• वि.सं २०७६ असार ३१ मंगलबार
  • Tuesday, 16 July, 2019

वास: पस: नोस्टाल्जिया

सहर स्मृति

२०७६ असार २१ शनिबार ०८:३४:०० | काठमाडाैं

आफ्नै गतिमा निरन्तर बगिरहेको समयले एउटा मानिस र एउटा सहरको जीवनमाथि पार्ने प्रभाव, अलग–अलग र लगभग विपरीत किसिमका हुने रहेछन् ।समयका पत्रहरू खोल्दै जाने क्रममा थाहै नहुने गरी उमेर छिप्पिँदै गएपछि मानिस भित्र–बाहिर, दुवै रूपमा थोत्रिँदै जाँदो रहेछ भने सहरचाहिँ समयले उपहारमा दिने नयाँ–नयाँ कलेवरमा सजिएर झन्–झन् आकर्षकजस्तो देखिँदो रहेछ । 

सहरको एकदमै आकर्षकजस्तो देखिने त्यो रूप साँच्चिकै सुन्दर र आकर्षक हो कि देख्नेको आँखामा फैलिएको एउटा विभ्रम मात्र हो भन्ने कुरोको निक्र्योल गर्नचाहिँ त्यति सजिलो हुँदो रहेनछ । सबै चम्किला वस्तु मूल्यवान् धातु नहुन पनि सक्छन् भने, बहुमूल्य धातु सुनचाहिँ जहिले पनि चम्किलै देखिन्छ । यो खास दृष्टिकोणबाट हेर्दा एउटा समयक्रममा कुनै सहरको रूपाकारमा आएको परिवर्तनलाई असल वा कमसल भनेर छुट्याउन निकै मुस्किल हुँदो रहेछ भन्ने निचोडमा पुग्नुपर्ने हुन्छ ।

हुन सक्छ, कुनै पनि व्यक्तिमाथि समयले पारेको प्रभावलाई पनि यसै गरी हेर्न सकिन्छ । समयले आफ्नो लपेटामा लिएर थोत्रो पारेको म आफू घुम्दैफिर्दै फेरि आइपुगेको छु, काठमाडाैंमा । त्यही समयले ओढाइदिएको आधुनिकताको चमकदार दोसल्लामा सजिएर मेरा आँखालाई तिरिमिरी पारिरहेको फेसनदार काठमाडाैं छ मेरो सामुन्नेमा । यसलाई र आफूलाई सँग–सँगै राखेर हेर्दा म विचित्र असमन्जसको स्थितिमा पुग्छु । मेरो हृदयमा अलमलको बाक्लो तुवाँलो फैलिन्छ ।

एसिया महाद्वीपकै पुरानोमध्येको एक, सामाजिक रीतिथिति, स्थापत्य, खानपान, रहनसहन, भाषा अनि भेषजस्ता सांस्कृतिक बिरासतका दृष्टिले स्वस्थ र सम्पन्न यो सहरले आफूलाई पूरै फेरेको देख्दै छु । तर, यसमा आएको विशद भौतिक परिवर्तनले यसको आत्मालाई कुन बाटोतिर डोर्‍याएको छ, भन्न सक्दिनँ । मानिस–मानिसका बीच पारस्परिक पे्रम र सद्भावको जगमा उभिएको यस सहरको मानवीयतामा आधारित युगौँदेखि चलिआएको सभ्य परम्परालाई त कुण्ठित पारेको छैन, यसको भौतिक स्वरूपमा आएको परिवर्तनले ? यस प्रश्नको कुनै जवाफ मसँग नभएर म ठूलो अन्योलमा पर्छु ।

काठमाडाैंमा आएको बाह्यान्तरिक, दुवै प्रकारको यो परिवर्तनमा मानवीय संवेदनालाई ठाउँ छ कि छैन, त्यो पनि थाहा पाउन सक्दिनँ । यसै माया नगरीलाई आफ्नो र आफ्ना आश्रितहरूको अस्तित्व रक्षाको एकमात्र आधार मानेर जीवनको कठिन संघर्षमा हेलिएका फरक–फरक रूपाकार, रङ र व्युत्पत्ति भेद भएका ती लाखौँ मानिसका हकमा काठमाडौंले अंगीकार गरेको परिवर्तन सकारात्मक छ कि अन्यथा पो छ, यसलाई खुट्याउन नसकेर पनि म बिलखबन्दमा पर्छु । 

