• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
 गणेश खनियाँ  काठमाडाैं
२०७६ असार २१ शनिबार ०८:५२:००
समाज

‘पुरुषजस्तै हुनुहुन्छ तपाईं’

२०७६ असार २१ शनिबार ०८:५२:००
 गणेश खनियाँ  काठमाडाैं

यो इटालीकी लेखक एलेना फेरान्तेको लेख हो । उनी इटालीको कुनै कुनामा भूमिगत छिन् । सोसल मिडियाको क्रेजको यो समयमा पनि परिचय र आकृतिसमेत अज्ञात छ उनको । विवाहित महिला भएको लख काट्छन् धेरैले उनलाई । नेपथ्यमै बसेर लेख्छिन् । फेरान्ते इटाली भाषामै । उनका रचनालाई एन गोल्डस्टेइनले अंग्रेजीमा उल्था गरेकी छिन् । विगत, स्मृतिदंश, पारिवारिक सम्बन्ध उनका लेखनका प्रमुख विषय हुन् । ‘दी स्टोरी अव् दि लस्ट चाइल्ड’ उनको पछिल्लो उपन्यास हो । महिला लेखन र शक्ति संरचनाबीचको सम्बन्धमा केन्द्रित उनको यो लेख गत १७ मेको न्युयोर्क टाइम्समा ‘अ पावर अव् आवर अउन’ शीर्षकमा प्रकाशित थियो ।

युगौँदेखि नै पुरुष दृष्टिकोणबाट संसारलाई हेरिएको छ । शक्तिसँग सम्बन्धित धेरै कथन पनि त्यसरी नै बनेका छन् । पुरुषले चाहेअनुरूप मात्रै महिलालाई शक्तिको प्रयोग गर्न छुट दिइएको छ । अर्थात्, नियन्त्रित स्वतन्त्रता । विद्यालयमा होस् वा कार्यक्षेत्रमा, अधिकांश नियामक निकायमा पुरुषकै बाहुल्य देखिन्छ । अनि महिलाले पनि पुरुषकै भाषा बोल्छन्, त्यस्तै तौरतरिका अपनाउँछन् । यो पद्घतिलाई सहज रूपमा लिन कहिल्यै सकिनँ मैले । त्यसैले त म अलग रहेँ उनीहरूबाट । पुरुषसँग सवालजवाफ गर्ने हिम्मत त थिएन मसँग । उनीहरूको दृष्टिकोणमा एकाकार हुन पनि सक्दिनँ । आफैँलाई धोका दिएजस्तो लाग्थ्यो त्यसो गर्दा । 

सैद्धान्तिक  रूपमा शक्तिको सन्तुलित प्रयोगमा जोड दिइन्छ । तर, व्यवहारमा त्यस्तो पाइँदैन, त्यसो गर्नु त्यति सजिलो पनि छैन । शक्तिको अभ्यासमा कोही नयाँ होलान्, कसैलाई यसको प्रयोग गर्ने तरिका थाहा नहोला । तर, पनि शक्ति आर्जन गर्न जो–कोही अग्रसर हुन्छन्– व्यक्ति, समूह, दल, भिड, सबै–सबै । शक्तिको एउटा रूप कथावाचन पनि हो ।

पुरुषले नै वर्चस्व स्थापित गरेका छन् यस क्षेत्रमा पनि । तर, पनि यो शक्तिप्रति म किशोरी वेलादेखि नै साह्रै मोहित हुन्थेँ । कम महत्वको  ठान्दिनँ, कथावाचनको शक्तिलाई म । साँच्चै गजबको शक्ति हो यो । अनुभवलाई आकार दिने काम गर्छन् कथाले– कहिले परम्परागत साहित्यिक स्वरूपमा थोरै फेरवदल गरेर त कहिले त्यसको सम्पूर्ण विनिर्माण गरेर । अनि कहिले जस्ताको तस्तै प्रयोग गरेर । कथाले पाठकको तन–मनलाई नै क्रियाशील बनाउँछन् । त्यसैले त लेखिएका ती काला अक्षर मात्र अक्षरमा सीमित रहँदैनन्, विविध विचार र अनुभूतिका संवाहक हुन्छन् अनि मानवीयताको पहरेदार पनि । सांसारिक अस्थिरता र उथलपुथललाई सहज अवस्थामा ल्याउनसमेत कथावाचनले सघाउँछ । यसरी हेर्दा कथाको शक्ति राजनीतिक शक्तिभन्दा कम प्रभावकारी छैन । 

