• वि.सं २०७६ भदौ ८ आइतबार
  • Sunday, 25 August, 2019

तपाईं सलमान रुस्दी नै हुनुहुन्छ ?

न्युयोर्कमा रुस्दी

२०७६ श्रावण ११ शनिबार १२:०१:००

विश्वकै ‘प्रथम सहर’ न्युयोर्कमा हुनुको अर्थ जीवनमा कल्पनामा मात्रै भेटिने पात्रहरूसँग प्रत्यक्ष साक्षात्कार हुनु हो । म्यानहटनका गल्लीहरूमा हिँड्दा होस्, त्यहाँका संग्रहालयहरूमा डुल्दा होस् वा भूमिगत रेलहरूमा थकानबाट चूर भई अल्पनिद्राबाट ब्युँझदा, तपाईंले सपनामा मात्रै देख्न सक्ने प्रसिद्ध लेखक, कलाकार र संस्कृतिविद् झन्डै विपनामा पनि अवतरित हुने सम्भावना निकै हुन्छ । 
यसै वर्ष मे महिनामा न्युयोर्क युनिभर्सिटी (एनवाइयू) मा भएको दक्षिण एसियाली कवितामाथि केन्द्रित मतवाला महोत्सवमा भाग लिँदा मलाई यस्तै अनुभूति भएको थियो । विश्व भ्रमणका क्रममा निरन्तर कविता पाठ गर्दा केही दशकदेखि एउटा विचित्रको संस्कार ममा देखापरेको छ । प्रायःजसो कविता पाठ गर्नुअघि म जहाँ भए पनि त्यहाँको स्थानीय स्टार बक्सको चिया लिएर मात्रै मेरो वाचन बढी प्रभावशाली हुन्छ जस्तो विश्वास ममा बसेको छ । त्यसैगरी कविता पाठ गर्नुअघि नुनपानीले घाँटी कुल्ला गर्ने र नीलो वा रातो गलबन्दी घाँटीमा बेर्ने काम पनि गर्छु । अनि कविता वाचनस्थल पुगेर म मेरा प्रकाशित दश कवितासंग्रहबाट केही पानालाई दोबारेर चिनो लगाउने र त्यही कविता पाठ गर्ने गर्छु । यस्तो संस्कार दुई दशकदेखि विश्वभरि कविता पाठ गर्ने क्रममा ममा बसिसकेको छ ।

भर्खरै ब्रोडवे र एट्थ एभेन्युस्थित न्युयोर्क विश्वविद्यालयको ग्लोबल लिबरल स्टडिजको भवनको भुइँतलामा रहेको स्टारबक्सबाट मेरो ‘साइत पर्ने’ मसला चियाको चुस्की लिइरहेका वेला सहकर्मी रविशंकर, टिम टोम्लिसन आदिसित बात मारिरहेको थिएँ । विद्यार्थीहरूको परीक्षाको समय भएकाले श्रोताको अभाव हुन्छ कि भन्ने भयले हामीलाई अलि विचलित पारिरहेको थियो । विश्वविद्यालयको भित्री कक्षमा भएको कार्यक्रममा बाहिरका श्रोता आउने सम्भावना निकै क्षीण देखिएको थियो । तैपनि बिस्तारै युवा श्रोताहरू हलमा प्रवेश गर्न थालिसकेका थिए । त्यसक्रममा एउटा परिचित अनुहार मैले हलमा देखेँ । उनी एक्लै थिए । उनी बिस्तारै टेबुलमा राखेका हाम्रा पुस्तकहरूलाई नियालिरहेका थिए । अपर्झट मेरो मस्तिष्कमा एउटा झड्का आयो– यिनको अनुहार प्रसिद्ध लेखक सलमान रुस्दीसित मिल्छ । 

