
खुसी लाग्यो । भनेँ, ‘ल भाउजू बधाई छ ।’
– ‘तपाईं कहाँ हुनुहुन्छ अहिले ?’, भाउजूको आवाज ।
– ‘हिल–भ्यूमा ।’
– ‘किन त्यहाँ बसेको ? यहीँ आउनुस् न ।’
– ‘आइहाल् धुरे तँ यहाँ,’ यो दाजुको आवाज थियो । 
म भावुक पनि भएँ, दाजुको आवाजको आग्रह र पुरस्कारको खुसी मिसिएको स्वरले । दाजुको आग्रह वा भनुँ त्यस्तो आदेशपछि केही थियो भने पनि सब तत्काल हुत्तिएर गयो । म तत्काल ब्याग बोकेर दाजुकहाँ गएँ । सबको अनुहारमा खुसी छचल्किएको थियो । अब ‘दंगल’ समाप्त भएको थियो, सफल अवतरणका साथ । ‘बैठकी’ त फेरि बाँकी हुने नै भयो । धनुषचन्द्रले स्कच फुटाए त्यस दिन । त्यो पहिलोपटक होला त्यति उक्लेको, त्यसपछि हाम्रो ‘बैठकी’ सधैँ त्यही शैलीमा उक्लेको उक्लै भयो । 

आश्चर्य मलाई अहिलेसम्म पनि केमा लाग्छ भने मदन पुरस्कारको आशा त सबैले गर्न सक्छन्, तर धनुषचन्द्रलाई विश्वासै थियो जुन उनी वेला–वेलामा, ‘दंगल’ र ‘बैठकी’मा व्यक्त पनि गर्थे । साँच्चीकै विश्वास गरेकै भयो, यसमा आश्चर्य गरेको ।  म आज पनि भन्छु, जुन मैले अन्त पनि भनेको छु, ‘वीरगन्ज रेल अब वीरगन्जमा होइन, केवल ‘घामका पाइलाहरू’मा भेटिन्छ ।’

दाजुको अर्को उपन्यास पनि उत्तिकै स्तरीय र उच्चस्तरको छ । तर, मदन पुरस्कार वा केले हो, ‘घामका पाइलाहरू’कै बढी नाउँ लिइन्छ । घनुषचन्द्रको ज्ञानको क्षेत्र विस्तृत थियो । त्यसबाट मैले धेरै सिकेँ । सबभन्दा बढी के सिकेँ भने एउटा लेखकले जति जान्यो त्यति राम्रो ।  एकपटक उनी अस्पताल भर्ना भएका थिए । मुटु विशेषज्ञले जाँच्यो र प्रेस्क्राइब ग-यो । डाक्टरसँग धनुषचन्द्र मुटुसम्बन्धी कुरा गर्न थाले । पछि डाक्टरले भनेछ, ‘यो त डाक्टरको कन्सर्नको विषय हो, तपाईंले कसरी जान्नुभयो ?’
– ‘मेरो इन्टरेस्ट छ ।’
डाक्टर अलिक छक्कै परेको हुँदो हो, ‘तपाईंले  त कार्डियोलोजिस्ट एडमिट भएजस्तै गर्नुभयो ।’ 
पछि यो कुरा धनुषचन्द्रले नै मलाई सुनाएका हुन् । 
इतिहासको त उनले पुस्तकै लेखे एउटा । तर, त्यसको चिह्नसमेत छैन । विद्यार्थीका लागि लेखेका थिए । धनुषचन्द्रले पनि पछि त्यसको उल्लेख गर्न चाहेनन् क्यार । नत्र भने त उनको पहिलो प्रकाशित पुस्तक त्यही हो, उनको कुनै पनि साहित्यिक पुस्तकअघि । त्यो पुस्तक मैले देखेको थिएँ । तर, त्यसको नाउँसमेत मलाई सम्झना छैन । 
गोपालचन्द्रले पहिले गोतामे लेखे । धनुषचन्द्रले पनि पछि ध.च. गोतामे लेखे । ‘घामका पाइलाहरू’मा ध.च. गोतामे नै छ । मदन पुरस्कार लिँदा कमलमणिका पिता केदारमणिले सोधेछन्, ‘नाउँ किन छोट्याएको ?’धनुषचन्द्रको उत्तर यस्तो थियो, ‘मेरो भाइको नाम धु्रव हो । धनुष र धु्रवमा पाठकहरू ज्यादै छ्यासमिस हुन थाले त्यसकारण... तर यसबाट पनि समाधान भने २५ प्रतिशत मात्र भएको हुनुपर्छ । पाठकहरू ‘ध’ पछि चिप्लेटी खेलेर एकैचोटि थरमा गएर अडान लिन्छन् ।’

