• वि.सं २०७६ भदौ ८ आइतबार
  • Sunday, 25 August, 2019

गुन्यूचोलीदेखि मिनिस्कर्टसम्म

फिल्म

२०७६ श्रावण ४ शनिबार ०७:१३:०० | काठमाडाैं

शंखपार्कमा फिल्म ‘साइनो’को गीत छायांकन सुरु हुँदै थियो । सेटमा थिइन् नायिका मिरुना मगर । नृत्य निर्देशक रामजी लामिछानेले ड्रेस लगाउन भन्दै थिए । मिरुनाले ड्रेस लगाएर जब सेटमा आइन्, नेपालकै पहिलो हिरोइन भुवन चन्द अवाक् भइन् । नायिकाले मौलिक ड्रेस लगाइदिए हुन्थ्यो भन्ने अपेक्षा थियो उनको । तर, मिरुनाले गाउन लगाएकी थिइन् । कम्फर्ट मोर्डन ड्रेसमा क्यामेरा अगाडि उभिएकी मिरुना भन्छिन्, ‘जमानाअनुसारको ड्रेस लगाउनैप-यो ।’

‘जमानाअनुसार भनेर हुँदैन । कथाले मागेअनुसारको ड्रेस हुनुपर्छ,’ चन्दले मिरुनाको भनाइप्रति असहमति जनाइन् । फिल्म साइनोलाई भुवन चन्दले निर्माण गरेकी हुन् । वेशभूषा मौलिकता नै होस् भन्ने चाहेर नायिकाले कम्तीमा साडी लगाएर नाचिदिऊन् भन्ने चाहन्थिन् उनी । तर, अन्तिममा गीतको छायांकन कथाले मागेकोजस्तो भएन ।

‘रियल’मा कलाकार जुनसुकै ड्रेसअप गर्न स्वतन्त्र भए पनि ‘रिल’मा भने निर्देशकले भनेअनुसारको ड्रेसअप गर्नुपर्छ । स्वयं कलाकारलाई कथाअनुसार कस्तो ड्रेसअप चाहिन्छ, त्यसबारे जानकारी हुनुपर्ने मानिन्छ । नायिका भुवन चन्दको कुरा सापटी लिएर भन्ने हो भने कथाले मागेको ड्रेस दिन नचाहेरै हो त, सिनेमामा मौलिक पहिरन ओझेल परेको ? 

सिनेमामा कलाकारले लगाउने पोसाक समाजमा अनुकरण गरिन्छ । नेपालमा पोसाकमा आएको परिवर्तनसँग सिनेमाको गहिरो साइनो रहेको विश्लेषकहरूको भनाइ छ । कतिपयको मत छ, ‘सिनेमाले जे देखायो समाजले त्यही अनुकरण गर्छ ।’ अर्का थरीको मत छ, ‘समाजमा देखिएको फेसनको प्रभाव सिनेमाले लिने हो ।’ यी दुई मतको चेपुवामा के नेपाली मौलिक पहिरन परेको हो ? 

नायिका भन्छन्, ‘कथाले मागेअनुसार लगाएका हौँ’
वि.सं. २०२० सालमा हीरासिंह खत्रीले निर्देशन गरेको ‘आमा’ चलचित्र ०२२ मा प्रदर्शनमा आयो । आमा फिल्मकी नायिका भुवन चन्दले ‘गुन्यूचोली’ लगाएरै नाचिन् । भन्छिन्, ‘मैले आमा फिल्ममा गुन्यूचोली लगाएँ । गुन्यूचोलीमै हामी सुन्दर देखिएका थियौँ ।’ वि. सं २०३४ सालमा प्रेमबहादुर बस्नेतले बनाएको ‘कुमारी’ फिल्म पहिलोपटक ब्लयाक एन्ड ह्वाइटबाट रंगीन बन्यो । उक्त फिल्मकी नायिका चैत्यदेवी आफ्नै आमाको साडी लगाएर सुटिङमा गएकी थिइन् । उनी भन्छिन्, ‘हाम्रो पालामा ड्रेस सीमित थिए ।