कुनै वेला यसको सांस्कृतिक धमनीमा बग्ने रगतको एक अभिन्न अंश थिएँ म । आफूलाई यस नागर सभ्यताको अविभाज्य अंश बनाउन मैले यसका ती तमाम चरित्रलाई आत्मसात् गरेको थिएँ, त्यसमध्ये कतिपय मेरो पारिवारिक संस्कारका दृष्टिले वर्जित मानिन्थे । बडो उत्कण्ठा र खुला हृदयले यस सहरको आत्मासँग एकाकार भएको मलाई यो सहरले आफ्नो एक अंशका रूपमा स्वीकार गर्छ कि अन्कनाउँछ, त्यसो गर्न त्यो पनि म भन्न सक्दिनँ । सक्कली पछौटेपन र गरिबीबाट आक्रान्त छ यो सहर, तर नक्कली अग्रगामिता र सम्पन्नताको मखुन्डो लगाएर आफैँलाई ढाँट्ने असफल प्रयास गरिरहेको छ यो । यस्तो हीनग्रन्थीबाट ग्रसित यो सहर काठमाडाैं, कान्तिपुर अथवा मलाई उति वेला गरेको जस्तै प्रेमका साथ अँगालोमा बाँध्छ कि जबर्जस्ती नजिक हुन खोजेको कुनै अवाञ्छित परचक्रीजस्तो ठानेर तिरस्कार गर्छ, त्यो पनि मलाई थाहा छैन । 

पछिल्लो समयमा यस देशको समग्र राजनीतिनिकटको होस् वा टाढाको, सरहदपारिबाट नियन्त्रित हुन थालेको छ । घुमाउरो बाटोबाट नेपालीलाई मानसिक दास बनाउने गर्हित अभीष्ट पूरा गर्नका लागि विदेशी मालिक र तिनका नेपाली गुमस्ताहरूले यस देशका नागरिकको दिल र दिमागमा स्थानीयता, जातीयता र वर्गीयताको विखण्डनवादी विषाक्त भावना फैलाइदिएका छन् ।

धनका बलमा देशका चारै कुनामा रहेका नेपाली–नेपालीबीच व्यापक रूपमा फैलाइएको पारस्पारिक द्वैष र कलहको विषालु धुवाँको प्रभावबाट हरप्रकारका मुखुन्डोधारीका आश्रयस्थल बनेको राजधानी काठमाडाैं अछुतो रहन त कसरी सक्यो होला र ? तर, पनि देशको राजधानी भएकाले काठमाडाैंलाई आफ्नो छवि जसरी पनि सफा राख्नुपरेको छ । यसलाई जातजाति र सम्प्रदायनिरपेक्षजस्तो पनि देखिनु परेको छ । यसकारण हुन सक्छ, देशको यो राजधानीले किशोर वयका उत्कृष्ट दिन यहीँ बिताएको मात्र होइन, यसको मौलिक जीवन पद्धतिको अप्रतिम अनुयायीका रूपमा यसै समाजमा पूर्णतः संघुलित भएको म हरि अधिकारीलाई तिरस्कार भने गरिहाल्दैन कि भन्ने आशा भने गर्न सकिन्छ ।

