• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
डा. राजुबाबु श्रेष्ठ काठमाडाैं
२०७६ असार २१ शनिबार ०८:४९:००
सम्झना

बुढो भइएन जुँगेदाइ ?

संघर्ष

२०७६ असार २१ शनिबार ०८:४९:००
डा. राजुबाबु श्रेष्ठ काठमाडाैं

जुँगेदाइ ७१ वर्षमा पनि २० वर्षे युवाझैँ खटटट चलाउँछन् कल । बिहानै घरबाट गोरखा बजार झरेर दिनभर लुगा सिलाई साँझ फेरि उकालो लाग्ने उनको दैनिकी विगत ४० वर्षदेखि उस्तै छ । हाम्रा बा पुस्ताका लागि उनी जुँगे दमाईं  अर्थात् हिराबहादुर परियार हुन् । तर, हामी युवापुस्ताका लागि सबैका प्यारा जुँगेदाइ ।
‘अब त बुढो भइएन र जुँगेदाइ ?’    जवाफ आउँछ, ‘अझै त सियोमा आफैँ धागो उन्छु बाबु ।’

जवाफमा बुढ्यौली देखिँदैन । उमेरले डाँडो काटेपछि अनुहारमा कोरिने नक्सा भने प्रस्टै देखिन्छ ।गोरखा बजारमा उनीभन्दा ठूला र लामा जुँगा हुनेहरू पनि टन्नै थिए । तर, जुँगेको उपनाम भने उनले पाए । यस्तो कुरो कोट्याउँदा उनी आफ्नो जुँगाको तारिफमा राम्रैसँग गफिन्छन् । कालो बाक्लो मुठारिएका जुँगा जुँगेदाइको परिचय बन्यो । किन जुँगा पालेको त ? हाँस्दै भन्छन्, ‘त्यतिवेलाको समाजमा जुँगाको सान नै बेग्लै नि बाबु । जुँगा त मर्दको निसानी थियो । जुँगा नपाल्ने लोग्नेमान्छे कमै हुन्थे । जुँगामा ताउ लगाएर बोल्दाको कुरै अर्कै नि ।’ वास्तवमा जुँगेदाइको भनाइमा त्यसवेलाको समाजको जुँगाप्रति रहेको दृष्टिकोण प्रस्ट झल्कन्थ्यो ।

बिसे नगर्चीका सन्तान जुँगेदाइ गोरखा बजारमा कहलिएका सिलाइ मास्टर हुन् । चार दशकअघि गोरखामा आउने ठूला हाकिमहरू सिडिओ, मेजर, इन्स्पेक्टर उनले सिलाएको कोट लगाउँथे । ३२–३३ सालतिर काफ्ले थरका सिडिओले उनको सिलाइ मन परेर पाँच रुपैयाँ इनाम दिएको घटना सम्झेर अझै पनि गर्वित हुन्छन् । पचास वर्ष अनवरत संघर्ष गर्दा पनि अझै सकिएको छैन उनको जीवन संघर्ष ।

दुई छोरा र एक छोरीका पिता उनलाई छोराछोरीको कमाइ खाएर आनन्दले बुढेसकाल बिताउँला भन्ने भरोसा रहेनछ । छोरामा पुरापुर भरपर्ने अवस्था नभएकाले कताकता बुढ्यौलीको दिन अँध्यारो पो हुन्छ कि भनी वेलावेला सुर्ताउँछन् । आफूलाई सधैँ हट्टाकट्टा र जवान देख्ने जुँगेदाइ नौ वर्षअघि श्रीमती बितेपछि एक्लो र कमजोर महसुस गर्दा रहेछन् । भन्छन्,  ‘जीवनमा सुख–दुःख साट्ने भनेको त श्रीमती नै पो रहिछ ।’ आफूले आमा र श्रीमतीबाट जस्तो माया कसैबाट पनि नपाएको दुखेसो पोख्छन् ।

