• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असार २८ शनिबार ०९:००:००
साहित्य

मधेस–दृष्टिमा भानुभक्त

२०७६ असार २८ शनिबार ०९:००:००

भानुभक्त आचार्य (१८७१ असार २९ – १९२५ असोज ६) नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कवि मानिन्छन् । ‘रामायण’, ‘प्रश्नोत्तर’, ‘भक्तिमाला’, ‘वधूशिक्षा’ उनका चर्चित रचना हुन् । नेपाली भाषामा आदिकवि उपाधि पाएका भानुका रचना र योगदानलाई विभिन्न अनुसन्धाता, समीक्षकले समयानुकूल पुनर्मूल्याङ्कन गर्नुपर्ने विचार पनि राख्दै आएका छन् । भानुभक्तलाई मधेसले कसरी पढ्यो त ? ‘झन् नयाँ’को यस अंकमा राजु स्याङ्तानले मधेसका केही लेखक, समीक्षकसँग भानुभक्तबारे कुराकानी गरेका छन्

नेपालका धरोहर
राजेन्द्र विमल, साहित्यकार

सुगौली सन्धि सम्पूर्ण नेपालीका लागि घाउ हो । सन्धिमा नेपालले एकतिहाइ भाग गुमाउनुप¥यो । गुमाउनुको तीनवटा कारण मुख्य थिए । पहिलो, नेपालीमा परस्पर फुट । दोस्रो, सत्ताको निम्ति हानाथाप । तेस्रो, विदेश हस्तक्षेप । त्यस्तो अवस्थामा सम्पूर्ण नेपालीलाई एकताबद्ध बनाउन भानुभक्तले ‘रामायण’ लेखे । उनले रामको व्यक्तित्वलाई उभ्याए । फिरंगीहरूले आक्रमण गरेर नेपालले सुगौली सन्धि गर्नुप¥यो तर, भानुभक्तले रामजस्ता व्यक्ति कुनै दिन अवश्य उठ्नेछन् भनेर देखाए । 
राष्ट्रिय एकता र पहिचानको दृष्टिले सम्पूर्ण नेपालीलाई एक बनाउने कुनै भाषा छ भने त्यो नेपाली भाषाबाहेक अरू छैन । इतिहासको विडम्बना हो, तपाईंलाई मन परे पनि नपरे पनि मैथली सबैतिर बुझिँदैन । 

जनकपुर साहित्य परिषद्का तर्फबाट जनकपुरमा देवकोटा चोक नामकरण गरेर देवकोटाको सालिक बनाउन खोजेको थिएँ । त्यसलाई बनाउन दिइएन । भानुभक्तको सालिक जनकपुरमा ठड्याउने वेला म त्यो समितिको सदस्य थिएँ । अहिले भानुभक्तको सालिक ढालियो । तर, नाम त अहिले पनि भानुचोक नै छ । नेपाली भाषा संयोगले सम्पूर्ण नेपालीको साझा भाषा बन्न पुगेको छ । सम्पूर्ण नेपालका धरोहर भानुभक्तमाथि गर्र्व गर्न सक्नुपर्छ । राष्ट्रको हितका लागि, मंगलका लागि यो अपरिहार्य छ । 


मधेसमा शून्य भानु
गोपाल ठाकुर, साहित्यका

मधेसमा भानुभक्त आचार्य औपचारिक शिक्षाबाहेक अन्य क्षेत्रमा शून्य छ । उनको नाम विद्यालयको पुस्तकमा बाहेक जनजिब्रोमा कतै पनि छैन । मैले पनि पहिलोपटक प्राथमिक तहमा पढ्दा सुनेँ । उच्च शिक्षा पढ्दा मात्रै उनका रचना पढेँ । तर, भानुभक्तका रचनाहरू पढिरहँदा उनीबाट प्रभावित हुनुपर्ने ठाउँ कतै देखिनँ । उनका रचनाहरूले मलाई कुनै रुचि जगाउन सकेन । 