म विक्रमको ०२४ सालमा उच्च शिक्षा आर्जन गर्ने लक्ष्य लिएर यो असंख्य मन्दिर, चैत्य, विहार, चोक, ढुंगेधारा, गल्ली र गल्छेडाहरू भएको देशको राजधानी सहरमा अनिश्चित समयसम्म बस्ने गरी आएको थिएँ । मलाई राम्रोसँग सम्झना छ, त्यतिवेलासम्म काठमाडौंले आफ्नो पखेँटा त्यति धेरै फैलाएको थिएन । हालका बीस–तीस वर्षमा विकसित भएका निकट काँठका ठुल्ठूला बस्तीको नामोनिशान थिएन त्यतिवेलासम्म । यसको पूर्वको सिमाना मुस्किलले धोबीखोलासम्म तन्किएको थियो भने पश्चिममा त्यो अझ नजिक विष्णुमतीमै गएर खुम्चिन्थ्यो । उत्तरतिर सहरको फैलावट भारतीय दूतावासको विस्तारित क्याम्पा र छेउको टोल लाजिम्पाटसम्म मात्र थियो । दक्षिणतर्फ पनि सहरले धेरै परसम्म पसारिन पाएको थिएन । त्यस दिशामा काठमाडाैं र पाटनको प्राकृतिक सिमानाका रूपमा बागमती नदी जो बगेकी छिन् । 

राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाएको र हालसम्म पनि केन्द्रीय सचिवालय रहेको सिंहदरबार, बागदरबार र बहादुर भवन, चेत भवन, शाहवंशीय राजाहरूको निवास नारायणहिटी दरबार र त्रिचन्द्र कलेज परिसर आदि केही ठूला भवनलाई गन्तीमा नलिने हो भने त्यतिवेलासम्म काठमाडाैंमा अधिकांश घर पुरानो शैलीका साना र होचा नै थिए । अंग्रेजी अक्षर टी आकारको नयाँ सडकको आधुनिक भाग र जमलदेखि केशरमहलसम्मको सोतोले ओगटेको हाल कान्तिपथ भनिने ठाउँलाई भने त्यतिवेलाको राजधानी सहर काठमाडाैंको अत्याधुनिक भाग भन्न सकिन्थ्यो ।

ती दुई ठाउँलाई बिर्सिदिने हो भने राजा गुणकामदेवले पहिलोपल्ट बसाएको भनिएको यो प्राचीन बस्तीलाई सुन्दर र सुविधासम्पन्न ‘नगर’ भन्न गार्‍हो थियो । लिच्छवी र सिमरौनगढीपछि उपत्यकाको शासन सम्हालेका मल्ल राजाहरूका पालामा प्रचलित स्थापत्यअनुसार बनाइएका थिए सहरका प्रायजसो घरहरू । तीमध्ये पनि कतिपयमा भत्किन लागेकाले टेको लगाइएको थियो । प्यागोडा शैलीका मनमोहक मन्दिर, ठाउँ–ठाउँमा बनाइएका सेता स्तुप र चैत्य, चिसा गल्ली, तान्त्रिक विधिबाट निर्माण गरिएका विहारहरू र ढल निकासको व्यवस्था नभएका फोहोर चोकहरूको अति यथार्थवादी कोलाजजस्तो देखिन्थ्यो, यो सहर त्यतिवेला ।

काभ्रेपलान्चोक जिल्लाको बिहावर कुशादेवी भनिने राजधानीबाट धेरै टाढाको नभए पनि शिक्षा प्रसारका दृष्टिले पिछडिएको एउटा गाउँबाट कलेज पढ्न आएको १५ वर्षको ठिटो थिएँ म विक्रमको ०२४ सालमा । सञ्जीवनी हाई स्कुल धुलिखेलबाट एसएलसी पास गरेर देशको सबैभन्दा प्रतिष्ठित महाविद्यालय त्रिचन्द्र कलेजमा भर्ना भएपछि मैले एकै झमटमा मानौँ एउटा महाद्वीपबाट अर्को महाद्वीपको यात्रा पूरा गरेको थिएँ । मेरोअगाडि एउटा नितान्त नयाँ र मलाई चमत्कृत पारेर छोडिदिने परिवेशले घुम्टो खोलेको थियो ।

