• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
बिनु पोखरेल
२०७६ श्रावण ४ शनिबार ०९:२१:००
इतिहास

मुक्तिनाथमा साम्यवाद

२०७६ श्रावण ४ शनिबार ०९:२१:००
बिनु पोखरेल

तिब्बती भाषामा मुक्तिनाथलाई ‘छु–मिग्ब्ग्र्यर्च’ भनिँदो रहेछ । छु–मिग्ब्ग्र्यर्चको अर्थ हो– एक सय र केही जलधारा । समग्रमा एक सय आठ जलधारा भन्ने हुन्छ । मुक्तिनाथ यस्तो तीर्थ हो, जहाँ हिन्दू र बौद्ध साझा रूपमा पूजा गर्छन् । मुक्तिनाथलाई हिन्दू भगवान् विष्णु मान्छन् भने बौद्ध आर्यावलोकितेश्वर (तिः ‘फग्स्–प–सप्यन्–रस्–ग्सिग्स्) । मुक्तिनाथ क्षेत्र समुद्रको सतहदेखि ३७४९ मिटरको उचाइमा छ । वरिपरि हिउँले ढाकिएका अग्ला हिमालको पूर्वपट्टिको भित्तामा छ, मुक्तिनाथ मन्दिर । 

हिमालको काखमा हुनाले सबै खालका पर्यटकको ओइरो लाग्ने नै भयो । धार्मिक आस्था राख्ने संसारका जुनसुकै देशका हिन्दू र बौद्ध धर्मावलम्बी एकपटक मुक्तिनाथ पुगेमा मात्र पनि जीवनबाट मुक्ति पाइन्छ भन्ने विश्वासमा त्यहाँ पुग्ने गर्छन् । त्यसै कारण साझा तीर्थको रूपमा पुजिने सबैभन्दा प्रसिद्ध तीर्थ बन्यो मुक्तिनाथ । 

गण्डकी माहात्म्यमा ब्रह्माजी मुक्तिक्षेत्रमा भगवान् विष्णुका नजिक दिव्यवैश्वानर (अलौकिक अग्नि) भएर बसेको उल्लेख छ । भगवान् मुक्तिनाथको पूजा सनातन हिन्दू परम्पराअनुसार पुजारीबाट हुन्छ । तर, झुमा र पुजारी दुवै मन्दिरमा देख्दा साँच्चै अचम्म र आनन्द पनि महसुुस हुन्छ । अझ झुमाले मुकुट लगाइदिएर मन्दिरमा जाने भक्तलाई सांसारिक कामनाबाट मुक्त गराउँछिन् भने पुजारीले मन्दिरमा पूजा गरेर मनकामना पूरा होस् भनी कामना गर्छन् । दुई भेषमा, दुई फरक मनस्थितिबाट हुर्किएका धार्मिक अगुवा मन्दिरमा र भक्तहरू मन्दिरबाहिर देख्दा साँच्चै साम्यवाद आइसकेको हो कि क्या हो भन्ने महसुुस हुन्छ ।

 पुजारी र झुमाको समन्वय मात्र हैन, दुवैको सहकार्यमा मन्दिरको पनि सहज व्यवस्थापन हुने रहेछ । ताल्चा, साँचो र संरक्षण झुमाको जिम्मामा रहन्छ । भगवान् मुक्तिनाथलाई अर्पण गरिएका सबै वस्तु झुमाले पाउँछिन् भने टीका लगाएर दिएको दक्षिणा र गोदान आदिको रकम पुजारीले पाउँछन् । यहाँ वि.सं. १९६१ देखि बाहुन पुजारी राखिएको अहिलेका पुजारी कृष्णप्रसाद सुवेदी बताउँछन् । 

