• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
तीर्थराज बस्नेत काठमाडाैं
२०७६ असार २१ शनिबार ०९:२१:००
रिपाेर्ट

मेसी फेरि असफल

खेल

२०७६ असार २१ शनिबार ०९:२१:००
तीर्थराज बस्नेत काठमाडाैं

लियोनल मेसी ! जसले बार्सिलोनाको जर्सीमा जित्न बाँकी केही छैन, तर अर्जेन्टिनाको जर्सीमा जितेको पनि केही छैन ।फुटबल मैदानमा अर्जेन्टिनी फर्वाड मेसी जसरी विपक्षीसँग प्रतिस्पर्धा गरिरहेका हुन्छन्, खेल जीवनमा उनको जितले हारसँग त्यसैगरी प्रतिस्पर्धा गरिरहेको हुन्छ । व्यावसायिक क्लब फुटबलमा सफलताको पर्यायवाची बनेका मेसी अर्जेन्टिनाका टप स्कोरर भएर पनि राष्ट्रिय टोलीलाई कहिल्यै जित दिलाउन सकिरहेका छैनन् । 

लियोनल मेसीको अन्तर्राष्ट्रिय उपाधि जित्ने अभिलाषा फेरि एकपटक समाप्त भएको छ । बुधबार बिहान कोपा अमेरिकाको सेमिफाइनलमा घरेलु टोली ब्राजिलसँग २–० को हार व्यहोरेपछि मेसी नेतृत्वको टोली फाइनल पुग्न सकेन । मेसी कोपा अमेरिकाको यो संस्करणमा आफ्नो असफलताको शृंखला अन्त्य गर्न चाहन्थे । त्यसैले त प्रतियोगिता सुरु हुनुअघि उनले भनेका थिए, ‘राष्ट्रिय जर्सीमा कुनै न कुनै उपाधि जित्नु छ ।’ तर, उनको त्यो आसा फेरि एकपटक निराशामा परिणत भइदियो । 

अवश्य नै वर्तमान फुटबलमा मेसी उत्कृष्टमध्ये एक हुन् । उनी उतारचढावबाट गुज्रिरहनुपरेको छ । उनको जीवनमा कहिले खुसीको बाढी आएको छ त कहिले गहभरि आँसु पनि । सायदै सबैले सम्झेको हुनुपर्छ, २७ जुन २०१६ । चिलीसँग कोपा अमेरिकाको फाइनलमा दोस्रोपटक पराजय भोगेपछि उनी बेस्सरी रोए । उनीसँगै संसारभरका उनका समर्थक पनि भावुक बने । उनले लगत्तै सन्न्यास घोषणा गरे । तर, देशका लागि उपाधि नजिती उनको मन कहाँ मान्थ्यो ! र त सन्यास फिर्ता लिएर पुनः उही १० नम्बरको अर्जेन्टिनी जर्सीमा मैदान उत्रिए । 

उनको फुटबल करिअर आफैँमा विचित्रको छ । विचित्र यस अर्थमा कि उनले सफलताको स्वाद पनि राम्रैसँग चाखेका छन् र असफलताको पीडामा पनि डुबेका छन् । बार्सिलोनाबाट जितैजितको इतिहास बनाएका मेसीले अर्जेन्टिनाको जर्सीमा जितेको केही पनि छैन । उनले अर्जेन्टिनाबाट २००५ मा अन्डर २० विश्वकपको उपाधि र २००८ मा ओलम्पिक गोल्ड मेडल जितेका छन् । सिनियर टोलीमा डेब्यु गरेको १४ वर्ष बितिसकेको छ । तर, उनले असफलतालाई चिर्न सकेका छैनन् । उमेरले ३२ पुगेका उनी सन् २००५ देखि राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । यो अवधिमा उनले १३५ क्याप खेलेका छन् र ६८ गोल गरेका छन् । उनी अर्जेन्टिनाका टप स्कोररसमेत हुन् । 