साथी ध्रुव सापकोटा र मैले पहिलो डेरा लिएका थियौँ, सहरको मुटु असन बालकुमारीमा । घरभेटी थिए त्यतिवेला भरखरै प्रचलनमा आएको काठमाडाैं भक्तपुर रूटमा चल्ने एउटा मिनिबस कम्पनीका मालिक । सायद उनी गाडी आफैँ चलाउँथे । रोबिलो व्यक्तित्व थियो उनको । तर, उनी धेरैजसो चिन्तित मुद्रामा देखिन्थे । केही दिनमै उनको चिरन्तन चिन्ताका कारण थाहा भयो । उनका किशोरवयतिर हिँडिरहेका पाँचवटी बहिनी छोरी रहेछन् । छोरीलाई कसरी मिल्दोजुल्दो घरमा बिहे गरेर पठाउने होला भन्ने चिन्ताले उनी दिनप्रतिदिन मलिन हुँदै गएका रहेछन् । 

काठमाडाैं आएर कलेज पढ्न थालेदेखि मेरो अगाडि सबै नै नौला कुरा आएका थिए । बस्ने ठाउँ नयाँ, पढ्ने विद्यालय नयाँ, बाटाघाटा नयाँ, कौतुकक्रिडा नयाँ, चाक्षुष आनन्दका उपकरण नयाँ, साथी संगाती नयाँ, कुराकानीको विषय नयाँ, रहन–सहन नयाँ, यहाँसम्म कि कतिपय खानेकुरासमेत त्यसभन्दा पहिले कहिल्यै नचाखेका, ती सब देखेर म त चकित भएको थिएँ । आफ्नोअगाडि शरद ऋतुको नीलाभ आकाशझैँ छर्लंग भएका ती मेरा दृष्टिमा अद्भूत र नवीन कुराबाट म हुरुक्क मात्र भइनँ, म ती सम्पूर्ण नयाँ कुरालाई चाँडोभन्दा चाँडो ग्रहण गर्न हतारिएँ पनि ।

विनाउद्देश्य धेरैपटक काठमाडाैंका सडक र गल्ली वारपार गरेँ । उपत्यकाका हलमा लागेका प्रत्येक सिनेमा रिट्ठो नबिराई हेर्ने भएँ । आफूभित्र जन्मेर हुर्किएको भयंकर जिज्ञासु प्राणीले हुट्हुटी लगाएर हुनुपर्छ, हिन्दी सिनेमाका नायक–नायिकाका बारेमा मात्र होइन, निर्माता, निर्देशक, संगीतकार, गायक, गीतकारदेखि ससाना भूमिकामा देखिने कनिष्ठ कलाकारको समेत व्यक्तिगत विवरणका बारेमा जान्ने भएँ । गुगलको व्युत्पत्ति भइनसकेका वेलामा यस्ता जानकारीको संकलन गर्न सजिलो भने थिएन, । तर भन्छन् नि, लगन र अध्यावसाय भएपछि कुनै पनि काम गा¥हो हुँदैन । मेरो मामिलामा पनि भयो त्यस्तै ।

नियतिको खेल नै हुनुपर्छ, म जुन कलेजमा भर्ना भएको थिएँ, त्यहाँ नेपाली र संस्कृत विभागमा जतिजना शिक्षकहरू थिए तीमध्ये प्रायः सबै नै साहित्यमा धेरथोर योगदान गरेका थिए । ताराप्रसाद जोशी, हरिश्चन्द्र न्यौपाने, रोहिणीराज भट्टराई, रामराज पन्त, मोहन हिमांशु थापा, वासुदेव त्रिपाठी, तारादत्त बराल, ध्रुवचन्द्र गौतम आदि एकसेएक नामुद शिक्षकको सान्निध्य पाएँ मैले त्यहाँ पढ्दा । त्यहाँको साहित्यिक वातावरणको प्रभावले नै हुनुपर्छ मभित्र अहिले पनि त्यत्तिकै सक्रिय र जिज्ञासु रहेको साहित्यको निष्ठावान् विद्यार्थीले आकार ग्रहण गरेको ।