मेरो हिसाबले त दाजुले भनेजति पनि समस्याको समाधान भएको छैन । मैले देख्दा, यसको कारण ‘ध’ अक्षर वा गौतम मात्र होइन । धनुषचन्द्र राष्ट्रिय राजनीतिमा पनि चलेको नाउँ थियो । लेखकका रूपमा पनि मभन्दा धेरै लोकप्रिय नाउँ भयो । ‘घामका पाइलाहरू’ पछि त उनको लोकप्रियता झन् बढ्यो । त्यस्ता धनुषचन्द्रलाई मान्छे धु्रवचन्द्र ठान्छन् । धनुषचन्द्रलाई अलिक चिढ् हुनु स्वाभाविकै हो । यी सब कुरालाई लिएरै उनले ‘संज्ञा–सर्वनाम’ निबन्ध लेखे । त्यस संकलनको शीर्षक नै त्यही निबन्धमाथि राखे । पछि ध.च. गोतामे लेख्दा पनि सुख नपाएपछि झन् उनलाई के लाग्दो हो ? यो भ्रम अझै पनि चलेकै छ । मैले देखेको मुख्य कारण भने, बौद्धिक, साहित्यिक र राजनीतिक रूपमा फिँजिएको उनको चौतर्फी लोकप्रियता र परिचय हो । 

धनुषचन्द्रमा सिनेमा तथा कलाका अन्य विधाप्रति पनि त्यत्तिकै चाख थियो । एकपटक हामी केही दाइ–भाइ हलमा सिनेमा हेर्न गयौँ । फिल्म थियो ‘संगम,’ राजकपुरको । यो पनि भनिदिऊँ, हामी दाइ–भाइमा म मात्र एकजना दिलीप कुमारको फ्यान थिएँ, अरू सबै राजकपुरका । हामीमा बहस पनि हुन्थ्यो, कहिलेकाहीँ चर्कै पनि । पछि त्यसको व्यर्थताको बोध पनि हुन्थ्यो । ‘संगम’ हेर्दा नायिका वैजयन्ती माला राजकपुरको मृत्युको खबरपछि अर्का नायक राजेन्द्र कुमारसँग प्रेम गर्न थाल्छिन् । एकपटक दुवैजना हिँड्दा कुनै एउटा झारको काँडामा नायिकाको साडीको सप्को अल्झिन्छ, छुटाउन समय लाग्छ । मलाई लाग्छ, त्यसबखत हलको कुनै दर्शकले त्यति सूक्ष्म सोचेनन् होला । सप्को काँडामा अल्झेर नायिकाको गति टक्क अवरुद्ध हुन्छ, निमेषका लागि । धनुषचन्द्र तत्काल र सटीक टिप्पणी गर्छन्, ‘ऊ, राजकपुरको समायो ।’

उनी आफूलाई परम्परावादी लेखकै भन्न रुचाउँथे । तर, अज्ञेय, सर्वेश्वरदयाल, कामु, काफ्का, सात्र्र सबको पुस्तक उनको संकलनमा थिए । मेरा लागि उनको संकलन नै तेस्रो पुस्तकालय भयो । त्यही संकलनबाट झिकेर मैले, ‘द स्केप गोट’ नामक फ्रेन्च उपन्यास अंगे्रजीमा पढेको थिएँ, जुन मेरो पहिलो अंगे्रजी उपन्यासको पठन थियो । उनको कोठाको भित्तामा ज्याँ पाल सात्र्रको एउटा सिगार च्यापेको तस्बिर झुन्डिएको थियो । सात्र्रलाई पहिलोपटक तस्बिरमा देखेको त्यही हो । यी सबले मलाई हौसला र प्रेरणा दिन्थे । मैले साहित्यमा अत्याधुनिकताको पाठ त्यहीँ बस्दाबस्दै सिकेको हुँ । 