राजाको निगरानीमा फिल्म बन्ने भएकाले मौलिकता छुटाउन हुँदैनथ्यो । अहिले ड्रेस लगाउन स्वतन्त्रता छ ।’ चैत्यदेवी थप्छिन्, ‘एक्सपोज गर्न चाहँदैमा फिल्म हिट हुने होइन । हाम्रा मौलिक पहिरन सुन्दर छन् ।’शरीरमा वस्त्र जति कम भयो जति स्मार्ट देखिने भ्रम अहिलेको पुस्तामा देखिएको बताउँछिन् चन्द । भन्छिन्, ‘हाम्रो जमानामा जति शरिर ढाक्यो उति राम्रो मानिन्थ्यो । अहिले जति उदांगियो उति सुन्दर देखिने ठानिन्छ ।’ 
०००
चालीसको दशकमा बनेको ‘कान्छी’ फिल्मको ‘बगी जाने पानीको...’ बोलको गीतमा शर्मिला मल्ल गुन्यूचोली र साडीमा देखिएकी थिइन् । ‘कान्छी’ चालीसको दशकमा निकै रुचाइयो । ‘अल्लारे’ फिल्ममा करिश्मा मानन्धर गाउँले भूमिकामा देखिएकी थिइन् । उनले पनि गुन्यूचोली लगाएकी थिइन् । सिनेलाई समाजको प्रतिनिधि ठान्ने करिश्मा भन्छिन्, ‘सिनेमाले समाजलाई पछ्याइरहेको हुन्छ । समाजले पनि सिनेमाबाट सिको गर्छ ।’

५० को दशकमा ‘झुमा’, ‘अधिकार’, ‘प्रियसी’, ‘ए मेरो हजुर’ जस्ता चलचित्र बने । संख्यात्मक रूपमा चलचित्र बढे पनि हिरोइनले प्रयोग गर्ने मौलिक ड्रेसमा भने परिवर्तन कमै देखियो । यही समयमा निरुता सिंह, मेलिना मानन्धर, झरना थापा, जल शाहजस्ता नायिकाहरू देखिए । ती नायिकाहरूले एकाध सिनेमामा मौलिक डे«स लगाउन छुटाएनन् । करिश्मा भन्छिन्, ‘भद्दा र भल्गर देखिने ड्रेस लगाएर राम्री देखिन्छु भन्ने भ्रमबाट मुक्त हुन आवश्यक छ । तर, सुहाउने र समाजले स्वीकार गर्ने ड्रेस लगाएर सुन्दर देखिए त्यस्तो पोसाक लगाउनु पनि पर्छ ।’

‘हल्का माया के लगाउने,’ ‘सालको पात टपरी’, ‘पूर्व–पश्चिम रेल,’ ‘कुटुमा कुटु,’ जस्ता गीतमा कलाकारले मौलिक परिहन लगाए । तर, यही दशकमा बनेका एकाध सिनेमाबाहेक धेरैमा कलाकारले मौलिक पहिरन लगाएको कमै देखियो । रेखा भन्छिन्, ‘पहिरन फेरिएको होइन । समयअनुसारको कथा फेरिएपछि त्यसको प्रभाव पहिरनमा पनि देखिएको हो ।’

नायिका मरिष्का पोखरेल अभिनीत ‘सालको पात टपरी हुने’ गीत अत्यधिक रुचाइयो । जहाँ उनी मौलिक पहिरनमा थिइन् । उनी हिरोइनहरूले मात्रै ‘ग्ल्यामर एक्स्पोज’ गर्न नचाहेको बताउँछिन् । भन्छिन्, ‘कथाले मागेअनुसार ड्रेस दिन निर्माता–निर्देशक कन्जुस्याइँ गर्छन् ।’ 

निर्देशक भन्छन्, ‘समाजले जे माग्यो त्यही प्रयोग गर्छौं ।’
साठीको दशकपछि द्वन्द्वमा आधारित सिनेमाहरू बने । चलचित्रमा कथावस्तु र प्रस्तुतिमा नयाँपन देखिए पनि पहिरनमा भने खासै परिवर्तन देखिएन । साठीको दशकको अन्तिमतिर बनेको ‘लुट’ फिल्ममा अर्गानिक र मौलिक कथा भेटिए पनि हिरोइनको ड्रेसमा भने बदलाव आएको देखिन्न । निर्देशक निश्चल बस्नेत भन्छन्, ‘फिल्म भनेको समाजको रिफ्लेक्सन हो । समाजको छाया सिनेमामा देखिने हो ।’ निश्चल थप्छन्, ‘फिल्मले जहिले पनि समयको कथा भन्छ । कथा जस्तो सेटिङमा छ त्यहीअनुसार काम गर्छु ।’

