• वि.सं २०७६ भदौ ८ आइतबार
  • Sunday, 25 August, 2019

हामी हिन्दूराज्यका रैती 

रैती/नागरिक–४

२०७६ श्रावण ११ शनिबार ०८:२९:००

‘झन् नयाँ’को ‘रैती÷नागरिक’ बहसमा यसपटक छन्, प्रा.माणिकलाल श्रेष्ठ । उनीसँग राजु स्याङ्तानले गरेको कुराकानीको अंश :

कोही मालिक र कोही दास हुने समाजमा रैती हुन्छ । राणा शासनको पालामा हामी रैती भएर बाँच्यौँ । आज हामी साँच्चै नागरिक भइसकेको भए आममानिसभन्दा माथि कोही पनि हुने थिएन । आममानिसभन्दा माथि संविधान हुन्थ्यो, राज्य हुन्थ्यो । कुनै व्यक्ति हुँदैन थियो । सबै बराबर हुने थियौँ । तर, हाम्रो समाजमा व्यक्ति–व्यक्तिबीच असमानता छ । समाजमा तह कायम छ । जुन समाजमा कोही तल र कोही माथि हुने स्तरीकरण हुन्छ, रैती त्यही हुन्छ । 
नेपालको इतिहासलाई फर्किएर हेर्ने हो भने आजभन्दा बढी स्वतन्त्रता बरु मल्लकालमा थियो । त्यसवेला पनि राजा र रैती नै थियो । तर, त्यसवेलाका राजा कमजोर भएर हो या उदार भएर हो आममानिस आजको भन्दा बढी स्वतन्त्र थिए । पृथ्वीनारायण शाह आएपछि त्यो स्वतन्त्रता खोसियो । 

गोरखाका राजाले सम्पूर्ण नेपाल जिते । पृथ्वीनारायणले गोर्खालीबाहेकलाई प्रजा नै मानेनन् । आफूले जितेको देशमाथि उपनिवेश लाद्यो । उनले नारा नै दिए, ‘मुसलमानले जितेर भारत बिगा¥यो । क्रिस्चियनहरू आएर झन् खराब बनायो । त्यसैले अब नेपाललाई असली हिन्दुस्तान बनाउनुपर्छ ।’ उनले असली हिन्दुस्तानको नाममा नेपाललाई स्वतन्त्र मुलुक बनाउँछु भनेको भए त राम्रै थियो । तर, उनको सपना थियो, ‘म हिन्दू हुँ । मेरो भाषा गोर्खाली । देशभर यही भाषा, यही धर्म चलाउँछु ।’ यही विचारले उनी अघि बढ्दा गोरखाका लागि त राज्य भयो, अरू सबैका लागि साम्राज्य अथवा उपनिवेश भयो । 
काठमाडौं सांस्कृतिक ठाउँ भएकाले यहाँ त्यति दमन भएन । बाँकी भागमा पृथ्वीनारायण शाहले मनपरी नै गरे । उनले कुनै ठाउँमा जितेपछि ‘लोग्ने मान्छेहरूको टुप्पी काटिदिनू, टाउको काटिदिनू’ भने । ‘स्वास्नी मान्छेको स्तन काटेर खोलामा बनाइदिनू’ भने । हामी इतिहासका क्रूर शासकको नाम सम्झिन्छौँ । पृथ्वीनारायण शाह सम्झिएपछि अरू सम्झिनै पर्दैन । 

उनी कतिसम्म क्रूर थिए भन्नेबारे डोटीको एउटा घटनालाई उदाहरणको रूपमा लिन सकिन्छ । डोटीको ठकुरी राजा उनको नाता पर्ने रहेछ । गोर्खालीले डोटीमा हमला गर्दा ती नाता पर्ने राजाले सहयोग नगरेको भनी पृथ्वीनारायण शाह रिसाए । नेवारी संस्कृतिमा बोकालाई बलि दिँदा बोकाको निधारमा सिन्दुर लगाएर मन्दिर घुमाउने चलन छ । काठमाडौंको संस्कृतिबारे पृथ्वीनारायण जानकार थिए । ती डोटीका राजालाई पनि सिन्दुर लगाएर तीनपटक मन्दिर घुमाए । त्यसपछि घाँटी रेटेर मारे । 

