• वि.सं २०७६ भदौ ८ आइतबार
  • Sunday, 25 August, 2019

एक बोरा नोट !

नियात्रा

२०७६ श्रावण ४ शनिबार ०८:२०:००

‘यी सबै करोडका मालिक !’मुगोलान स्ट्रिटमा ओर्लिंदै गर्दा मोती बोले ।दक्षिणबाट पूर्वतिर लागेको सडकको पेटी थियो । त्यो पेटीमा झुरुप्पझुरुप्प मानिस देखिन्थे । कोही बसिरहेका, कोही उभिएका र कोही छासमिसे ।मैले रंगुन टेकेदेखि नै यो रुबी संसार हेर्ने मन गरेको थिएँ । मेरो ठूलो रहर थियो यहाँ पुग्ने । यो मुगोलान गल्ली पुग्नेबित्तिकै मेरा आँखामा खुसीको हुन्डरी मच्चियो । मोती गाडी थन्क्याउन यताउता लागे । साथीहरू पनि दर्गदिशा पसे । म आप्mनै सुरमा भिडमा छिरेँ ।

मुगोलान स्ट्रिट रंगुनको प्रसिद्ध मुगा, रुबी र सफाया किनबेच हुने ठाउँ हो । यहाँ झोला, प्लास्टिकका थैला र ससाना धोक्रे पन्तुरामा बोकेर उभिए पनि त्यहाँ करोडौँको व्यापार हुने रहेछ । त्यहाँ धेरै खालका मान्छे थिए । भारतीय, चिनियाँ, म्यान्माली र नेपालीहरूका ससाना झुण्ड यताउता उभिइरहेथे । कोही रूखको छायामा थिए । कोही भित्तामा अडेसिएका थिए ।

पाँच सय व्यापारी होलान् । त्यसमा तीन सयजति नेपाली नै छन् भन्ने सुनियो । खेमराज पन्थी भेटिए । उनले बजारतिर छिराए । मैले हेरेँ– सबै टक्य्राकटुक्रुक बसेका छन् । चिया सुर्काइरहेका छन् । छड्के कालो झोला भिरेका छन् ।पन्थीसँग सोधेँ, ‘तपाईंसँग नि छ ?’‘यस्तै १०—१२ लाखको होला !’ पातला, सामान्य हाते झोला बोकेका उनले भनेको कुराले आँखा चम्के मेरा । हरेक मान्छेहरू ससाना हाते झोलामा थिए । झोलाभित्र बहुमूल्य पत्थर बोकेका रहेछन् । रुबी, नीलम, सफाया गरी करिब दुई सय जातका अमूल्य पत्थरको व्यापार हुने रहेछ– 

मुगोलान गल्लीमा । 
‘गोरखालीलाई पत्थर व्यापारमा 
कसैले सक्दैन ।’
‘आउन त अरू नि आए तर हारेर फर्के ।’

खुमानन्द पौडेलसँग त्यहीँ भेट भयो । उनले भनेको कुरा ख्याल गरिरहेँ ।‘इन्डियाका बाठाहरू यहाँ आएर मर्छन् ।’पौडेल गोरखालीको चतु-याइँ बखानिरहेथे ।
‘नेपालबाट आएको म त !’‘पत्थर किन्नै हो कि ?’‘किन्न हैन, हेर्न !’खुमानन्दले डो-याएर रूखमुनि लगे । त्यहाँ तीनचार चिनियाँ आइमाईहरू मसिनो टर्च लाइटबाट कलेजी रङका ढुंगा हेरिरहेथे । वरिपरि बसेका अरू व्यापारी मोबाइलबाट फोटो खिच्दै थिए । यहाँ किनबेच भइरहेको छ । छेउमा उभिएका मोहन कटुवालले मलाई देखाए । एक मुठीजति कलेजी रङको यूँ सानो काठे मुढामा राखिएको थियो । भाषा नबुझ्ने चिनियाँ आइमाई मोबाइलमा अंक थिचेर त्यसको मूल्य बताइरहिथी ।बोल्नैपरेन । भाषा किन चाहियो ? अंकले काम ग-यो ।

