• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
संगीत मगर काठमाडाैं
२०७६ असार २१ शनिबार ०८:२५:००
सम्झना

बचपन पनि वर्गीय हुँदोरहेछ

बालापन

२०७६ असार २१ शनिबार ०८:२५:००
संगीत मगर काठमाडाैं

कामैकामको चाप । हप्तामा एकदिन कसो बिराएर शनिबार आइदिन्छ र फुर्सद मिल्छ । फुर्सदको समयमा एक्लै हुनु झनै डरलाग्दो हुँदो रहेछ । नानाथरी कुरा मगजमा फनफनी घुम्छ र देखाउँछ तनावतिरको बाटो । ‘थैत् व्यस्तै हुनु नै आनन्द रहेछ !’ – कहिलेकाहीँ यस्तो पनि लाग्छ । रोल्पा छाडेर हिँडेको पनि धेरै वर्ष भइसकेछ । दाङबाट धरान आएको पनि वर्ष दिन पुगिसक्यो । एकवर्षे दिनमा सधैँ कक्षाका विद्यार्थीसँग व्यस्त । डुल्न, घुम्न त रहर लाग्ने, तर कहाँ जाने ? कोसँग जाने ? प्रश्न  उभिन्थ्यो, सामुन्ने ।

त्यो शनिबारको दिन थियो । एकजना साथी र उनैकी बहिनीसँग समय मिलायौँ र घुम्न जाने निधो ग-यौँ– इटहरीको चिल्ड्रेनपार्क (गोकर्ण रिसोर्ट) । उसो त म चिल्ड्रेनपार्कमा पहिलोपटक छिरिरहेकी थिएँ । थुप्रै स–साना नानीबाबु ! सबै आ–आफ्नै धुनमा ! कोही कता कुदेका छन् कोही कता ! एकछिन आनन्दले उनीहरूलाई नियालिरहेँ । यसरी हेरिदिएछु कि नानीबाबुको चञ्चलतामा आफ्नो बाल्यकाल केलाउन थालेँ । 

०००
जन्म रोल्पा । स्कुल पुग्न घन्टौँ हिँड्नुपर्ने गह्रौँ बाध्यता । स्कुलमा भर्ना भइसकेपछि पनि कापी–कलम पाउँला लेखुँला भन्ने त परको सपनाजस्तो । कापी–कलम पनि बाटो बिराएर मात्रै सपनामा आउँथ्यो । काठलाई ताछेर बनाइएको सानो फलेक हुन्थ्यो । त्यही फल्याकमा टाइगर ब्याट्रीको भित्री कालो, ठ्याकुलाको रस (एक प्रकारको झार) र कालो अँगार मिसाई रंग्याउँथ्यौँ । त्यही कापी हुन्थ्यो हाम्रो । गोङ (डाँडा)तिर पाइने खरीढुंगाले कलमको काम गथ्र्यो । त्यही कालोपाटी र खरीढुंगामा पहिलोपटक अक्षर लेखेकी थिएँ । अर्थात् रोल्पाको भूमिमा त्यसलाई ‘चेतना’ भन्न मिल्ला क्यार ! 

ऊनी, भांगो र पुवा (अल्लो)को धागोले बुनेको झोला हुन्थ्यो काँधमा जुन झोला आबै (आमा)ले बडो प्यारले हातैले बुनिदिनुभएको थियो । त्यही झोलामा मौसमअनुसार मकै, आलु, पिँडालु, आगोमा पोलेको डिँडोको डल्लो बोकी स्कुल लाग्थ्यौँ । डेढ दशकभन्दा बढी भइसकेछ । एकछिन गमेर हिसाब गरेँ । मेराअघि बच्चा खेलिरहेका थिए– अबोध, चञ्चल, प्रिय, मायालु । उनीहरूको बचपनाको रमाइलो देखेपछि लाग्यो– बचपन पनि वर्गीय हुँदो रहेछ ।

बचपन पनि वर्गीय हुँदो रहेछ । समय अन्तरालको बचपन, भूगोल अन्तरालको बचपन, वर्ग अन्तरालको बचपन या यस्तै–यस्तै । आजका सुगम ठाउँका बच्चा खेल्न चिल्ड्रेनपार्क छ, पढ्न मन्टेस्वरी छ । हातमा विज्ञान छ । तर, मेरो बाल्यकाल ? सम्झँदा पनि आङ जिरिंग हुन्छ ।

समय अन्तरालको बचपन, भूगोल अन्तरालको बचपन, वर्ग अन्तरालको बचपन या यस्तै–यस्तै । आजका सुगम ठाउँका बच्चा खेल्न चिल्ड्रेनपार्क छ, पढ्न मन्टेस्वरी छ । हातमा विज्ञान छ । प्रविधि छ । उनीहरू त्यस्तैमा हुर्किंदै छन् । माओवादी ‘जनयुद्ध’ले थिल्थिलो पारेको रोल्पा । ‘जनयुद्ध’मा ७२ जना सहिद भएको गाउँ पनि मेरै गाउँ हो– जेल्बाङ । चिल्ड्रेनपार्कमा खेलिरहेका केटाकेटी देखेपछि आफ्नै बाल्यकालतिर फर्किएँ ।

