• वि.सं २०७६ कार्तिक ५ मंगलबार
  • Tuesday, 22 October, 2019

पाक्व–पुखुद्याको बुढो पीपलबोट

२०७६ श्रावण १८ शनिबार ११:०४:००

न्युरोड

न्युरोडको पीपलबोट कहिलेदेखि यहाँ खडा छ, कसैलाई थाहा छैन । अब कहिले ढल्छ, त्यो पनि कसैलाई थाहा छैन । न्युरोडमा कुनै रोडै नभएको वेलादेखि ठिङ्ग उभिइरहेको यो बुढो पीपलबोट अहिले रोड बनेपछि त्यसको नामसमेत त्यही रोडबाट भइगएको इतिहास टुलटुलु हेरेर अहिलेसम्म उभिइरहेको छ । 

नेपालमा पीपलबोटहरू धेरै ठाउँमा छन् । तर, काठमाडौंको न्युरोडस्थित पीपलबोटको कहानी भने बेग्लै छ । न्युरोडलाई अहिलेको ‘न्युरोड’ बनाउन यो पीपलबोटको पनि धेरेथोर योगदान भएको कथा अहिले धेरैले बिर्सिसकेको हुनुपर्छ ।

न्युरोडमा यही पीपलबोटको ठीक सामुन्ने रहेको (रमा गृहअगाडि) घर हाम्रो पुख्र्यौली घर हो । त्यहाँ हाम्रा चारवटा लहरै थिए घर । मेरा बाले त आफ्नो भागको घर उहिल्यै बेचेर गए । उनले २०२३ सालतिर न्युरोडको घर ३४ हजारमा बेचेको सुनेको थिएँ । मेरा दुई काकाहरूको घर भने अझै त्यहीँ छ । अहिले जंक्व गर्ने उमेरमा पुगेका मेरा माहिला काका हरिप्रसाद मानन्धरलाई पनि थाहा छैन, त्यो ठाउँमा अझै उभिएको यो पीपलबोट कति पुरानो हो । त्यो उहाँका बाजे अर्थात् मेरा जिजुबाजेलाई पनि थाहा छैन । जिजुबाजे मोती मानन्धरले आफ्नो छोरा मोतीभाइ (अष्टनारायण मानन्धर)लाई पनि यो ठाउँमा धेरै अघिदेखि पीपलबोट थियो भनेर सुनाउँथे रे । 

जे होस्, यति निश्चित हो कि काठमाडौंमा न्युरोड बन्नुभन्दा धेरै अघि नै यो पीपलबोट अस्तित्वमा आइसकेको थियो । त्यतिवेलाको भौगोलिक अवस्थिति हेर्ने हो भने दायाँबायाँ विभिन्न पोखरी, बारी र सानो गोरेटोको छेउमा यो पीपलबोट उभिएको देखिन्छ । अहिले जुन ठाउँलाई न्युरोड भनिएको हो, त्यसको वास्तविक नाम पाको–पुखुलद्याङ हो । नेपालभाषामा त्यसलाई ‘पाक्व–पुखुद्या’ भनिन्छ । अर्थात् यो ठाउँको अगाडि भिरालो ठाउँ थियो जसलाई ‘पाः’ भनिन्छ । त्यही भिरालो अर्थात् ‘पाः’ को तल रहेको ठाउँ भएकाले यसलाई ‘पाको’ भनिएको हो । नेपालभाषामा तललाई ‘क्वय्’ भनिन्छ । 

यो क्षेत्रमा पोखरीहरू पनि थुप्रै थिए । पीपलबोटको अलि पर हाल नेपाल बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको ठाउँ पनि कुनैवेला पोखरी नै थियो । पोखरीको डिलमा रहेको ठाउँ भएकाले यसलाई ‘पुखुद्यां’ भनिन्थ्यो । 

यो ठाउँको अगाडि रहेको जो पाखो भाग थियो त्यहाँ प्रशस्त फर्सी फल्ने गथ्र्यो त्यसैले त्यो ठाउँको नाउँ ‘फसीकेब’ अर्थात फर्सीबारी रहन गयो ।

यो ठाउँमा पहिले कति पोखरीहरू थिए ठ्याक्कै तथ्यांक छैन । पाकोभन्दा अलि तल अर्को पोखरी थियो ‘खिचापोखरी’ । बिहान स्थानीय मानिसहरू मुख धुन आउने अर्थात् खेचायेगु पोखरी भएकाले यसको नामै खेचापोखरी हुन पुग्यो जो पछि अपभ्रंश हुँदै खिचापोखरी बन्न गयो । खिचापोखरीको सँगै बनाइएको धरहरा छेउछाउ बागदरबार परिसरमा पनि केही पोखरीहरू थिए । त्यसभन्दा तल त्रिपुरेश्वरमा अर्को पोखरी थियो जसलाई मासेर अहिले दशरथ रंगशाला बनाइएको छ ।