‘चिना आइमाई बाठा छन् ।’ खुमानन्दले भने । झोला–झोलामा व्यापार भइरहेको छ । मानिसहरू मुखामुख गर्छन् । हरिया, नीला, राता पत्थर यताबाट उता र उताबाट यताका झोलामा सरेर बिक्री भइरहेका छन् । भिडभाडमै इन्द्रबहादुर कार्की भेटिए । मैले अगाडि कागजमा राखिएर मोलतोल भइरहेको एक मुठीजति यूँ देखेर सोधेँ, ‘कति यसको मूल्य ?’‘एक सय लाखसम्म पर्छ ।’मैले नेपालीमा हिसाब गरेँ– एक करोड ।

मैले छेवैका साथीहरूलाई मूल्य सुनाएँ । उनीहरूले जिब्रो टोके । रुबीलाई आफैँले छामेकै भरमा यसको मूल्य तोकिँदो रहेछ । कटुवालले भनेथे– ‘यो मुखको व्यापार हो । चिन्न सक्नेले जति नि हाल्छन् ।’‘चिन्न नसक्दा आजको अर्बपति भोलि सडकपति हुन पुग्छ ।’कटुवालको कुराले मनमा तरंग छुट्यो ।मुगा, रुबी, नीलम, यूँजस्ता बहुमूल्य पत्थरमा अहिले धेरै नेपाली महिला पनि जोडिएका रहेछन् । ज्योति कार्की, कमला कार्कीहरू त्यहीँ भेटिए । उनीहरूका हाते झोलामा पनि त्यस्तै करोडौँका पत्थर थिए ।‘चिया त खानू नि !’ ज्योतिले कर गरिन् ।

मैले अनेक पत्थर हेर्ने मन गरेको थिएँ । त्यसैले उनीहरूसँग एकै ठाउँमा उभिई चियासिया खाइरहन पाइनँ । केही बजार भारत भए पनि धेरैजसो यी रंगीन पत्थरहरू थाइल्यान्ड लाँदा रहेछन् व्यापारीले । यो व्यापार केही वर्षयता नेपालीको हातमा आइपुगेको रहेछ ।

०००
म्यान्मारको मोगोकलाई रुबील्यान्ड भनिँदो रहेछ । हामीले निकै कोसिस गर्दा पनि त्यहाँ जान सकेनौँ । ‘के पो होला र ? जानू नि गोरखाको साथ लागेर !’
एक–दुईजनाले सल्लाह दिएकै थिए– टाउँजी, रंगुन र मिचिनातिर । तर, सरकारी आँखा छलेर जाने आँट हामीमा आएन । सेनाले सोधपुछ गर्दा फेला परे ठूलो घानमा परिन्थ्यो । त्यै भएर रुबी खन्ने पहाड र खानीमै पुग्न सकिएन । ‘मैले कोसिस गरेँ । यसमा फेल खाएँ ।’

मेरो अनुहार पढेर अमितले भनिरहेकै थिए । ‘मोगोकमा अर्को नेपाल छ, त्यो हेराउने प्रयास गर्दै छु’ भनिरहेका अमितले पनि धेरैतिरबाट पछि हट्नुप¥यो । म्यान्मारकै सरकारबाट विशेष अनुमति लिएर मात्र मोगोक पुगिँदो रहेछ । ठाउँठाउँमा बागीहरू भएकैले अर्को झमेला पर्न सक्ने त छँदै छ । सरकारले पनि निकै कडा नीति लिएको रहेछ– त्यता जानेहरूका लागि ।

०००
अनेक रङका रुबीहरूको मूल्य तिनको जात र रङअनुसार फरक–फरक हुँदो रहेछ । रंगिला ती पत्थरको पारदर्शिता, सफाइ, चहक र तौलको आधारबाट मोल तोकिँदो रहेछ । मैले मुगोलान गल्लीको वरपर घुम्दै हेरिरहेँ । मानिसहरू हातहातमा पत्थर देखाएर किनबेच गरिरहेका थिए ।‘थाई जान्छ माल !’ इन्द्रबहादुरले भनेथे । ठुल्ठूला गुच्चाजस्ता नीला ढुंगा एकजना भारतीयको हातमा थिए । मैले ती नीलमबारे सोधेँ । उनले सामान मोगोकबाट संकलनपछि यहाँ बिक्री हुने र पछि थाइल्यान्ड हुँदै विश्व बजारमा पुग्ने बताए ।