उनले गोरखा र काठमाडौंलाई राम्रो गरे भनेर हुँदैन । उनले जितेका अरू राज्यका मानिसलाई पशुबराबार ठाने । त्यो इतिहासलाई केलाएर हेर्दा मल्लकालमा मानिसले प्राप्त गरेको थोरै स्वतन्त्रता शाहवंशको उदयसँगै अन्त्य भयो । बाबुराम भट्टराईका अनुसार वि.सं. १७७७ को काठमाडौं उपत्यका र वेस्ट जर्मनीको आर्थिक अवस्थामा उस्तै थियो । अहिले नेपाल कहाँ छ, जर्मन कहाँ पुग्यो । यसको कारण शाहवंश नै हो । हामी राणाहरूले १०४ वर्ष शासन गरेर नेपाल पछाडि प¥यो भन्छौँ, तर त्योभन्दा धेरै पछाडि शाहवंशले पारे । 
पृथ्वीनारायण शाहपछि प्रतापसिंह शाह आए । उनी थोरै उदार देखिए । उनीपछि रणबहादुर शाह आए । उनी त पागल नै थिए । जे पायो त्यही गरे । राजेन्द्रवीरविक्रम शाह आए । उनीचाहिँ जहिल्यै नाटक र कविता लेखेर बसे । उनले नेवारीमा अनगिन्ती नाटक र कविता लेखेका छन् । उनीपछि सुरेन्द्र शाह आए । उनी राज्य नै नहेर्ने । उनीपछि पृथ्वीवीरविक्रम आए, उनी पनि त्यस्तै । त्यसपछि त्रिभुवन आए । उनले राणाको फन्दाबाट कसरी उम्किने भन्ने मात्रै सोचिरहे । भारतको शरणमा गए । भारतले मुक्त गरिदिएपछि भारतले जे भन्यो, त्यही पालना गरिरहे । उनी केही उदार पनि थिए । 
राजाको गुमेको शक्ति सबै लिन्छु भन्दै महेन्द्र शाह आए । उनी सबैलाई दमन गर्न अघि सरे । उनले जनतालाई झन् रैती बनाए । महेन्द्रपछि वीरेन्द्र ज्यादै उदार राजाका रूपमा आए । ज्ञानेन्द्रको पालामा आइपुग्दा वंशै सकियो । 
यसरी हेर्दा नेपालमा मल्लकालको अन्त्य र शाहवंशको उदयसँगै मानिसहरू झन्–झन् रैती हुँदै गए । हामी अझै रैती नै छौँ । रैती होइनौँ भन्नलाई सम्पूर्ण मानिस समान हुनुपर्छ । सबै मानिस समान भएपछि मात्रै हामी नागरिक हुन्छौँ । समाजमा असमानता रहेसम्म हामी रैती नै हुनेछौँ । 

अधुरो दुई क्रान्ति 
नेपाली जनताले दुईवटा क्रान्ति पूरा गर्न बाँकी नै छ । एउटा प्रजातान्त्रिक क्रान्ति, अर्को राष्ट्रिय क्रान्ति । हामीलाई बाहिरी शक्तिले हस्तक्षेप र नियन्त्रण गरेसम्म डेमोक्रेसी आउँदैन । अमेरिका र भारतले जे भन्यो, त्यही मानेसम्म हामी रैती नै हुन्छौँ । बाहिरी हस्तक्षेपविरुद्ध हामीले राष्ट्रिय क्रान्ति पूरा गर्न बाँकी छ । अर्को हाम्रो समाजमा जाति–जातिबीच असमानता छ । ‘इन्टरनल इक्वालिटी’ छैन । एउटा सानो उदाहरण लिऊँ, एकजना गरिब दलितको छोरा सुरुमा ऊ स्कुल जानै पाउँदैन, स्कुल जान पायो भने उसले आफ्नै भाषामा पढ्न पाउँछ । तर, तामाङ, गुरुङ, मगरलगायतले पहिला अर्काको भाषा सिक्नुपर्छ, अनि मात्रै उसले स्कुल जान पाउँछ । यो असमानता पृथ्वीनारायण शाहले सुरु गरेको हो । त्यो अझैसम्म कायम छ । ००७ सालमा राणाशासन अन्त्य भयो । तर, भाषाको असमानता अन्त्य भएन । असमानता रहेसम्म हामी रैतीको रैती नै हुन्छौँ । जाति–जातिबीचको समानताका लागि प्रजातान्त्रिक क्रान्ति पूरा हुनै बाँकी छ ।

