• वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
अग्रिम अधिकारी काठमाडाैं
२०७६ असार २८ शनिबार ०६:५४:००
सम्झना

स्मृतिका जुलुसहरूमा मेरा बा

२०७६ असार २८ शनिबार ०६:५४:००
अग्रिम अधिकारी काठमाडाैं

समय बितेर जाँदै छ । मलाई लाग्छ– समय छिट्छिटो बितेर जाँदै छ । तर, यो समयभन्दा पनि छिटो बित्नुभो मेरो बा– गोविन्द वर्तमान । भावनात्मक सम्बन्धका हिसाबले पनि ‘आमा’ र ‘बा’ अविस्मरणीय हुन्छन् । सन्तानहरू बाँचुन्जेल तिनका स्मृतिका सन्दुकमा बसिरहेका हुन्छन् ‘आमा’ र ‘बा’ । ‘आमा’ र ‘बा’का विषयमा कविता लेखिएका छन्, खण्डकाव्य लेखिएका छन्, महाकाव्य लेखिएका छन्, कथा र उपन्यास लेखिएका छन्, निबन्ध र संस्मरणहरू लेखिएका छन् । ती सबै स्मृतिको प्रभावकै आधारमा लेखिएका छन् । स्मृतिको त्यही प्रभावका कारण हुन सक्छ– म पनि मेरा बा गोविन्द वर्तमानलाई आज यस लेखमार्फत सम्झिँदै छु । यसो त मेरो सम्झनामा बा अक्सर आइरहनुहुन्छ । 

कवि, निबन्धकार, कथाकार, समीक्षक, पत्रकार, स्तम्भकार, अनुवादक आदि–इत्यादिका रूपमा गोविन्द वर्तमानलाई चिन्ने थुुप्रै हुनुहुन्छ होला । तर, बाबु भएर जीवनको ठूलो हिस्सा पारिवारिक जीवनमा समर्पण गरेका गोविन्द वर्तमान हाम्रा लागि कस्ता बा थिए ? सम्पूर्ण गाथा त आज भन्न नसकुँला, सिलसिला मिल्ला नमिल्ला, तर भन्नेछु केही । 

दुई–तीन दशक भयो होला– गाउँ–सहरमा ममी, ड्याडी, ड्याड, मम, पापा, मामाको प्रचलन बढेर गएको छ । बा र आमाजस्ता सम्बोधन बिस्तारै सीमान्तकृत हुँदै छन् । तर, हामीलाई, हामी अर्थात् मभन्दा झन्डै तीन वर्षले जेठी मेरी दिदी र मलाई मेरा बाले ‘बा’ र ‘आमा’ भन्न सिकाउनुभयो । ‘हजुरआमा’लाई ‘आमा’ भनेको रुचाउनुहुन्नथ्यो उहाँ । भन्नुहुन्थ्यो, ‘आफूलाई जन्म दिने पो आमा, अरू होइनन् ।’ उहाँले सिकाएअनुसार नै हामीले सम्बोधनहरू सिक्यौँ र तिनै सम्बोधनमा आफ्नोपन महसुस ग-यौँ । सम्बोधन मात्र होइन, बाको आफ्नो जीवनदर्शन थियो, जिउने नियमहरू थिए । ऊहाँ त्यसमा सधैँ कायम रहनुभयो– अविचलित ।

बाले यस धर्ती छाडेको दिन म १० पुगी ११ वर्षमा लागेको थिएँ । बासँग गरेको यति छोटो यात्रा पर्याप्त त होइन, तर निकै अर्थपूर्ण स्मृतिहरू दिएको छ यसले मलाई । नियम त भइहाल्यो, अनुशासन र जिम्मेवारीका पाठ पढाउँदै हामीलाई हुर्काउने काम बाले गर्नुभएको थियो । अहिले सम्झिँदा त्यही नै हाम्रा लागि थुप्रै महत्वपूर्णमध्ये एउटा पाठ थियो । बाले हामीलाई पढाउने त्यस पाठभित्र पाठ मात्र थिएन, त्यसको पृष्ठभूमिमा असीम स्नेह र हाम्रो उज्ज्वल भविष्यको सपना पनि थियो । त्यसैले उहाँले घरमा सिकाएको अनुशासनको पहिलो पाठ हाम्रा लागि अपार स्नेहको मिठो स्मृति बनेर रहन पुगेको छ । 