अहिले हरसमय पर्यटक पुग्छन् यहाँ । पहिले–पहिले बाटो पनि सहज थिएन, अनि बसोवासको प्रबन्ध पनि । त्यसैले हिउँ कम पर्ने समयमा मात्र पर्यटक हुन्थे र त्यस समय पुजारी पुग्थे । तर, जाडोको समयमा पर्यटक नहुने हुँदा पुजारी बस्दैनथे । त्यो वेला तिनै झुमाले मन्दिर संरक्षण गर्थिन् ।  आज मात्र होइन, यस क्षेत्रमा बसोवासको थालनी हुँदादेखि नै तिब्बती मूलका बौद्धमार्गीको बाहुल्य थियो । प्राचीनकालदेखि नै यस ठाउँमा पूजाआजा गर्दै आएको भनेर पुराणहरूमा उल्लेख छ । हिन्दू सभ्यतामा बुद्धलाई भगवान् विष्णुको नवौँ अवतारको रूपमा मानिने हुँदा विष्णुको नवौँ अवतारको रूपमा हिन्दूहरूले पूजा गर्थे र आज पनि गर्छन् । 

रणबहादुर शाह मारिएको एक महिना पनि नपुग्दै वि.सं. १८६३ मा उनैकी पत्नी महारानी सुवर्णप्रभाले यहाँ आउने तीर्थालुको भोजनको प्रबन्धका लागि धर्मशाला बनाएर पच्चीस सय तीस मुरी माटोको गुठी राखिदिएकी थिइन् । त्यसको आम्दानीबाट ब्राह्मण, सन्न्यासी, अतिथि, अभ्यागत र माग्नेलाई एकपटकमा दुई माना चामल, पाँच मुठी दाल, चार तोला नुन, चार तोला घिउ, दुई मासा हर्दी र दाउरा दिनू भन्ने उल्लेख थियो । (धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठ शाहकालका अभिलेख, २०३७, महेशराज पन्त, मोहनचोकको बालगोपाल मूर्ति स्मारिका २०७५ (हनुमानढोका दरबार) ।

०३२ सालसम्म मन्दिरको गुठीमा म्याग्दीको दुई गाउँ राँखु र दोवामा गरेर २९ हजार नौ सय ९२ रोपनी जग्गा थियो । त्यसपछि गुठी संस्थानले मन्दिर सञ्चालन गर्न भनी १३ हजार रोपनी जग्गा बेचेर त्यसै वेला अक्षयकोष राखेको थियो । सो पैसाको ब्याजबाट गुठी सञ्चालन गर्ने भनिए पनि अहिलेसम्म सो पैसा मन्दिरको काममा प्रयोग नआएको पुजारी सुवेदीले बताए । 

जग्गा बेच्दा पनि झन्डै १८ हजार रोपनी अझै बाँकी थियो । त्यसबाट आएको आम्दानीले जासोतसो मन्दिरको पूजाआजा सञ्चालित थियो । पछि–पछि जग्गा कमाउने मोहीहरूले मुक्तिनाथको जग्गा आफ्नै बनाएर बसे । त्यसपछि जग्गाको पूरा कमाइको १५ प्रतिशतजति कमाइ मन्दिरमा पुग्थ्यो त्यो पनि बन्द भयो । पुजारी सुवेदी भन्छन्– सशस्त्र आन्दोलन सकिएसँगै देशमा भएको परिर्वतनले मुक्तिनाथमा हर समय पर्यटकको घुइँचो लाग्न थाल्यो । भक्तालु पनि बढे । आज तिनै भक्तालुले चढाएको दक्षिणाले तीर्थालुको भोजनको प्रबन्ध हुने गरेको छ । 

काठमाडौँ उपत्यकासँग पनि मुक्तिक्षेत्रको धार्मिक एवं सांस्कृतिक सम्बन्ध कायम रहेको पाइन्छ । साँखु बज्रयोगिनीको अखण्डधुनी र स्वयम्भूको देवाधर्मा गुम्बा (म्हर्मे ल्ह खाङ) को अखण्ड थियो निभ्यो भने मुक्तिक्षेत्रको स्वयं प्रज्ज्वलित ज्वालाको आगो ल्याएर उक्त अखण्ड धुनी र दियो बाल्नुपर्छ भन्ने मान्यता छ ।