वास्तवमा जुँगेदाइसँग हामी युवाको सामीप्य हुनुपछाडि उनको कलामोह र संगीतमोह नै हो । गोरखा बजारमा कुनै मेलापर्वमा लाखे नाच्नुप¥यो, चाहिने उनै जुँगेदाइ । कसैको कुलपूजा या गुठीपूजा पर्‍र्यो, अघिअघि मुरली बजाउँदै जाने उनै जुँगेदाइ । कतै बिहेबारीमा बाजा बजाउनुपर्‍र्यो, चाहिन्छ उनै जुँगेदाइ । गोरखा जिल्लामा पहिलोपटक ब्यान्डबाजा भित्र्याउने श्रेय पनि उनैलाई जान्छ । उनकै नेतृत्वमा २०३२ सालमा पहिलोपटक ब्यान्डबाजा संयोगले मेरै ठूलो बुबाको छोरा जनकलाल श्रेष्ठको बिहेमा बजेको थियो । ब्यान्डबाजाका नाइके उनी बिचमा बसेर कलानेट बजाउँथे । त्यो बाजा बजाउन आर्मीको भैरवनाथ गणमा गएर सिकेका रहेछन् उनले ।

गोरखामा मोटर आइसकेको थिएन । सदरमुकामबाट दुई–तीन घन्टा हिँडेर खोप्लाङमा जन्ती पुग्नुपर्ने थियो । टाढाको बाटोमा दुलाहालाई बोकिरहन पनि नसक्ने र ताम्दान खाली लैजान पनि नमिल्ने हुँदा दुलाहाको कान्छा भाइका नाताले सात वर्षकै उमेरमा ताम्दानमा चढेर खोप्लाङसम्म पुग्ने सौभाग्य मिलेको थियो मलाई । आफूसरहका साथी जन्ती बनेर पैदल हिँडिरहेको वेला आफू भने ब्यान्डबाजा बजाउनेहरूको फौजसँगै ताम्दानमा चढेर जाँदाको मजा नै अर्कै । ती दिनको झिनो सम्झना अझै पनि आइरहन्छ ।

यतिखेर जुँगेदाइको ओठमाथि जुँगा छैन, तर पनि सबै उनलाई जुँगेदाइ भन्छन् । ‘जुँगा किन नपालेको त ?’ उनी भन्छन्, ‘उवेला पो जुँगाको महŒव हुन्थ्यो । जुँगा पाल्नेको इज्जत नै बेग्लै । आजकल त्यस्तो समय पनि छैन । फेरि जुँगा फुलेर सेतै छन् । बुढ्यौलीमा आफ्नै स्याहार गर्न गाह्रो छ । कसले जुँगाको स्याहार गरिरहोस् ! जुँगाको स्याहार गर्न नसक्नेले के जुँगा पाल्नु ?’ 

हुन त जुँगाले नै उसलाई छुट्टै परिचय दिएको थियो । कति राम्रा अवसर पनि पाएका छन् जुँगाकै कारण । १७ वर्षकै उमेरमा २०२२ सालमा इन्डिया पसेका जुँगेदाइ ६ वर्ष सिलिगुढीमा सिलाइ सिकेर नेपाल फर्केका थिए । नेपाल फर्कंदा जुँगा पालेर फर्केका उनको जुँगा देखेरै एकजना क्षेत्री थरका प्रहरीका असईले आफ्नोजस्तै जुँगा भएकाले मुखैले मीत लगाएर नाम नै जुँगे राखिदिएका रहेछन् । ती असईले जुँगे भनेर बोलाएपछि नै सबैले आफूलाई जुँगे भन्न थालेको कहानी सुनाउँछन् उनी । 

