चाहन त म
शासक नभएको संसार चाहन्छु
तर, हाल–तत्काल
अलिकति सभ्य बनाउन चाहन्छु शासकलाई
अलिकति सोमत पियाउन चाहन्छु
अलिकति व्यहोरा सिकाउन चाहन्छु
मसँग बोल्नका निम्ति
आविष्कार गरोस् एउटा भाषा
जो टुंगिँदैन सदा–सर्वदा
आमाको जननेन्द्रियमा पुगेर
जसले भिराउँदैन मलाई
कुनै दुःखी देहउद्यमीसँग
छोराको साइनो
म उसलाई शीतल चन्द्रमा
मुस्कानरत फूल
क्रीडामग्न शिशु
बुलन्द कविताको हरफ देखाउँछु
ऊ भने
बुट, लट्ठी, मुक्का, लात, संगिन, बन्दुक, तोप देखाउँछ
चंगेज खान बास बसेको
क्रोमोजमको करामत देखाउँछ
म उसलाई पृथ्वी देखाउँछु र भन्छु–
हेर, यहाँ म पनि छु
मसँग चाल मिलाउँदै घुमिरहेछ यो अनवरत
म नभएको दिन
एक चिम्टी नै सही, उदास हुन्छ यो
तर, शासक ठान्दछ पृथ्वी सप्पै उसको हो
‘म हुँ पृथ्वीको अधिपति
मै हुँ
म नै हुँ’ भन्छ
आफू उसलाई लुई सोह्रौँको हबिगत देखाउँछु
ऊ भने उही लुईको आँत
उसैको मनपेट देखाउँछ
स्तुतिहरूको चाटु संगीत मात्रै गुञ्जिँदैन देशमा
सवालको बिजुली पनि चम्किन्छ
प्रतिवादको मेघगर्जन पनि हुन्छ
भाटहरूको भिडलाई परास्त गर्न
नझुकी बाँच्ने, नलत्री मर्ने
एउटै कवि इच्छुक काफी हुन्छ
म उसलाई सपनाको भूगोलभरि पोखिएको
मुक्तिको मीठो बिहान देखाउँछु
ऊ कालकोठरीको कटु रात
र, झ्यालखानाको टर्राे साँझ देखाउँछ
मसँग किन यति भयभीत छ शासक ?
के हुँ र म ?
को हुँ र म ?
बस्, बत्तीवरिपरि घुमिरहेको पुतलीको हठी पुस्ता हुँ
सत्यको उज्यालो खातिर
डढिमर्न छु तम्तयार
म यस्तो भव्य सहादतको
अचाक्ली तिर्खा देखाउँछु
ऊ भने रिङिहिँड्ने झुसिल्किराको जस्तो
खोटो मृत्युप्रति लगाव देखाउँछ
शासकले अन्ततः औकात देखाउँछ ।