अधिकांश भोेटे लामाहरूको बसोवास रहेको त्यस क्षेत्रमा अधिक पर्यटक भने हिन्दूहरू नै भेटिन्थे । यस क्षेत्रमा आइरहने भारतीय नागरिक योगी सद्गुरु र गत वर्ष मात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही मुक्तिनाथ क्षेत्रमा आएर ध्यान गरेर फर्किएका कारण भक्तालुहरूको वृद्धि भएकोे बताउँछन्, त्यहाँ होटेल व्यवसाय गर्ने छोटु शेर्पा । मन्दिर परिसर र होटेलमा पनि भारतीय मूलका धार्मिक पर्यटकहरू कोही घोडामा, कोही डोलीमा, त कोही हिँडेर ओहोरदोहोर गरिरहेका भेटिन्थे । त्यहाँका होटेल पनि पहाड, तराई अझ भारतीय पर्यटकलाई ध्यानमा राखी बनाइएका छन् ।

त्यहाँका व्यवसायी त नेपाली बुझ्छन् र बोल्छन् पनि । गुम्बामा पढ्ने बच्चा भने नेपाली सहज बोल्न सक्दैनन्, बोलेको पनि बुझ्दैनन् । किनकि त्यहाँ तिब्बती मूलका नेपालीहरूको बसोवास छ । धेरै चिनियाँ बच्चाहरू नै गुम्बामा पढ्न बसेको गुम्बाका लामा बताउँछन् । चिनियाँ, नेपाली र भारतीय तिनै देशका भक्तालुको एउटै मन्दिर हो– मुक्तिनाथ । त्यसैले भन्न सकिन्छ कि हिन्दू र बौद्धमार्गीहरू सँगसँगै त्रिदेशीय मिलन बिन्दु पनि हो, मुक्तिनाथ । 

प्रागैतिहासिक कालीगण्डकी 
हिउँले खाएर मसिना बुट्यान मात्र हुने त्यस क्षेत्रमा ईसापूर्व सोह्रौँ शताब्दीदेखि नै मानिसको बसोवास रहेको अध्ययनले देखाएको छ । जर्मनहरूले पुरातŒव विभागको उत्खनन गर्दा सन् १९८५ मा त्यस क्षेत्रमा नवपाषाण हतियार भेट्टाइएको थियो । त्यसबखत भेटिने अहिले पनि पाइने कतिपय शालिग्रामहरूमा पनि ढुंगे चित्र पाइन्छ । यसबाट त्यस वेला मानव बसोवास भएको पुष्टि हुन्छ । 

मुक्तिनाथ भएर आउने कालीगण्डकीका अन्य वैष्णव तीर्थमा कागवेणी, गलेश्वरधाम, वेणी, रुरुक्षेत्र, राम्दीघाट, हुंगीघाट, खोरीघाट, केलादीघाट, रामपुर, देवघाट आदि छन् । यस नदीले उत्खनन गर्ने शालिग्रामको महत्व पनि उत्तिकै छ । जालन्धरकी स्वास्नीको श्राप पाएर ढुंगोमा शालिग्राम बनेका विष्णुको यस रूपबारे स्कन्दपुराण, शिवपुराण, पद्म पुराणमा चर्चा छ । आठौँ शताब्दीमा शंकराचार्यले पनि शालिग्रामको पूजा गर्ने गरेको प्रसंग छ भने बराह पुराणमा चन्द्रमाले श्रापबाट मुक्त हुनका लागि शालिग्राम क्षेत्रमा शिवलिंग स्थापना गरेर बसेको उल्लेख छ । 

