• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
निमेष निखिल काठमाडाैं
२०७६ असार २१ शनिबार १०:५९:००
साहित्य

विजातीय प्रेमको आख्यान

किताब

२०७६ असार २१ शनिबार १०:५९:००
निमेष निखिल काठमाडाैं

समकालीन नेपाली कविता र निबन्धका पाठकका लागि भूपिन नौलो र अपरिचित नाम होइन । सघन तथा शक्तिशाली कविता र निबन्धमार्फत ५० को दशकको पूर्वार्धदेखि नै उनले कुनै न कुनै रूपमा नेपाली गद्यकविता र निबन्धका क्षेत्रमा सिर्जनशील हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै आएका छन् । ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक’ र ‘शब्दहरूको नेपथ्य’ संयुक्त कवितासंग्रह, ‘हजार वर्षको निद्रा’, ‘सुप्लाको हवाईजहाज’ कवितासंग्रह तथा ‘चौबीस रिल’ निबन्धसंग्रहपछि यिनी हालै ‘मैदारो’ उपन्यासका साथ देखापरेका छन् ।

उपन्यास जीवन–जगत्को चित्र कोर्ने सबैभन्दा ठूलो क्यानभास हो । साहित्यमा विविध प्रयोगको सबैभन्दा ठूलो सम्भावना बोकेको रचना पनि उपन्यास नै हो । समय र श्रमका हिसाबले पनि उपन्यास लेखन जटिलतम् कार्यमध्ये एक पर्छ भन्ने आमबुुझाइ छँदै छ । फेरि अहिलेका सचेत र चिन्तनशील पाठकलाई उपन्यासका नाममा कोरा कल्पना र भावुक पे्रमकथा लेखेर झुक्याउन सहज पनि छैन । र, यो कुरा भूपिनजस्ता सचेत लेखकले नबुुझ्ने कुरा पनि भएन । उनले उपन्यास लेखनमा धेरै पसिना बगाएका छन् भन्ने तथ्य प्रस्तुत उपन्यास मैदारो नै हो ।

मानक नेपालीमा मैझारो भनिने र यदाकदा मैजारो पनि उच्चारण गरिने ‘मैदारो’चाहिँ भाषिकाको शब्द हो । यसको अर्थ ‘कामको समाप्ति’ भन्ने हुन्छ । तर, प्रस्तुत उपन्यासमा भूपिनले मैदारोलाई स्थानीय लोकजीवनमा प्रचलित एउटा बलियो मिथकसँग जोडेर प्रस्तुत गरेका छन् जुन जातीय छुवाछूतको सिकार बनेका एकजोडीको मर्मस्पर्शी कथा हो । त्यसैले, यस उपन्यासमा आञ्चलिकताको महक पाइन्छ । अँधेरी गाउँ जुन बाग्लुुङ जिल्लाको एउटा काल्पनिक गाउँ हो, यस उपन्यासको प्रयोगभूमि वा कार्यस्थल हो । नेपालका अन्य पहाडी गाउँजस्तै यो एउटा प्रतिनिधिमूलक गाउँ हो ।

सल्लेरी र कालीगण्डकीको चर्चाले यो गाउँ भूपिनको आफ्नै गाउँ बलेबा हो भन्ने सहज अनुमान पनि त्यहाँ पुग्ने जोसुकैले लगाउन सक्छन् । यसर्थमा यस उपन्यासमा भूपिनले आफ्नै अनुभवका कतिपय स्थानीयलाई पनि औपन्यासिकीकरण गरेको मान्न सकिन्छ र पछिल्लो समय यो क्रम नेपाली उपन्यास लेखनमा तीव्र बन्दै आएको पनि छ । 

मैदारो मूलतः हाम्रो समाजमा एउटा अमानवीय कृत्यका रूपमा रहेको दलनको कथा हो र जातीय विभेदको यो क्रमको अन्त्यको कामना नै यस उपन्यासको मूल अभीष्ट हो । नदीन सार्की र कला विष्टबीचको विजातीय प्रेम सम्बन्ध र त्यसले समाज र स्वयं उनीहरूको जीवनमा निम्त्याएका विविध जटिलता नै यस उपन्यासको मूल संरचना बनेका छन् । र पनि, उपन्यासको अन्तिम केन्द्रबिन्दु यो मात्र होइन । 