मेरो पहिलो कविता त्रिचन्द्र कलेजको वार्षिक प्रकाशन ‘ज्योत्स्ना’मा छापिएको हो ०२५ सालमा । मेरा गुरु ध्रुवचन्द्र गौतमले गोरखापत्रमा मेरा रचना छापिदिन गोपका लेख रचना सम्पादक नारायणबहादुर सिंहका सहायक प्रसिद्ध रम्यरचनाकार भैरव अर्याललाई सिफारिस गरिदिनुभएको हो । मेरो साहित्यिक लेखनको प्रारम्भिककालमा ‘रूपरेखा’ पत्रिकाका उत्तम कुँवर र बालमुकुन्ददेव पाण्डेले मलाई लगातार छापेर प्रोत्साहन गरेका हुन् । गोरखापत्र संस्थानको साहित्यिक प्रकाशन ‘मधुपर्क’का सम्पादक नारायणबहादुर सिंहले मलाई छापेर, मेरा रचनाका बारेमा समीक्षात्मक टिप्पणी गरेर सदैव स्नेहको आँचलले छहारी दिएर मलाई कृतकृत्य बनाएका थिए । 

असनको ठूलो, मझौला र सानो गोपालकहाँ पाइने खानेकुरा र रक्सीमा के फरक र के समानता छ ? पाटन मंगलबजारको पीरो आलु र बारा पाइने होनेचाको पसल र तल बंगलामुखीनेरको कोनेचाको त्यस्तै पसलमा पाइने आलुमा कुनचाहिँको बढी पीरो ? किलागलको विख्यात कडा रक्सी पाइने पसलको गुर्जु कुन साल बिते ?

यशस्वी कवि वासु शशीबाट पाएको स्नेह पनि मेरो यस जुनीको अमूल्य सम्पदा बनेको छ । उनले हामीहरूलाई निराश बनाएर यो लोक छाडेको २७ वर्ष हुन लागे पनि मेरो हृदयले उनलाई एउटा न एउटा प्रसंग पारेर बारम्बार सम्झिरहन्छ । त्यस्तो विशाल व्यक्तित्व थियो उनको । रक्सी खानमा नाम कमाएका शशीले ढकिचा भन्ने उनको सप्लायर कहाँबाट आउने कडा न कडा रक्सी खुवाएर मेरो फुरो चलाएका भने होइनन् । काठमाडाैंको स्थानीय नेवा खाजाघर तथा वासः पसःको रसमय दुनियाँमा मेरो प्रविष्टि दिलाउनमा परोक्ष रूपमा शशीको हात भने अवश्य पनि छ । साथीभाइहरूका बीचमा आदरका साथ जयवागेश्वरीको बादशाह भनेर सम्बोधन गरिने शशीको माध्यमबाट अग्रज कथाकार परशु प्रधानसँग भेट भएपछि मेरो खाँटी काठमाडाैंवासी जाँड खाने ब्राह्मण (ऐला तोनिम्ह बर्मु)का रूपमा पुनर्जन्म भएकाले यस पुण्यकर्मको थोरै श्रेय ती स्नेही अग्रजलाई पनि दिन उचित ठानेको हुँ ।

तत्कालीन युवक संगठनको केन्द्रीय समितिले युवराज वीरेन्द्रको जन्मदिन पुस १४ गते विभिन्न कार्यक्रमको आयोजना गरेर राष्ट्रिय युवा महोत्सवका रूपमा मनाउने गथ्र्याे ती दिनमा । विक्रमको ०२६ सालको युवा महोत्सवमा गरिने कार्यक्रममा राष्ट्रिय कथा प्रतियोगिता पनि राखिएको रहेछ, जसमा भाग लिन इच्छुक साहित्यकारसँग कथा पठाउन अनुरोध गरेर ‘गोरखापत्र’मा सूचना जारी गरिएको थियो ।

मैले लहड–लहडमै आफूले केही दिनअघि लेखेको ‘स्थितिहरूका बीच’ शीर्षकको कथा राम्रा अक्षरमा साफी गरेर युवक संगठनको कार्यालय महेन्द्र युवालय जावलाखेलमा पठाइदिएको थिएँ । मेरो त्यो कथा नै अब्बल भएर हो कि के भएर हो त्यसले राष्ट्रिय कथा प्रतियोगिताको प्रथम पुरस्कार जित्यो । पुरस्कारको राशि चार सय थियोजस्तो लाग्छ । ती दिनमा म परशु प्रधानको सम्पर्कमा थिएँ । हाम्रो बसाइ पनि नजिक नजिक नै थियो चिकँमुगको नेराघेरामा । मैले कथा पुरस्कार पाएको सुनेपछि परशुले मसँग भने, ‘हरिजी पुरस्कारको पैसा एक्लै चलाउनु हुँदैन । एउटा ससानो पार्टी गरौँ न हुन्न ।’‘हुन्छ नि दाइ, तर कहाँ गर्ने ?’ त्यसअघि त्यस्तो कुनै जमघटमा कहिल्यै नपरेको मैले सोधेँ । 