धनुषचन्द्रको चरित्रचित्रण र वर्णन–क्षमता मैले एकदम अलग देखेको छु । केही मानिस मसित सोध्छन्, ‘तपाईं ध.च. गोतामेसँग हेर्दा आफूलाई कहाँ पाउनुहुन्छ ?’ म भन्छु, ‘एकछेउमा पनि पुग्दिनँ ।’ यो सत्य हो । उनी एक चट्टानजस्तै अडिग र विशाल छन् । म उनकै बाटोमा हिँड्न असम्भव थियो । उनी त आफ्नो स्थानमा ‘जो हम से टकराएगा, चुरचुर हो जाएगा’ भन्ने किसिमले उभिएका थिए । त्यसैले म उनले छाडेको छेउको बाटो लागेँ । जहाँ पुगेँ, त्यसै बाटोबाट पुगेँ । धनुषचन्द्र एउटा ‘पर्फेक्सनिस्ट’ लेखक थिए । त्यति पर्फेक्सनको त म सोच्नै सक्दिनँ । तैपनि उनको कुनै गुण, थोरै पनि मेरो लेखनमा आए मलाई पुग्छ । 
उनी बहसका क्रममा भन्थे, ‘उपन्यास लेख्न अनुभव धेरै चाहिन्छ ।’

म भन्थेँ, ‘अनुभवको विस्तारभन्दा गहिराइ चाहिन्छ ।’ तर, मैले गहिराइ भन्दाभन्दै आफैँले खोजेको गहिराइ ल्याउन सकिनँ । ध.च. गोतामे आफ्ना दुइटै उपन्यासमा पर्फेक्ट देखिन्छन् ।  उनी आरामले लेख्नमा विश्वास राख्थे । भन्थे, ‘खरवा खाइत, पनिया पियइत हिँड्ने हुँ म त उपन्यासमा ।’ त्यसैगरी हिँडेका पनि छन् । त्यसकारण, उनका पात्र साना–ठूला सब जीवन्त छन् । कुनैलाई लिएर अलिक आन्तरिक आँखाले हेर्नुस्, तपाईंलाई लाग्छ– त्यो दृश्य, पात्रका हरकत सब नजिकै घटित भइरहेका छन् जस्तो । तराईको अनुभव तपाईंलाई छ भने, झन् सुनमा सुगन्ध । नभए पनि सुन त छँदै छ । 

धनुषचन्द्रको बिट, ‘वाग्वैदग्ध्य’ लामो हुन्छ । त्यसकारण बिट भन्छु, अद्भुत छ । बिट त लेखकमा हुन सक्छ, बिटको पनि सटीक प्रयोग उनको लेखन र कुराकानीमा पाइन्छ । यो कुरा उनीसित भेटेर आउने जो–कोहीले पनि अनुभव गरेको हुन्थ्यो, मैले आफूले भेटेका बिटी नेपाली साहित्यकारमा कवितामा भूपि र गद्यमा ध.च. भन्दा बढी बिटी देख्न पाएको छैन । 

नेपालीमा ध. च.भन्दा ठूला पनि छन् । उपन्यासकार पनि होलान् । तर, ‘कहते हैँ कि गालिबका अन्दाजे– बयाँ और ।’ हो, त्यस्तो ‘अन्दाजे बयाँ’ धनुषचन्द्रजस्तो अरूसँग म देख्दिनँ त्यति । कति व्याख्या गर्नु ? एउटै कुरा हेरौँ । भन्छन् नि, ‘उपमा कालीदासस्य’– तपाईं धनुषचन्द्रका कृति पढेपछि, ‘उपमा धनुषचन्द्रस्य’ पनि भन्न सक्नुहुन्छ, त्यति सटीक छन् । 

