• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
सरस्वती प्रतीक्षा काठमाडाैं
२०७६ असार २८ शनिबार ०८:२२:००
समाज

मृत कविहरूको समाज

२०७६ असार २८ शनिबार ०८:२२:००
सरस्वती प्रतीक्षा काठमाडाैं

विद्यार्थीहरूलाई डेस्कमाथि नटेक भन्नुपर्ने शिक्षक आफैँ डेस्कमाथि उभिन्छन् र सोध्छन्, ‘ल भन म किन डेस्कमाथि उभिएको ?’ शिक्षकको हर्कत देखेर छक्क परिरहेका विद्यार्थीमध्ये एउटाले भन्छ, ‘अग्लो अनुभव गर्न ।’ ‘होइन । सधैँ देखिने कुराहरूलाई फरक तरिकाले हेर्न ।’ त्यसपछि उनी आफ्ना सबै विद्यार्थीलाई एक–एक गरेर डेस्कमा उभिन र नयाँ अनुभव गर्न लगाउँदै भन्छन्, ‘जब हामीलाई केही कुराबारे थाहा छ भन्ने लाग्छ, तब त्यो कुरालाई फरक तरिकाले हेर्न सुरु गर्नुपर्छ, भलै त्यसरी हेर्दा कहिलेकाहीँ गलत वा बेवकुफजस्तो किन नदेखियोस् !’

सिकाइको यो दृश्य हो, विश्व चर्चित सिनेमा ‘डेड पोयट सोसाइटी’ अर्थात् मृत कविहरूको समाजको । सिकाइको नयाँ अभ्यास अनि शिक्षक र विद्यार्थीबीचको मित्रवत् सम्बन्धलाई झल्काउने यी र यस्ता थुप्रै दृश्य छन् डेड पोयट सोसाइटीमा ।जुन साँझ मैले यो सिनेमा पाँचौँपटक हेरेर एकतमासको अनुभूतिमा पौडिरहेकी थिएँ, त्यही साँझ ललितपुर, माल्टाका कक्षा पाँचमा पढ्ने ११ वर्षीय बालक समीर लुङ्वाले आफूले घर तथा विद्यालयमा माया नपाएको, दुःख झेल्नु परेको सुसाइड नोट लेख्दै आत्महत्या गरेको समाचार आयो ।

डेड पोयट सोसाइटीकै निल पेरीको आत्महत्याको अर्को संस्करणजस्तो लाग्यो समीरको आत्महत्या पनि । जीवनको संघारमै जीवनप्रति यति वितृष्णा कसको कारणले उब्जियो ? बाउ–आमा र शिक्षक–शिक्षिकाहरूको सोचको तबेलामा बच्चाहरूलाई बाँधेर किन कथित आदर्श र अनुशासनको अपाच्य चना खुवाइँदै छ ? किन बच्चाहरूलाई उनीहरूका नैसर्गिग इच्छा, चाहना र सपनाबाट वञ्चित गरिँदै छ ? आजभन्दा ३० वर्षअगाडिको चर्चित सिनेमा डेड पोयट सोसाइटीले जन्माएका प्रश्न र बहस आज पनि उत्तिकै सान्दर्भिक लाग्छ ।

आत्महत्या/हत्या
डेड पोयट सोसाइटीको एउटा बलियो चरित्र हो निल पेरी । एस फादर वा नो फादर पनि होइन । प्रत्येक पल आफ्नो पितालाई ‘एस सर, एस सर’ भन्दै पिताको आदेशलाई नै अन्तिम आदेश मान्ने निल पेरी सुरुमा कुनै रोबोटभन्दा कत्ति फरक लाग्दैन । उसको जीवनमा नाटकीय मोड तब आउँछ, जब स्कुलमा आएका नयाँ शिक्षकले उसलाई पिताको चाहनाको छायामा होइन, आफ्नै चाहनाको आलोकमा बाँच्न अभिप्रेरित गर्छन् । पहिलोपटक ऊ आफ्नै प्यासनसँग आँखा जुधाएर प्रेमिल मुस्कान मुस्कुराउँछ – अभिनय ! ओ, अभिनय !!