त्यही क्रममा हिजोआज धेरै नेपाली आफ्नो  पुरानो पशुपालन, खेतीपाती र दूधदहीको व्यापार छाडेर यो रुबीतिर लागेको सुनियो । नयाँ सन्तान त थाई पसेर यसकै व्यापारमा जुटेको धेरैले बताएथे मलाई ।३० वर्षदेखि भारतीय सिख मनमोहन सिंहले यही पत्थर जाँच्ने काम गरिरहेका रहेछन् । उनीसँग मैले सोधेँ, ‘कसरी चिनिन्छ 
सक्कली–नक्कली ?’‘हेर्नेबित्तिकै थाहा हुन्छ !’‘कति छामेर, कति हेरेर थाहा भइहाल्छ । दुनियाँ फेल खान्छ मेरो सामु ।’पत्थर चिनेरै खाइजीवी गरेका सिंहका छोरा रोनी सिंह पनि रंगुनका ठूलै व्यापारी हुन् रे ! उनका सहकर्मीका रूपमा धेरै नेपालीले यता दाम र नाम कमाएको त्यहीँ सुनेँ मैले ।

‘मोनी सिंह पनि भन्छन् मलाई । यहीँ मेरो जीवन बित्यो,’ मनमोहनले भने ।नजिकैको बोजो मार्केटमा यी पत्थरको प्रशोधन भए पनि खुद्रा किनबेच यही गल्लीमा हुँदो रहेछ । बिहानको १०—११ बजेदेखि तीन बजेसम्म यहाँको बजार रनक्क रन्किँदो रहेछ । त्यसपछि व्यापारीहरू फेरि माल खोज्न बोजो मार्केट पस्दा रहेछन् । बीचमा दलालको काम पनि मनग्गे हुन्छ रे ! सामान किनेर बेचुन्जेलमा विश्वासले काम गर्दो रहेछ ।

‘पैसै नभए नि हुन्छ ।’‘सामान लिएर बेच्दा मात्रै कमिसन आइहाल्छ । मात्र विश्वासले चल्नुप-यो,’ ज्योतिले भनेकी थिइन् । झोलाझोलामा सबैले नोट बोकेका हुँदा रहेछन् । एउटा कुनामा हरियो पत्थर बेचेको देखियो । एउटा सानो पातलो केटाले दुई झोला नोट खसाल्यो ।‘कति छ ?’‘एक सय पेटी ल्याएँ ।’‘अरू ल्याउन जान्छु ।’
कटुवालले सामान किन्दा पैसा तिरेको हेरेँ । हरेकले कालो बोरा बोकेका थिए । केही म्यान्मालीहरू पनि थिए– पत्थर किन्ने–बेच्ने । तर, ती थोरै देखेँ मैले । ‘यिनकै घर–आँगनमा भए पनि बेच्न उत्तिको सकेनन्,’ पन्थीले भने ।पान खानेहरू, चिया सुर्काउनेहरूका मुखले अर्ब र खर्बका कुरा गरिरहेथे । पातलो ज्यानका गोरखालीहरूसँग पनि त्योभन्दा बढ्ता सामान किनिदिएको लाग्थ्यो । म नेपालीका अनुहार चिन्दै हिँडिरहेको छु ।
०००
‘पिन्ती आयो र ?’ नक्कली पत्थरलाई पिन्ती भन्दा रहेछन् म्यान्माका गोरखालीहरू ।
ज्योतिले पनि त्यही भनेकी थिइन् ।
मैले उनीहरूका अरू कुरा पनि सुनेँ ।
‘हिजो फकान आएको थियो ।’
‘माई सू अघि बिक्री भइसकेछ ।’
कमला र ज्योति बोलिरहेको मैले सुनेँ । फकानको हरियो रुबी र माई सूको रातो रुबी प्रख्यात रहेछ । कमला र ज्योतिले निकै कर गरेपछि उभिई–उभिई भए पनि मैले एक सर्को चिया पिएँ । काठे मुढामा बसेर चिनियाँ पातलीले एक पसर नीलानीला चुराका झुर्काजस्ता यूँ सामुन्ने राखी ।
‘लिने कि ?’
मतिर यस्तै सोचेर चिनियाँ युवतीले हेरी ।
‘थाहा पाउन आएका यी हाम्रा गोरखा !’
कटुवालले पहिले भने अनि मतिर हेरेर अथ्र्याए । व्यापारीहरू आउने–जाने थपिइरहेथे । कालो बोरा खोल्ने र पत्थर हाल्ने क्रम पनि घटेको थिएन । झुरुप्प बसेका व्यापारीहरू छिनमै एउटा कुनामा पुगिरहेका हुन्थे । लगत्तै त्यो टोली भत्केर अर्को कुनामा भेला भइसकेको देखिन्थ्यो । खुमानन्दले मैले चिया पिइरहँदा भने, ‘धेरै संसारी छन् गोरखाली !’पत्थर किन्न र बेच्न संसारै चहार्ने भएकाले संसारी भनेर नाउँ कमाएका रहेछन् गोरखालीले ।‘उहाँ पनि संसारी !’