नदीन कलाकार हो । नदीनका माध्यमबाट उपन्यासकारले विश्वका केही बहुचर्चित कलाकारहरूको जीवन सन्दर्भलाई पनि उपन्यासमा जोडेका छन् जुन उपन्यासको उल्लेख्य पक्ष बनेको छ । विक्रमीको ४० को दशकदेखि ०६५ सालसम्मको सामयिक परिवेशमा उनिएको यस उपन्यासले विसं. ०४६÷०४७ को ऐतिहासिक जनआन्दोलन र त्यसपछि हिजोका महापञ्च कसरी एकाएक प्रजातन्त्रपछि क्रान्तिकारी बनेर देखापरे भन्ने तथ्यलाई पनि व्यंग्य गरेको छ । त्यसैगरी,०५२–०६२ को माओवादी जनयुद्धलाई पनि उपन्यासले महत्वका साथ प्रस्तुत गरेको छ ।

हाम्रो समाजमा रहेको कलाप्रतिको उपेक्षालाई यस उपन्यासले विषय बनाएको छ । समाजले कलाको मूल्य बुुझ्न नसकेकै कारण कलाकार नदीन आत्महत्याको प्रयासमा लागेको छ भने अर्को कलाकार आकाश गुरुङ कलाकारिता नै छाडेर भिक्षु बनेको देखिन्छ । यी हाम्रो समयका गम्भीर विसंगति हुन् । प्रस्तुत उपन्यासको गहिराइमा प्रवेश गर्नका लागि यसमा प्रयुक्त केही प्रतिकात्मक सन्दर्भलाई बुुझ्नु पनि उत्तिकै जरुरी छ । पहिलो प्रतीकका रूपमा अँधेरी गाउँलाई लिन सकिन्छ ।

यो अँधेरी गाउँ काल्पनिक हुँदाहुँदै पनि नेपाल र भारतका कतिपय प्रतिनिधिमूलक गाउँका रूपमा यसलाई लिन सकिन्छ । जातीय छुवाछूतजस्तो अमानवीय प्रथा भएका सबै गाउँलाई अँधेरी गाउँले सन्दर्भित गर्न सक्छ । मानिसमा ज्ञान र चेतनाको अभाव भएकै कारण यस्ता अँधेरी गाउँ २१औँ शताब्दीमा पनि छुत–अछुतका नाममा मान्छे–मान्छेबीच विभेद गर्दै छन् भन्ने व्यंग्यलाई अँधेरी गाउँले संकेत गर्छ । र, उपन्यासकार यस्तो विभेदको अन्त्य गरी अँधेरी गाउँ अब उजेली गाउँ बन्नुपर्छ भन्ने आग्रह राख्छन् ।

अर्को प्रतीकका रूपमा जुम्ली धाराको प्रगोग उपन्यासमा गरिएको छ । एउटै मुहानबाट एउटै पाइपबाट एकै ठाउँमा ल्याइएको पानीलाई एकातिर दलितका लागि र अर्कातिर प्रधानपञ्चका लागि विभाजन गरिएको छ । दलिततर्फको धारा सधैँ व्यस्त देखिन्छ, तर प्रधानपञ्चको घरका लागि छुट्याइएको धारामा कहिल्यै भिडभाड हुँदैन । यो जुम्ली धाराको सन्दर्भबाट उपन्यासकारले एउटै मूलबाट आएको र एउटै पाइपबाट आएको पानी कसरी छुत र अछुत हुन्छ भन्ने गम्भीर प्रश्न मानवीय चेतनालाई गरेका छन् ।

अर्को अत्यन्त महत्वपूर्ण  प्रतीकका रूपमा कलाकार नदीनको उल्टो कलालाई लिन सकिन्छ । हाम्रो समाजका तमाम विकृति र विसंगतिलाई देखेर विरक्त बनेको कलाकार यो समाज र यहाँका क्रियाकलापलाई पनि उल्ट्याएर प्रस्तुत गर्छ । यो एउटा गहन विषयलाई उपन्यासकारले अत्यन्त सरल ढंगले प्रस्तुत गरेका छन् । उनी भन्छन्– उल्टोलाई उल्टायो भने त्यो सुल्टो हुन्छ । त्यसैले, उल्टो कलाका माध्यमबाट समाजका सबै बिब्ल्याँटालाई सुल्टाउनुपर्ने आग्रह यस उन्यासले राखेको छ । 