हाम्रो क्षेत्रमा आफ्नै भाषाका साहित्यकारलाई पढ्न नपाउने तर भानुभक्तलाई चाहिँ विद्यालय तहबाटै पढ्नुपर्ने भएपछि मभित्र प्रश्न उठ्यो । किनकि विद्यालयमा पुग्दा घरमा सिकेको ज्ञान काम नलाग्ने भयो । त्यो समस्या आजसम्म पनि छँदै छ । तर, मधेसमा आजसम्म पनि भानुभक्तलाई पढ्नै पर्ने व्यक्तिका रूपमा लिइएको देखिन्न । किनभने भानुभक्तलाई चिनिएको रामायणबाट हो । भानुभक्तले अध्यात्म रामायणको एकतिहाइ मात्रै अनुवाद गरेका हुन् । उनीभन्दा अघि नै तुलसी दासले रामायण अनुवाद गरेका थिए । मधेसतिर अष्ठ जाम हुँदा अहिले पनि तुलसी दास अनुदित रामचरित्र नै वाचन गरिन्छ । भानुभक्त अनुदित रामायण पाठ गरिँदैन । यदि कुनै समाजमा मूलग्रन्थ नै प्रचलित हुन सकेको छैन भने त्यो समाजले ग्रन्थ अनुवाद गर्ने व्यक्तिलाई सहज रूपमा लिने कुरै भएन । 

भानुभक्तभन्दा ५ शताब्दीअघि जन्मिएका विद्यापति र तीन शताब्दीअघि जन्मिएका तुलसी दासजति पनि भानुभक्त प्रगतिशील देखिँदैनन् । विद्यापति र तुलसी दासको तुलनामा भानुभक्तको समयमा शिक्षाको स्तर धेरै अगाडि बढिसकेको थियो । यसरी हेर्दा भानुभक्त उनीहरूको तुलनामा प्रतिगामी नै देखिन्छन् । भानुभक्तले नेपालमा सामन्तवाद स्थापित गराउन ठूलो भूमिका खेले । त्यसैको फलस्वरुपः ‘मकैको खेती’ लेख्ने लेखकले दण्ड पाए, भानुभक्त अझै पुरस्कृत भइरहेका छन् । 

मधेसले नसम्झिए हुन्छ
सिके लाल, लेखक

स्कुलमा नेपाली भाषा अनिवार्य गरेपछि भानुभक्त आचार्यलाई पढ्न थालियो । उनी रामायणका रचयिता, नेपाली भाषाका आदिकवि भनेर पाठ्यक्रममा सिकाइएको थियो । त्यसवेला बुझेर होइन, घोकेर पढियो ।  रामायणको रचयिता भनेपछि हिन्दू धर्म पृष्ठभूमि हुनेलाई भानुभक्तले राम्रै काम गरेका रहेछन् भन्ने परेको हुनुपर्छ । तर, जब भाषा आन्दोलन बलियो हुँदै गयो, त्यसपछि भानुभक्त भाषिक उपनिवेशवादको प्रतीक रहेछन् भन्ने बुझिन थाल्यो ।

जनकपुरमा भानुभक्तको सालिक बनाउन राष्ट्रवादीहरू कस्सिएर लागे । विवाद भयो । प्रहरीले लाठीचार्ज ग¥यो । कफ्र्यु नै लगाएर सालिक ठड्याइयो । संयोग कस्तो प-यो भने मधेस विद्रोहताका फेरि कफ्र्युकैबीच सालिक भत्काइयो । तर, ‘भानु चोक’ भन्ने नाम हटेन । किनकि त्यो चोकवरपरका पसल, बैंकहरूलाई भानुचोक भन्न सजिलो भयो । बैंकहरू कसको नियन्त्रणमा छन्, त्यो प्रस्टै छ । ती बैंकले आफ्नो ठेगानामा त्यही लेख्छन् । तिनको खाता र पासबुकमा त्यही नाम लेखिन्छ । जनस्तरबाट मात्रै नाम परिवर्तन गर्न गाह्रो हुने रहेछ ।

कतिपयले भानुभक्तको सालिक मधेसमा ठड्याइनुलाई सम्बन्ध जोड्ने सेतुका रूपमा पनि अथ्र्याउँछन् । यो राज्यस्तरबाट नभई जनस्तरबाट भएको भए हुन पनि सक्थ्यो । तर, जब राज्यस्तरबाट त्यो कदम चालिन्छ, त्यसपछि त्यो बचाउने डोरी होइन, घाँटीमा फन्दा हाल्न दिएको डोरी ठहर्छ । मैले भनेको पनि छु, त्यो एउटा चरण थियो, सकियो । अब जनस्तरबाट सद्भावको प्रतिकका रूपमा कुनै साहित्यकारको सालिक ठड्याउन सकिन्छ । 