अभिनयप्रतिको प्रेम जुर्मुराएपछि ऊ जोखिम उठाउन तयार हुन्छ । आफ्नो पिताको अस्वीकृतिका बाबजुद सेक्सपियरद्वारा लिखित ‘अ मिड समर नाइट्स ड्रिम’मा अभिनय गर्छ । सबैले उसको अभिनयको तारिफ गर्छन् । सबैको वाहवाही पाइरहँदा आफ्नै पिताले भने उसलाई गलत बाटोमा हिँडेको भन्दै गालीगलौज गर्छन् । भविष्यमा डाक्टर बन्नै पर्छ भन्दै वेलटनबाट निकालेर मेडिकल पढाउन हवार्ड युनिभर्सिटी पठाउने निर्णय सुनाउँछन् । आफूले रोजेको बाटोमा हिँड्न नपाएपछि आफ्नो पिताले रोजिदिएको बाटोमा हिँड्न उसको आत्माले मान्दैन । अन्ततः तेस्रो बाटो रोज्छ निल पेरीले र त्यो आत्महत्याको बाटो हुन्छ । 

सबैले भन्छन्, ‘निल पेरीले आत्महत्या ग¥यो ।’ निल पेरीका साथी भन्छन्, ‘निल पेरीका पिताले निल पेरीको हत्या गरे ।’  निल पेरीको मात्र होइन, सिनेमाका अर्का पात्र टोड एन्डरसनको पीडा पनि उस्तै छ । टोडका पिता उनलाई वकिल बनाउन चाहन्छन्, जब कि टोड भने लेखक बन्न चाहन्छ । आज्ञाकारी छोरा बन्ने क्रममा टोड कसरी पिल्सिएर बाँच्न बाध्य हुन्छ ? त्यो पीडा उत्खनन गरी साध्य छैन ।यस्तै पृष्ठभूमिमा केही वर्षपहिले आख्यानकार अमर न्यौपानेको उपन्यास ‘करोडौँ कस्तूरी’ पनि आएको थियो, जसमा अमरले अभिनय गर्न चाहने हरिवंशले आफ्नो चाहनाको बाटोमा हिँड्न नपाउँदा हरिवंशमा आएको विक्षिप्तताको वर्णन गरेका छन् । 

विक्षिप्तताका यस्ता कथा टोल–टोलमै भेटिन्छन्, स्कुल–स्कुलमै भेटिन्छन्, घर–घरमै भेटिन्छन् । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार, आर्थिक वर्ष ०७५÷७६ को वैशाखसम्ममा मुलुकभर २०२२ जनाले आत्महत्या गरेको रेकर्ड छ, ती मध्ये २१६ जना बालबालिका छन् । समीर मात्र होइन, अन्य बालबालिकाको आत्महत्या पनि यहाँ गम्भीर चासोको विषय कहिल्यै बन्नै सकेन । स्कुल पोसाकमै आत्महत्या गर्ने धादिङका १३ वर्षीय बालक सुनील परियार हुन् वा शौचालयमा झुन्डिएर आत्महत्या गर्ने काठमाडौं धापासीका १४ वर्षीय बालक विनायक पाण्डे, यिनीहरूको आत्महत्याको पछाडिको कारण घर तथा स्कुलप्रतिको असन्तुष्टि नै देखिन्छ । 
गम्भीर प्रश्न यो छ कि, यी कलिला नानीबाबुको मनमा यति चरम निराशा र असन्तुष्टि कसरी पैदा गरिरहेछन् घर तथा विद्यालयहरू ? समस्या हाम्रो शिक्षण पद्धतिमा छ कि त्यसको अवलम्बन गर्ने शिक्षक तथा प्रशासनमा ?

हरेक विद्यार्थीको निजत्व र प्यासनको सुषुप्त ध्वनिलाई उकेरा लगाएर बुलन्द बनाउन यहाँ हर शिक्षालयमा कम्तीमा एउटा किटिङजस्तो शिक्षकको आगमन हुनुपर्छ । हरेक कक्षाकोठाभित्र जीवनहीन स्तब्ध पिन ड्रप साइलेन्स होइन, जीवनसहितको उर्वर हल्लीखल्ली हुनुपर्छ । 

अरू त अरू, बूढानीलकण्ठ भंगालमा कक्षा २ पा पढ्ने समुद्र मल्लले समेत आत्महत्याको बाटो रोजे । भर्खरै मात्र एसइईमा नतिजा राम्रो नआएको झोंकमा चन्द्रागिरी बलम्बुकी सदीक्षा पौडेलले समेत आत्महत्याकै बाटो रोजिन् । प्रविधिले संसारलाई एकै स्क्रोलको भरमा पहुँच पुग्ने गरीकन एउटै ग्लोबल भिलेज त बनाइदियो, तर एउटै कोठाभित्र रहेका प्रत्येक मान्छेलाई छुट्टाछुट्टै टापु पनि बनाइदियो । बालबालिकाहरूको आत्महत्या एकातिर उनीहरूको एक्लोपनले निम्त्याएको आबेग र आवेश हो । अर्कोतिर, हाम्रो शिक्षाको जर्जर प्रणालीको डसाइ उनीहरूको आत्महत्याको अर्को कारक तत्व  हो । 