व्यावसायिक फुटबलको कुरा गर्ने हो भने, सफलताको अर्को नाम हो, मेसी । बार्सिलोनाको सिनियर टोलीमा २००४ मा डेब्यु गरेयता उनले चार च्याम्पियन्स लिग, १० ला–लिगा, ६ स्पेनिस कप, आठ स्पेनिस सुपरकप, तीन क्लब विश्वकप र तीन युइएफए सुपरकप जितेका छन् । पाँच बलोन डि’ओरसहित अन्य थुप्रै व्यक्तिगत अवार्डसमेत जितेका छन् । तर, अर्जेन्टिनालाई उपाधि जिताउन नसक्दा उनी आलोचनाको सिकार हुने गरेका छन् । १४ वर्ष राष्ट्रिय टोलीमा रहँदा मेसीले ९ प्रशिक्षकको नेतृत्व पाएका छन् भने ९ असफलता पनि । 

सन् १९८६ मा अर्जेन्टिनालाई उपाधि दिलाएका म्यारोडोनापछि अर्जेन्टिनी फुटबलमा धेरै आसा राखिएका खेलााडी मेसी नै हुन् । उनले राष्ट्रिय टोलीमा डेब्यु गर्दा अर्जेन्टिनाले उपाधि नजितेको १२ वर्ष भइसकेको थियो । भलै त्यसबीचमा ग्य्राबियल बाटिस्टुटा, हार्नान्ड क्रेस्पोलगायत उम्दा खेलाडी अर्जेन्टिनासँग नभएका होइनन्, तर मेसीले लामो समयदेखिको उपाधि खडेरी टार्ने विश्वास थियो । तर, अर्जेन्टिनी फुटबल समर्थकको त्यो विश्वास मेसीले पूरा गर्न सकेका छैनन् । 

सामाजिक सञ्जाललाई हेर्ने हो भने सबैभन्दा धेरै फ्यान भएका फुटबलरको तेस्रो नम्बरमा पर्छन्, मेसी । उनीअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र ब्राजिलका नेयमार मात्र छन् । यसको मतलब निरन्तरको असफलताले मेसी मात्रै निराश छैनन्, उनका करोडौँ समर्थक पनि निराश छन् । हुन पनि हो, अर्जेन्टिनाले अन्तर्राष्ट्रिय उपाधि नजितेको पनि २६ वर्ष भइसकेको छ ।

पछिल्लोपटक अर्जेन्टिनाले सन् १९९३ मा कोपा अमेरिकाको उपाधि जितेको थियो । विश्वकप भने सन् १९८६ मा । मेसी राष्ट्रिय टोलीमा आएपछि अर्जेन्टिनाले चार फाइनल खेलेको छ । १४ वर्ष राष्ट्रिय टोलीमा रहँदा मेसीले चार विश्वकप र पाँच कोपा अमेरिकामा सहभागिता जनाएका छन् । तीमध्ये एक विश्वकप र तीन कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना पुगेको छ ।

सन् २००७, २०१५ र १६ मा कोपा अमेरिका र सन् २०१४ मा विश्वकपको फाइनलमा पुगेर पनि अर्जेन्टिना अभागी ठहरियो । ००७ को कोपाको फाइनलमा अर्जेन्टिना ब्राजिलसँग ३–० ले पराजित भएको थियो । २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग १–० ले पराजित हुन पुग्यो । विश्वकपको उपाधिनजिक पुगेर असफल बनेको अर्जेन्टिना सन् २०१५ मा कोपा अमेरिका जितेर पीडा भुलाउने सोचमा थियो । फाइनलमा पनि पुग्यो । तर, चिली अर्जेन्टिनाका लागि बाधक बन्यो र पेनाल्टी सुटआउटमा पराजित हुन पुग्यो । कोपा अमेरिका सुरु भएको सय वर्ष पुगेको अवसरमा पुनः २०१६ मा प्रतियोगिता आयोजना गरियो । जहाँ अर्जेन्टिना अघिल्लो सालको असफलता दोहो-याउन चहाँदैनथ्यो । तर, भाग्यले साथ दिएन । पुनः चिलीसँग पेनाल्टी सुटआउटमा पराजित हुन पुग्यो । 