यस्ता विभिन्न पोखरी र बारी जस्ता खुला ठाउँको बीचमा यो पीपलबोट विद्यमान थियो । यो पीपलबोटको छेउछाउमा विभिन्न चीभाः (बौद्ध स्तुप) र देवदेवीको मूर्ति पनि छन् । ती मूर्तिमध्ये एउटा दुर्गा भवानीको पनि मूर्ति छ जो आकारमा सानो देखिन्छ । तर, यसको महत्व के त भन्दा हरेक दसैँताका महानवमीका दिन यो सानो दुर्गा भवानीको मूर्तिमा बलिपूजा गरिसकेपछि मात्रै हनुमानढोकाको तलेजु मन्दिरभित्र राँगा मार हान्न सुरु हुन्छ । यी दुई दुर्गा भवानीबीचको कनेक्सन के हो, त्यो थाहा हुने मान्छे अहिले भेटिन छाडिसक्यो । तथापि यसले एउटा संकेत के दिन्छ भने यो पीपलबोटसँग स्थानीय जनताको धार्मिक–सांस्कृतिक सम्बन्ध पनि गाँसिएको छ ।

९० सालको भूकम्पपछि यो क्षेत्रको कायापलट भयो । भूकम्पपछि साना बाटोहरूलाई फराकिलो पार्ने काम सुरु भयो । यसै क्रममा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले बीचमा आफ्नो सालिक राखी त्यसको चारैतिर चारवटा नयाँ बाटो बनाउन लगाए । तीमध्ये एउटा बाटो वसन्तपुरबाट यही पीपलबोट हुँदै टुँडिखेल पुग्थ्यो । बाटो बनेकाले त्यहाँ मानिसहरूको आवत–जावत पनि हुन थाल्यो । यही नयाँ बाटोलाई नयाँ सडक वा न्युरोड भन्न थालिएको हो । न्युरोड बन्नुअघि यो पोखरी र खुला ठाउँ थियो । पीपलबोटबाट वसन्तपुर जानलाई हाल गोरखापत्र संस्थान रहेको सार्वजनिक बाटो प्रयोग हुने गथ्र्यो । तर, फराकिलो बाटो बनिसक्दा पनि न्युरोड भने सुनसानै थियो । किनभने हिँड्ने मानिस कम थिए, यातायातका साधन त्यति चलिसकेका थिएनन् ।  

०००

एकताका न्युरोडको यो पीपलबोट देशका तमाम नेता, कार्यकर्ता, पत्रकार, प्रशासकहरू जमघट हुने प्रमुख केन्द्र बनेको थियो । यो सुनसान ठाउँ त्यस्तो भिडभाडपूर्ण जक्सनमा बदलिनुको पछाडि केही घटनाक्रमहरूको हात छ । 

२००५ सालमा जनसेवा हल खोलियो । हाल विशालबजार रहेको ठाउँमा त्यो हल थियो । हलमा दर्शकको घुइँचो भएको देखेर पीपलबोटसँगै हाल फोटो कन्सर्न रहेको घरमा बाजे अष्टनारायण मानन्धरले एउटा चिया पसल खोल्नुभयो । उक्त चिया पसलमा उहाँको पार्टनर हुनुहुन्थ्यो सानुकाजी स्थापित, जो काठमाडौंका पूर्वमेयर केशव स्थापितका ठूलोबा हुनुहुन्छ । त्यतिवेला बाहिर चिया खाने खासै चलन पनि आइसकेको थिएन । उक्त चिया पसलको घर–बहाल थियो वर्षको दुई सय । 

यो चिया पसल केही वर्ष चल्यो । पसल चलेपछि त्यहाँ अरू पनि केही पसल थपिए । पीपलबोटमा मानिसको जमघट बढ्न थालेपछि अलि पर एक दक्षिण भारतीय व्यापारीले नयाँ खालको कफी पसल खोले । उक्त पसलको नाम थियो ‘बैंग्लोर कफी हाउस ।’ यो कफी हाउसभित्र कांग्रेस नेता–कार्यकर्ताहरूको घन्टौँ गफ जम्ने गथ्र्यो । 