जुँगाकै कारण उनै असईले पोखरा लगेर २०२८ साल मंसिर १ गतेबाट प्रहरीमा जागिर नै लगाइदिएछन् । जुँगाकै कारण प्रहरी बन्न पुगे जुँगेदाइ । त्यो समयमा प्रहरीभित्र जुँगाको निकै चर्चा हुन्थ्यो । पछि–पछि त प्रहरीमा ‘जुँगा भत्ता’ नै दिने चलन पनि चल्यो । प्रहरी बनेर गोरखा नै फर्कने उनको इच्छा पूरा नभएपछि दुईवर्षे प्रहरी जागिर बिसाएर फेरि गोरखामै फर्केर सिलाइ कर्ममा लागेछन् । दुईवर्षे प्रहरी जीवनमा पनि उनले सिलाइ मास्टरकै रूपमा कार्य गरे । 
     ०००
हामी सानै छँदा हाम्रो कुलदेवता र गुठीपूजामा घरबाट मन्दिरसम्म जाँदा अघिअघि मुरली बजाउदै हिँड्थे उनी । जब मन्दिरमा पुगिन्थ्यो, हामी मन्दिरभित्र पस्थ्यौँ, उनी बाहिरै बस्थे । उनलाई मन्दिरमा पस्ने छुट थिएन । भगवान्को पाउ छुने अनुमति पनि थिएन । जसको मुरलीको धुनको पछिपछि पूजा चल्थ्यो उनैलाई भित्र पस्न निषेध थियो । मलाई उतिवेलै यो कुराले मन दुखाएको थियो । उनलाई केही खान दिइहाल्यो भने पनि पात या टपरीमा । भाँडामा दिँदा खाएर भाँडा माझ्नुपर्ने बाध्यता । उतिवेला पैसा तिरेर होटेलमा खाँदा पनि भाँडा माझ्नुपर्दा कस्तो हुँदो हो मनमा ? मेरो मनमा बच्चैदेखि उठेको यो सवाल उनैसँग सोध्न मन लागेर सोधेँ ।

मैले सोचेभन्दा फरक आयो उत्तर । उनका बाबुबाजेले नै आफूहरू साना जात हो भन्दै हुर्काएको र समाजले पनि त्यस्तै व्यवहार गर्ने हुँदा सानो छँदा उनलाई आफू सानै जातको हुँ भन्ने लाग्दो रहेछ । कसैले जातका बारेमा केही भन्दा पटक्कै दुःख लाग्दो रहेनछ । अरूले सानो जात भनेर हेप्दा आफ्नै कर्म खोटी भनेर चित्त बुझाउँदा रहेछन् । आफूलाई हेपेकोमा कसैप्रति पनि रिसराग पलाउँदो रहेनछ ।

भित्री आत्मादेखि नै आफू सानो जातको हुँ भन्ने महसुस भएपछि कुनै दुःख लाग्ने कुरो पनि भएन । तर, २०३६–३७ सालतिर शिक्षामन्त्रीका रूपमा हिरालाल विश्वकर्मा गोरखा आउँदा मन्त्रीलाई ठूला जातका भनिएका मान्छेले आफ्नो घरभित्र पसाएर खुवाएको दृश्यले उनको मथिंगल हल्लिएछ । ठूला पदमा पुगे भने त जातले पनि केही हुँदाे रहेनछ । मन्त्री भएका हिरालालले छोएको चल्ने आफूले छोएको किन नचल्ने ? यो प्रश्नले धेरै दिनसम्म सोच्न बाध्य पारेछ । त्यसै घटनाबाट उनमा जातकै कारण हेपिनु गलत हो भन्ने चेतना जागेको बताउँछन् । त्यसपछिका दिनमा चाहिँ समाजमा वर्षौंदेखि चलिआएको यस्ता पक्षपाती संस्कारले उनको चित्त दुख्न थालेको रहेछ । 

जुँगेदाइ सधैँ चिटिक्क परेको लुगा लगाएर हिँडछन् अझै पनि । जस्तै गर्मीमा पनि इस्टकोट लगाउन कहिल्यै भुल्दैनन् । शरीरमा ढाकाटोपी त छुटाउँदै छुटाउँदैनन् । नेपालीपन जोगाउन पनि सबैले ढाकाको टोपी लगाउनुपर्ने उनको मत छ । पृथ्वीनारायण शाहको राजदरबार र गोरखकाली मन्दिरको काखैमा रहेको उनको गाउँ सातधुरेको टाठाबाठामै पर्छन् जुँगेदाइ । बाँसुरी बजाउने कलाका कारण पनि जिल्लामा हुने ठूला कार्यक्रममा मंगल धुन बजाउन पुगेकै हुन्छन् उनी ।
५६–५७ सालतिर राजा वीरेन्द्रको दर्शनभेट पाएका रहेछन् ।