राजनीतिक मतभेद होला । किनभने कवि र साहित्यकार कुनै जातको र समुदायको मात्रै हुँदैन । अहिलेकै ठाउँमा राख्नुपर्छ भन्ने छैन, कुनै अर्को ठाउँमा राख्न सकिन्छ । भानुभक्तले आफ्नो भाषाको सेवा राम्रै गरेका हुन् । नेपालको एउटा ठूलो समुदायले उनलाई मान्छन् । भानुभक्तबाट अरू भाषासेवीहरूले सिक्ने ठाउँहरू छन् । त्यसैले यदि जनस्तरबाट कुनै साहित्यकारको सालिक पुनः ठड्याइन्छ भने त्यसले पुलको काम गर्छ । तर, राज्यस्तरबाट राखियो भने त्यो दम्भको प्रदर्शन मात्रै हुन्छ ।

मधेसले भानुभक्तलाई सम्झिरहनुपर्ने कुनै आवश्यकता छैन । तर, दुई नम्बर प्रदेश यही बहुराष्ट्रिय राज्यभित्रको एउटा राष्ट्र हो भन्ने हिसाबले सम्झिने हो भने आवश्यकताभन्दा पनि उपयोगिताचाहिँ छ । किनभने दुई नम्बर प्रदेशको मुख्य हिस्सा नेपाली भाषाभाषी छन् । तिनलाई नजरअन्दाज गरेर दुई नम्बर प्रदेशको संस्कृति र राजनीति चल्दैन । भानुभक्तलाई सम्झिनुपर्ने आवश्यकता नभए पनि सम्झन उपयुक्तचाहिँ हो ।

बहुसंख्यकको भाषा र संस्कृतिले अरू भाषालाई संसारैभरि दमन गरिरहेको छ । वर्चस्वको लागि राज्यले आफ्ना औजारहरू (सेना, प्रशासन, राजनीति, धर्म र भाषा)लाई प्रयोग गर्छ । यो वर्चस्ववादी राज्यको चरित्र नै हो । जनजाति, आदिवासीका भाषाहरू सुस्तरी विलाउँदै गइरहेका छन् । तर, दुई नम्बर प्रदेशमा जुन भाषा जोगिएका छन्, ती दबाउन खोजेर पनि नसकेर जोगिएका हुन् ।

भानुभक्तले भारोपेली भाषा परिवारको सेवा गरे । मधेसमा बोलिने केही भाषाहरू पनि भारोपेली भाषा परिवारअन्तर्गत नै पर्छन् । त्यसकारण भानुभक्तका कारण मधेसमा बोलिने भाषामा टेवा पुग्यो र मधेसलाई फाइदा पुग्यो भन्ने तर्क म स्वीकार गर्न तयार छैन । किनकि भानुभक्तले अघि सारेको भाषा राज्यको भाषा हो । भानुभक्त र पृथ्वीनारायण शाह जोडिएर आउँछ । त्यो भनेको उपनिवेशवादको प्रतिक हो । भानुभक्तलाई सम्झिरहनुपर्ने जरुरी छैन । किनभने भानुभक्त हिन्दू धर्मसँग जोडिएका थिए । उनले रामायणको अनुवाद गरेर मात्र उनको महत्व बढेको हो ।

नेपाली भाषा लोकप्रिय बनाए 
रमेशरञ्जन झा,रंगकर्मी

स्कुल पढ्दा भानुभक्तको साहित्यबाट धेरै प्रभाव ग्रहण गर्न सकिनँ । किनकि उनका खासै मौलिक रचना छैनन् । रामायण पनि अनुदित हो । रामायणबाहेक धेरै प्रभाव पार्ने उनका अरू कृति छैनन् । तर, उनले नेपाली भाषालाई लोकप्रिय बनाउन महत्वपूर्ण  भूमिका खेले ।  भानुभक्तले संस्कृत पढे । लोकप्रिय ग्रन्थलाई आफ्नो मातृभाषामा अनुवाद गरे । त्यसैले उनलाई महान् स्रष्टाका रूपमा कदर गर्नुपर्छ । उनको रचनालाई राज्यले प्रभुत्व जमाउन कसरी ज्यावलको रूपमा प्रयोग ग-यो, त्यो त प्रयोग गर्ने दोषी हो, भानु होइनन् । 