यी नाम त बालबालिकाका आत्महत्याका केही प्रतिनिधि मात्र हुन् । आज सायदै त्यस्तो कुनै बच्चा छ, जसलाई कारणवश स्कुल बिदा छ भनेको दिन ‘आहा, आज बिदा हो’ भन्दै खुसीले एक हात उफ्रिएको नहोस् । आखिर किन एउटा बच्चा स्कुल जानभन्दा नजान खुसी मान्छ ? हेर्दा सामान्यजस्तो लाग्ने यो प्रश्नको उत्तर पक्कै पनि सामान्य छैन । सामान्य हुँदो हो त जोन किटिङजस्ता चरित्रलाई असामान्य चरित्र मान्दैनथ्यो कुनै पनि समाज ।
    
किटिङ र कार्पे डियम
डेड पोयट सोसाइटीका सूत्रधार हुन्– जोन किटिङ । यो भूमिगत समाज वेलटनमा उनी विद्यार्थी बनेर पढ्दा नै गठन गरिएको हुन्छ । डेड पोयट सोसाइटी उत्कर्षमा तब पुग्छ, जब उनी वेलटनकै शिक्षक बनेर आइपुग्छन् र भन्छन्– कार्पे डियम ! वेलटन एकेडेमी अमेरिकाको एउटा बेस्ट स्कुल हुनुको गर्वले गमक्क फुलेको छ । हरेक क्षण परम्परा, आदर, अनुशासन र उत्कृष्टतालाई स्कुलको चार पिलरका रूपमा व्याख्या गरिन्छ ।

स्कुलको अंग्रेजी शिक्षक रिटायर्ड भएपछि आउने नयाँ शिक्षक अर्थात् जोन किटिङ आफ्नो पहिलो कक्षामा नै यी चार पिलरलाई भत्काउँदै प्रवेश गर्छन् । वेलटनको सय वर्षको इतिहासमा सामान्यतया कक्षाकोठामा शिक्षकको प्रवेशसँगै एउटा गाढा मौनता प्रवेश गर्छ । अभेद्य सन्नाटा प्रवेश गर्छ । कठोर नियम र अनुशासन प्रवेश गर्छ । यसको ठीक विपरीत कक्षामा विद्यार्थीलाई हल्ला नगर भनेर सिकाउनुपर्ने शिक्षक किटिङ त आफैँ सुसेली हाल्दै फुक्काफाल तरिकाले हल्ला गर्दै कक्षा प्रवेश गर्छन् । 

व्यंग्य पस्कने उनको काइदा पनि उस्तै व्यंग्यात्मक लाग्छ । वेलकम टु वेलटन भन्नुपर्नेमा विद्यार्थीहरूलाई सुरुमै वेलकम टु हेल–टन भन्छन् र नर्कको थप अर्को बनिबनाउ उत्पादन नबन्न आग्रह गर्छन् ।सबै शिक्षकलाई ट्र्याकमा हिँड्न सिकाउँछन् । किटिङ ट्र्याक भत्काएर आफ्नै लयमा हिँड्न सिकाउँछन् । हरेक कुरालाई फरक कोणबाट हेर्न र अनुभव गर्न सिकाउँछन् । 

डेड पोएट सोसाइटीले कविताप्रतिको परम्परागत मानक अनेक तवरले भत्काएको पाइन्छ । यहाँ कविताप्रतिको प्रेम कविता पढ्नमा भन्दा पनि कविता बाँच्नमा झल्किन्छ । कविताको भावलाई रसपान गर्दै जीवनको रसपान गर्ने (सकिङ द म्यारो आउट अफ लाइफ ) तरिका निराला लाग्छ । स्कुलका विद्याथीले स्कुलसँग स्वीकृति नलिई स्कुलबाहिर निश्चित समयमा भेटेर कविता पढ्दै जीवनको आनन्द उठाउने यो ठाउँ भने स्कुलले वर्जित गरेको ठाउँ हो । 