आजको फिल्म क्षेत्रमा नायिकाभन्दा नायक बढी ‘ग्ल्यामरस’ देख्छन् निश्चल । भन्छन्, ‘तर, हामी हिरोइनको ड्रेसअपमा मात्रै ध्यान दिन्छौँ ।’ युवतीको अंग देखिँदैमा ग्ल्यामर नहुने उनको तर्क छ । नायिकाले कस्तो पहिरन लगाउने भन्नेबारे आफैँ पनि सचेत हुनुपर्ने उनको भनाइ छ । समाजमा ‘हिरोइनहरू बिग्रिए’, ‘छाडा भए’ भन्नेबारे दर्शकहरू कुरा काटिरहेको सुनिन्छन् । तर, निर्देशक रञ्जित राना भने हिरोइन होइन, पोसाक फेरिएको बताउँछन् ।

गीतको भावले कस्तो पोसाक खोजेको छ भन्नेमा ध्यान दिनुपर्ने रञ्जित बताउँछन् । उनी भन्छन्, ‘आफ्नो वेशभूषालाई ख्याल राखेर नेपालमा फिल्म बन्नै छाड्यो ।’ लामो समयदेखि कोरियोग्राफी गर्दै आएका गम्भीर विष्ट भने टिपिकल गीतहरू नेपाली वेशभूषामा झल्किने बताउँछन् । उनी भन्छन्, ‘म्युजिक ट्रेन र वेशभूषा अहिले पुरानो ट्रेनमा गएको छ ।’ 

पोसाकमा बदलावसँगै विकृति पनि आएको देख्छन् नृत्य निर्देशक गोविन्द राई । पचास र साठीको दशकमा हिट गीतमा निर्देशन गरेका गोविन्द पोसाकका नाममा भद्दा फेसन देखिन थालेको बताउँछन् । भन्छन्, ‘पहिले गुन्यूचोली लगाउँथे नायिकाहरू । मौलिक नाच र भावभङ्गीमा नृत्य निर्देशन गर्थेँ । अहिले त्यो पहिरन र नृत्यका स्टेपहरू नै हरायो ।’ नेपालको मौलिक पोसाक बिर्सिँदै गएकोमा दुःख व्यक्त गर्छन् उनी । 

गायक–संगीतकार भन्छन्, ‘ड्रेस फेरिनु मानसिकता फेरिएको हो ।’
आजको पुस्ता ड्रेसअपमा खुल्दै गइरहेको छ । तर, मौलिकता बिर्सिएर उदांगो हुँदै जाने हो भने समाज कता जाला ? अहिलेका गीतमा ड्रेस सुहाउँदो भन्दा पनि आफूलाई एक्स्पोज गर्न ड्रेसअप गरिन थालेको बताउँछन्, लोक गायक कस्तूप पन्त । भन्छन्, ‘गीतसंगीतलाई दर्शक र श्रोतामाझ पु-याउने नाममा ग्ल्यामरको प्रयोग गरियो । ग्ल्यामर भएपछि भुअर्स बढ्न भन्ने भ्रम रह्यो । यसैको प्रभाव स्टेजमा समेत छाडापन देखिन थाल्यो ।’ निर्देशक विजय केरुङ भन्छन्, ‘प्रविधिसँगै समाजले फड्को मार्दै छ । त्यसकै प्रभाव ड्रेसमा परेको हो । यो स्वाभाविक छ ।’ 

पचासको दशकमा आफ्ना गीतले मौलिक ड्रेस नै पाएको दाबी गर्ने संगीतकार शम्भुजीत बासकोटा भन्छन्, ‘ड्रेस फेरिनुको कारण मानसिकता फेरिएको हो ।’फेसन कोच प्रशान्त ताम्राकार लामो समयदेखि फेसन कोरियोग्राफी गर्दै आइरहेका छन् । उनी भन्छन्, ‘फेसन साइकल हो, जुन चलिरहन्छ ।’ फेसन आफैँमा परिवर्तनशील हुन्छ नै । तर, कतिपय फेसन लामो समय टिक्छ । कतिपय भने छिटै हराएर जान्छ । हिजोको समयमा दौरासुरुवाल मात्रै पहुँचमा रहेको बताउने उनै ताम्राकार भन्छन्, ‘सिनेमाले एक किसिमको ‘फेसन ट्रेनसेट’ गर्छ । फेसन पुस्ताअनुसार परिवर्तन हुँदै जान्छ । हामीले त्यसलाई स्वीकार गर्नैपर्छ ।’