पीपलबोटमा घुइँचो बढ्नुमा नेपाली मिडियाको बजार व्यवस्थापनले पनि योगदान गरेको छ । गोरखापत्र संस्थान त्यहीँ छ । पत्रिका बेच्ने ठाउँ पीपलबोटको चौतारी । पछि अरू पत्रिकाहरू पनि त्यहीँ ल्याएर बेच्न थालिए । ०१७–१८ सालतिर भारतीय पत्रपत्रिकाहरूको एक मात्र थोक विक्रेता सन्देश गृहको एउटा पसल पनि त्यहीँ खोलियो, पीपलबोटको ठीक सामुन्ने रञ्जना हल जाने गल्ली छेवैमा (अहिले त रञ्जना हल पनि बन्द भइसक्यो) । भारतीय पत्रिका हरेक साँझ आउने गथ्र्यो । भारतीय पत्रिका लिन विभिन्न पार्टीका नेता–कार्यकर्ताहरू त्यही पीपलबोट कुर्न आउँथे । कृष्णप्रसाद भट्टराई, पुष्पलाल श्रेष्ठ, वासु रिसाललगायतका नेताहरू नियमित रूपमा त्यहाँ आइरहन्थे । नेताहरू आएपछि त्यहीँ पत्रकारहरू पनि झुम्मिने भइहाले । पञ्चायतकालमा पत्रकारका लागि सबैभन्दा धेरै समाचार खोज्ने स्रोत पनि त्यही पीपलबोट थियो । मलाई सम्झना छ, पत्रकारितामा मेरा गुरु अशोक श्रेष्ठ कहिलेकाहीँ समाचारको अभाव हुँदा पीपलबोटको त्यही भिडमा छिर्ने गर्थे । निस्कँदा उनको हातमा दुईदेखि तीनवटासम्म समाचार परिसक्थे । 

कतिपय यात्रुलाई मोटरसाइकलको पछाडि राखेर उसको गन्तव्यसम्म पुर्‍याइदिनुपथ्र्यो । यसलाई हाल लोकप्रिय भइरहेको ‘पठाओ’ सेवाकै पूर्वरूप भन्न सकिन्छ । उतिवेला काठमाडौंबाट जावलाखेलसम्म यात्रु पुर्‍याउने र फर्काउने गरेबापत तीन मोहर चार्ज लाग्थ्यो । बाले छोडेपछि काका एक्लैले २०३१ सालसम्म यो सेवा सञ्चालन गरे । 

००७ सालको प्रजातन्त्र स्थापनापछि काठमाडौंमा राजनीतिक जमघट हुने र राजनीतिक गतिविधि चलिरहने प्रमुख ठाउँ जमलको तीनधारा छेउछाउ थियो । त्यतिवेला त्रिचन्द्र कलेजको सरस्वती सदन खुला थियो । त्यसैले राजनीतिक भाषण, अनशन आदि कार्यहरू त्यहीँ हुने गर्थे । २०१० सालमा सरस्वती सदन बन्द भयो । त्यसपछि यो जमघट भूगोलपार्क सर्‍यो । यसले गर्दा पनि पीपलबोट ‘क्राउडी’ हुन थाल्यो । पञ्चायतकालमा व्यवस्थाविरोधी धेरै गतिविधिहरू भूगोलपार्क भित्रै सम्पन्न हुन्थे । 

त्यतिवेला उपत्यकाबाहिरबाट आउने गाडीको बिसौनी धरहरामुनि थियो । जिल्लाबाट बस चढेर आएका कसैलाई पनि काठमाडौंमा कोही भेट्नुछ भने उनीहरूको मिटिङ प्वाइन्ट पनि पीपलबोट नै हुने गथ्र्यो । राजनीतिक उद्देश्यका लागि कोही काठमाडौं आएको छ भने उनीहरूले आफ्नो सम्पर्क व्यक्ति फेला पार्ने ठाउँ पनि पीपलबोट नै हुन्थ्यो । पीपलबोट पुगेपछि उनीहरूलाई घरै पुगेजस्तो हुन्थ्यो । 

पीपलबोटको पछाडिपट्टि त्यतिवेला बुटपालिस लगाउने सार्कीहरू टन्नै बसेका हुन्थे । त्यहाँ बुटपालिस लगाउनेहरू अहिले पनि छन्, तर पहिलेभन्दा निकै कम भइसके । काठमाडौंमा एकैठाउँ यति धेरै बुटपालिस लगाउनेहरू भेटिने एउटै मात्र ठाउँ पीपलबोट नै हो । बुटपालिस लगाउनेहरूको क्षेत्र भएकाले कहिलेकाहीँ राजनीतिक नेताहरू पनि यही ठाउँमा टुक्रुक्क बसी बुटपालिस लगाएर राज्यसत्तामाथि व्यंग्य कस्ने गर्थे । राजनीतिक उद्देश्य बोकेका शिक्षित बेरोजगारहरू पढाइ सकेर पनि काम पाइएन भन्दै बुट पालिस गरेर व्यवस्थालाई बदनाम गर्न यहीँ आइपुग्थे । 