‘त्यो सब म मिलाउँछु । तपाइँ मलाई डेढ सय रुपैयाँ दिनुहोस् ।’ त्यो डेढ सय रुपैयाँले रामै्र पार्टीको व्यवस्था भएको कुरो सम्झिन्छु । परशु प्रधानको एउटा गुट थियो साथीहरूको । नीरविक्रम प्यासी, दौलतविक्रम विष्ट, रमेश श्रेष्ठ, वासु रिमाल यात्रीहरू त्यस जमघटमा आएका थिए सायद । शैलेन्द्र साकार, ध्रुव सापकोटा र म स्वयं त घरकै मानिस, पार्टीमा हुने नै भयौँ । हो, त्यसै दिन परशु प्रधानले धेरै कर गरेर काठमाडौंको खाँटी वासः अथवा स्थानीय रक्सी अलिकति खुवाइदिएका थिए मलाई । त्यो दिनबाट फुरो चलेको म एक डेढ वर्षमै शहरका हरेक गल्ली गल्छेडामा रहेका वासः पसः हरूका बारेमा ज्ञाता भएर निस्किएँ । काठमाडौंका भट्टीका विषयमा पोख्त भएँ ।

असनको ठूलो, मझौला र सानो गोपालकहाँ पाइने खानेकुरा र रक्सीमा के फरक र के समानता छ ? वसन्तपुर शान्त दाइचाले पकाएजस्तो स्वादिलो बोकाको टाउको अन्यत्र कहाँ पाइन्छ ? पाटन मंलबजारको पीरो आलु र बारा पाइने होनेचाको पसल र तल बगलामुखीनेरको कोनेचाको त्यस्तै पसलमा पाइने आलुमा कुनचाहिँको बढी पिरो ? किलागलको विख्यात कडा रक्सी पाइने पसलको गुर्जु कुन साल बिते ? भक्तपुर ब्यासी टोलमा थाल्थले जोखेर बेच्ने पसल अझै चल्दै छ कि बन्द भइसक्यो ? बागबजारका रामभाइ तण्डुकारले अझै पनि पेगको हिसाब सिक्स्टीफाइभ र थर्टीफाइभमै गर्छन् कि फेरे ? यी र यस्ता अनगिन्ती कुराको स्मृतिलाई मनको सन्दुकमा जतनका साथ सजाएर राखेको छु मैले अहिले पनि । 

साथै काठमाडौंमा बसेका वेलामा सँगै मदिरापान गरेका र अहिले हाम्रामाझ नरहेका नारायण गोपाल, तुलसीनाथ ढुंगेल, विश्वनाथ विमल, उज्ज्वलकुन्दन ज्यापू, रुद्रप्रसाद शर्मा, मुरारीप्रसाद गौतम, प्रकाश प्रेमी, अन्जीर प्रधान पीडित, कृष्णबहादुर बस्नेतजस्ता साथीहरूको पनि सम्झना गर्दछु । काठमाडाैंका रक्सी पसलको सर्वोत्कृष्ट विशेषता के छ भने यिनीहरू पुरापुर समाजवादी छन् । त्यहाँ सम्पत्ति, जातपात, वर्ग र धर्मका आधारमा कुनै विभेद हुँदैन । साथै ती खाजाघरमा स्वस्थकर वातावरणमा बनाउने हो भने, संसारको कुनै पनि कुनामा पाइने राम्रोभन्दा राम्रो खानेकुरालाई टक्कर दिन सक्ने डिस बन्न सक्छ ।

 

 

प्रतिकृया दिनुहोस