०००
जेठको अन्तिम साता हामी पुग्दा अरू वेला हिउँले ढाकिने यस क्षेत्रमा हिउँदको हिउँ बिलाउँदै थियो । विवाहको भोलिपल्ट सिउँदोमा टम्म सिन्दुर लगाएर उकुसमुकुस उत्साह र सन्तुष्टि अनुहारमा झल्काउँदै दुलहाको घर–आँगनमा देखिने दुलहीजस्तै चारैतिर अग्ला हिमालका टुप्पामा हिउँ राखेर नीलो आकाशमा स्वच्छ र सेतो बादलमा गुटुमुटु थियो, मुक्तिनाथ क्षेत्र । 

कालीगण्डकीलाई पटक–पटक वारपार गर्दै जाने बाटोमा १२ बजेअघि नै बाटो काट्न बाटामा भेटिएका मान्छेहरू सुझाउँथे । त्यो किन रहेछ भनेर हामीले जोमसोम पुगेर थाहा पायौँ । तिनै हिमाललाई फन्को लगाएर आएको चिसो हावाको वेग ढुंगा नै उचालेर फ्याँकिदिने खालको थियो । भिरको बाटोमा हिँड्दा माथिबाट ढुंगा सँगसँगै लिएर बहन्थ्यो हावा । जोमसोमै बजारमा १२ बजे हावा सरर होइन, हुरुरु आउँदो रहेछ । हलुको ज्यान भए समाएर हिँड्नुस्, नत्र उडाउला भन्ने गरी हावा चल्छ । त्यसैले यहाँ ठाउँठाउँमा हावाबाट बिजुली निकालिएको छ । 

हरबखत हिउँ र वेगले हावा चल्ने भएर बुट्यान पनि झारका बोटजस्ता । त्यो पनि हातैले चित्र बनाएजस्तो एक–दुई मिटरको फरकमा मात्र भेटिन्थे । टाढाबाट हेर्दा चिल्ला पहाड भुइँ पुछी खाना पस्केर खान मिल्ने जस्तै देखिन्थे । नजिक पुग्दा भुइँमा देखिने दरिला बुट्यानले सुक्खा भुइँलाई सुन्दर बनाएको थियो । तर, भुइँमा जति बुट्यान देखिन्छन्, ती सबै बुट्यान दह्रा र तीखा काँडा भएका हुने रहेछन् । हरेक बुट्यानमा काँडा हुनुको पनि कारण रहेछ । यस ठाउँमा अधिकांश समय हिउँ पर्ने हुँदा हिउँबाट बच्न बुट्यानमा स्वभावतः काँडा पलाउने स्थानीय बताउँछन् ।

झन्डै ३८ सय मिटरको उचाइ भएर अक्सिजन दिने बोट नहुनाले यहाँ अक्सिजन कम हुने हुँदा योग अभ्यास नभएका, तराई र गर्मी ठाउँबाट जानेहरू मन्दिरको वरिपरि लेक लागेर प्याकप्याक भइरहेका भेटिन्थे । अक्सिजन नपाएर सकस हुनुलाई लेक लाग्ने भनिन्छ । तिनलाई कपुरको प्रयोग गर्नुहोला भनेर मन्दिरका वरपर काम गर्नेहरूले सुझाब गरिरहेका हुन्थे । 

मन्दिरको ठिक्क अगाडि दुईवटा साना पोखरी बनाइएका छन् । जसमा मन्दिर पस्ने भक्तहरू त्यस पोखरीमा डुबुल्की मारेर मात्र मन्दिर पस्ने गर्छन् । यस मन्दिरको वरिपरि पर्ने गरी १०८ धारा बनाइएको छ । पानी झर्ने ठाउँमा भने गाईको मुख बनाइएको छ । काठमाडौंमा सबैभन्दा गर्मी दिन हो भन्दै हिँडेका हामी मुक्तिक्षेत्र पुग्दा आजभोलि पनि हिउँ पर्ने सम्भावना रहेको स्थानीय बताउँदै थिए । त्यही हिउँ पग्लिएर आएको पानीमा नुहाउन सकस थियो, बाहिरबाट जानेलाई । तर, पनि भक्तहरू डुबुल्की मारेरै सबै धारामा नुहाइरहेका भेटिन्थे ।