०००
तीन दशकदेखि रुस्दी भूमिगत रहेको तथ्य जगजाहेर छ । उनी कसरी यहाँ हाम्रो कविता वाचनस्थलमा देखापर्न सक्छन् ? प्रायःजसो किताबको आवरणपृष्ठ, पत्रपत्रिका वा टेलिभिजनमा मात्र देखापर्ने ती लेखकको वास्तविक जीवन विश्वका अधिकांश पाठकलाई एउटा रहस्य बनेको छ । कहाँ र कसरी बसेका होलान् 
रुस्दी ? इरानका धार्मिक गुरु आयातुल्ला खुमेनीले उनको नाममा सन् १९८८ मा ‘फतवा’ अर्थात् मृत्युदण्ड जारी गरेका थिए । उनको टाउको काटेर ल्याउने व्यक्तिलाई करोडौँको पुरस्कार दिने र उनका प्रकाशक र अनुवादकसमेतलाई केही कारबाही गरिने पनि घोषणा गरिएको थियो । विवादास्पद पुस्तक ‘सटानिक भर्सेस’ (शैतानका श्लोकहरू) लेखेपछि उनीमाथि ‘फतवा’ सुनाइएको थियो । प्रायःजसो मुसलमान समुदायको बाहुल्य भएका देशबाहेक भारत, श्रीलंकालगायत दर्जनौँ देशमा उनको पुस्तकमाथि प्रतिबन्ध लगाइएको थियो । त्यो प्रतिबन्ध अहिलेसम्मै कायम छ । सो पुस्तक प्रकाशन भएपछि विभिन्न राष्ट्रमा विभिन्न प्रदर्शन र दंगासमेत भएको थियो । यस पुस्तकका जापानी अनुवादक हितोसी इगारासीको हत्या र इटालेली अनुवादक इतोर क्याप्रिओलोलाई घाइतेसमेत बनाइएको थियो ।

०००
हलमा उनीनजिक पुगेर ‘तपाईं सलमान रुस्दी नै 
हुनुहुन्छ ?’ भनेर सोध्नुअगावै उनले सामान्य कुराकानी सुरु गरेपछि मलाई उनी रुस्दी नै हुन् भन्ने पक्का भएको थियो । हाम्रो कविता वाचन कार्यक्रममा उनी अपर्झट आउँदा म निकै उद्वेलित भएको थिएँ । कसरी थाहा पाए होलान् उनले यो कार्यक्रमबारे ? विश्वविद्यालयको यो भित्री कक्षमा आउनुअघि कडा सुरक्षाको व्यवस्था थियो । प्रायःजसो विश्वविद्यालयको कुनै पनि भवनमा प्रवेश गर्नुअघि जो–कसैले आफ्नो परिचयपत्र देखाउनुपर्ने अनिवार्य नियम हुन्छ । 

रुस्दीसँग भेट होला भन्ने कल्पना मैले मेरो जीवनकालमै गरेको थिइनँ । उनी भारत आउँदा मैले जयपुर लिटरेचर फेस्टिबलमा भाग लिन सकेको थिइनँ । भारतमा भएको ठूलो विरोधपछि जयपुर महोत्सवमा उनको उपस्थिति निकै अराजक हुने र सामाजिक शान्ति भंग हुने त्रासले भारत सरकारले महोत्सवमा सहभागी हुन उनलाई रोकेको थियो । उज्यालो गोरो रङ, सेतो बन्दै गरेको दाह्री, मोटो सिसा भएको चस्मा र मध्यम कदका रुस्दी मेरोअघि उभिइरहेका थिए । र, मेरा मित्र शैलेन्द्र साकारझैँ उनी जीवनका स–साना विषयमाथि केन्द्रित भएर कुरा गरिरहेका थिए, ‘एक घन्टामा अर्को ठाउँमा जानुपर्छ, म पनि पढाउँछु नि पत्रकारिता विभागमा...।’ ‘धेरै श्रोता आउँदैनन् होला,’ कवि प्रा. टिमले भने, ‘तर, तपाईं आएकोमा म निकै खुसी छु । चिया लिनुहुन्छ कि ?’ हलको एक कुनामा दाल, भात, कुखुराको मासु इत्यादि दक्षिण एसियाली खाना बफेका रूपमा राखिएको थियो ।

तीन दशकदेखि भूमिगत सलमान रुस्दी कसरी हाम्रो कविता वाचनस्थलमा देखापरे ? प्रायजसो किताबको आवरणपृष्ठ, पत्रपत्रिका वा टेलिभिजनमा मात्र देखापर्ने ती लेखकको वास्तविक जीवन विश्वका अधिकांश पाठकका लागि रहस्य बनेको छ । कहाँ र कसरी बसेका छन् रुस्दी ?