सुरुमा कथावाचनलाई शक्तिका रूपमा बुझेको थिइनँ मैले । विस्तारै यो तथ्यसँग नजिक हुँदै गएँ । अनि एक प्रकारको उत्तरदायित्व महसुस गर्न थालेँ, अझै गर्छु । शक्ति न पूरै असल हुन्छ, न त पूरै खराब । हामीले कसरी शक्तिलाई प्रयोगमा ल्याउँछौँ, त्यसमा नै यो निर्भर गर्छ । जति वयस्क हुँदै गएँ, कथावाचन गलत कामका लागि प्रयोग हुने त होइन भन्नेमा म सजग बन्न थालेँ । सामान्यतया असल उद्देश्य नै हुन्छ मेरो । तर, पनि कहिले कथावाचनले असल बाटो समात्छ अनि कहिलेकाहीँ गलत पनि । 

निषेध, कैद, यातनादेखि युद्घ, मृत्युदण्ड, आमनरसंहारसम्म छन् भयानक राजनीतिक र आर्थिक अस्तव्यस्तताका परिणाम । यस्ता क्षतिको तुलनामा जतिसुकै दुराशयले लेखिए पनि र जतिसुकै हानिकारक भए पनि खराब कथाले पु-याउने क्षति निकै न्यून हुन्छ । कथालेखनमा संलग्न भएकाले होला, यो पाटोले आनन्दित बनाउँछ मलाई ।अरू के भन्नु र ? शक्तिको टड्कारो र डरलाग्दो रूपसँग आमनेसामने हुने डरले नै मैले लेख्न सुरु गरेको हुनुपर्छ । बन्देज र नियन्त्रणका संयन्त्रबाट टाढै रहने उत्कट चाहना पनि हुन सक्छ मैले लेख्न थाल्नुमा । सम्भवतः शक्तिको दुरुपयोगविरुद्घ बोल्ने सबैभन्दा उपयुक्त र बलियो माध्यम नै लेखन कार्य भएको छ मेरा लागि । 

युवावस्थामै लेखनतिर आकर्षित हुनुमा अर्को महत्वपूर्ण कारण छ । त्यो के भने, साहित्यक्षेत्र महिलामैत्री छ भन्ने मेरो अनुमान । तर, त्यो पनि मेरो गलत बुझाइ रहेछ । इटालीका लेखक गियोभानी बोकासियोको उपन्यास ‘डेकामेरोन’ले ममाथि गहिरो प्रभाव पा-यो । महान् इटालेली र युरोपेली परम्पराको प्रारम्भको झलक भेटिन्छ यसमा । सात महिला र तीन पुरुष पात्र छन् यहाँ । उनीहरू पालैपालो दश दिनसम्म कथा सुनाउँछन्, निरन्तर । बोकासियोको यो किताब मैले १६ वर्षे उमेरमा छिचोलेको थिएँ, अधिकांश नारीपात्र कथावाचक रहेकाले पनि मलाई यसले मुग्ध बनायो । आधुनिक कथाका पिता मानिने उत्कृष्ट लेखकले सात नारीपात्र खडा गरेर कथा बुनेका थिए । निकै उत्साहित थिएँ, ‘डेकामेरोन’ पढेपछि ।

हामी महिला किनारातिर धकेलिएका छौँ । साहित्यिक कर्ममा पनि दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गरिन्छ हामीलाई । पुस्तकालय र संग्रहालयमा पनि अधिकांश पुरुषकै विचार र गाथाको खात लागेको छ ।

धेरैपछि मात्र थाहा भयो, बोकासियोले उपन्यासमा देखाएको महिलाप्रतिको उदारता वास्तविक जीवनमा मेल खाँदो रहेनछ । समाजको अवस्था ठीक विपरीत छ र चाँडै बदलिने पनि छैन । हामी महिलाहरू किनारातिर धकेलिएका छौँ । साहित्यिक कर्ममा पनि दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गरिन्छ हामीलाई । पुस्तकालय र संग्रहालयमा पनि अधिकांश पुरुषकै विचार र गाथाको खात लागेको छ । यस्तो प्रतिकूलतामाझ हाम्रो कामको आफ्नै शक्तिशाली दस्तावेज बनाउन सजिलो छैन । 

हामी अनुकूलको परिवेश हुन्थ्यो भने पुरुषभन्दा पनि राम्रो हामीले गथ्र्यौँ कि ? उनीहरूभन्दा हामी अगाडि पुग्थ्यौँ कि ? युवती छँदा त्यस्तो सोच्थेँ म । तर, अहिले दोधारमा छु म, केही भन्न सक्ने अवस्थामा छैन । ‘सबै महिला सम्मानित, असल, सक्रिय, निडर र निष्कलंक छन् । अब उप्रान्त पुरुषका मतियार रहनेछैनन्,’ विषम यो परिस्थितिबीच यस्ता आदर्श कामना गर्नु छैन मलाई । यसबाट परिवर्तनको हाम्रो लक्ष्य भेटिने पनि होइन । 