उपन्यासको शीर्षक मैदारो र यससँग जोडिएको एउटा स्थानीय मिथकीय सन्दर्भ पनि यो यपन्यासको एउटा सबल पक्ष हो । मूलतः रोपाइँ गर्ने क्रममा जुन घरको मैदारो वा रोपाइँको समाप्ति अन्तिम दिनमा हुन्छ, त्यस घरमा त्यो वर्ष कुनै न कुनै मानवीय क्षति हुन्छ भन्ने लोकविश्वास (अन्धविश्वास ?)लाई यस उपन्यासले कलात्मक रूपमा प्रस्तुत गरेको छ । 

उपन्यासकी नायिका कला जनयुद्धमा सामेल हुनु पनि यस उपन्यासको गजबको संयोग मान्नुपर्छ । सबै परिस्थितिको अवलोकन गर्दा तथा हाम्रो सामाजिक संरचनासमेतलाई हेर्दा दलनको जुन पीडा नदीनले भोगेको छ त्यो पीडा सम्भवतः क्षेत्रीकी छोरी कलाले भोगेकी छैन । तर, कलाको यो निर्णयमा उसका आमा–बाबुको व्यवहार नै प्रमुख कारण हो भन्ने अनुमान सहजै गर्न सकिन्छ । किनभने, नदीन सार्कीसँग विवाह गरिसकेपछि पहिलोपटक आफू जन्मे–हुर्केको आफ्नै घरमा पुग्दा र आफ्ना विगतका सामान एकपटक हेर्ने इच्छा राख्दा आफ्नै जन्मदाताले गरेको व्यवहारका कारण कलामा दलनको गहन पीडाबोध भएको छ । यसैकारण, ऊ बालक छोरी नदीनलाई जिम्मा लगाएर जनयुद्धमा हिँडेकी छे ।

यहाँनेर प्रश्न उठ्छ– कलाका सट्टा नदीनचाहिँ जनयुद्धमा जानुपर्ने होइन ? तर, नदीनको चरित्र शान्त छ, ऊ युद्धको विरोध गर्छ, यतिसम्म कि भैँसीलाई बन्चरोले टाउकामा हानेर मारेको देखेदेखि ऊ शाकाहारी बनेको देखिन्छ । र पनि, उसले कलालाई भनेको छ, ‘तिमी छोरीलाई हुर्काऊ, म जान्छु युद्धमा । हरेक सन्ताका लागि आमा नै सर्वोत्तम अभिभावक हो ।’ नदीन युद्धमा नगएका कारण उसको यही शान्त स्वभाव हो भन्न सकिन्छ ।

‘मैदारो’ मूलतः हाम्रो समाजमा एउटा अमानवीय कृत्यका रूपमा रहेको दलनको कथा हो र जातीय विभेदको यो क्रमको अन्त्यको कामना नै यस उपन्यासको मूल अभीष्ट हो ।

पण्डित दीनानाथको सन्दर्भ पनि यस उपन्यासको महत्वपूर्ण  पक्ष हो । दलितले हिँडेको बाटै नहिँड्ने, दलितले छोए भने सोझै नर्क गइन्छ र आफूलाई छुने दलित पनि नर्क जान्छ भन्ने उनको धारणाका कारण खोलामा डुबेका पण्डितलाई नदीन सार्कीका बाबुले बचाउन सकेका छैनन् । यसले समाजमा जतीय छुवाछुतप्रतिको चरम विसंगतिलाई प्रस्तुत गर्छ ।

उपन्यासमा भकारीको सन्दर्भ पनि निकै मार्मिक छ । नदीनका बाबुले भकारी बनाउँछन् । नदीन आफ्नो घरको भकारीभरि अन्न हुने कल्पना गर्छ, तर एक दिन त्यो भकारी विष्टकाजीको घरमा पठाइन्छ ।  उपन्यासका केही विशिष्ट पात्रको चर्चा गरिएन भने यो न्यायोचित हुँदैन । भँडुवा सार्की जसको नाम मानवीर हो, ऊ अत्यन्त बौद्धिक र क्रान्तिकारी छ । मैदारोको मिथकीय सन्दर्भ र अँधेरी गाउँको नामकरणका विषयमा उसैले नदीनलाई बताएको छ । बालीप्रथाको खन्त्य हुनुपर्ने विचार राख्ने ऊ यस उपन्यासको एउटा महत्वपूर्ण पात्र हो ।