साहित्य कला क्षेत्रमा राजनीतिले जुन असहिष्णुता सिर्जना ग-यो त्यो असहिष्णुतालाई अन्त्य गर्न पनि कला र साहित्यलाई नै लिनुपर्छ । फाटेको मनलाई जोड्ने काम साहित्य र सिर्जनाले नै गर्छ । तर, स्विकारोक्ति र सम्मान हुनुपर्छ । यसले मात्रै नेपाललाई बलियो र एकताबद्ध बनाउँछ । जहाँ स्विकारोक्ति र सम्मानको कुरा आउँछ त्यहाँ दुई नम्बर प्रदेशले भानुभक्तलाई सम्झिनुपर्ने हुन्छ । दुई नम्बर प्रदेशले भानुलाई सम्मान गर्नुपर्छ । भानुभक्तलाई देशले सम्झिरहेको छ भने दुई नम्बर प्रदेशले किन नसम्झिने ?

भानु साझा सम्मानका पात्र
रामचन्द्र झा, राजनीतिज्ञ

नेपाली माटो सुहाउँदो सरलता, प्रवाहमा लेखिएको कारण मधेसमा पनि भानुभक्तको रामायणको चासो छ । आफ्नै भूमिमा मैथली भाषा उपेक्षित हुनु दुखद हो । तर, भाषा जे होस्, लेखनशैली, रचनात्मक शैली र वाङ्मयको प्रवाह छ भने जुनै भाषामा भए पनि त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ । त्यो अर्थमा भानुभक्तलाई सकारात्मक रूपमा लिनुपर्छ ।

राज्यले खस भाषालाई बढी प्राथमिकता दियो । त्यसले नेपाली भाषामा मलजल भयो । पाठ्यक्रम, सञ्चारमाध्यम र राजकाजमा नेपाली भाषा प्रयोग हुँदा स्वाभाविक रूपमा मैथली भाषा ओझेलमा परेको छ । आन्दोलनताका मधेसमा भानुभक्तको सालिक तोडिँदा हामीले त्यतिवेलै निन्दा ग¥यौँ । एउटा कविको सालिक तोड्ने, अपमान गर्ने, साम्प्रदायिक सद्भाव भाँड्नु उचित होइन । 

विद्यापति पनि भारोपेली भाषा परिवारकै साहित्यकार हुन् । काठमाडौंमा विद्यापतिको सम्मान गर्दा के बिग्रिन्छ ? अन्य भाषाका कविलाई पनि सम्मान गर्दा के बिग्रिन्छ ? अमुक साहित्यकारलाई निन्दा गर्ने र सालिक तोड्नु ठीक होइन । साहित्यकार साझा सम्मानका पात्रहरू हुन् । उनीहरूलाई सम्मान हुनुपर्छ । 

भानु होजिमोनी
रीता साह, अधिकारकर्मी

मधेसमा ठूलो जमातले भानुभक्तलाई चिन्दैन । मधेसका मानिस भानुभक्तलाई पढ्नुभन्दा आफ्नै क्षेत्रका साहित्यकार पढ्नुपर्छ भन्छन् । उनीहरू मैथली साहित्यकारलाई मान्नुपर्छ भन्छन् ।  मधेसमा राज्यले पहाडको विभूति स्थापित गर्न खोजेको छ । राज्यले मधेसका विभूतिलाई ओझेल पा-यो । शासकले आफ्नो विभूतिलाई पाठ्यक्रममा राखेर पठायो । उनीहरूबारे सबै मानिसलाई घोकाइयो । अहिलेको युवा पुस्ताले त्यो हेजिमोनीलाई बुझ्न थालेका छन् ।

२०६३ सालको आन्दोलनपछि यो बुझाइ मुखर रूपमा अगाडि आयो । अहिलेको नयाँ पुस्ताले भानुभक्तलाई मानिरहेको छैन । महेन्द्रमालाको पुनरावृत्ति अस्वीकार गरिरहेका छन् । राज्यको एकल जातीय नीति मान्न हुन्न भन्ने बहस तराईमा चलिरहेको छ । 