एकजना निकै होचा गोरर्खालीलाई औँल्याए ।‘यी त्यहाँ पनि संसारी !’ अलिक सुलुत्त अग्ला नेपालीतिर औँलो गयो उनको । कटुवाललाई त छोएर पौडेलले भने, ‘उहाँ त फटिक संसारी !’नामी व्यापारी भन्ने अर्थ आयो । म चिया सर्काएर झन्नै हाँसेछु ।‘मोगोक जानुभएन ?’ कटुवालले सोधे ।‘कसैगरी जान सकिएन !’ मैले दिग्दारी पोखेँ, ‘पत्थर टिप्ने गोरखालाई देख्न पाइन्थ्यो । अपूरो भो त ?’मैले उनको हातको यूँ नियालिरहँदा भने । भारतीय एउटा ठूलै टोली उनीसँग गफ गर्न थाल्यो । पछाडि हटेँ म । कटुवालले प्लास्टिकका स–साना पोका खोलेर पत्थर देखाउन थाले । 

०००
‘गजब–गजबका पत्थर देखिए । पत्थर खन्ने गाउँ भने पुग्न पाइएन ।’मुगोलानको भिडबाट उम्केर म गाडीमा छिरेको थिएँ । अनि पोखेको थिएँ छटपटी । म्यान्मारको मोगोकमा यस्ता बहुमूल्य ढुंगा भेटिँदा रहेछन् । करिब आठ सय वर्ष पूरा भएछ त्यहाँ रुबी पत्ता लागेको । त्यो आठ सय वर्षको अवधिमा अंग्रेजले टनका टन, जापानीहरूले त्यति नै र चिनियाँलगायतले अथाह रुबी, नीलम, सफाया लगेको देखी जान्ने र सुनी जान्नेहरू रंगुनभरि भेटिएथे । फिलिपिन्सका सैनिक शासक मार्कोसले पनि अनगिन्ती हिरा पत्थर मोगोकबाट लगेको धेरैले बताएथे मुगोलानमै ।

रुबील्यान्ड भनिन्छ मोगोकलाई, किनभने यहाँका धेरै ठाउँमा अमूल्य पत्थर पाइन्छ । यो पत्थरले गर्दा धेरै गोरखालीको हैसियत रातारात चम्केको छ । साग खाएर लाखको कुरा गर्नेहरू थुप्रै छन् मोगोकमा । त्यहाँ कोही गरिब छैन । 

त्यस्ता चहकिला, उज्याला र निक्खर पत्थर कसरी भेटिँदा हुन्, कहाँ भेटिँदा हुन्, कसरी खोतलिँदो हो, कुन किसिमले यो बजारमा आइपुग्दो हो ? मैले आमाको नाकको फुली र पत्नीको काँडे फुलीमा यूँ भरिएको सुन्दर गहना पटक–पटक हेरेको छु । आपूm डोरिने र अहिले अरूलाई डो¥याउने उमेरको माझमा देखेको यूँले एउटा गहिरो छाप छाडेको छ ।