बालाई थाहा थियो, संसारमा कुनै पनि चिज ‘पर्फेक्ट’ छैन । तर, ‘पर्फेक्सन’को एकदम नजिक पुग्नुपर्छ भन्ने चाह पनि उहाँमै थियो । आफ्ना सन्तानसँग यही ज्ञान बाँड्न उहाँ सोहीअनुरूपको चासो राख्नुहुन्थ्यो, व्यवहार गर्नुहुन्थ्यो र परिणाम खोज्नुहुन्थ्यो । सबैका पिताले त्यही चाहन्छन् होला, तर मेरा बाले अलि विशेष रूपमा त्यस्तो चाहना राख्नुहुन्थ्यो– मलाई यस्तै लाग्छ ।

भाषाको तालिम पनि हामीले बाबाटै वेलाबखत पाउँथ्यौँ । उहाँ भन्नुहुन्थ्यो, ‘लुगा खोल्ने भन्नुहुन्न, फुकाल्ने भन्नुपर्छ ।’ भात खान बस्दा जुठो हातले दालको कचौरा समात्नु र नजुठो हातले पानी समात्नु भनेर सिकाउनुहुन्थ्यो । पारिवारिक शिक्षक हुनुहुन्थ्यो मेरा बा मेरा लागि । लेखकको सन्तान हुनु एउटा रोमाञ्चक कुरा लाग्छ मलाई । त्यही रोमाञ्चित ठूलो सागरमा यतिवेला थुप्रै प्रसंगहरू स्मृतिका जुलुस बनेर मेरो अघिल्तिर आइरहेका छन् । प्रसंगको कुनै बिर्को खोल्ने प्रयास उहाँ र मेरो सम्झनाका प्रतीक हुन् । 

उहाँको केश झर्दै गएको चिन्ता वा भनौँ दिक्दारीले उहाँलाई मेरो कपालप्रति तीव्र मोह जगाइदिएको थियो । त्यही मोहका कारण बाले मेरो कपालको खुब हेरचाह गर्नुहुन्थ्यो । अहिले सम्झिँदा रोचक लाग्छ– बा घरमा हुनुहुन्थेन । म आमाको निगरानीमा होमवर्क गर्दै थिएँ । आमा सायद कुनै अन्य तनावमा हुनुहुँदो हो, ठूलै कसुर सम्झेर उहाँले भुत्ल्याउनुभयो मलाई । कपालका केही भाग उखेलिए । होमवर्क अधुरो भएका कारण स्कुल डायरीमा आएको रेड लेटर कप्लेन उहाँको हातमा परेछ । 

काण्ड त घटिहाल्यो । बा घर फर्केपछि बाका सम्भावित प्रतिक्रिया सम्झिएर आमाको मुखमा त्यतिवेला डरका ठुल्ठूला भवन निर्माण भएका थिए । मैले त्यतिखेर त्यो पनि महसुुस गरेँ, दुखाइ सँगसँगै । बा आउनुभयो । त्यतिखेर आमाको धड्कन तेज भएको हुनुपर्छ । आफूले गरेको व्यवहारले आमालाई ग्लानिको पोखरीमा पौडाउन थालेको हुनुपर्छ, यस्तो पनि महसुस गरेँ, बढेको ढुकढुकीसँगै ।

हातमा बोकेको छाता बाले घरभित्रको टेबुलमा राख्दै मलाई केही सोध्नुभयो । तिउनको निम्ति गरिएको उहाँको प्रश्नमा मेरो कपालका आइल्यान्डले बे्रक लगाइदियो । बाका आँखा ठूला भैगए । लाग्यो– आँखाको बढ्दो आयतन र आमाको डरको भवन लगभग सँगसँगै अग्लिरहेका छन् । बा कड्किनुभयो, ‘कपाल के भयो ?’ बाको महाकुतूहलमा आएको प्रश्न आमा र म दुवैतिर तेर्सिएको थियो । हत्तपत्त मैले घटनाको संक्षिप्त बयान गरेँ । मैले बयान सिध्याउन नपाउँदै आमाको संघारमा बाको आक्रोश भरिएको प्रश्न थियो, ‘के गरेको यो ?’ आमा निरुत्तर उभिरहनुभयो ।

