• वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
छम गुरुङ काठमाडौं
२०७६ असार २१ शनिबार ०८:५६:००
साहित्य

घाम–जून फर्काउने त्यो चरा

२०७६ असार २१ शनिबार ०८:५६:००
छम गुरुङ काठमाडौं

त्वुम कअ–प्येअनुसार सृष्टि प्रलयकारी, अतिवृष्टि र खडेरीबाट जीव–जगत्लाई उद्धार गर्ने साहसिक, बुद्धिमानी, जीवनरक्षक थिए, चरा । उहिले नौ घाम, नौ जून (म्याँः कू–ल्हनी कू) भएको बेला कोःवापोम्बो नामक चराले ‘पान्दान’ पातभित्रबाट लुकी–लुकी लली (काँड) प्रहार गरेर आठ घाम र आठ जून खसालिन् । लुक्न गएको बाँकी घाम–जून च्युक्लीबोन्ज्यङले फिर्ता ल्याइन् । 

त्वुम प्येअनुसार नौ–नौ घाम–जूनले संसारमा प्रलय ल्याएको जुगमा मान्छे, जीवप्राणी सब मर्न थाले । रूखबिरुवा सुक्न थाले । ढुंगा पनि पग्लिन थाले । ‘ताल्ङोँ’ (अमिलो हुने फापरजस्तो बिरुवा) खानेजति मर्न थाले । सिस्नुको जरा खानेजति बाँचे । आकुलव्याकुल मानिसहरू गुहार माग्दै कोःवापोम्बो नामक चराकहाँ पुगे । उनीहरूले त्यो चरा पान्दान पातको ओतभित्र बसेको देखेर मद्दत मागे । चराले तुरुन्तै नमानेपछि उसको बच्चाबच्ची पनि रूखको टोड्कामा मर्न लागेको सूचना दिए । बल्ल ऊ आफ्नो गुँडतिर उड्यो ।

नभन्दै आफ्ना बच्चाहरू मर्न लागेको देखेर कोःवापोम्बोले मान्छेलाई धनुकाँड बनाउन लगाइन् । पान्दानको पातलाई स्याखुजस्तै ओढाएर बच्चाहरू सम्हाल्दै एउटा घाम र एउटा जूनबाहेक सप्पै घाम–जूनलाई कोःवापोम्बोले खसालिदिइन् । त्यही रूखको फराकिलो पातभित्र बसेर कोःवापोम्बोले पानीको स्याहार पनि गरिन् । उही पानी पिएर केही मानिस बाँच्न सफल भए । त्यसैले कोःवापोम्बोलाई छ्युगुम्बो अर्थात् पानीको आमा पनि भन्न थालियो । अब अलि ढुक्क हुने भयो भनेको, फेरि उल्टै आपत् ! बाँकी एउटा घाम र एउटा जून त कोःवापोम्बोले मार्ला भनेर भाग्दा, लुक्न जाँदा सारा संसार बेपत्तै अँधेरियो ! ती घाम–जून बोलाउने फकाउने तागत भने कोःवापोम्बोसँग भएन ।

त्यसपछि मानिसहरूले आफ्नो आमा नचिन्ने भयो, बाउ नचिन्ने भयो, आस्याङ–आगु नचिन्ने भयो, दाजुबैनी नचिन्ने भयो, जोकसैलाई चिन्न गाह्रो प¥यो । केटामान्छेले पास्यिली खसेको, केटीमान्छेले पङ्कः खसेको पत्तै पाएनन् । संसारै लथालिङ्ग भयो । अब मानिसहरू अन्धाधुन्ध च्युक्लीबोन्ज्यङको खोजीमा कस्सिए । यताउति चारतिर छरिए । कोःवापोम्बो पनि सँगै खोज्न लागिन् । कोःवापोम्बोको डरले लुक्न गएका सबै घाम–जूनलाई च्युक्लीबोन्ज्यङ चराले फिर्ता ल्याउने सामर्थ राख्थे । 

नेपालमा रहेका विभिन्न समुदायसँग आ–आफ्नै मिथक छन् । तिनै मिथकमध्ये यसपटक गुरुङ जातिसँग सम्बन्धित मिथकलाई समेटेका छौँ । ‘झन् नयाँ’का आगामी अंकमा पनि विभिन्न समुदायका मिथक समेट्ने हाम्रो प्रयास जारी रहनेछ ।

मानिसहरूले गुहारेपछि त्यो चराले ‘स नेँ देनद्येन, मुँ नेँ फेफ्येर स्य खुयिये !’ (धर्तीमा पनि आकाशमा पनि नाच्न सक्छु) भने । डाँडामा पातीको तीनवटा ‘पाःसान्’ गाडेर ‘ड्ये’ उभ्याए । तीनवटा ह्रेना (सुनको तोर्मो, चाँदीको तोर्मो, कुखुराको सुली र रोयेदा काठको खरानीको तोर्मो) राखे । पाःसान्को टुप्पोमा बसी च्युक्लीबोन्ज्यङ नाच्दै, पखेटा बजाउँदै पुज्न थाले । कहिले बसेर, कहिले उठेर, कहिले उडेर नौ दिन नौ रात नाचिरहे । तीन दिन तीन रातमा घाम–जूनले टाउको मात्र देखाए । घाम–जून बिस्तारै देखा पर्न थाले । नौ दिन, नौ रात पुगेपछि बल्ल घाम र जून निस्कियो । संसार फेरि झलमल्ल भयो । च्युक्लीबोन्ज्यङले बोलाएपछि घाम र जून दिन र रातमा पालैपालो आउन थाले । त्यसभन्दा पैले घाम र जून सँगसँगै आउँथे । 

आज अर्घु (पय÷तोमो)को बेलामा ‘मतोङ’ (अर्घुको बेला नाच्दै खरानी खेल्दै मृतकको घरबाट अर्घुको थानमा जाने चरण)बाट फर्किँदा डाःपो (लमोको हाँस्य–सहकर्मी)ले लमोको अघिअघि कोःवापोम्बोजस्तो मुकुण्डो लगाई छालाको पोय्कुपमा खरानी बोकेर हु-र्याउँछन्, ख्यालठट्टा गर्छन् । यो त्यही आठ घाम र आठ जूनको खरानीको प्रतीक मानिन्छ । त्यस्तै कोःवापोम्बोले आठ घाम र आठ जून खसाल्न पान्दान पातभित्रबाट काँड प्रहार गरेकोले आज त्यस पातको बीचभाग सग्लै तर छेउछाउचाहिँ छेडेर च्यातिएको जस्तो भएको पाइन्छ । यसको अनुहार ठ्याक्क ‘डाःपो’ वा बापोको मुकुण्डो (लूत)जस्तो हुन्छ । त्वुमले पनि च्युक्लीबोन्ज्यङले जस्तै नाच्छन् । ड्ये पनि बनाउँछन् । चरा पनि भीर या पाखोबारीतिर बुट्यानको टुप्पोमा नाचिरहेको भेटिन्छन् । यस्तै कअ–प्ये सुनाउने कथाबाजेहरू गाउँघरमा अलि पातलै भेटिन्छन्, आजभोलि ।