‘कलेजी रङको पत्थर बर्माबाट ल्याउँछन् रे !’ धेरैबाट सुनेको कुरा आमाले भन्नुभाकै थियो मलाई । मुगोलान घुमिरहँदा मैले आमाकी हजुरआमाको हातमा हमेसा बसिरहने नीलम टाँसिएको चाँदीको औँठी पनि झलझली सम्झेँ ।‘इरावतीको बाढीले बगाएर आइपुगेका जैसीले एक मुठी यूँ साटेथे एक हर्पे घिउसँग । त्यो घिउ नि खाइनसक्दै जैसी मरिहाले । मसँग यो नीलो पत्थर जस्ताको तस्तै छ । खाट्टी रैछ !’

आमाकी हजुरआमाले भनेको कानमा गुन्जिन छाडेन । पहिले–पहिले एक झर पानी प-यो कि यसो भिरजस्तो ठाउँमा राता, नीला, हरिया ढुंगा देखा पर्थे रे ! केटाकेटीहरू सानो छडी बोकेर माटो कोट्याउन कुद्थे रे ! त्यसरी भेटिएको पत्थर बोतलमा हालेर राख्दाराख्दै पछि त्यसको किनमेल बढ्न थालेपछि धेरै नेपालीको समृद्धि भएको पनि मैले सुनेको थिएँ ।म्यान्मार स्वतन्त्र भएपछि गोरखालीलाई पनि कता बस्छौ त भनेर सोधियो रे ! अनि उनीहरूकै मनखुसीले मोगोकमै बस भनेर जग्गा दिएर बसोवासको व्यवस्था मिलाइदिएछन् ।

‘हामीलाई हेला गरेर यस्तो आपट्टेमा जग्गा दिएको, अब भाजी उमारेर मात्र बस्नु ?’ भन्ठानेछन् मोगोकका गोरखालीले । बिस्तार–बिस्तारै दुःखजिलो गर्दै नेपालीहरू खनजोत र व्यापारतिर मोडिए ।बाटातिर, खोँचतिर केटाकेटीले राता, नीला, हरिया, कलेजी रङका ढुंगा भेट्टाएर गट्टा खेल्थे रे ! बाउआमाले सुन्दरताको हिसाबले ती पत्थर बोरामा थन्क्याए । पछि तिनै पत्थर अमूल्य भए ।‘मोगोकको पहाडमा बस्न पाउनु त भाग्यकै कुरो रैछ नि !’ टेकनारायण रिमालले भनेथे टाउँजीमा । त्यो वेलाको हेला अहिले गोरखाले पारेछन्– खानीकै फेला ।
०००
‘यो भेटिन्छ चैँ कसरी ?’ मोगोकमै जन्मीहुर्की बढेका मोती गुरागाईंलाई मैले सोधेँ । ‘रुबील्यान्ड भनिन्छ मोगोकलाई, किनभने यहाँका धेरै ठाउँमा अमूल्य पत्थर पाइन्छ । यो पत्थरले गर्दा धेरै गोरखालीको हैसियत रातारात चम्केको छ । साग खाएर लाखको कुरा गर्नेहरू थुप्रै छन् मोगोकमा । त्यहाँ कोही गरिब छैन । कसैलाई हेप्न पाइन्न ।’मोतीलाई म सुनिरहेको छु ।

‘अलिक बुर्बुराउँदो माटोलाई नियालेर हेर्छन्, बलौटेमा रातो पत्थर पाइन्छ । त्यो माटो लगेर धोइन्छ । अनि रातो रुबी भेटिन्छ त्यस्तोमा ।’ ‘पत्थर हुने माटोलाई बिउ भन्छन् । टविन्स्याले खन्नु ठीक छ–छैन भन्छन् । टविन्स्या भनेको गुरुजी । सात–आठजनाको समूहले पत्थर खोतल्ने गर्छन् । रुबी र सफाया माटो र ढुंगामा पाइन्छ । खाँटी रातो रुबी ढुंगामा हुन्छ,’ गुरागाईंका अनुभव चाखलाग्दा छन् । ‘बिउको माटो खनेर लान्छन् । त्यहाँ टल्केका नीला, राता, हरिया ढुंगा भेटिन्छन् । त्यसमा माटो चाल्ने, धुने काम पनि भइरहेकै हुन्छ । दुःख र मिहिनेतको बराबरी हिस्सा हुन्छ ।’