आफ्नो जवाफको वजन नहुने लागेर होला, बाका अगाडि उहाँले शब्द खसाल्नुभएन । बाले मेरो कपालप्रति भएको मोह गालीका रूपमा व्यक्त गर्नुभयो । छोराको कपाल राम्रो बनाउन आफूबाट गरिएका अनेकौँ प्रयास आमाको कानमा ओइरिनुभयो । त्यतिखेर म फुच्चेलाई चाहिँ कुनै सुपरहिट सिनेमा हेरिरहेझैँ रमाइलो लागिरहेको थियो । बाले मेरो कपालको राम्रो हेरचाह गर्नहुन्थ्यो भन्ने अब सम्झनामा मात्र रहेको छ । र, कपाल कोर्दा, सुम्सुम्याउँदा वा नुहाउँदा सर्सर यादमा आउनुहुन्छ बा । 

बा हरेक दिन मर्निङवाक गर्नुहुन्थ्यो । कहिलेकाहीँ बासँग म पनि जाने गरेको थिएँ । अघिल्लो दिन सामान्यभन्दा अलि चाँडै सुत्नुपथ्र्यो । मर्निङवाक जाँदा बाउछोराको दोस्ती बडो जम्थ्यो । कहिले हामी गुह्येश्वरी हुँदै गोठाटार पुग्थ्यौँ । गोठाटारमा रहेको राडार के हो भन्ने मलाई जानकारी थिएन, बाले भनिदिनुभयो । नहिँडेका बाटाहरू थिए, बाले हिँडाइदिनुभयो । त्यति मात्र होइन, बाटोमा भेटिएका वा देखिने हरेक विषयबारे सुनाउँदै हिँड्नुहुन्थ्यो बा । बासँग हिँड्दा ज्ञानको विशाल भण्डारलाई आफूसँग हिँडाइरहेको अनुभव हुन्थ्यो । 

कहिले कपनको बाटो हुँदै कपन गुम्बासम्म पुग्थ्यौँ । कहिले गौशाला हुँदै गुह्येश्वरी । मलाई लाग्थ्यो, म बडो छिटो दगुर्छु, त्यो घमन्ड थियो– बाको अघिल्तिर चकनाचुर हुन्थ्यो– बा खुब छिटो दगुर्नुहुन्थ्यो । म पछ्याउँथेँ र भन्नुपथ्र्यो मैले, ‘बा, अलि बिस्तारै हिँड्नोस् न ।’ धेरजसो कपन गुम्बा पुग्ने अग्ला ठाउँका बाटाहरू हिँड्यौँ हामी, त्यता पुगेका वेला गुम्बा भने कहिल्यै छिरिएन । फर्किंदा सरस्वतीनगरमा दूध किन्थ्यौँ । म यात्राको नियमित पात्र त थिइनँ, तर मौका पर्दा मैले बासँग मर्निङवाक गर्न पनि छोडिनँ । अक्सर शनिबार जान्थेँ । हामी मर्निङवाक जाँदा कोही उठेको जस्तो लाग्दैनथ्यो । ती घरहरूलाई संकेत गर्दै बा भन्नुहुन्थ्यो, ‘हेर् त, यी घरहरूलाई निन्द्रा नपुगेको !’ बुझ्नु न सुझ्नु, म टाउको हल्लाउँथेँ।