प्रजातन्त्रको वास्तविक अर्थ सबै नागरिक समान र बाहिरी हस्तक्षेप नहुनु हो । यो दुई क्रान्ति पूरा गर्न नेपालका कम्युनिस्ट, कांग्रेस र प्रजापरिषद्ले ध्यानै दिएनन् । यो दुई क्रान्ति साथसाथै लगिएन भने प्रजातन्त्र आउँदैन । जनता रैतीको रैती नै हुन्छन् । कहिल्यै नागरिक बन्दैनन् । मानिस वास्तविक अर्थमा नागरिक बन्न बाहिरी हस्तक्षेप हुनुहुँदैन र आन्तरिक समानता हुनुपर्छ ।
भाषिक असमानता कायम छ । धार्मिक असमानता कायम छ । आज पनि गाई मा¥यो भने १२ वर्ष कैद गरिन्छ । पृथ्वीनारायण शाहले हिन्दुस्तान बनाउन लागू गरेको नियम अहिलेसम्म कायम छ । राणाको पालामा पनि हटेन । ००७ सालमा प्रजातन्त्र आउँदा पनि हटेन । अहिले नयाँ संविधान बनाएर ऐन बनाउँदा पनि त्यो जस्ताको तस्तै छ । अनि कसरी समानता भयो ? अनि हामी कसरी रैतीबाट नागरिक हुन सक्छौँ ? जबसम्म सम्पूर्ण जातिबीच समानता हुँदैन, त्यसवेलासम्म आन्तरिक प्रजातन्त्र हुँदैन । जबसम्म बाहिर हस्तक्षेप रहन्छ, त्यसवेलासम्म राष्ट्रियता बलियो हुँदैन । यी दुई क्रान्ति पूरा गरेपछि मात्रै हामी रैतीबाट वास्तविक नागरिक बन्छौँ ।

राज्य हिन्दूवादी छ । एक भाषा, एक धर्म र एक संस्कृतिको राज्य छ । त्यसैको अन्तर्गत सबैलाई राखेको छ । अनि हामी कसरी नागरिक भयौँ ? हामी पहिले राजाका रैती थियौँ, अहिले हिन्दूराज्यका रैती भएका छौँ ।

हिन्दू कानुन 
नेपालको सबै कानुन हिन्दू धर्ममा आधारित छ । राजा मनुले बनाएको सिद्धान्तमा आधारित मुलुकी ऐन आजसम्म चलिरहेको छ । त्यो ऐनले हिन्दूका लागि त ठीक भयो होला तर अन्य जातिका लागि ठीक भएन । 
अन्तिम मल्ल राजा जयप्रकाश मल्लको एउटा उदाहरण लिऊँ । उनलाई एकपटक इटालीबाट आएका डाक्टरले सोधेछन्, ‘महाराजको धर्म के होला ? उनले भने, ‘केको धर्म सोध्नुभएको हो ? राजाको पनि धर्म हुन्छ र ?’ डाक्टरले फेरि सोधे, ‘राजा मान्छे होइन र ? उसको धर्म हुँदैन र ?’ जयप्रकाशले भने, ‘म एकजना खस हुँ । काठमाडौंको नेवारहरूको राजा भएकाले म आफ्नो परिवारमा पनि नेवारी भाषा बोल्छु । राज्यको भाषा पनि नेवारी भाषा नै हो ।’ धर्मको बारेमा जयप्रकाशले भने, ‘मेरा प्रजाहरू चार थरी छन् । इस्लाम नेवार, शैव (हिन्दू) नेवार, क्रिस्चियन नेवार र बुद्धिस्ट नेवार । राजाको कुनै धर्म हुँदैन । प्रजाको जे धर्म छ, त्यही धर्म हो राजाको पनि । म एक दिन पशुपति जान्छु । अर्को दिन स्वयम्भू जान्छु । एक दिन चर्च जान्छु । अर्काे दिन मस्जिद जान्छु ।’ 