शक्ति पुरुषकै हातमा छ अझै । यदि लोकतान्त्रिक अभ्यासको दुहाई दिँदै हामीलाई थोरै स्थान दिइएको छ र अधिकारमा हाम्रो पहुँच बढाइएको छ भने पनि त्यसको निहितार्थ अर्कै छ । ससर्त त्यसो गरिएको हो । शर्त हो– समस्यासँग जुध्ने र त्यसको समाधान गर्ने सवालमा पुरुषले अंगीकार गरेकै पद्घतिलाई हामी महिलाले पनि स्विकार्नुपर्ने । फलस्वरूप, पुरुषकै अपेक्षाअनुसार, हामी उनीहरूको अनुसरण गर्ने आज्ञाकारी पात्र बन्न पुग्छौँ । 

मानिलिऊँ कुनै महिलाले विशेष राजनीतिक कौशलको प्रयोग गरी विद्यमान शक्ति संरचनाको जग हल्लाइदिइन्, लिखित वा अलिखित दुवै नियमलाई तोडिदिइन् । तर, त्यसबाट पनि के बदलिन्छ त ? परम्परागत पुरुष संस्कृतिकै निर्देशन र नियन्त्रणमा छ हर क्षेत्र । यो परम्परालाई चुनौती दिन उक्त महिलाको अदम्य प्रयास निरन्तर कायम रहनुपर्छ, तब मात्र उनी सफल भएको मान्न सकिन्छ । 

‘अन्ततः देशले महिला राष्ट्रपति पायो,’ प्रधानमन्त्री वा नोवेल विजेता वा हाम्रो विद्यमान राजनीतिक वा सांस्कृतिक सोपानमाथिका अन्य कुनै पद वा ओहोदा पनि हुन सक्छ, महिलाले प्राप्त गरेको । तर, यस्ता आबेगात्मक अभिव्यक्तिले मलाई कहिल्यै कुनै प्रभाव पारेनन् । विचारणीय पक्ष हो– कुन संस्कृतिभित्र वा कुन शक्ति संरचनाभित्र महिला शीर्ष पदमा पुग्न सफल भएका छन् ?केही महत्वपूर्ण परिवर्तन पनि देखिँदै छन्, पत्याउनै नसकिने खालका । तर, पनि हामीसँग पूरै नयाँ दृष्टिकोण हुनु आवश्यक छ । पुरुषले खडा गरेको मानकबाट विध्वंशको नजिक पुगेको छ विश्व यतिखेर । यही परम्परागत मानकलाई भत्काएर हामीले आफूलाई मुक्त गर्नु नै वर्तमान र आसन्न भविष्यको चुनौती हो हाम्रा लागि । तर कसरी ? सायद महिला दृष्टिकोणलाई केन्द्रमा राखी शक्तिको अभ्यास गर्ने समय आइसकेको छ ।

हरेक क्षेत्रमा हामीले हासिल गरेका उपलब्धि बग्रेल्ती छन्, यिनै उपलब्धिको बलमा स्थापित मान्यतालाई व्यवहारमा लागू गर्न जरुरी भइसक्यो । पुरुषको अधीनस्थ रहन नचाहने र साँच्चिकै स्वतन्त्र र निर्भीक खालका महिला साह्रै थोरै छन् । ‘तपाईं एकदम असल हुनुहुन्छ, पुरुषजस्तै हुनुहुन्छ तपाईं’– यस्ता चाप्लुसे भाषामा पुरुषले गर्ने प्रशंसामा अल्झी बस्न नखोज्ने महिला विरलै छन् । थाहा छ, परिवर्तन त्यति सजिलै र छिट्टै हुने पनि छैन । तर, हाम्रो लक्ष्य हुनुपर्छ– अत्यन्त दिगो र जीवन्त शक्ति आर्जन गर्ने । तब मात्र पुरुषको अनुमोदनबेगर नै अघि बढ्न सक्छौँ हामी ।  

आफूलाई अभिव्यक्त गर्न ‘डेकामेरोन’का सातजना महिला कथावाचकले अब उप्रान्त महान् लेखक गियोभानी बोकासियोमा निर्भर गर्नु पर्नेछैन । आफ्ना अनगिन्ती पाठकसँगै महिलाले रोचक र कौतुकमय ढंगले सांसारिक घटनाको वर्णन कसरी गर्ने, त्यो राम्ररी बुझेका छन् । अत्यन्त कुशलतापूर्वक, कत्ति पनि हीनताबोध नगरी भनिने महिलाका कथाले नै हामीलाई वास्तविक अर्थमा शक्तिशाली बनाउनेछ ।