अरू दिन बा मर्निङवाकबाट फर्किंदा म मस्त सुतिरहेको हुन्थेँ । उहाँ आएर हत्त न पत्त मलाई उठाउनुहुन्थ्यो । अलि अल्छी म । सिरकमा लुट्पुटिएको मलाई उठाउन आफू पनि भित्रै घुस्नुहुन्थ्यो । कहिलेकाहीँ त मेरो अक्किल लगाएर म बालाई नै सुताइदिन्थेँ । अनि एकछिनमा आमा आउनुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘छोरोलाई उठाउन गएको बाउको चाला हेर त यस्तो छ ।’ हामी सपरिवार गलल्ल हाँस्थ्यौँ । 

लेखकको घरमा केही नियम आफैँ बनिदिँदा रहेछन् । लेख्नका निम्ति बालाई चाहिने शान्त वातावरणले मलाई शान्त मिजासको बनाउन थालेको थियो । बाले डेक्सटप कम्प्युटर किनेपछि कलमले लेख्न छाड्नुभयो । ऊहाँले कम्प्युटरमा लेखिरहँदा कोठाभित्र छिर्ने अनुमति थिएन । केही काम परे ढोका ढकढक गर्नुपथ्र्यो । टिभीको ठूलो भोल्युम, खरेटोको ख्यारख्यार, प्रेसर कुकरको सिट्ठी कुनै पनि किसिमले अवरोध पु-याउने आवाज घरमा वर्जित थियो । हामीले ठूलो आवाजमा कुरा गर्दा बालाई सायद झर्को लाग्ने गथ्र्यो । लेखकको परिवारमा हुँदा मात्र अनुभव गर्न पाइने यस्ता कुरा मेरा जीवनका सुखद सम्झना हुन् । 

मलाई खाना खुवाउन अत्यन्त जाँगर चल्थ्यो बालाई । धेरैजसो स्कुल जाने वेला । तर, बाका एकजना साथी, कृष्णमुरारी भण्डारी अंकलकहाँ हामी पुगेपछि भने नियम फेरबदल भएको थियो । नारायण ढकाल र गोविन्द वर्तमानसँगै भएको मलाई इंगित गर्दै मुरारी अंकलले भन्नुभो, ‘बच्चाहरूलाई खाना आफैँ खान सिकाउनुपर्छ गोविन्दजी ।’ बालाई डर पस्यो, सायद बच्चोलाई बिगारिरहेछु भनेर । नियमित कुरो भंग भयो । तर, उहाँको भित्री मनमा चाहिँ मलाई भात खुवाइदिने लालसा छँदै थियो । त्यसैले केही समयपछि खुवाउने चलन फेरि सुरु भयो ।

स्कुलबाट फर्किएपछि बाले बनाइदिएको एउटा नियम थियो– १२३४५ । त्यो १२३४५ को एकमा पथ्र्यो जुत्ता खोल्ने, दुईमा पथ्र्यो लुगा फुकाल्ने, तीनमा पथ्र्यो हात, मुख र गोडा धुने, चारमा पथ्र्यो खाजा खाने र पाँचमा पथ्र्यो होमवर्क गर्ने । मन लाग्नु वा नलाग्नुको यससँग खासै सरोकार हँुदैनथ्यो । किनभने त्यो बाले बनाइदिएको एउटा अनिवार्य पालन गर्नैपर्ने नियम थियो । 

मःम भनेपछि काठमाडौंको साझा खाजाजस्तै बनेको छ । मलाई बफ मःम नखान बारम्बार घर र आफन्तबाट निर्देशन दिइन्थ्यो । तर, निर्देशनको कदर हुन पाएन । त्यसअघि नै मैले बफ मःम खाइसकेको थिएँ । पहिलोपल्ट, त्यो पनि बा र बाका एकजना साथी भोला शर्मासँगै बसेर । कालोपुलबाट प्याक गरेर ल्याएको त्यो मःम हामीले माया नर्सरीको मेचमा बसेर खाएका थियौँ । त्यसवेला बाले मलाई एउटा अर्को कुरा सिकाउनुभयो, ‘मःम भनेको बफको हो, अरू होइन ।’ म आज पनि निसंकोच त्यही बफ मःम नै रुचाउँछु । अफसोस ! पहिलोपल्ट सँगै मःम खाएका मेरा बा र भोला अंकल अब मसँग हुनुहुन्न । 