पृथ्वीनारायण शाह आएपछि मल्लहरूमा भएको त्यो सकारात्मक पक्ष पनि सकियो । असली हिन्दुस्तान बनाउन मल्लकालको अवधारणा नै परिवर्तन गरियो । एक धर्मलाई नै राज्यको धर्म बनाइयो । नेपालमा धार्मिक अधिकार पनि बराबर भएन । गोरक्ष गोरखा भनियो । गोरखा भनेको गाईको रक्षा गर्ने हो भनियो । मल्लकालमा राजा र रैतीबीचमा फरक त थियो नै, तर जाति–जातिबीच फरक थिएन । पृथ्वीनारायण आएपछि त्यो पनि सकियो । अहिलेको संविधानले त्यो परिवर्तन गर्नुपर्ने थियो, तर गरेन । हिन्दूराज्य नै कायम गरियो । एक व्यक्ति र अर्को व्यक्तिबीच समानता चाहन्छौँ भने एक धर्म र अर्को धर्मबीच पनि समानता हुनुपर्छ । एक भाषा र अर्काे भाषाबीच पनि समानता हुनुपर्छ । तर, अहिलेको संविधानमा पनि समानता भएन । त्यसपछि हामी रैती नै भयौँ । 
अहिले राजा छैन । राजाको काम राज्यले गरिरहेको छ । राज्य हिन्दूवादी छ । एक भाषा, एक धर्म र एक संस्कृतिको राज्य छ । त्यसैको अन्तर्गत सबैलाई राखेको छ । अनि हामी कसरी नागरिक भयौँ ? हामी पहिले राजाका रैती थियौँ, अहिले हिन्दूराज्यको रैती भएका छौँ । 

अहिले जनतालाई पहिलेकोजस्तो दमन गर्न सकिँदैन । जनता थोरै भए पनि सचेत भए । जनताको चेतना बढेपछि राज्यले त्यति दमन गर्न सकेन । त्यसैले पहिलेको जस्तो रैतीलाई दमन गर्न नसकेको मात्रै हो । राज्यको नीति परिवर्तन भएको होइन र छैन पनि । अहिले हामी रैती बन्ने तह मात्रै फरक भएको हो । राज्य र जनताबीचको असमानता मात्रै होइन, जनता–जनताबीचको असमानता र जाति–जातिबीचको असमानता पनि हट्नुपर्छ । अनि मात्रै हामी नागरिक बन्छौँ । 

इतिहासमा जातिमाथिको दमन र असमान व्यवहार कतिसम्म हुन्थ्यो भन्ने एउटा उदाहरण हेरौँ । नेपालमा तामाङको संख्या १८ लाख छ । भारतमा तामाङको संख्या ४८ लाख छ । तामाङहरू नेपालमा चाहिँ १८ लाख मात्रै हुने, भारतमा चाहिँ किन ४८ लाख भयो ? यसको ऐतिहासिक कारण छ । रणबहादुर शाहले ‘तामाङ जतिलाई मार्नू’ भनेका थिए । त्यसपछि तामाङहरू थातथलो छाडेर भागे । उनीहरू भागेर इन्डिया पुगे । त्यसको परिणाम इन्डियामा ४८ लाख तामाङ पुगेका हुन् । त्यसैले सम्पूर्ण नागरिक समान हुनलाई सम्पूर्ण जाति र भाषा पनि समान हुनुपर्छ । 