पत्थर पाएपछिको मिहिनेत सुनेँ । मोगोकको थाबो बजारमा रुबी किनबेच हुँदो रहेछ । किन्ने, बेच्ने प्रायः सबै काम नेपालीबाट हुन्छ त्यहाँ । ‘माल प-यो’ भनेर उफ्रिने र कमसल पत्थर हात परे ‘जात पुगेन’ भनेर खिन्न हुनेहरूको चुरीफुरी बेग्लै हुन्छ रे ! ‘फसाए !’ भनेर दिग्दार हुने पत्थरवालाहरू मनग्गे हुन्छन् रे मोगोकमा ।
‘७० प्रतिशत गोरखाको कामै त्यै हो,’ मोती सुनाइरहेका छन् ।

‘ओहो, गोरखाको भाषा नि अब त म्यान्मारका पुलिसले समेत बुझ्न थालिसके !’ गुरागाईं हाँसे । झापड, एक पेटीभन्दा नि प्रहरीले बुझ्छन् रे ! पाँच लाखलाई एक झापड भन्छन् रे त्यताका गोरखाली । मान्डले धर्मशालामा भेटिएका तीन–चार महिलाहरूसँग मोगोकको रुबील्यान्डबारे खसखस पोखेको थिएँ ।
‘थाबै जान्छौँ हामेरु ।’ तिनले भनेको सम्झिरहन्छु । थाबै भनेको रुबी बजार रहेछ मोगोकको । म्यान्मारको सरकारले अहिलेसम्म रुबी खन्न, छान्न र बिक्री गर्नमा बाधा हालेको रहेनछ । धेरै नेपालीले कुनै कर पनि  तिर्नुपरेको रहेनछ ।

मोतीले भने, ‘भैँसी बेचाएर रुबी किन्न सिकाए गोरखाले ।’ रुबीको कारोबारले धेरै नेपालीको घर–आँगन बलियो भएको तथ्य यसैबाट पाइन्थ्यो । फाटेको आङ र भोको पेटलाई रुबीले झलमल्ल उज्यालो पारेको लाग्थ्यो । ‘के यस्तो ल्याएका ? कामै छैन । फेरि ल्याउनू । लौ, यो बीस–तीन हजार लैजाऊ ।’ ‘खत्तमै पो खोजेछौ त ! अर्कोपटक म जम्मै लिउँला । इः, यो पचास–चार हजारले काम टार ।’ ‘तिमीलाई पत्थर खोज्न लगाएर मैले नोक्सानै मात्र व्यहोरेँ । यस्तो पत्रु ढुंगाको कामै छैन । ल–ल, यो तीस–तीन हजार लिएर  ओखती गर ।’

मोगोककै कति बाठाटाठाले रुबी पत्थर खोज्न लगाएर छलछाम गरेको कुरा मैले टाउँजीतिरै नि सुनेकै थिएँ । काम लाग्दैन भनेर आफ्नै खाटमुनि फालेर पछि धोक्रा, बोतल र बोरामा लुकाएर जतन गरी–गरी बेच्नेहरूको बठ्याइँ पनि धेरैले रंगुनतिरै नै सुनाएथे । खोज्नेहरू आजसम्म मोगोकमै पत्थर खोज्न रातबिरात नभनी खोजिरहेकै छन् रे ! ‘बोजाम’ काम नलाग्ने भनी कपटी गर्नेहरू क्याटले पुरिइरहेकै छन् रे ! रुबीको कथासँग सारा म्यान्मार जोडिएको थियो । कुरा निकै भएछन् रुबीका, नीलमका, सफायाका । यूँका कुराले म जताततै त्यही कलेजी, गुलाबी र रातो निक्खर रङमा मन घुमाइरहेथेँ । गाडी निकै पर पुगिसकेथ्यो  मुगोलान कटेर । 

 

 

 

प्रतिकृया दिनुहोस