०००
म जन्मँदा देशमा ‘जनयुद्ध’ जन्मँदै थियो । हुर्कँदा चरम अवस्थामा । मेरो बाल्यकाल त्यही युद्धकै वरिपरि घुमेर बित्यो । म र मजस्तै त्यो समयमका अन्य बालबालिकाको हुर्काइले कति फरक पा-यो थाहा भएन । ‘तर, त्यो परिस्थितिले समयअगावै परिपक्व बनाएछ’– यही सोचेर बस्छु अहिले ।बिहानै भाले बास्नुअगावै आबैसँग उठेर पिठो पिस्नु वा जाँतो घुमाउनुपर्ने, नभए आँटो मस्काउनुपथ्र्यो । खाना तयार भइसकेपछि खर्क पुग्नु र एक खेप घाँस–दाउराको भारी बोकी ल्याउनु । त्यसपछि स्कुल कुद्नु । बालापन यसरी बित्यो । 

अरू भेगका बच्चा त्यस समयमा बयलघारी खेले होलान् या धेरै भए लुकिछिपी खेले होलान् । तर, त्यो भेगका हामी केटाकेटी माओवादी–पुलिस खेल्थ्यौँ । आँगनमा चलिरहेको वास्तविक युद्धको चित्रण हुन्थ्यो – हाम्रो खेलमा ।अरू भेग वा ठाउँका बच्चा त्यस समयमा भाँडाकुटी खेले होलान्, गुडिया बोकी हिँडे होलान् । तर, हामीले खेल्यौँ काठ वा चल (निगालो)ले बनाएको बन्दुक, पेस्तोल र बम । समयले त्यही सिकाएको थियो हामीलाई ।

अरू भेग वा ठाउँका बच्चा त्यस समयमा बाबा–आमाका हात समाएर हाट–बजार गए होलान् । मेला धाए होलान् । तर, हामीलाई मेलाको नाममा जनसांस्कृतिक कार्यक्रम थाहा थियो जुन वेला–वेला स्कुल र टोलमा देखाइन्थ्यो । कार्यक्रमपश्चात् घर फर्कँदै गर्दा दिमागमा झलझली आउँथ्यो–जनवादी गीत, कम्ब्याट ड्रेस, बन्दुक र गोल्डस्टार जुत्ता ।खेल भनेको माओवादी–पुलिस र रमाइलो गीत–संगीत भनेकै जनवादी गीत नै थियो हाम्रो सोचमा । अग्ला पहाडले घेरिएको गाउँझैँ हाम्रा सोच पनि बाहिर जान पाएका थिएनन् । खुम्चिएका थियौँ सानो गोलार्धमा । सपना पनि युद्धसहितको देख्थ्यौँ । कहिले कसको घर जलेको, कहिले को बेपत्ता भएको । 

०००
अति भो । सरकारी सेनाले घरमा व्यापक दुःख दिन थाले । धम्क्याउँदै हिँड्न थाले । निधो भयो– तराईं झर्ने । त्यस वेलाको सुरक्षित गन्तव्य थियो– नवलपरासीको शिवपुर वा दाङ–देउखुरी वा घोराही । हामी दाङ झ-यौँ । जब दाङ आएँ, पहिलोपटक थाहा पाएकी थिएँ – खेल्नलाई गुडिया हुँदो रहेछ । जमघट र रमाइलो गर्न चाडबाड हुँदा रहेछन् । हाट, मेला हुँदा रहेछन् । गाडी हुँदा रहेछन् । अग्ला–अग्ला घर हुँदा रहेछन् । 

दाङ आइसकेर आबैलाई सोधेको एउटा प्रश्न अझै मलाई याद छ – ‘आबै हाम्रो ठाउँमा किन चाडबाड थिएन ? किन हामीलाई गुडिया खेल्न दिइएन ?’ आमाले एकछिन गम्भीर भएर भन्नुभएथ्यो– ‘हाम्रो समयमा चाडबाड थियो । खेल्नलाई गुडिया पनि थियो । तर, तिमीहरूको पालामा ती सबै डरले जंगल पसे ।’ जंगल पस्नु डर र सुरक्षाको एउटा बिम्ब भइसकेको थियो । अँगेनोमा बसेर कुरामा कुरा जोडिँदै जाँदा आमा सुनाउनुहुन्थ्यो– ‘हाम्रा पालामा साथीसंगी मिलेर कपडाको पुतली बनाउँथ्यौँ । माघेसंक्रान्तिका दिन ठूलो मेला लाग्थ्यो गाउँमा सबै जम्मा हुन्थ्यौँ र पुतली जलाउँथ्यौँ । त्यो दिन गाउँका सबै केटी मिलेर खोलामै खाना पकाइवरी 
खाएर आउँथ्यौँ ।’ 