साहित्यिक कार्यक्रम र पार्टीहरूबाट फुर्सद पाएपछि करिब साढे ८ बज्थ्यो बा घर फर्किँदा । डोरबेलको अविश्वास हो या मेरो माया, भन्नुहुन्थ्यो, ‘अग्रिमा ढोका खोल्नुप-यो ।’ बाले मेरो नाउँमा आकार थपेर अलिकति स्नेह मिसाउनुभएको म अहिले बुझ्ने भएको छु । सुन्नेबित्तिकै म कुदिहाल्थेँ । धेरै वर्ष भयो सुन्न नपाएको त्यो ढोका नढकढक्याएर दैलो खोल्न बोलाइने आग्रहको आवाज– ‘अग्रिमा, ढोका खोल्नुप-यो ।’

हरेक शनिबार ९ बजे साहित्यकारहरूको जमघट हुन्थ्यो । जमघटको नाम थियो– टी एट नाइन । कहिलेकाहीँ मैले पनि भाग लिने मौका पाउँथेँ । चाबहिलका कवि कोइराला म फुच्चेको हाफप्यान्टमा आँखा लगाउनुहुन्थ्यो । मौका पायो कि मुन्तिर तान्दिनुहुन्थ्यो । त्यहाँ अक्सर भेटिनुहुन्थ्यो बा, शार्दूल भट्टराई, नारायण ढकाल, देविका तिमिल्सिना, आत्माराम शर्मा, विष्णु शर्मा, चैतन्य मिश्र, खगेन्द्र संग्रौला र वेलाबखत सुरेश ढकाल पनि । अरू पनि हुनुहुँदो हो । तर, म उनीहरूलाई मात्रै चिन्दथेँ ।

मलाई बाले डोनट दिनुहुन्थ्यो, चियामा चोपेर खान्थेँ । त्यतिवेला साहित्य, साहित्यको सौन्दर्यशास्त्र, राजनीति, मानवशास्त्र, समाजशास्त्रजस्ता विषयमा चर्चा चलिरहेको हुन्थ्यो । जीवन र कलाका बारे बहस भएको पनि मैले सुनेको छु । तर, त्यस्ता कुनै पनि विषयबारे बुझ्ने क्षमता मेरो थिएन । शब्दहरूचाहिँ ख्याल गर्थेँ । त्यो उमेर र समयमा मलाई प्यारो थियो त केवल चिया अनि चियाको स्वाद चाखेर भिजेको डोनट । सम्झिन्छु, चियामा चोबिसकेको डोनटको टुक्रा कहीँ चियामै हाम नफालोस् भनेर मनमा लाग्ने डर ! सम्झिन्छु, हाफ कट्टु तल तानिदेलान् भनेर मैले अपनाउने सतर्कता ! अहिले पनि ‘टी एट नाइन’ त छ क्यार, तर जुन औँला समाएर म त्यहाँ जान्थेँ, त्यो औँला नै नरहेपछि एक्लै त्यहाँ जाने मसँग ह्याउ छैन । 

बा किताब खुब पढ्नुहुन्थ्यो । एकपटक बाले ‘लू’ पढिसकेपछि ‘यस्तो पो किताब !’ भन्नुभएको सम्झिन्छु । त्यसवेला मैले बुझ्ने उमेर थिएन । तर, बाले प्रशंसा गरेका कारण मैले ‘लू’ सुम्सुम्याएको थिएँ र मनमनै सोचेको थिएँ, ‘एक दिन पढ्नेछु यो किताब अनि बा र नयन अंकल दुवैलाई प्रतिक्रिया दिन्छु ।’ ‘लू’ मैले पढिसकेँ, नयन अंकललाई त प्रतिक्रिया दिएँ, तर बालाई दिन पाइनँ । खड्किन्छ त्यो कुरा, अत्यन्तै खड्किन्छ । 