ज्येष्ठ शुक्ल दशमी अथवा दशहराको दिनमा मुक्तिक्षेत्रको मुक्तिधारामा स्नान गर्नाले कोटिजन्ममा गरेको पापबाट मुक्त हुन्छ भनी हिमवत् खण्डमा उल्लेख छ । दशहराको दिन हृषिकेशोत्सव पनि हो । त्यसैले यस दिनमा मुक्तिक्षेत्रको स्नान पुण्यदायक मानिएको हो । माघे संक्रान्तिमा मुक्तिक्षेत्रमा स्नान गर्नाले सम्पूर्ण पापबाट मुक्त भई परम् पद पाइन्छ र नरकमा वास गरेका भए पनि मुक्तिक्षेत्रमा गरिएको तर्पण र श्राद्धद्वारा पितृहरू तत्काल मुक्त हुन्छन् भन्ने मान्यता छ । तर, यतिवेला यातायात र बसोवासको सुविधा भएकाले तीर्थयात्रीहरू आफ्नो अनुकूल अवसर पारेर मुक्तिक्षेत्रको तीर्थयात्रामा जान्छन् । खासगरी हिन्दू तीर्थयात्रीहरू आश्विन कृष्ण अमावस्या पितृ विसर्जनको पर्व पारेर मुक्तिधारामा स्नान गरी मुक्तिनाथको दर्शन गर्छन् । यसैगरी कतिपय भक्तजनहरू बडादसैँको टीकाका दिन टीका थाप्न पनि मुक्तिनाथ जाने गर्छन् ।

मन्दिरको तल्लो भागमा बुद्धको विशाल मूर्ति छ । त्यसको वरिपरि बुद्ध र विष्णुस्वरूप मिश्रण भएका स–साना मूर्तिहरू देख्न सकिन्छ । ती मूर्ति व्यक्तिले आ–आफ्ना नामै लेखाएर टाँसेका छन् । तलदेखि नै मन्दिरको बाटोमा झुमा र पुरोहित दुवैको ओहोरदोहोर देख्न सकिन्थ्यो । बाटोमा भएका दोकान पनि कतै रातो अक्षता, फूलपाती त कतै बौद्ध चैत्यमा बाल्ने दियो बेच्न राखेको देखिन्छ । बाटोमा भिक्षु र जोगी पनि उत्तिकै देख्न सकिन्छ । यसले पनि मुक्तिनाथ पुग्ने भक्तलाई साच्चै मुक्तिक्षेत्रमा आएको भान गराउँछ । 

बज्रगुरु पद्मसम्भवले नेपाल भूमिमा साधना गरी डाकिनीहरूलाई वशमा पारेर भोट देशमा गई बौद्धधर्म प्रचार गरेको कुरा त्यहाँका भोटेहरूले सुनाउने कथा हो । अरूतिर सुक्खा हुँदा मन्दिरको वरिपरि भने लहरे पीपलको बाक्लै रूख छन् । मुक्तिनाथ मन्दिर वरिपरिका रूख यही बाटो भएर भोट गएका सिद्धहरूले छोडेका लठ्ठीबाट उम्रिएको विश्वास गरिन्छ ।

यस अनुश्रुति र विश्वासबाट तिब्बतमा बौद्ध धर्मको स्थापना र विकास भएपछि कालीगण्डकीको किनारै किनार मुस्ताङ सात थपौला भएर भारत र तिब्बत आवतजावत गर्ने भारतीय पण्डित, सिद्ध एवं तिब्बती लामाहरूको क्रियाकलापबाट मुक्तिक्षेत्रको महिमा अझ बढेको जानकारहरू बताउँछन् । तीनै जोगी नाथहरू सोही ठाउँमा रहेर ध्यान गर्ने र तिब्बत मानसरोवर आउने–जाने गर्थे । सोही बाटो हुँदै आएका बुद्धमार्गी पनि यही ठाउँमा ध्यानमा बसेर फर्कने गर्दागर्दै कालान्तरमा मुक्तिनाथ सबैका साझा क्षेत्रको रूपमा स्थापित भयो । 

त्यसो त हलेसीमा पनि हिन्दू र बौद्ध मार्गीहरू दुवैले पूजा गर्छन् । हिन्दूले हलेसी महादेव भनेर पुज्छन् भने बौद्धमार्गीहरूले पद्मसम्भवको तपोभूमि, रिम्पोछे भनेर पुज्छन् । त्यस्तै मञ्जुश्रीलाई हिन्दू पनि पुज्छन् भने उनैलाई बौद्धमार्गी सरस्वती मानेर पूजा गर्छन् । त्यति मात्र हैन, नेपाली खस भाषाको उत्पत्ति भएको मानिने पश्चिम नेपालको पहाडी र हिमाली भेगमा परम्परादेखि नै लामा–विष्णु भनेर एउटै थानमा पुज्ने गरिन्छ । जुम्लाको सिँजा उपत्यकाको लेकपर गाउँमा प्रसिद्ध लामा–विष्णुको स्थान छ । जहाँ आज पनि लामा, क्षेत्री, बाहुन सबै एउटै स्थानमा पुज्छन् । त्यहाँका मानिसको घरमा पूजा लगाउँदा आज पनि हँडेखोलीलामा स्वाहा, घाँस ओडारे लामा स्वाहा भनेर मात्र अरू पूजा विधि अघि बढाउँछन् ।(वासुदेव पाण्डेय, लामा–विष्णु : सांस्कृतिक समन्वयका प्रतीक २०७४, १८९–२२५) । 

मुक्तिदाता विष्णुको अत्यन्त प्रिय क्षेत्र भएकाले यसलाई मुक्तिक्षेत्र भनिएको र यस क्षेत्रमा गरिएका श्राद्धादि कर्मद्वारा पितृहरू मुक्त हुन्छन् भन्ने अवधारणा छ । यसैगरी बौद्ध धर्ममा भगवान् शाक्यमुनि बुद्धको महापरिनिर्वाणपछि भविष्यका बुद्ध मैत्रेयले जन्म नलिउन्जेलको बीच अवस्थामा लोकपालनको दायित्व पद्मपाणि बोधिसत्वलाई दिएको मानिन्छ । 

पद्मपाणि बोधिसत्वलेआफ्नो यस स्वरूपबाट प्रसिद्ध षडाक्षरी बौद्धमन्त्र ‘ॐमणिपद्मेहूँ’ को आविष्कार गरेको हुनाले उनको यस स्वरूपलाई षडाक्षरी लोकेश्वर भनेको हो । षडाक्षरी लोकेश्वर बज्रपर्यङ्कासनमा बसेको हुन्छ । हिन्दू धर्मको भाषामा जसलाई पद्मासन भनिन्छ, त्यही आसनलाई बज्रयानी बौद्धधर्मको भाषामा बज्रपर्यङ्कासन भनिन्छ । षडाक्षरी लोकेश्वरका चार हात हुन्छन् । तिनमध्ये दायाँ–बायाँ मुख्य दुई हात छातीको समतलमा अञ्जली मुद्रामा रहेका हुन्छन् । अरू बाँकी दायाँबायाँका दुवै हात काँधको समतलसम्म उठाएको हुन्छ र दायाँ हातमा स्फटिकको माला र बायाँ हातमा पद्म लिएको हुन्छ । यसरी मुक्तिनाथको मन्दिरमा स्थापित मुक्तिनाथको आसन र काँधको समतलसम्म उठाइएका दुई हातको अवस्थिति र षडाक्षरी लोकेश्वरको आसन र काँधको समतलसम्म उठाइएका दुई हातको अवस्थितिबीच समानता पाइन्छ ।