आबैलाई मैेले सोधेको थिएँ, ‘हाम्रो ठाउँमा किन चाडबाड थिएन ? किन हामीलाई गुडिया खेल्न दिइएन ?’ आमाले भन्नुभयो, ‘हाम्रो समयमा चाडबाड थियो । खेल्नलाई गुडिया पनि थियो । तर, तिमीहरूको पालामा ती सबै डरले जंगल पसे ।’

आमा सुनाउँदै जानुहुन्थ्यो, ‘गाउँले एक ठाउँमा जम्मा भएर धनुष–वाण कार्यक्रम गर्थे । असार १ गते देखि पाँच दिन गाउँमा भुम्हेः मेला लाग्थ्यो । मेलामा रोटेपिङ खेल्थ्यौँ । बुंगुर मासु र जुल्फी (जेरी) पेट दुखुन्जेल किलोमा खान्थ्यौँ ।’आगो निभिसक्थ्यो । दाउरा सकिइसक्थ्यो । तर, आमाको सिलुक (कथा) सकिएको अझै हुँदैनथे । फेरि भन्नुहुन्थ्यो– ‘नाची–नाची पुटपुटे झाथ्र्यौँ । (छोरा जन्मिएको घरमा गएर नाचेर दक्षिणा झार्ने परम्परा) घर–घर नाच्दा–नाच्दै सकिजान्थ्यो सिँगारु नाच ।’
धेरैपछिसम्म थाहा थिएन । मेरै बाबा राम्रो पैसेरु नाच्नुहुन्छ । आमा पनि त्यस्तै रहरले नाच्नुहुँदो रहेछ । बालापनमा थाहै भएन । पछि मात्रै थाहा भयो । ‘त्यसो भए चाडबाड र धनुष किन हानिएन त हाम्रो पालामा ?’ प्रश्न थपिन्थ्यो मेरो । 

आबै जवाफ दिनुहुन्थ्यो– ‘युद्धले गर्दा कि सबै विदेश गए कि माओवादी लडाकु भए । घरमा हामी लुडरखुडर मात्रै भयौँ । संकटकाल थियो । एकै ठाउँमा धेरै मान्छे जम्मा हुनै पाइँदैनथ्यो । यस्तो बेला कसरी मनाउने चाडबाड ? कसरी गर्ने रमाइलो ?’ म एकछिन सोचमग्न हुन्छु । के आमा सही भन्दै हुनुहुन्छ ? के माओवादी सरकारबीचको द्वन्द्वकै कारण हामीले सुन्दर बालापन गुमाएकै हौँ ? आफ्नै परम्परा, धर्म संस्कृतिसँग भिज्न नपाएकै हौँ ? हो त रहेछ । हामीभन्दा माथिल्लो पुस्ता सबै माओवादीका विद्यार्थी संगठनमा हिँड्थे । उनीहरूको चाडबाडमा हामीसँग हिमचिम हुने कुरै भएन । अघिल्लो पुस्तासँग संगत नभएपछि कसरी थाहा होस् त हामीलाई हाम्रो संस्कार र संस्कृतिबारे ?

सायद १० वर्षे जनयुद्धले परम्परा, संस्कृति र संस्कारबारे जान्न अघिल्लो पुस्ता र हामीबीच ठूलै खाडल बनाइदिएर गयो । त्यसको चपेटामा हामी प¥यौँ । मेरो भाइलाई झन् यसबारे केही जानकारी छैन । अचेल ऊ हाम्रा र अरूका सिलुक सुनेर बस्छ । अलि उमेर पुगेका र स्वस्थ माओवादीमा लाग्नै पथ्र्यो । म अलि सानै थिएँ । त्यसमाथि अस्वस्थता मेरो बालापनको चिनारी नै थियो । तर, मेरी ठूली नाना (दिदी) शर्मिलालाई चाहिँ उनीहरूले विद्यार्थी अभियानमा लगे । 
नाना तीन महिनापछि थवाङबाट भागेर घर फर्किनुभयो । यदि मलाई पनि लगेका भए म पनि जाने थिएँ होला– त्यो वेलाको चेतनामा माओवादी हुनु ठूलो हुनु हो भन्ने हाम्रो छाप थियो ।

०००
युद्ध अवधिले रोल्पाको संस्कृतिको पुस्तान्तरणमा ‘ग्याप’ गरिदियो । युद्धपछि सबैभन्दा बढी रोल्पाली नै बिदेसिए होलान् । एक घर, एक परदेशीजस्तो अदृश्य अभियानजस्तै आइसकेको छ । खरीपाटी हराएर कापी–कलम आयो । पुरानो भीरपहिरोको बाटो हटेर नयाँ मोटरेबल बाटो पुग्यो । तर, गाउँका केटाकेटी अझै त्यहीँ छन्– मेलापातमा । अझै उस्तै त छन् गाउँका घरहरू । फेरिएको त एउटा कुरा न हो– उहिले गाउँ माओवादीमा गएका आफन्त पर्खिबस्थ्यो । अहिले बिदेसिएका सन्तान पर्खिबस्छ ।