फिल्म समीक्षक भन्छन्, ‘फेसन आयातीत भयो ।’
समाज जति शिक्षित हुँदै गयो फेसन त्यति नै भित्रिने बताउँछन्, फिल्म समीक्षक अनुप सुवेदी । भन्छन्, ‘समाजसँगै पोसाकमा पनि परिवर्तन आउने हो । लाहुर गएका तथा वैदेशिक रोजगारीमा गएका नेपालीले सिकेका रहनसहन हुबहु नेपाल आइपुग्छ । आफ्नो सन्तानलाई ल्याइदिएको कपडाले नेपाली मौलिक ड्रेसलाई पछाडि धकेल्छ ।’ विश्वबजार अहिले मोबाइलमा भेटिन्छ ।

संसारमा के लगाइन्छ, के खाइन्छ भन्नेमा छिनछिनमा मानिस अपडेटेड छन् । सुवेदी थप्छन्, ‘इन्टरनेटले नेपाली फिल्म क्षेत्र मात्रै होइन, आममानिसको पहिरनमा समेत परिवर्तन ल्याएको छ ।’जब समाजको अन्तर्राष्ट्रिय बजारसँग सजिलै पहुँच हुन थाल्यो त्यसपछि ड्रेसले पनि मौलिकता गुमाउन थालेको देख्छन्, सुवेदी । भन्छन्, ‘हाम्रा लोकसंगीत र सिनेमामा नेपाली टिपिकल पोसाक नै भइदिए राम्रो हुन्थ्यो ।’ 

मानवशास्त्री भन्छन्, ‘पहिरन समाजको बिम्ब हो ।’ 
मानवशास्त्री सुरेश ढकाल पहिरनमा मौलिकता खोज्नुअघि समयको रेखांकन गर्नुपर्ने मत राख्छन् । भन्छन्, ‘कति वर्ष पुरानो मौलिकता खोज्ने ? सनातनी धर्मको मौलिकता खोज्ने कि पचास वर्ष पुरानो मौलिकता खोज्ने ? यसबारे पहिला प्रस्ट हुनुपर्छ ।’ सय वर्षअगाडिको मौलिक पहिरन साह्रै पछाडि रहेको उनको भनाइ छ । भन्छन्, ‘त्यसवेला मानिसहरू धोती लगाउँथे । त्यो फेसन थिएन, अभाव थियो ।’ दौरासुरुवाल लगाउँदैमा मौलिकता नहुने उनी बताउँछन् । उनी थप्छन्, ‘फेसन भनेको समाजको बिम्ब हो । जस्तो समाज त्यस्तै पहिरन हुन्छ ।’

विश्लेषक झलक सुवेदी पहिरन समाजमा निर्भर हुने बताउँछन् । उनी भन्छन्, ‘कुनै वेला कछाड र जाँगे मात्रै लगाइन्थ्यो । किनकि त्यसवेला लुगाफाटामा मानिसको पहुँच कम थियो ।’ आजको समाज मौलिक पोसाक जोगाउन पचास वर्ष पछाडि जानुनपर्ने र फेसन समाजसँगै बदलिने उनको भनाइ छ । 
०००
पोसाक समाजको प्रतिबिम्ब हो । समाजले के ग्रहण गर्छ, आमजनजीवनले त्यसलाई पछ्याउँछ । हिजो सिनेमामा मात्रै फेसन देखिन्थ्यो । त्यो दृश्य हेर्न हलसम्म पुग्नुपथ्र्यो, तर अहिले समाजमा फेसन सामान्य हुने गरेको छ । विज्ञापनहरू, फेसन सोहरू, टेलिभिजन र इन्टरनेटमार्फत नयाँ–नयाँ फेसनबारे युवाहरू सूचना लिन्छन् । ती युवाहरू बाह्य समाजसँग बढी अपडेट हुन्छन् । फेसन कोच ताम्राकार भन्छन्, ‘फेसनलाई हरेक नयाँ पुस्ताले नेतृत्व गर्छ । समयको मागअनुसार पोसाकमा बदलाव आउँछ । यसलाई रोक्न सकिन्न ।’

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस