• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रोहेज खतिवडा काठमाडाैं
२०७६ असार २१ शनिबार ०९:२८:००
साहित्य

ओमानी महिलाको बुकर यात्रा

किताब

२०७६ असार २१ शनिबार ०९:२८:००
रोहेज खतिवडा काठमाडाैं

‘सेलेस्टियल बडिज’ यस वर्ष ‘म्यान बुकर प्राइज’को छोटो सूचीमा समावेश हुँदा नै कीर्तिमान राख्यो, अरब मुलुकबाट बुकरको सर्ट लिस्टमा समावेश हुने पहिलो किताब । लगभग ७० हजार अमेरिकी डलरको बुकर नै जितेपछि यो क्षेत्रबाट बुकर जित्ने पहिलो किताब पनि बन्यो । जोखा अल्हार्थी अरबी मुलुकबाट बुकर जित्ने पहिलो लेखक बनिन्, उनले यो पुरस्कार अनुवादकसँग बाँड्नुपर्ने छ । 

‘सेलेस्टियल बडिज’ यसै वर्ष मात्र प्रकाशित भएको किताब भने होइन । ओमानी लेखिका अल्हार्थीको दोस्रो उपन्यासका रूपमा सन् २०१० मा अरबी भाषामा प्रकाशित भएको थियो, ‘सैयीदात अल क्वोमार’ नाममा, जसको अर्थ हुन्छ, ‘चन्द्रमाका महिलाहरू’ । अमेरिकी लेखक, प्रोफेसर मारिलिन बुथले अनुवाद गरेपछि गत वर्ष अंग्रेजी पाठकमाझ आयो । ओमानमा मिश्रित प्रतिक्रिया पाएको उपन्यासले अंग्रेजी पाठकबाट भने राम्रो प्रशंसा बटुल्यो । 

यो उपन्यास क्रम नमिलेका थुपै्र कथाले बुनिएको छ । माया र अब्दल्लाह उपन्यासका मियो हुन्, उनीहरूकै विवाहको प्रसंगबाट उपन्यास सुरु हुन्छ । आफ्नो सपनाको राजकुमारसँग मिलन हुन नसकेर व्यथित बनेकी मायाको विवाह अब्दल्लाहसँग हुन्छ । यी दुई पात्रले आ–आफ्नो परिवारको कथा भन्छन् । उपन्यासमा दुई किसिमको प्रस्तुति छ ।

आफ्नो परिवारको कथा अब्दल्लाहले आफैँ भनिरहेको हुन्छ भने बाँकी कथा लेखिकाले नै भनिरहेकी हुन्छिन् । उपन्यासमा घटना समयक्रमअनुसार छैनन्, पात्रको मनोदशाअनुसार छन् । वर्तमान समयको कथा भन्दाभन्दै उनी एकाएक सुदूर अतितमा पुग्छिन्, घरी पात्रको बाल्यकालमा, घरी पात्रका बाबुबाजेको अतितमा । यही शैलीमा उनी तीन पुस्तामा कसरी ओमान बदलिइरहेको छ भन्ने देखाउँछिन् । समयक्रम नमिलेका असम्बद्ध घटनालाई रोचक ढंगले बुन्दै लामो कालखण्डलाई उपन्यासमा समेट्न सक्नु उनको सफलता हो । सम्भवतः बुकर पुरस्कारले जोखाको यही क्षमतालाई पुरस्कृत गरेको हुनुपर्छ । 

‘सेलेस्टल बडिज’का नयाँ–पुराना घटनाक्रमले ओमानको इतिहास भन्छ । अनि ओमानले कसरी परम्परागत सामाजिक मान्यतालाई पन्छाएर नवीन मान्यता आत्मसात् गर्दै गयो भन्ने देखाउँछ । यसका लागि माया, मायाकी आमा र मायाकी छोरीले बाँचेको जीवनलाई तुलना गरे पुग्छ । अथवा एउटै पुस्तामा पनि कसरी परिवर्तन भयो भन्ने बुझ्ने हो भने मायालाई उनका बहिनीसँग तुलना गर्न सकिन्छ । 

नवीन र खुला समाजतर्फ ओमानी युवाको लगावको प्रतिबिम्ब हो माया । उसले आफ्नी छोरीको नाम लन्डन राखेकी छे, जुन एउटा क्रिश्चियन मुलुकको राजधानी सहरको नाम हो । समाजका हरेक सदस्यले यो नाम फेर्न सुझाउँछन्, माया चुपचाप आफ्नो निर्णयमा अडिग भइदिन्छे । अन्ततः उसकी छोरीको नाम लन्डन नै स्थापित हुन्छ । विवाह भइसकेपछि पनि अंग्रेजी सिक्न मायाले गरेको प्रयास यसको अर्को उदाहरण हो । 

