• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
छविरमण सिलवाल काठमाडाैं
२०७६ श्रावण ४ शनिबार ०८:५५:००
साहित्य

समाजको दस्ताबेज

किताब

२०७६ श्रावण ४ शनिबार ०८:५५:००
छविरमण सिलवाल काठमाडाैं

लेखकहरू प्रायः कथा, कविता लेखेर पछि उपन्यास लेख्छन् । तर, उमा सुवेदीले भने पहिला उपन्यास लेखेर कथातिर प्रवेश गरेकी छिन् । यद्यपि, उनको उपन्यास लेखनयात्रा पनि जारी नै छ । ‘तोदा’ र ‘इति’ दुई चर्चित उपन्यासका लेखिका उमाको नयाँ कथासंग्रह ‘सयौँ पुतली’को चर्चा व्यापक नै छ ।  पाठकको मन जित्नु नै उत्कृष्ठ लेखनको मापदण्ड हो ।

लेखक पनि समाजको पात्र हो, र ऊ मान्छेको भिडबाटै अलग्गै चिनिनुपर्छ । लेखक व्यक्तिगत जीवन र लेखकीय जीवनको तालमेलसँगै समाजको मिहिन कुराको साक्षी हुन्छ । आममानिस र साहित्यकारका बीच यही फरक हुन्छ । आममानिसले ती कुरालाई मजाक बनाउँछ भने साहित्यकारले सिर्जनामा उनेर समाजलाई देखाइदिन्छ । उमा सुवेदी पनि हाम्रै समाजकी पात्र हुन्, सबैले भोगेको भोगाइ उनले पनि भोगेकी छिन् । फरक यति हो उनले भोगेका र देखेका, तर आममान्छेका दृष्टि पुग्न नसकेका मिहिन कुरालाई उनले कथामार्फत व्यक्त गरेकी हुन् सयौँ पुतलीमार्फत । 

सयौँ पुतली कथासंग्रहभित्र सत्र कथा छन् । पात्र परिवेश हाम्रै समाज वरिपरिका छन् । कथा विधा शालीन विधा हो । अहिले उपन्यास, नियात्रा र निबन्धले कथा विधालाई केही ओझेलमा पारिएजस्तो देखिए पनि कथाका पारखी भने बढिरहेकै देखिन्छन् । यसैको निरन्तरतामा सयौँ पुतलीले पनि आफ्नो छाप छोडेको छ । 
कथासंग्रहमा महिला मनोविज्ञानसँग सम्बन्धित कथा छन् । एउटा पुरुष महिला अधिकारका क्षेत्रमा काम गर्छ, तर आफ्नी हुनेवाला श्रीमतीका बारेमा क्रमशः यो नगर त्यो नगर भनेर दबाब सिर्जना गर्छ । अन्तमा केटीले चाल पाउँछे र अरूका भरमा भन्दा आफ्नो खुट्टामा उभिनुपर्छ भन्ने चेतना जागृत हुन्छ । 

यहाँ स्पष्ट के देखिन्छ भने, विद्रोह गरेर मात्र होइन, शालीनताले पनि आफ्नो अधिकार या अरूको दबाबमा नबसेर पनि समाज चल्छ भन्ने देखाएको छ । त्यसकारण, उनका यी कथा शालीनताका प्रतिमूर्तिजस्ता लाग्छन् । कथामा महिलाहरू कमजोर मात्र हुँदैनन्, अवसर पाए जे पनि गर्न सक्छन् भन्ने देखाइएको छ ।हामी कुन मार्गमा कसरी हिँडिरहेका छौँ भन्ने कुरा यी सयौँ पुतलीका कथाले बोलिदिएका छन् । उमाका कथामा नारी भोग्या पात्र होइनन्, रथका एक पांग्रा हुन् भन्ने चेतना पाइन्छ । यस संग्रहभित्रको एउटा कथा मात्रै पुरुषपात्रका बारेमा लेखिएको छ र अरू कथा महिलाका जीवनवृत्त वरिपरि केन्द्रित छ ।

उमाका कथाहरूमा नारी भोग्या पात्र होइनन् रथका एक पांग्रा हुन् भन्ने चेतना पाइन्छ

‘बेसुर’ शीर्षकको एउटा कथाले जनयुद्धको झल्को दिन्छ । जनता सधैँ इमानदार बनेर रहेको प्रमाण राधेश्याम पात्रबाट पुष्टि हुन्छ । जनआन्दोलनमा साना उमेरका केटाहरूले उनको घरमा बोरा राख्न दिएर भागे उनीहरूले त्यो बोरामा पैसा भएको बताएका थिए । उसले त्यहाँको पैसा एक रुपैयाँ पनि नचलाई बस्यो । सबैलाई मेरो घरको भकारीमा पैसा छ भन्दै हिँड्यो, तर कसैले पत्याएनन् । उसकोे सुखी परिवार चलिरहेकै थियो, अचानक माटोको ढिस्कोले पुरेर उसका दुई छोरी पहिरोमा परेर मरे । तैपनि उसले त्यो पैसा चलाएन बरु सबैलाई भन्यो, कसैले पत्याएनन् ।

ऊ मरेपछि हेर्दा भकारीमा मुसाले खाएका नोटका बन्डल थिए । उसलाई सबैले बौलाह भने । आजको राजनीति पनि त्यस्तै छ । त्यही कुरा जनताले भने बौलाहा हुन्छ, पत्याइँदैन । तर, नेताहरूले जे भने पनि सही हुन्छ । ‘बाबुद्वारा छोरी बलात्कृत’ यस्ता समाचार हामीले सुनिरहन्छौँ । एउटा कथा यस्तै विषयमा छ । त्यो कथाले मान्छेलाई परिस्थितिले कहाँ–कहाँ पु-याउँछ भन्ने कुरा देखाएकोे छ ।

उमाले श्रीमान्ले मात्र महिलालाई यातना दिएका छैनन्, गन्यमान्य भनाउँदाहरूले पनि महिलाको शोषण गरेका छन् भन्ने सूक्ष्म कुरा ‘हँसिया’ कथामार्फत देखाएकी छिन् । र अरूका पीडा लेख्ने पत्रकारको पनि नियत उदांगो बनाएकी छिन् । सयौँ पुतलीभित्र वर्तमान राजनीतिक अवस्थाले निम्त्याएको बेथिति, वैदेशिक रोजगारीले ग्रस्त पारेको गाँउवस्तीका व्यथा, गणतन्त्र प्राप्तिपछिको बेथितिको आक्रोश, अन्तर्जातीय विवाहले निम्त्याएको पीडा, मातृत्वप्रेमलगायत विविध समसामयिक विषय छन् । सरल भाषामा नारीजीवनका जटिलतालाई मिहिन रूपमा केलाएका सयौँ पुतलीसंग्रहका कथा पढ्न योग्य छन् । समाजसँग उनका केही आक्रोश जायज नै लाग्छन् । तर, यो बेतिथिको समाधान कसले गर्ला भन्ने निक्र्योल भने कथाले दिँदैन । 

लेखक : उमा सुवेदी
प्रकाशक : सांग्रिला बुक्स
पृष्ठ : १८२
मूल्य : २९५