खड्किने कुरा अरू पनि छन् । त्यसमध्ये अत्यन्तै खड्किरहने एउटा सुनाउँछु । मेरो अन्तिम रिजल्ट बाले लिन जाँदा मेरो जम्मा ७४.२६ प्रतिशत आएको थियो । ५ कक्षामा पढ्दा ७४.२६ प्रतिशतलाई राम्रो मानिँदैनथ्यो । त्यस रात टिभी कोठामा बा रुँदै मेरो छेउ आउनुभयो र मलाई च्याप्प समाएर भन्नुभयो, ‘छोरा, तँलाई धेरै माया गर्छु । जे भनेको छस् गरिदिई पनि रहेको छु । म सेकेन्ड हुँदा मेरा बाले फस्ट किन भइनस् ? भनेर गाली गर्थे । तर, आज तेरो यस्तो हुँदा मलाई रिस उठेको छैन, दुःख लागेको छ । राम्रो गर् ल अर्को पालि । नत्र बालाई दुःख लाग्छ । किनभने यु आर दि सन् अफ् गोविन्द वर्तमान ।’ आज यी हरफहरू त मलाई कण्ठस्थ छन् । तर, मैले त्यसपछि बालाई कहिल्यै आफ्नो रिजल्ट देखाउन पाइनँ । 

म आर्यघाटमा थिएँ । बा मेरो अगाडि निर्विचार पल्टिरहनुभएको थियो । मानौँ घोर निद्रामा हुनुहुन्थ्यो । मलाई भने चित्त दुखेको थियो । कसैले बालाई अबिर लगाइदिन मलाई अह्राए । मेरो ठाडो प्रश्न थियो, ‘मेरो जीवनको यात्रा बाँकी रहँदारहँदै मसँग बिदा माग्ने गोविन्द वर्तमानलाई म किन लगाइदिऊँ अबिर ?’

बा हक्की, निडर र आफ्नो कुरा निर्धक्क राख्न नहिच्किचाउने हुनुहुन्थ्यो । साहित्यको संसारबाट एकछिन छुट्टी मागेर पारिवारिक परिवेशमा उहाँलाई हेर्ने हो भने देखावटी विचार र व्यवहार नभएको, जिम्मेवारीबोध भएको र अत्यन्तै स्नेही पिता हुनुहुन्थ्यो मेरा बा गोविन्द वर्तमान । झलक सुवेदीले लेख्नुभएको लेखका केही अंशले मलाई बाप्रतिको एउटा बेग्लै दृष्टि राख्न सघाएको थियो । भनिएको थियो, ‘म चाँडै मर्छु जस्तो छ झलकजी, अरू कुरा त केही थिएन, छोराछोरी सानै छन्, म मरेँ भने तिनीहरूको बिजोग हुन्छ ।’ जहिले सम्झिए पनि यी हरफले मेरो जिउभरि काँडा उमार्छन् । काँडासँगै हुर्किएकोमा खुसी हुन्छु र भन्न मन लाग्छ, ‘बा, हामी अब हुर्किसक्यौँ ।’ तर, बा हुुनुहुन्न । 

एक्लै रमाउने स्वभाव थियो बाको । तर, साथीहरूसँग समय बाँड्न नहिच्किचाउने । हरेक दसैँको अष्टमीका दिन हामीकहाँ साहित्यकारको जमघट हुन्थ्यो । त्यसवेला कोठाभित्र छिर्न खासै पाउँदिनथेँ म । घरी झ्यालतिरबाट त घरी ढोकाको साँचो लाउने प्वालबाट हेर्थेँ । भित्र के–के हुन्छ भनेर जान्न उत्सुक हुन्थेँ । कुन्नि कसरी एकपल्ट मैले भित्र पस्न पाएँ । राजव अंकलले मलाई ‘बाबु ल कविता सुनाऊ त’ भन्नुभएको यियो । मैले पनि नहिच्किचाई एउटा कविता सुनाएको थिएँ । त्यो सुनिसकेर राजव अंकलले भन्नुभयो, ‘गोविन्दजी कवि भएको प्रतिनिधित्व आज छोरोले ग-यो ।’ मन छ मलाई प्रतिनिधित्व गर्ने, तर साहित्यको मेरो यात्रामा बाबाट मैले पाउने सहयोग–शिक्षाको अभावको सजाय पनि भोग्नु छ । 