कविता पढ्दै जीवनको आनन्द लिने जिउँदा मान्छेको सोसाइटीको नाम डेड पोएट सोसाइटी नै किन भयो त ? यो समाज नै ती सम्पूर्ण मृत कविताहरूमा समर्पित समाज हो, जो मरेर पनि कहिल्यै मरेनन् । लर्ड बायरनदेखि रोबर्ट फस्र्टसम्म, विलियम सेक्सपियरदेखि अल्फ्रेड टेनिसनसम्म, थोरोदेखि वाल्ट व्हिटम्यानसम्म अनेकन कविका कविता रसास्वादन गरिन्छ । जीवनको क्षणभंगुरतालाई सचेततापूर्वक आत्मसात् गर्नुलाई यसले महत्व दिन्छ । सास चलिरहने वेलामा नै नीति र नियमको निसासिँदो च्याम्बरबाट बाहिर निस्केर कविता र जीवनको आनन्द उठाउने स्वतन्त्र व्यक्तिको समाज भएकाले यो डेड पोएट सोसाइटी भएको हो । 

कविता पढाउने किटिङलाई कविताप्रति अगाध प्रेम छ । तर, कवितालाई परिभाषा र व्याख्याको कोष्ठकभित्र थुनेको उनलाई मन पर्दैन । कविताको पर्फेक्सनलाई ग्राफको तेर्सो बिन्दुमा र महत्वलाई ठाडो बिन्दुमा अंकित गरेपछि त्यसले ओगटेको क्षेत्रफलका आधारमा कविताको महानता पत्ता लगाउने कविताको सूत्रवत् परिचय लेखिएको पाना नै सुरुमै सबै विद्यार्थीलाइ च्यात्न लगाउँछन् । कविता र कविताको सौन्दर्यलाई स्वतन्त्र छोडिदिन आग्रह गर्छन् । 

जीवनमा जीवनको नाममा अनेक थोक गर्ने, तर जीवन नै जिउन बिर्सनेहरूलाई नराम्रोसित चिमोट्छ ‘डेड पोयट सोसाइटी’ सिनेमाले 

किटिङको तर्क छ– जीवन धान्नका लागि चिकित्सा, इन्जिनियरिङ, कानुन, व्यापार आदि महान् खोज हुन्, तर कविता, प्रेम र सौन्दर्यले जीवन बाँच्न सिकाउँछन् । यसरी कवितालाई जीवनसित जोडेर अनुभूत गर्ने र गराउन खोज्ने वेलगाम किटिङ र वेलटनको अलचक प्रशासनबीचको दूरी हामीले पनि भोग्दै र देख्दै आएको हाम्रा शैक्षिक संस्था र विद्यार्थीबीचको दूरीजस्तै छ । जीवन एकातिर, शिक्षा अर्कोतिर । 

किटिकले बारम्बार दोहा-याउने शब्द हो– कार्पे डियम । कार्पे डियम अर्थात् सिज द डे अर्थात् आजमा बाँच । त्यसो त कार्पे डियम एक लोकोक्ति हो । रोमन कवि होरेसले कार्पे डियमलाई ‘आजमा बाँच’ भन्ने भावका खातिर ओेडेसमा प्रयोग गरे र यसलाई अमर बनाइदिए । सैमुअल डेनियल, एन्ड्रयु मार्वेल, रोबर्ट फस्र्ट, लर्ड बायरनजस्ता थुप्रै कविको कार्पे डियमलाई आफ्नो रचनाको मेरुदण्ड मानेर यसलाई अझ लोकप्रिय बनाए । डेड पोयट सोसाइटी पनि कार्पे डियमकै जगमा उभिएको समाज हो ।जीवनमा जीवनको नाममा अनेक थोक गर्ने, तर जीवन नै जिउन बिर्सर्नेहरूलाई नराम्रोसित चिमोट्छ यो सिनेमाले । 

सिनेमासँगै प्रश्न
अक्सर राम्रो सिनेमा र मनोरञ्जनलाई एक–अर्काको पर्याय मान्दै व्याख्या गरिन्छ । उत्कृष्ट सिनेमाले चाहिँ मनोरञ्जनसँगै गम्भीर प्रश्न गर्न पनि सिकाउँछ । डेड पोयट सोसाइटी त्यही प्रश्न गर्न सिकाउने अब्बल दर्जाको सिनेमा हो । डेड पोएट सोसाइटीले मूलतः शिक्षामा दुई धारलाई अगाडि उभ्याएको छ– सिनेमाको वेलटन एकेडेमीले सुझाएझैँ निश्चित घेराभित्र बसेर घोकन्ते शिक्षाको बाटोमा शिक्षालाई अगाडि बढाउने वा सिनेमामा देखाइएको किटिङको अवधारणा अनुसारको गर र सिक विधिलाई अंगीकार गर्ने ।