उनी त्यस्ता लेखक हुन्, जसलाई धेरैले पढ्छन् र बाँकी अरूले उनीबारे केही न केही सुनेका छन् । केहीले उनलाई अत्यन्त माया गर्छन् र केहीले अत्यन्त घृणा । कोही उनीबाट त्रसित छन् र उनलाई सैतान ठान्छन् । उनीमाथि फतवा जारी गरिएपछि बेलायत र इरानबीच कूटनीतिक सम्बन्ध चिसिएको थियो । उनको लेखनको कुरा गर्नेबित्तिकै सरकारहरूबीच टकराव, सडकमा जुलुस, दूतावासहरू अघि प्रदर्शन, पुस्तक पसलमा आगलागीजस्ता घटनाको ताँती लाग्छ । 
लेखन स्वतन्त्रता र त्यसको सीमामाथि व्यापक अन्तर्राष्ट्रिय मन्थनका केन्द्रविन्दु हुन्, रुस्दी । उनी तीन दशकदेखि एक भगौडा लेखकको त्रासदी भोग्दै कसरी बाँचेका होलान् भन्ने प्रश्न धेरै पाठकको मस्तिष्कमा छाइरहेको होला । टाउकामाथि झुन्डिरहेको त्रासदी बोकेर उनी कसरी बाँचेका होलान् ?

तर, आफ्ना दक्षिण एसियाली स्रष्टामाझ आइपुगेपछि उनी निकै हर्षित देखिइरहेका थिए । प्रसिद्ध ब्युटिसियन सहनाज हुसेनकी छोरी कवि सोफिया नाजले उनलाई सो कार्यक्रमबारे सूचना पठाएको कुरा बिस्तारै थाहा भयो । उनी आफूचाहिँ आइपुगेकी थिइनन्, बाटैमा कतै थिइन् । मैले हिमालसम्बन्धी मेरा केही किताब उनलाई देखाएँ । ‘तपाईं नेपाल पुग्नुभएको छ ?’ मेरो प्रश्नको जवाफमा रुस्दीले आपूm नेपाल नपुगेको, तर एक दिन पुग्न सक्ने बताए । मैले न्युयोर्कमाथि लेखेको ‘अ ब्लिजर्ड इन माई बोन्स’ शीर्षक किताब उनलाई कोसेली दिएँ । केही क्षणमै हामी साथीझैँ गफिइरहेका थियौँ । अचानक कोठा विद्यार्थीले खचाखच भरियो । सायद उनको आगमनको खबर पूरा विभागमा पुगिसकेको थियो । उनी र म श्रोताका माझमा बस्यौँ । मैले मेरो सम्पादनको ‘प्रतीक’ पत्रिका देखाएँ । उनका सन्तानबारे सोधेँ । उनले आफ्नो छोराले साहित्यमा रुचि नराख्ने र अन्य क्षेत्रमा व्यस्त भएको कुरा सुनाए । पिताले भोगेको फतवाबाट त्रसित भएर सायद उनका छोरा अन्य क्षेत्रमा लागेका होलान् भन्ने मैले सोचेँ । 

कार्यक्रम सञ्चालकले कार्यक्रम छोट्याउन कोसिस गरे किनकि रुस्दीको एक घन्टापछि अन्यत्र जाने काम थियो । मलगायत रविशंकर, उषा अकेला, जिल्का जोसेफ, विवेक शर्मा, इन्द्रन अमिरथनायगम, राल्फ नजारेथ, विकास मेनन, सोफिया नाज, प्रमिला वेन्कटेश्वरन, योगेश पटेल र कविता ए जिन्दाल गरी १२ कविले मात्र एक–एक कविता सुनाउने निर्णय भयो । युनिभर्सिटीका टिम टमलिसनले कार्यक्रम सञ्चालन गरिरहेका थिए । रुस्दी सामान्य पाठकझैँ श्रोताका माझमा बसी कविताको आनन्द लिइरहेका थिए । उनी अचानक सो महोत्सवको अघोषित प्रमुख अतिथिजस्तै बनिसकेका थिए । मैले मेरो प्रिय कविता ‘यु आर ए न्युयोर्कर’ वाचन गरेँ किनकि उनी आजकाल लन्डनबाट न्युयोर्कमा सरिसकेका छन् । मैले न्युयोर्कमाथिको उनको उपन्यास ‘फ्युरी’ पनि पढेको थिएँ । ९÷११ को त्रासदीलगत्तै उपन्यास प्रकाशन भएको थियो ।

०००
रुस्दीको जीवनयात्रा स्वतन्त्र लेखन र सेन्सरसिपको सीमाहरूमा भोगिने एउटा विकराल यातनाको उक्लँदो ग्राफझैँ देखिन्छ । प्रथमपटक आफ्नो उपन्यास ‘मिडनाइट्स चिल्ड्रेन्स’बाट चर्चामा आएका रुस्दीले आख्यान विधाको प्रत्येक नयाँ किताबमा नौलो आयाम थपेका छन् । प्रारम्भिक कालमा मार्खेजको ‘म्याजिक रियलिज्म’बाट प्रभावित रुस्दीको असल पहिचान ‘सटानिक भर्सेज’बाट प्रारम्भ भएको हो । यसले उनलाई विश्व चर्चाको शिखरमा पु¥याएको हो । प्रत्यक्ष रूपमा प्रतिबन्धित नभए पनि भारत नेपालमा पुस्तक प्रवेशको प्रमुखद्वार भएकाले नेपालमा पनि यो पुस्तक पाउन कठिन छ । 