देशले भानुभक्तलाई मात्रै होइन, अरू विभूति पनि सम्झिनुपर्छ । प्रत्येक प्रदेशले आफ्नो क्षेत्रको विभूतिलाई सम्झिनुपर्छ । पहिला बनाइएको विभूति मात्रै होइन, छुटेका विभूतिलाई पनि सम्झिनुपर्छ । अपनत्वको धारणाको विकास गर्नुपर्छ । मधेसका विभूतिबारे पठनपाठन भएन । इतिहास लेखिएन । सबै लेखिनुपर्छ, अनि मात्रै राष्ट्रिय एकता बलियो हुन्छ ।

सांस्कृतिक हतियार 
रोशन जनकपुरी,साहित्यकार

चुरेभन्दा दक्षिण, तराई–मधेस तथा उत्तरभारतको मैदानीक्षेत्रमा गोस्वामी तुलसीदासले लेखेको अवधी भाषाको ‘राम चरित मानस’ अति लोकप्रिय छ । यस क्षेत्रमा राम चरित मानस एउटा काव्य मात्र होइन, पवित्र र पूजनीय धर्मग्रन्थका रूपमा स्थापित छ । यसकारण यस काव्यको मुख्य पात्र राम अवध क्षेत्रको र सीता मिथिलाको हुनु हो । यो प्रतिष्ठा भानुभक्तीय रामायणलाई पहाडमा पनि प्राप्त छैन । 

०१७ सालमा राजा महेन्द्रले शासन हत्याउने वेलासम्म पनि भानुभक्तीय रामायणसँग पहाडमा समेत केही अभिजात्य वर्गीय बाहुन र क्षेत्रीबाहेक अधिकांश अपरिचित थिए । राजा महेन्द्रले गोर्खाली शाहवंशीय सांस्कृतिक राष्ट्रवाद (राजतन्त्र)का संयोजित प्रतीकहरू देशैभरि प्रसार गर्ने क्रममा भानुभक्त पनि यसको एउटा हिस्सा बने । पूर्ण पुस्तकका रूपमा भानुभक्तीय रामायण विसं. १९९५ सम्म प्रकाशित भइसके पनि यो सीमित क्षेत्रमा मात्र परिचित थियो । राजा महेन्द्रले गद्दी सम्हालेपछि नेपाली भाषाको विस्तारको क्रममा अन्य साहित्यकारसँगै भानुभक्तीय रामायणलाई पनि प्रोत्साहित गरे । नेपाली भाषालाई पाठ्यक्रममा अनिवार्य गरेपछि भानुभक्त आदिकविको उपाधिसहित देशैभरि फैलिए । विशेषतः बाहुन–क्षेत्रीले रामायण साहित्यभन्दा पनि धार्मिक ग्रन्थका रूपमा स्वीकार गरे । अन्यका निम्ति यो बढीमा एउटा काव्य थियो । राज्यको प्रोत्साहनका कारण अन्य भाषाका विद्वत् वर्ग पनि यसतर्फ आकर्षित भएका हुन् । 

म आफ्नो बाल्यकाल सम्झन्छु । त्यतिवेला जनकपुरमा नेपाली भाषाभाषी समुदायको दुईवटा मुख्य बस्ती थिए – एउटा बाह्रबिघा मैदानभन्दा उत्तरको ब्रह्मपुरी टोल र अर्को अहिले शिवचोक र स्टेसनबीचको भानुचोक । पहिले यसलाई खुकुरीचोक भनिन्थ्यो । तराईका अन्य क्षेत्र जस्तै जनकपुरमा पनि त्यतिवेला पहाडिया समुदायको वर्चस्व थियो । यसको कारण तत्कालीन अञ्चलाधीश, सिडियो र प्रहरी प्रमुखदेखि प्रायः सबै कार्यालयका हाकिम नेपाली मातृभाषी समुदायकै थिए । यसकारण शासन निकटकबाहेकको गैरनेपालीभाषी स्थानीय समुदायले नेपालीभाषी समुदायप्रति तिक्तभाव राख्थ्यो ।