अब धेरै लेखेँ भने, ‘दाजुको भाइले प्रशंसा ग-यो’ भन्ने दोष लाग्न सक्छ । तर, यो पनि त बुझ्नुपर्छ– भाइ पनि त यसै विधामा हिँडिरहेको व्यक्ति हो, यति प्रशंसा त्यसै किन गर्छ ? पाए दोष देखाउँदो हो, सकेन । त्यसकारण, भएको गुण देखाएको हो । लामो होला भनेर कम देखायो अझ । एउटा अधुरोपन धनुषचन्द्रले आफैँ पनि अनुभव गरेका छन् । मलाई पनि लाग्छ । एक त उनले सिर्जनात्मक लेखन धेरै अन्तरालमा थाले, दोस्रो पारी । पहिलो पारी त ‘नीहारिका’ र ‘कहानीको प्लाट’ कथादेखि नै थालिएको हो, थामियो । एकदम थामिएको नभए पनि थामिएकै भन्नुपर्छ । त्यसमाथि दोस्रो पारीमा पनि उनले जुन सिद्धान्त लिए ‘खरवा खाइत पनिया पियइत’ बैलगडीको हिँडाइको, त्यसले पर्फेक्सन र सूक्ष्मता त ल्यायो । तर, हिँडाइ त फेरि अलिक ‘स्लो’ हुने नै भयो । 

उनले एउटा ‘अग्राखको पालुवा’ भन्ने उपन्यास अंश पनि ‘संज्ञा–सर्वनाम’ पुस्तकमा छपाएका छन् । उनको धोको थियो– त्यसलाई पूरा गर्ने । लेखे, त्यो पूरा प्रकाशित भयो भने नेपालीको पहिलो व्यंग्य–उपन्यास हुनेछ । हुन्थ्यो पनि, अब भएन । अझै त्यो ठाउँ खाली नै देखिन्छ । अर्को एउटा उपन्यास कर्मचारी जीवन र कर्मचारीतन्त्रबारे लेख्ने धोको थियो उनको । उनी वेला–वेलामा कुनै कर्मचारीलाई देखाएर भन्थे, ‘मैले त्यसलाई पनि चित्रित गर्ने विचार गरेको छु त्यसमा ।’ अरू पनि केही कर्मचारीका बानीबेहोरा, अफिसमा घटनाका रोचक औपन्यासिक वर्णन सुनाउँथे, आगामी उपन्यास भनेर । उनको मनमा त्यसको सम्पूर्ण खाका खिचिसकिएको थियो । लेख्न मात्र बाँकी थियो । लेखिएको भए मलाई लाग्छ, त्यो उनको मात्र होइन, नेपाली उपन्यासकै एक अर्को कोसेढुंगा हुन्थ्यो, अझ आधुनिकता समेटेको । मैले ‘फुत्केको माछो ठूलो’ भन्ने किसिमले आगामी, अब त ‘अनागामी’ उपन्यासको कुरा गरेको होइन । ती आएको भए ‘घामका पाइलाहरू’ र ‘यहाँदेखि त्यहाँसम्म’जत्तिकै ध.च. गोतामेको लेखकीय क्षमताका अन्य आयाम चिनाउने गरी बलिया हुन्थे भन्न खोजेको हुँ । तर, यस्तै होः

हजारोँ ख्वाहिसेँ ऐसी 
के हर ख्वाहिस पे दम निकले,
बहुत निकले मेरे अरमान
लेकिन फिर भी कम निकले ।

तैपनि, धनुषचन्द्रले जति लेखेर छाडेका छन्, ती नेपाली साहित्यका धरोहर हुन्, आउँदा जुनसुकै पुस्ताका लागि पनि प्रेरक हुनेछन् । आयु त उनले ७६ वर्षको मात्र पाए, तर उनका कृति त सधैँ रहनेछन् । जबसम्म कृति रहन्छन्, तबसम्म लेखक रहन्छ । अन्त्यमा मेरा सबभन्दा प्रतिभाशाली दाजुलाई धेरै वर्षपछि श्रद्धाञ्जली दिन चाहेँ, एकपटक फेरि । उनको अब अप्राप्य, अलभ्य पहिलो पाण्डुलिपि, ‘नीहारिका’को मलाई सम्झना भएको मात्र दुई पंक्ति यहाँ लेख्छु, उनको पहिलो तर सबभन्दा पछिको प्रकाशनका रूपमा, जुन आजसम्म पाठकलाई पनि अज्ञात थियो । ती दुई पंक्ति यी हुन् :
विभावरी बिखर गई 
नीहारिका निखर गई 
        – धनुषचन्द्र गौतम