अनुशासन र नियमको कडा घेरामा बाँधिएर उस्तै हेयर स्टाइल र युनिफर्म अनि वर्षौँदेखि उही तवरले पढिरहेका विद्यार्थीमाझ जोन किटिङ कुनै अपवादको नाम हो । खल्लीबल्लीको नाम हो । जमेको पोखरी होइन, तथाकथित किनारालाई भत्काउदै हिँड्ने धारिलो नदीको नाम हो । पूरातन बाँधहरूलाई भत्काउने अटेरी बहावको नाम हो । 

कक्षाकार्य, गृहकार्य र पढाइको बोझले चेपिएका विद्यार्थीलाई कक्षाकोठाबाट बाहिर निकालेर किटिङले किताबभन्दा बढी आफू र आफ्नो जीवनलाई पढ्न सुझाएका छन् । किटिङमार्फत अध्ययनको सफलता भनेको राम्रो जागिर प्राप्त गर्नु वा आमाबाबुको सपना पूरा गर्नु मात्रै होइन, आफ्नो प्यासन र चाहनालाई बाँच्नु पनि हो भन्ने दर्साइएको छ । परिवार, समाज र विद्यालयको दबाबले विद्यार्थीले आफैँभित्र दबाएका अतृप्त चाहना र प्यासनलाई पखेँटा लगाएर उड्न दिनुपर्छ भन्ने तर्क अगाडि सारिएको छ । 

पिन ड्रप साइलेन्स अहिले पनि हाम्रो कक्षाकोठाको स्तरीयताको मापदण्ड मानिन्छ । प्रयोगात्मक तवरले विद्यार्थीलाई विभिन्न गतिविधिमा सहभागी गराएर सिकाउन खोज्ने शिक्षक अहिले पनि विद्यालय प्रशासन र सहकर्मीबाट उनीहरूलाई नियन्त्रणमा राख्न नसकेको र विद्यार्थीले शिक्षकलाई नटेरेको आरोप खेपिरहेका छन् । अझै पनि शिक्षक देख्नेबित्तिकै विद्यार्थी चुप लागेर बस्नुपर्ने र कक्षा अवधिभर शान्त भएर शिक्षकले जे बोल्यो त्यो चुपचाप सुन्ने, टिप्ने र घोक्ने लेक्चर मेथड हाम्रो विशिष्ट शैक्षिक पद्धति हो । 

हाम्रो शैक्षिक संस्था प्रविधिमैत्री छ भनेर प्रचार गर्नेहरू पनि खोलाको छेउमा उभिएको विद्यालयले खोलाबारे पढाउँदा मल्टिमेडिया प्रोजेक्टरमा खोलाको भिडियो देखाएर बदलिँदो २१औँ शताब्दीको टेक्नोलोजीलाई आफ्ना कक्षाकोठामा प्रवेश गराएको तर्क पेस गरिरहन्छन् । नजिकै बगिरहेको खोला र खोलाको सुसाइ बिर्सन्छन् । कस्तो हास्यास्पद !

पातका बारेमा पढाउँदा ह्वाइटबोर्डमा पातको चित्र बनाउने कि चौरमा डुलाएर रूखको पात हातमा समातेर पढ्न लगाउने ? फरक–फरक क्षमताका विद्यार्थीलाई एउटै कक्षामा राखेर एकै विधिबाट उही खुराक पस्केर हामी उस्तै विद्यार्थीको झुन्ड उत्पादन गरिरहेछौँ । जस्तो कि मेसिनको एकातिरबाट हामी पीठो हाल्छौँ बीचमा पेलिएर उस्तै आकार, प्रकार र स्वादका बिस्कुटका चक्की अर्कापट्टिबाट निस्कन्छन् । परम्परा, अनुशासन र उत्कृष्टताको चक्कीमा विद्यार्थीको रचनात्मकता, तार्किकता र कल्पनाशीलतालाई धुलोपीठो बनाएर हामी वस्तु उत्पादन गरिरहेछाँै । बितेका २० वर्षमा प्रविधि र समाजले अनेक फड्को मारिसक्यो । तर, अझै पनि २० बर्षअगाडि जे पुस्तक र जुन सिद्धान्त हामी घोकाइरहेथ्यौँ, आज पनि त्यसैलाई रट लगाउँदै नयाँ पुस्ता र प्रविधिसँग सामना गर्न सक्ने जनशक्ति उत्पादनको कल्पना गरिरहेछौँ । 