एक दशकअघिसम्म यस किताबको अवैध संस्करण (पाइरेट) नेपाली बजारमा देखापरेको थियो । पुस्तकको नक्कली फ्रान्सेली संस्करण अझै पसलहरूमा फाट्टफुट्ट देखिन्छन् । हुन त भारतीय महाद्वीप डुब्लिकेट पुस्तक प्रकाशनको स्वर्ग नै ठानिन्छ । अधिकांश बेस्टसेलर पुस्तकहरू महानगरका पसल, फुटपाथ र जेब्रा क्रसिङहरूमा सजिलै किन्न सकिन्छ । तर, रुस्दीका सन्दर्भमा ‘सटानिक भर्सेज’ त्यति सजिलै उपलब्ध छैन । यसको कारण किताबमाथि भएको फतवा र स्थानीय मुसलमान समुदायको असन्तुष्टि हुन सक्छ । केही वर्षअघि राससका पूर्वपत्रकार खिलध्वज थापाले यस पुस्तकको अनुवाद सुरु गरी पत्रकार प्रेम कैदीको साप्ताहिक पत्रिकामा केही हप्तासम्म शृंखलाबद्ध प्रकाशन गराएका थिए, तर स्थानीय समुदायबाट केही हप्तामै धम्कीपूर्ण फोन कल आएकाले उनले यसको प्रकाशन रोकेका थिए । हुन त बंगलादेशकी तसलिमा नसरिनका अवैध अनूदित पुस्तकका डुब्लिकेट प्रकाशनका प्रतिहरू नेपाली बजारमा उपलब्ध छन् । धेरैचोटि नसरिनले यस्ता प्रकाशनसित असन्तुष्टि देखाए पनि कुनै रोक लागेको छैन । रुस्दीका सन्दर्भमा भने स्थानीय मुस्लिम समुदायको असन्तुष्टि यस किताबको नेपाली बजारमा अनुपस्थित हुनाको अर्को प्रमुख कारण हुन सक्छ ।

सतही रूपमा हेर्ने हो भने ‘सटानिक भर्सेस’लाई साहित्य लेखनमा प्रवासी जीवनको त्रासदी बोकेको कथाका रूपमा मात्र पनि लिन सकिन्छ । उपन्यासका प्रमुख पात्र गेब्रियल फरिस्ता र सलादिन चम्चा मुसलमान पृष्ठभूमिका बेलायतका आप्रवासी हुन् र पेसाले कलाकार हुन् । तिनीहरू एउटा अपहृत हवाईजहाजमा फसेका छन् । कथानक अघि बढ्दा जहाज इंग्लिस च्यानलमाथि विस्फोट भई खस्छ । चमत्कृत रूपमा दुवै पात्र बाँच्छन्, तर यस प्रकरणमा उनीहरूको पहिचान परिवर्तित हुन्छ । फरिस्ता प्रमुख धार्मिक देवदूत ग्रेब्रियलको रूप धारण गर्छ र चम्चा सैतानको अवतारमा कायाकल्प हुन्छ । चम्चा अवैध आप्रवासी भएकाले कारागार चलान हुन्छ र प्रहरी यातनाको सिकार हुन्छ । दुवैजनाको कायाकल्पलाई एउटा प्रवासी जीवनबाट उत्पन्न मानसिक उत्पीडनका रूपमा लिन सकिन्छ । आख्यानको ढाँचा प्रवासीको दुःस्वप्नजस्तै लाग्छ । यहाँसम्म आपत्तिजनक कुरा देखिँदैन, तर फरिस्ताको पछिको कथानकमा रुस्दीले केही स्वप्न शृंखलाहरू थपिदिएकाले विवाद उत्पन्न भएको थियो । यस स्वप्न शृंखलाको कथानकमा फरिस्ता चरित्रमार्फत पैगंबर मोहम्मदको जीवनको पुनर्कथाका रूपमा प्रस्तुतिपछि विवादले चर्को रूप लिएको हो । यस प्रकरणको केन्द्रमा रहेको त्यो घटना छ, जहाँ पैगम्बर मोहम्मदलाई सैतानले झुक्याएर उनको मुखबाट बहुदेवीदेवतावादी विचारधाराका उनका अनुयायीलाई उपदेश दिएको तथ्य छ । पैगम्बर मोहम्मदले सैतानको कुरा बिस्तारै बुझेर पछि त्यसलाई सच्याएको, तर रुस्दीले छेडछाड गरी फरिस्ताको स्वप्न शृंखला प्रस्तुत गरेको आरोप छ । यस्तै अरू दुई घटनाकेन्द्रित स्वप्न शृंखलामा कुरानमा रहेका अन्य पात्रलाई बंग्याएर प्रस्तुत गरेको आरोप मुसलमान अनुयायीको छ । त्यसका लागि रुस्दीले माफी पनि मागिसकेका छन्, तर फतवा दिने खोमेनी बितिसकेकाले त्यो मृत्युदण्ड आदेश फिर्ता हुन सकेको छैन । इस्लाम धर्ममा फतवा दिने मान्छेले मात्र फिर्ता लिन सक्ने बताइएको छ । 