यसरी मुक्तिनाथको मन्दिरमा स्थापित मुक्तिनाथको प्रतिमालक्षण र षडाक्षरी लोकेश्वरको प्रतिमालक्षणमा समानता पाइनाले पनि मुक्तिनाथप्रति हिन्दू र बौद्ध दुवैको तादात्म्य स्थापित भएको हो । यसरी प्रतिमालक्षणमा समानता पाइनु केवल एउटा संयोग मात्र हो । मुख्य कुराचाहिँ भगवान् विष्णु र पद्मपाणि बोधिसŒव आर्यावलोकितेश्वरप्रतिको अवधारणाबीचको तादात्म्य हो भन्छन् यस क्षेत्रका अध्येता प्राज्ञ डा. जगमान गुरुङ । 

भगवान् शाक्यमुनि बुद्धले महापरिनिर्वाण प्राप्त गरेको ५ हजार वर्षपछि मैत्रेय बुद्धले जन्म लिने विश्वास छ । यसरी आफूमा लोकपालनको दायित्व आएपछि पद्मपाणि बोधिसत्वले जगत्को कल्याणका लागि षडाक्षरी लोकेश्वर स्वरूपद्वारा प्रसिद्ध बौद्ध षडाक्षरी मन्त्र ‘ॐमणिपद्मेहूँ’ अविष्कार गर्नुभयो । जगत्लाई करुणाको दृष्टिले अवलोकन गर्ने हुनाले पद्मपाणि बोधिसत्व आर्यावलोकितेश्वर कहलाए ।

मुक्तिनाथ यस्तो तीर्थ हो, जहाँ हिन्दू र बौद्ध धर्मावलम्बीले साझा रूपमा पूजा गर्छन् । मुक्तिनाथलाई हिन्दूहरू भगवान् विष्णु मान्छन् भने बुद्धिस्टहरू आर्यावलोकितेश्वर ।

यसैगरी लोकको पालन गर्ने हुनाले पद्मपाणि बोधिसत्व करुणामय, लोकेश्वर, लोकनाथ र जगन्नाथ कहलाए । यसका अतिरिक्त पद्मपाणि बोधिसत्व आर्यावलोकितेश्वर षडक्षरीमन्त्र ‘ॐमणिपद्मेहूँ’ द्वारा सुर, असुर, नर, तिर्यक्, प्रेत र नरक यी षट्गति अथवा षट्प्राणीलाई भवचक्र अथवा जन्ममृत्युको चक्रबाट पार गराई निर्वाण प्राप्त गराउँदछन् भन्ने अवधारणा छ । यसलाई लामामार्गी बौद्ध धर्मको भाषामा ‘ढोवा कुइन् डोल्’ भनिन्छ । यसको अर्थ कुइन्= समस्त, ढोवा= गति वा प्राणी र डोल्= मुक्ति हो । त्यसैले ढोवा कुइन् डोल अथवा समस्त प्राणीलाई भवचक्रबाट मुक्त गराउने भगवान् भएकाले आर्यावलोकितेश्वरलाई मुक्तिनाथ मानिएको हो । (डा. जगमान गुरुङ, नेपालको राष्ट्रिय समीकरणको परिप्रेक्षमा गण्डकी प्रश्रवण क्षेत्रका तीर्थस्थलहरूको विश्लेषणात्मक अध्ययन, प्रकाशक नेपाल र एसियाली अनुसन्धान केन्द्र त्रिवि, २०६१) ।

सद्धर्मपुण्डरीकसूत्र नामक महायानी बौद्ध ग्रन्थमा आर्यावलोकितेश्वरको उल्लेख छ । दुःखजति आपूmले पचाउन सकूँ र आफ्नो यस प्रकारको बोधिसत्व अवस्थाको पुण्यबाट यो जगत् सुखी होओस् भन्ने प्रण नै बोधिसत्वको आदर्श हो । बोधिसत्वहरूमा बुद्धत्व प्राप्त गर्ने अर्थात् निर्वाण प्राप्त गर्न सक्ने सामथ्र्य भए पनि सबै प्राणीहरूले निर्वाण प्राप्त नगरेसम्म आफूले निर्वाण प्राप्त नगर्ने अठोट नै बोधिसत्वको महान् आदर्श हो । बोधिसत्वको यस् आदर्शले गर्दा नै बोधिसत्वयान महायान कहलाएको हो ।