हाम्रो शिक्षा हाम्रो दैनन्दिनीसँग जोडिएन । पढेका कुरा दैनिक जीवनको पाटोसँग नजोडिँदा पढाइ र भोगाइबीचको अन्तर दिनप्रतिदिन बढिरहेछ । हामीले वर्षौँदेखि गणितका कक्षामा अनुपात र समानुपात (रेसियो एन्ड प्रोपर्सन) पढाइरहेछौँ । लामा–लामा सूत्र घोकाइरहेछौँ । वाष्पीकरण र चापका कैयौँ सिद्धान्त कण्ठस्थ गर्न लगाइरहेछाैँ । तर, खाना पकाउँदा चामलमा पानी हाल्ने कुरा गणितको कुन क्षेत्रले समेटेको छ वा कुन सिद्धान्तका आधारमा चामलबाट भात पाक्छ भन्ने सामान्य प्रश्न सोध्यो भने हाम्रा विद्यार्थीहरू अनुत्तरित रहन्छन् । सरल यन्त्रको परिभाषा कण्ठस्थ सुनाउने विद्यार्थीलाई आमाले डब्बाको बिर्को चम्चाले खोल्नु सरल यन्त्र हो भन्ने कुराको हेक्का नै छैन । यस्ता कयौँ स–साना दैनन्दिनीसँग पनि हाम्रो शिक्षा जोडिएको छैन, किनभने शिक्षालाई हामीले मार्कसिटको अंकसँग तुलना गरेर मात्र हे-यौँ ,न कि व्यवहारसँग । 

३० वर्षअगाडिको सिनेमा भए पनि जोन किटिङजस्ता शिक्षकलाई पचाउन अहिले पनि हाम्रा विद्यालयलाई हम्मेहम्मे पर्छ, किनकि किटिङ भन्छन्– अरूको सोचको दास नबन, बरु आफैँ सोच्न सुरु गर । जब तिमी केही पढ्छौ, लेखकको विचार के हो भन्नेमा ध्यान नदेऊ । तिम्रो आफ्नो विचार के हो भन्नेमा ध्यान देऊ ।
बौद्ध दर्शनको अप्पो दीपो भवः अर्थात् आफ्नो प्रकाश आफैँ बन भन्ने दर्शन किटिङको पनि दर्शन रहेको पाइन्छ । डेड पोयट सोसाइटी सिनेमाको अन्त्यमा वेलटनका हेडमास्टर गेल नोलानलगायतले किटिङमाथि विद्यार्थीलाई अनुशासन भंग गर्न उक्साएको र विद्यार्थीको मतिभ्रष्ट गरेको आरोप लगाएर वेलटन एकेडेमीबाट निकालिन्छन् ।

सिनेमामा किटिङलाई वेलटन एकेडेमीबाट लखेट्ने उही परम्परागत मूल्य, मान्यता र सोचको पैरवी गर्ने थानेदार हुन् । उक्त सिनेमामा जस्तै समाजमा पनि बग्रेल्ती थानेदार छन् । तिनै थानेदारका दादागिरीका कारण आज पनि समीर वा समुद्रजस्ता विद्यार्थी आत्महत्या गर्न बाध्य छन् ।  डेड पोयट सोसाइटी सिनेमा हेरिसकेपछि जो–कोही एकछिन् रनाहामा पर्छ । त्यही रनाहामा मनमनै भन्छ– हरेक विद्यार्थीको निजत्व र प्यासनको सुषुप्त ध्वनिलाई उकेरा लगाएर बुलन्द बनाउन यहाँ हर शिक्षालयमा कम्तीमा एउटा किटिङजस्तो शिक्षकको आगमन हुनुपर्छ । हरेक कक्षाकोठाभित्र जीवनहीन स्तब्ध पिन ड्रप साइलेन्स होइन, जीवनसहितको उर्वर हल्लीखल्ली हुनुपर्छ । अँ साँच्ची, किटिङको अनुहारसित के हाम्रा कुनै शिक्षक–शिक्षिकाको अनुहार मेल खान्छ ?