लियोनल मेसीको अन्तर्राष्ट्रिय उपाधि जित्ने अभिलाषा यसपटक पनि समाप्त भएको छ । बुधबार बिहान कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग २-० को हारपछि मेसी नेतृत्वको टोली फाइनल पुग्न सकेन । 

दोस्रोपटक चिलीसँग पराजित भएर उपाधि जित्न नसकेपछि मेसी रोएनन् मात्रै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा नै गरिदिए । उनको त्यो निर्णय समर्थकलाई प्रिय लागेन । लगत्तै संसारभरका समर्थकले ‘डन्ट गो, लियो’ भन्ने अभियान नै चलाए । ब्युनोस आयर्सका मेयरले मेसीको मूर्ति बनाए, अनि सन्न्यास फिर्ता गर्न आग्रह गरे । अर्जेन्टिनाका ५० हजार दर्शक एकैसाथ उपस्थित भएर सन्न्यास फिर्ता लिन आग्रह गरेपछि १२ अगस्ट २०१६ मा मेसीले सन्न्यास फिर्ता लिए ।

त्यो वेला अर्जेन्टिना रसिया विश्वकपमा छनोट नहुने खतराबाट गुज्रिरहेका थिए । मेसीको काँधमा अर्जेन्टिनालाई रसिया विश्वकपमा छनोट गराउने जिम्मेवारी थियो । तर, सोही समयमा उनले चार अन्तर्राष्ट्रिय खेलको प्रतिबन्ध व्यहोर्नुप-यो । जसका कारण अर्जेन्टिना १९७० पछि विश्वकपमा छनोट नहुने खतरा थियो । तर, मेसीले समर्थकलाई निराश बनाएनन् । छानोट चरणको निर्णायक मानिएको इक्वेडरविरुद्धको खेलमा मेसीले ह्याट्रिक गर्दै ३–१ को जित निकले र अर्जेन्टिना विश्वकपमा छनोट भयो । विश्वकपमा छनोट भएसँगै २०१४ को चोटलाई शक्तिमा बदल्दै रसियामा उपाधि जित्ने अर्जेन्टिनाको योजना तब तुहियो, जब अन्तिम १६ मा फ्रान्ससँग अर्जेन्टिनाले ४–३ को हार व्यहो-यो । 

हो, राष्ट्रिय टिमबाट मेसी अभागी खेलाडी हुन् । तर, आलोचकहरूले मेसीले क्लबमा जस्तो देशमा खेल्दैनन् पनि भन्छन् । तर, यो केवल आरोप मात्रै हो र मेसीका लागि अन्याय पनि । तर, यो पनि सत्य हो, बार्सिलोनामा उनले जति सफलता चुमेका छन्, अर्जेन्टिनामा त्यति नै असफलता । किनकि उनकै प्रभावशाली प्रदर्शनको सहयोगमा अर्जेन्टिना चारपटक फाइनल पुगेको छ ।

कुरा यत्ति हो, सायद उनलाई भाग्यले ठगेको छ । त्यसैले त पटक–पटक उपाधि नजिक पुगेर पनि असफल भएका छन् । ३२ वर्षीय मेसीको एउटा अन्तर्राष्ट्रिय उपाधि जित्ने धोको यसपटक पनि अधुरै रह्यो । आगामी वर्ष कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियाले संयुक्त रूपमा आयोजना गर्नेछन् । घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने उनका लागि त्यो अर्को अवसर हुन सक्छ, यदि सन्न्यास लिएनन् भने ! तर, यो संस्करण भने मेसी र उनको टोलीका लागि अर्को एक असफलताको कथा मात्रै बनेको छ ।