विसं.०३६/३७ को जनआन्दोलन र जनमतसंग्रहपछि स्थानीय गैरनेपाली भाषाभाषी समुदायमा पनि राजनीतिक चेतनाको विकास भयो । शासनसँगको द्वन्द्वतामा वृद्धि हुनुले नेपालीभाषी समुदायले केही रक्षात्मक र अस्तित्वको निम्ति एकीकृत हुने आवश्यकता महसुस गर्न थाल्यो । खुकुरीचोकमा भानुभक्तको प्रतिमा र चोकको नाम परिवर्तन गरेर भानुचोक यसै क्रममा राखिएको हो । यसमा शासक वर्गको प्रोत्साहन पनि थियो । हुन त भानुभक्त एउटा कवि मात्र हुन्, तर पञ्चायती शासकवर्गले उनलाई जसरी सांस्कृतिक वर्चस्वको हतियारको रूपमा प्रयोग ग¥यो, त्यसले गैरनेपालीभाषी समुदायमा उनीप्रति एउटा विरानोपन गहिरियो । 

सालिक चाहिँदैन
अनुभव अजित,लेखक

भानुभक्तभन्दा पहिला विद्यापतिलाई चिनेँ । किनकि पारिवारिक माहोलमा विद्यापति परिचित थिए । स्कुल गएपछि, भानुभक्त पढ्न थालेँ । स्कुलमा अधिकांश शिक्षक पहाडी मुलका र नेपालीभाषी थिए । एकजना सरले भानुभक्तको कविता भाका हालेर पढाए । हामी गलल हाँस्थ्यौँ । किनकि हामीले त्यस्तो भाका कहिल्यै सुनेका थिएनौँ । शिक्षक रिसाउँथे । पछि हामी बिस्तारै अभ्यस्त भयौँ । 

भानुभक्तको घाँसीको प्रसंग दिमागमा गढेर बस्यो । हाईस्कुलमा पढ्न थालेपछि प्रश्न गर्न थालियो । त्यो जमानामा घाँस बेच्ने चलन कहाँ थियो होला भन्ने प्रश्न आफैँसँग गर्न थालेँ । मिथक मात्रै निर्माण गरिएको हो भन्ने लाग्न थाल्यो । महेन्द्रमाला र नेपाली भाषाले कसरी ‘हेजेमोनाइज’ गरेको छ भनेर बुझ्न थालेँ । पछि बुझेँ, भानुभक्त राज्यको एउटा ‘टुल्स’ रहेछन् । अरू भाषालाई तल राखेर राज्यको भाषालाई अगाडि बढाउन भानुभक्तलाई मिथकीकरण गरिएको रहेछ । त्यो त राजनीति पो रहेछ । 

अब भानुभक्तको प्रतीकलाई नेपालीले बोकिरहनुपर्दैन । सालिक बोकिरहनु दास मानसिकता हो । भानुभक्तको ठाउँमा विद्यापति, विद्यापतिको ठाउँमा भानुभक्तको सालिक बनाउनुपर्छ भन्ने मान्यताको विरोध गर्छु । कुनै साहित्यकारले अनुकरणीय काम गरेको छ भने उनीबाट प्रेरणा लिनेसम्म हो, सालिक बोकेर हिँड्ने होइन । 

इतिहास नमेटाउनु
संजिता बर्मा, हिन्दी विभाग प्रमुख, त्रिवि
नेपालको ठूलो कविका रूपमा म भानुभक्तलाई चिन्छु । मधेसमा नपढेको हुनाले उनलाई मधेसमा कसरी पढाइयो भन्न सक्दिनँ । भारतमा हुँदा भानुभक्तबारे सुनेको थिइनँ । भानुभक्तको प्रभाव बंगाल, आसामतिर रहेछ । बिहारतिर थिएन ।  भानुभक्तलाई पूरै नेपालले सम्झिन आवश्यक छ । किनकि उनी नेपालका आदिकवि हुन् । नेपालका विभूति हुन् । आन्दोलनताका भानुभक्तको सालिक तोडियो । धरोहर तोड्ने काम राम्रो होइन ।

राजाको नामबाट दिइने पुरस्कार हटाएको पनि मलाई मनपरेको थिएन । किनकि त्यो इतिहास हो । इतिहास मेटाउने काम राम्रो होइन । इतिहासले मानिसलाई वर्तमानमा अघि बढ्न शिक्षा दिन्छ । वर्तमानलाई राम्रो बनाउन इतिहास बुझ्नुपर्छ ।