राजाको अगाडि उभिदा उनलाई के भनौँ र कसो भनौँ भएछ । जीवनमा पाएको यस्तो दुर्लभ मौका गुम्ला कि भनेर डराई–डराई बिसे नगर्चीको सालिक राख्ने जग्गाका लागि बिन्ती बिसाएछन् । राजा वीरेन्द्रले मुस्कुराउँदै टाउको हल्लाएपछि उनको मनमा शान्ति मिलेछ । तर, दुर्भाग्य त्यसको केही समयपछि नै दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश हुनपुग्यो । राजाको त्यो हसिलो अनुहार सम्झेर अझै पनि भावुक हुन्छन् उनी । त्यतिखेर राजालाई जाहेर गरेको उनको सपना २०७५ सालमा आएर गोरखा नगरपालिकाले उनकै गाउँ सातधुरेमा बिसे नगर्चीको सालिक खडा गरेर पूरा गरिदिएको छ । 

हिराबहादुर परियार अर्थात् जुँगेदाइको दैनिकी ४० वर्षदेखि उस्तै छ । मेलापर्वमा लाखे नाच्नुपर्‍यो, चाहिने उनै जुँगेदाइ । कसैको कुलपूजा या गुठीपूजा पर्‍यो, अघिअघि मंगलधुन बजाउँदै जाने उनै जुँगेदाइ । गोरखामा ब्यान्डबाजा भित्र्याउने श्रेय उनैलाई जान्छ । 

बुढ्यौलीको सँघारमा पुग्दा लुगा सिउन समस्या नभए पनि बाजा बजाउन भने गाह्रो भइसकेको छ । आफूले बाजा बजाउन नसक्दा निकै दुख्दो रहेछ उनको मन । अझ आजकलका पुस्ताले समय र साइतअनुसारको धुन नबजाई आधुनिकताको नाममा जथाभावी बाजा बजाएको सुन्दा दिक्कलाग्दो रहेछ । भविष्यमा हाम्रो परम्परा र संस्कृतिअनुसारको धुन बज्नै छाड्ने पो हो कि भन्ने चिन्ताले सताउँछ । बुढेसकालमा पनि एउटा कोठा लिएर पन्चेबाजाका विभिन्न पारम्परिक–सांस्कृतिक धुनहरू नयाँ पुस्तालाई सिकाउन पाए हुन्थ्यो भन्ने तृष्णा मनभित्रै रहेछ । बिहेमा दुलाहा अन्माउँदा, दुलही बिदाइ गर्दा, स्वयंवर गर्दा, बिहानको साइतमा, बेलुकीको समयमा कस्तो धुन बजाउने भन्ने ज्ञान नहुँदा हिन्दी र नेपाली गीतहरूको धुनले नेपाली बाजाको इतिहास मेटिँदै गएकोमा निकै दुःखी छन् उनी ।

मर्नुअघि गोरखामा एउटा लोकबाजा सिकाउने स्कुल खोल्ने सपना रहेछ । तर, बाजा किन्ने र कोठा भाडा तिर्ने कुरा नै पहाड बनेर आउँदो रहेछ उनको सामु । धेरैसँग यो प्रस्ताव पनि राखेछन्, तर आश्वासनभन्दा बढी केही मिलेनछ । तैपनि, उनले हार खाइसकेका छैनन् । भन्छन्, ‘हुनु लेखेको रहेछ भने कोही न कोही दाता पक्कै मिल्लान् नि ।’ सोचेको पुगोस्, मेरो पनि शुभकामना । 

यतिका वर्ष मरीमरी काम गर्दा पनि मैले तीस वर्षअघि गोरखा छाड्दा र अहिलेको जुँगेदाइको जीवनशैली उस्तै–उस्तै छ । घरमा बसेर आफूखुसी तातो–पिरो खाएर आराम गर्ने यो उमेरमा उनलाई भने सिलाइको अर्डर लिने र वेलामा काम सक्ने हतारो छ । खान त सधैँ मिठोमसिनो नै खाएका छन् । तर, दुःखको पारो उस्तै छ । पीरको भारी उस्तै छ । चिन्ताको चुली उस्तै छ ।

‘गरिबलाई धनी बनाउन न सरकारले सोच्छ, न समाजले नै कुनै चासो दिन्छ । बजारका हुने खानेहरूलाई कसरी पैसा कमाउने भन्ने ध्याउन्न मात्र छ । अनि कसरी हुन्छ त गरिबको उद्धार ?’ उनी भन्छन् । मनमा पीडा भए पनि जुँगेदाइको मुहारमा देखिएको हाँसो सदा यस्तै रहिरहोस् । जुँगेदाइलाई दीर्घायु र सुखी जीवनको शुभकामना !