माया र अन्य केही चरित्रमार्फत जोखाले जुन कथा भनेकी छिन्, त्यसले विश्वमा स्थापित अरबप्रतिको मानसिकताको प्रतिकार गर्छ । सम्पूर्ण अरबलाई धार्मिक कट्टरताको परिभाषाभित्र समेट्न खोज्नेलाई चुनौती दिन्छ । उनले उपन्यासमार्फत प्रस्ट पारेकी छिन्, सम्पूर्ण अरब धार्मिक कट्टरताको जरामा जकडिएको छैन, बरू बिस्तारै–बिस्तारै खुला समाजतर्फ यात्रा गरिरहेको छ । त्यहाँभित्र खुला समाज, सामाजिक न्याय, समानताको भोक छ, यसलाई सम्मान गर्ने मत छ । र, आजको ओमानी समाज त्यतै हिँडिरहेको छ । 

सन् २००१ को सेप्टेम्बर ११ घटनापछि पश्चिमा समाजको एउटा तप्काले जसरी इस्लाम धर्मावलम्बीको नकारात्मक चित्र फैलाउँदै गएको छ, डोनाल्ड ट्रम्पको उदयपछि यसले जसरी तीव्रता पाएको छ, त्यसले सम्पूर्ण अरबी समाजको एउटै तस्बिर विश्वसामु प्रस्तुत गरिरहेको छ– आतंकवाद र धार्मिक कट्टरता । त्यहाँभित्रको समाज पनि अन्य मानव समाजजस्तै आफ्ना कमजोरी मेटेर अगाडि बढ्दै छ, त्यहाँभित्रका मानिस पनि अरू मानिसजस्तै आफ्नो स्वतन्त्रको खोजीमा दौडिरहेका छन्, त्यहाँका मानिस पनि आफ्ना संवेदनासँगै रुँदै हाँस्दै बाँचिरहेका छन् भन्ने तथ्य विश्वका अरू भागका मानिसले बिर्सिरहेका छन् । अरबी समाजको यस किसिमको ‘अथेन्टिकेसन’विरुद्ध प्रतिवाद हो जोखाको उपन्यास । 

उपन्यासको यो पक्षलाई अर्को दृष्टिकोणबाट पनि हेर्न सकिन्छ । अंग्रेजी भाषा, आधुनिक शिक्षा र पश्चिमा मूल्यप्रति माया र अन्य पात्रको आकर्षण पश्चिमा समाजको हेजेमोनीको नमुना हो ? यो बहसको विषय हुन सक्छ, तर मायाले प्रेम गरेका यी मान्यताले ओमानी समाजका मानिसलाई स्वतन्त्रताको फराकिलो आकाश दिएका छन् । त्यसैले, मायाकी छोरी लन्डन डाक्टर बन्न सफल हुन्छे र लन्डनसँगै जहाज चढेर अमेरिका जान्छ अब्दल्लाह, जुन जहाजमा बसेर जीवन सम्झिँदै आफ्नो कथा हामीलाई सुनाइहेको हुन्छ । श्रीमान्सँगको दिनरातको झगडाबाट आजित लन्डन सम्बन्धविच्छेदपछि स्वतन्त्रताको सास फेरिरहेकी हुन्छे । 

उपन्यासमा ओमानी समाजमा भएको दासप्रथा र त्यसको अन्त्यको कथा भन्ने पात्र हो जरिफा । अब्दल्लाहको बाबु सुलेमानकी दासी हो । धेरैअघि नै त्यहाँ सरकारले दास राख्न प्रतिबन्ध लगाइसकेको छ । जरिफाका श्रीमान् र छोराबुहारी रोजगारका लागि कतार गइसकेका छन् । जरिफा पनि केही समयका लागि छोरासँग कतार जान्छे, तर त्यहाँ बस्न सक्दिनँ र फर्किएर ओमान आउँछे । जरिफामार्फत जोखाले त्यहाँ दासप्रथा कस्तो थियो र प्रतिबन्धपछि उनीहरूको अवस्थामा कसरी परिवर्तन आएको छ भन्ने देखाउँछिन् । 

यही उपन्यासमा जोखा ओमानी समाजको राजनीतिक इतिहास पनि प्रस्तुत गर्छिन् । इन्धन उत्खननका लागि बेलायतले आन्तरिक राजनीतिमा गरेको हस्तक्षेप र निम्त्याएको युद्ध, यसको प्रतिरोध, युद्धले निम्त्याएको सामाजिक क्षति आदिलाई पनि उनले कथामा समेटेकी छिन् । आस्मालाई विवाह गर्ने युवक त्यही युद्ध प्रभावित परिवारको सदस्य हो, जो लामो समय इजिप्टमा आप्रवासनपछि देश फर्किएका हुन् । 

उपन्यासमा जोखा असम्बद्ध घटनालाई कुशलतापूर्वक एक–अर्कामा जोड्छिन् र अर्थ दिन्छिन् । सानो उपन्यासले ओमानी समाजको परिवर्तनक्रम, वर्तमान समाज र त्यहाँभित्रका पात्रको मनस्थितिको सजीव चित्रण गर्न उनी सफल छिन् । यो उपन्यासको सबैभन्दा ठूलो महत्व भन्नु नै अरबी समाजको जुन किसिमको ‘अथेन्टिकेसन’ पश्चिमा समाज र मिडियाले गरेको छ, त्यसको प्रतिवाद गर्नु नै हो । बुकर पुरस्कारले उनलाई सघाएको छ ।