प्रारम्भिक बज्रयानी अथवा नेपाल उपत्यकाका नेवार बौद्धहरूले षडाक्षरी लोकेश्वरलाई बौद्धधर्मका त्रिरत्न– बुद्धरत्न, धर्मरत्न र संघरत्नमध्ये संघरत्नको रूपमा मान्छन् भने तिब्बती लामा बौद्धहरूले चाहिँ भगवान् बुद्धका चतुष्काय रूपकाय, धर्मकाय, सम्भोगकाय र निर्माणकायमध्ये सदा तुषित लोकमा बसेर सुखको भोग गर्ने सम्भोगकाय (तिः लोङ्स्–स्कु) को रूपमा मान्छन् ।

यसरी हिन्दू धर्मअनुसार भगवान् विष्णुप्रतिको जगत्को पालन र मुक्तिको अवधारणा र बौद्ध धर्मअनुसार आर्यावलोकितेश्वरप्रतिको जगत्को पालन र मुक्तिको अवधारणाबीच निकटतम तादात्म्य पाइन्छ । अर्को कुरा, हिन्दू र बौद्ध मतमा भगवान् विष्णु र आर्यावलोकितेश्वर नाम र रूप अलग–अलग भए पनि ती दुवै मतको जगत्को पालन र जीवको मुक्तिको दार्शनिक चिन्तनको मिलनबिन्दु एउटै भएकाले यो तादात्म्य अझ बलियो भएको हो ।

वास्तवमा मुस्ताङको मुक्तिक्षेत्रमा विराजित मुक्तिनाथ लामा–विष्णु परम्पराको परवर्ती विकसित रूप हो । जसमा लामा— विष्णुमतमा बौद्धमत र वैष्णवमतलाई एकाकार गर्ने सत्प्रयास गरिएको छ ।यसै सन्दर्भमा श्रीलङ्कामा विष्णुलाई नै बुद्धको रूपमा पुजिने गरेको प्रसंगलाई पनि यहाँ राख्न उचित ठानेँ । त्यहाँ विष्णुलाई नै बुद्धको रूपमा पूजा गर्ने गरिन्छ । यो कुरा सग्लो किताबमा तथ्य विष्णुका मूर्ति र चित्रको प्रमाणसहित उल्लेख गरिएको छ । (जोन क्लिफोर्ड होल्ट, द बुद्धिष्ट विष्णुःरिलिजियस ट्रान्स्फर्मेसन पोलिटिक्स यान्ड कल्चर, कोलम्बिया पे्रस, न्युयोर्क सन् २००४) ।

मुक्तिनाथको पूजारीपरम्परा, मन्दिरको वास्तुशैली र यस क्षेत्रको तीर्थयात्रामा जाने विभिन्न वर्ग, जात र रङका तीर्थयात्रीबीचको आपसी सहिष्णुता र सहअस्तित्व अनि समन्वयात्मक भाव सबैलाई चकित पार्ने खालको छ । अनेक संस्कृति, भेषभूषा र भाषाभाषी भएका हिन्दू, बौद्ध, तागाधारी, मतवाली, आर्य, मंगोल आदि सबै वर्ग र क्षेत्रका श्रद्धालु मुक्तिक्षेत्रको तीर्थयात्रामा भेटिन्छन् । यसरी मुक्तिनाथप्रतिको दुई खर्ब हिन्दू र पाँचसय अर्बबौद्धहरूको अवधारणा एक स्थानमा ल्याउन सक्ने सिमानाले पनि छेक्न नसकेको एक दुई मात्र हैन, त्रिदेशीय भावनाको मिलन बिन्दु हो मुक्तिनाथ ।