अष्टमीकै दिन थियो । ६ कात्तिक २०६९ साल बाले मलाई, हामीलाई छाड्नुभयो । बा मात्र त्यस दिन बिदा हुनुभएन, बासँग बुनिनुपर्ने मेरा भविष्यहरू पनि बिदा भए । जीवनको प्रमुख मार्गदर्शक मबाट बिदा हुनुभयो । बासँग बिताएका क्षणहरू सम्झनामा परिणत भए । हाम्रो घरमा सधैँ गुन्जिने बाको बोल्ड आवाज हरायो । त्यस दिन केवल अग्रिम–उष्माका बा मात्र बिदा हुनुभएन, नेपाली साहित्यको एउटा गम्भीर साक्षी र साधक पनि बिदा भयो । मेरी आमाको सिन्दुर बिदा भयो । हजुरआमाको कोख रित्तियो । केही भाइ–बिहिनीका दाजु बिदा भए । धेरैले गम्भीरतापूर्वक ख्याल गर्ने बाको गम्भीर स्वभाव बिदा भयो । समष्टिमा मेरा बा गोविन्द वर्तमान बिदा हुनुभयो । 

कवि विनोदविक्रम केसीले भनेझैँ बा आगोको अर्को रूप हुनुहुन्थ्यो । म आर्यघाटमा थिएँ । त्यतिवेला बा मेरो अगाडि निर्विचार पल्टिरहनुभएको थियो । मानौँ घोर निद्रामा हुनुहुन्थ्यो । मलाई भने चित्त दुखेको थियो । कसैले बालाई अबिर लगाइदिन मलाई अह्राए । मेरो ठाडो प्रश्न थियो, ‘मेरो जीवनको यात्रा बाँकी रहँदारहँदै मसँग बिदा माग्ने गोविन्द वर्तमानलाई म किन लगाइदिऊँ अबिर ?’ सल्किरहेको बाको शरीरको धुवाँलाई साक्षी राखेर त्यसवेलाको फुच्चे ‘अग्रिमा’ले केही भनेको थियो, ‘बा, मलाई किन यति चाँडै छाडेको ? के अब मलाई सबैले बा भएको वेलाको जस्तै माया र महत्व  देलान् ?’ बा केही बोल्नुभएन । बाको बलिरहेको शरीरबाट निर्लज्ज उडिरह्यो धुवाँ । 

बा हुनुहुन्न, तर बा कड्किएको आवाज घुम्छ मेरो मस्तिष्कमा । बेरिरहन्छ– जिम्मेवारी बोधले मलाई । र, मैले स्वीकार गर्नु जरुरी छ बाको अनुपस्थिति । मैले बाविना नै बाँच्नुपर्छ भनेर सम्झाउनुपर्छ मनलाई । आज ७ वर्ष लाग्यो बा नभएको, तर गुन्जिरहन्छ त्यो बोल्ड आवाज मेरो कानमा र भनिरहन्छ मलाई, ‘सन् यु आर् द मास्टर अफ योर् फेट् एन्ड् क्याप्टेन अफ योर् सोल, बिकज यु आर् माई सन् ।’

बाले हिजो सपनामा आएर मलाई भन्नुभयो, ‘म अहिले फर्पिङमा बस्छु ।’ फर्पिङको कुन भाग कुन इलाका हो मलाई थाहा छैन । ‘तिमीहरू नआउनू, त्यो तिमीहरू आउन नमिल्ने फर्पिङ हो’ भनेर पनि उहाँले भन्नुभएको थियो । त्यतिवेला बाको हातमा उही चुरोटको ठुटो सल्किइरहेको थियो । बिलाउँदै थियो– माथिमाथि पुगेर, बलिरहेको चुरोटको ठुटोबाट लहरिँदै–लहरिँदै उड्दै गरेको धुवाँ, जसरी सात वर्षअघि आर्यघाटको एउटा चिताबाट उडिरहेको थियो बल्दै गरेको बाको शरीरबाट निर्लज्ज धुवाँ ।