कहाँ चुक्यौँ ?
रैती बाँकी रहनुमा पहिलो कुरा जनता अझै सचेत भएनन् । दोस्रो, जाति–जातिबीच हामी समान हौँ भन्ने धारणाको विकास हुन सकेन । एउटा जातिले अर्को जातिलाई दमन गर्ने भयो । हामी मालिक अरू दास भन्ने भयो । भाषिक विभेद कायम रह्यो । ऊभन्दा म ठूलो भन्ने धारणा बाँकी नै रह्यो । आफू सुपेरियर बन्न खोज्ने प्रवृत्ति बाँकी रह्यो । उत्पीडित जातिमा पनि हिजो हामीमाथि दमन भयो, अब हाम्रो पालो दमन गर्ने भन्ने बदलाको सोच छ । यो सोच गलत छ । हामी डेमोक्रेसी चाहन्छौँ भने सबैलाई समानतापूर्ण व्यवहार गर्न सक्नुप¥यो । सचेतना पुगेन । आन्दोलनले त्यो चेतना विस्तार गर्न सकेन । 

राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै अवस्थाले रैतीपन बाँकी रह्यो । किनभने बाहिर र भित्र दुवैतिर असमानता कायम रह्यो । ठूलो देशले सानो देशलाई दमन गर्न खोजेजस्तै हामी पनि आफूभन्दा कमजोर मानिसलाई दमन गर्न खोज्छौँ । जाति–जातिबीच पनि त्यही भावना रह्यो । तिमी सानो जात, म ठूलो जाति भन्ने भयो । 

जाति–जातिबीच समानता नभएसम्म रैती हट्दैन । हामी नागरिक हुनुपर्छ भन्छौँ, तर एक जाति र अर्को जातिबीचको समानताको कुरा कहिल्यै गर्दैनौँ । एक जाति र अर्को जातिबीच, एक धर्म र अर्को धर्मबीच समानता र हामी एकै देशका समान नागरिक हौँ भन्ने धारणाको विकास भएन । त्यसलाई हटाउन सचेत मानिसले चेतनाको विस्तार गर्नुपर्छ । हामी ठुल्ठूलो स्वरले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध गर्छौं, तर आफ्नै देशभित्र एउटा जातिले अर्को जातिलाई शोषण र दमन गर्दा कहिल्यै बोल्दैनौँ । 

फेरि अर्को क्रान्ति
नेपालमा समानताका लागि क्रान्ति नै भएन । सबै मानिस समान हुनुपर्छ भनेर राणाविरुद्ध लड्यौँ । तर, सबै भाषा र जाति समान हुनुपर्छ भनेर लडिएन । संविधानमा व्यक्ति–व्यक्तिबीचको समान अधिकारको कुरा राखियो, तर जाति–जातिबीचको समान अधिकार, भाषा–भाषाबीचको समान अधिकार राखिएन । नेताहरू जाति–जातिको समानताको कुरा गर्दैनन् । नागरिक–नागरिकबीचको समानताको मात्रै कुरा गरिरहेका छन् । 
जाति–जातिबीचको समानताका लागि जब विद्रोह जन्मिन्छ, त्यसवेला मात्रै साँचो डेमोक्रेसी हुन्छ । त्यसवेला मात्रै मानिसहरू रैतीबाट नागरिक बन्नेछन् । नेपालमा सबै मानिस समान बनाउने क्रान्तिको आवश्यकता छ । नेपालमा असमानताविरुद्ध उत्पीडित जातिहरूले अर्को एउटा क्रान्ति गर्न बाँकी छ । त्यो क्रान्ति साँच्चै रक्तपातपूर्ण नै होला कि भन्ने डर पनि लाग्छ । 
किनकि आजसम्म पुरानो संस्कार हटेन । मानिस रैती बन्नुपर्ने परिस्थितिको अन्त्य भएन । राजाको ठाउँ राष्ट्रपतिले र राणाको ठाउँ प्रधानमन्त्रीले लिन खोेजे । नेपालमा साँच्चै क्रान्ति नै भएन । आधा क्रान्ति र आधा नक्कल मात्रै भयो । नेपालमा अब साँच्चैको क्रान्ति आवश्यक छ । 

प्रतिकृया दिनुहोस