प्रधानपञ्च हिक्मतसिंह, थाना इन्चार्ज झंक थापा, परी थापा, यादा पराजुली आदि पात्र पाठकले लामो समयसम्म सम्झने पात्र हुन् । बाटुली सर्किनीको बुलाकी सन्दर्भ र प्रधानपञ्चको यौन प्रकरणको कथा पनि निकै रोचकताका साथ उपन्यासमा बुनिएको छ । उपन्यासमा विश्वका विभिन्न महान् कलाकार को पनि संक्षिप्त जीवनीमूलक चर्चा गरिएको छ । ती सबै कलाकारका जीवन पनि प्रायः विसंगतिले भरिएको छ ।

भ्यान गग मरेपछि मात्र उनको कलाले उच्च मूल्य पाउनु, नाङ्गा सुन्दरीको कला बनाउनमा विश्व चर्चित जोन विलियम गडवार्डले आत्महत्या गर्नुजस्ता विसंगत पक्षका योगबाट एकातिर नदीनको कलाकार व्यक्तित्वलाई चिनाउन खोजिएको छ भने, अर्कातिर उपन्यासकै विसंगतिसँग तिनलाई जोड्ने प्रयत्न पनि गरिएको छ । तथापि, यी प्रसंग सबै पाठकका लागि प्रीतिकर नहुन सक्ने सम्भावना पनि छँदै छन् ।

प्रस्तुत उपन्यासको कथाकथन पद्धतिलाई आत्महत्याका क्रममा भिरबाट हामफाल्दा भिरको बीचमा अड्केको र आश्रय खोज्दै एउटा गुफामा पुगेको नदीनले आफ्नो विगत जीवनलाई सम्झने क्रममा पूर्वदीप्ति प्रणालीअनुसार अघि बढाइएको छ । व्यवस्था फेरिए पनि समाज नफेरिएको, संविधानले जातीय छुवाछूत समाप्त भएको माने पनि व्यवहारमा लागू नभएको, दलित दलितभित्रै पनि छुवाछूतको भावना रहेकोजस्ता विषयलाई यस उपन्यासले प्राथमिकताका साथ उठाएको छ । श्रम चल्ने, यौन चल्ने तर पानी नचल्ने यो कस्तो कुप्रथा हो भन्ने गम्भीर प्रश्न नै यस उपन्यासको अन्तर्य हो । 

उपन्यासको भाषाशैली सुन्दर र कलात्मक छ । कवि भूूपिनको काव्यप्रभाव उपन्यासको भाषामा अनुभव गर्न सकिन्छ । ससाना घटनालाई विभिन्न उपशीर्षक दिएर मूल कथासँग जोड्ने भूपिनको लेखन पद्धति प्रशंसायोग्ग छ । मूल कुरा उपन्यासले जोसुकैलाई मजासँग तान्छ । अब के होला भन्ने कौतुहल सिर्जना गर्न पनि उपन्यास सफल छ । आत्महत्याबाट सुरु भएर जीवनसम्म आइपुगेको कथालाई भूपिनले कलात्म ढंगले यस उपन्यासमा बुनोट गरेका छन् । 

सामान्य वर्णविन्यासंगत त्रुटि तथा केही अनावश्यकजस्ता देखिने सन्दर्भलाई हटाउन पाएको भए उपन्यास अझ सुन्दर र छरितो बन्ने सम्भावना रहथ्यो । उपन्यासको नदीनमा उपन्यासकार भूपिनको प्रतिबिम्ब धेरै हदसम्म देखिने हुँदा यसमा उनको जीवन भोगाइका कतिपय पक्ष पनि गोचर हुन आएकै छन् । त्यसैेले मैदारो भूपिनलाई प्रस्तुत गर्ने क्यानभास पनि हो । जे होस्, भूपिनको उपन्यास लेखनले सुन्दर सम्भावनाको वकालत गर्छ । मैदारो आजको समयको एउटा पठनीय र संग्रहणीय कृति हो भन्दा अनर्थ नहोला ।