मुसलमान समुदाय मात्र होइन, हिन्दू कट्टरपन्थीहरूले पनि रुस्दीसित निकै आपत्ति जनाएका छन् । उनको पछिल्लो पुस्तक ‘मुर्स लास्ट साई’को कथा पनि भारत, महाराष्ट्रका हिन्दू कट्टरपन्थी नेता बाल ठाकरेसित मिल्दोजुल्दो भएकाले शिवसेनालगायत कैयौँ धार्मिक संस्थाले विरोध गरेपछि किताबलाई भारतमा प्रतिबन्ध लगाइएको थियो । साहित्यले कहाँसम्म लेखन स्वतन्त्रताको हतियार प्रयोग गरी रचनात्मक प्रयोग गर्ने भन्ने प्रश्न प्रबल रूपमा रुस्दीको लेखनले उठाएको छ । रुस्दी मात्र होइन, डिएच लरेन्सको ‘लेडी च्याटरर्डिज लभर’देखि एमएफ हुसेनले हिन्दू देवीदेवताको चित्र बनाएसम्मको पुस्तक र कलाकृतिमाथि प्रतिबन्ध लगाउने माग प्रखर भएको छ । हुसेनले त भारत त्यागी बेलायतमा सर्नुपरेको थियो, जहाँ उनको देहान्त पनि भयो । त्यसैगरी रोहन्सन मिस्त्रीको उपन्यास ‘सच अ लङ जर्नी’ले पनि एक समुदायको उपहास गरेको आरोपले प्रतिबन्धित हुनुको पीडा भोग्नुपरेको छ । उनको उपन्यास मुम्बई विश्वविद्यालयको पाठ्यक्रमबाट हटाइएको थियो । यसैगरी पश्चिमेली जगत्का लेखकले भारतीय महाद्वीपको अनावश्यक चित्रण गरेका दर्जनौँ किताब प्रतिबन्धित भएका छन् । जस्तैः भिएस नयपालको ‘एन एरिया अफ डार्कनेस’, अलेक्जेन्डर क्याम्पबेलको ‘द हर्ट अफ इन्डिया’, स्ट्यान्ले ओलपर्टको ‘नाइन आवर्स टु राम’, औबे्र मेननको ‘द रामायण’, एके रामानुजनको ‘द कलेक्टेड एस्सेज’, पौला रिचम्यानको ‘मेनी रामायन्सः द डाइभर्सिटी अफ अ न्यारेटिभ ट्रेडिसन इन साउथ एसिया’ आदि । 

यी लेखकलाई जनमानसको भावनासित खेलबाड गरेको र मानवाधिकारको उल्लंघन गरेको आरोप लगाइएको छ । रुस्दी प्रकरण पनि केही विचारकहरूको दृष्टिमा खाडीयुद्धको पूर्वप्राक्कथनका रूपमा लिइएको छ । तर, यतिको तर्कमा लेखकीय स्वतन्त्रताको ह्रास हुनुहुँदैन ।
केही वर्षअघि रुस्दीको संस्मरण ‘एटन जाजोफ’को प्रकाशनका सन्दर्भमा उनले भनेका थिए, ‘सटानिक भर्सेसको प्रकाशन अगाडि मलाई मेरो व्यक्तिगत जीवनबारे लेख्न रुचि थिएन । म फिक्सन लेखनका लागि लेखक बनेको हुँ ।’ तर, फिक्सन कहिलेकाहीँ यथार्थभन्दा भयावह र घतलाग्दो हुन्छ भन्ने कुरा ‘सटानिक भर्सेस’ र यस्ता अन्य कृतिले प्रमाणित गरेका छन् । 

[email protected]

 

प्रतिकृया दिनुहोस