राजनीतिक नेता–कार्यकर्तासँग धेरै उठबस गरेकाले होला, त्यहाँ बुटपालिस गर्ने कतिपय सार्कीहरूसमेत राजनीतिक गफ हाँक्न सक्ने भइसकेका थिए । त्यही मेसोमा एकपटक त्यहीँ बुटपालिस गर्ने गोल्छे सार्कीले तत्कालीन काठमाडौं नगर पञ्चायतको चुनावमा उपप्रधानपञ्च पदमा उम्मेदवारीसमेत दिए । उनलाई पञ्चायतविरोधी राजनीतिक दलहरूको घोषित समर्थन नभए पनि कार्यकर्ताहरूले भने साथ दिएका थिए । उनको चुनाव चिह्न तरवार थियो । गोल्छे सार्की एवं उनका समर्थकहरू कहिले काठको त कहिले साँच्चैको तरबार बोकेर चुनाव प्रचारमा निक्लन्थे । 

स्मरणीय छ, बहुदलीय व्यवस्था पुनस्र्थापना भइसकेपछि गोल्छे सार्कीलाई तत्कालीन एमालेले माथिल्लो सदन राष्ट्रिय सभाको सदस्य बनाएको थियो । त्यही राष्ट्रिय सभाको एउटा बैठकमा उनले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको गालामा चड्कन हानेका थिए । 

०००

पीपलबोटवरिपरि बुट पालिस गर्ने सार्कीहरूको बजार बस्नुको पछाडि पनि एउटा रोचक कथा छ । ०१७–१८ सालतिरको कुरा हुनुपर्छ । गाउँबाट आएका एउटा केटो मेरा बाजेको पसलमा काम गर्न बसे । उनी काम बाजेको पसलमा गर्ने भए पनि सुत्न भने बाहिरै सुत्थे । दिउँसो अरूले अह्राएका सानातिना कामहरू पनि गरिदिन्थे । उनको खास नाम त कसैलाई थाहा छैन, तर सबै उनलाई हुचे भनेर बोलाउँथे । उनी छेउछाउका पसलेहरूको तमाखु भर्ने काम पनि गरिदिन्थे । तर, उनको जात थाहा नभएकाले बाजे भने उनले भरेको तमाखु खाँदैनथे । 

तर, सधैँ काम अह्राइरहनुपर्ने मान्छे भएकाले यसलाई पहिले शुद्ध गराउनुपर्‍यो भनेर बाजेले उनलाई एकदिन तीन मोहर पैसा दिँदै भनेछन्– पशुपति गएर कपाल खौरिनु, त्यसपछि ब्राह्मणलाई गौदान गर्नु, अनि सुन्धारामा नुहाएर घर आउनु । 

उनी हस् भनेर गए । तर, राति फर्कंदा टिल्ल रक्सी खाएर आएछन् । हुचेले गौदान गर्ने पैसाले त रक्सी पो खाएका रहेछन् । झन् त्यही साल गठेमंगलका दिन उनी आजु जय हाऽऽ कराउँदै भ्यगतमा पैसा मागेर हिँडेको देखेपछि बाजेले उनलाई पसलमै भित्र्याउन छोड्नुभयो । तैपनि ‘यसलाई एउटा काम लगाइदिनुपर्‍यो’ भनेर उनलाई पीपलबोटको चीभाःसँगै बुट पालिस गर्ने काम दिएछन् । हुचेले त्यो काम भने राम्रै गरे । उनको बुट पालिस पसल चल्दै गरेको देखेपछि उनीसँगै अर्को एकजना मानिस पनि बुट पालिस गर्न आए । अर्को बुट पालिसवाला हेर्दा दुब्लो–पातलो भएकाले उनलाई सबैजना ‘चखुंचा’ भन्ने गर्थे । 

चखुंचा अलि चलाख पनि रहेछन् । उनले आफूकहाँ बुट पालिस गर्न आउनेहरूका लागि एउटा सानो बेन्चको पनि व्यवस्था गरिदिए । जुत्तामा पालिस लगाउन्जेल मान्छेहरू बस्न सक्ने भए । बसुन्जेल रमाइलो होस् भनेर गीत सुन्न एउटा सानो ट्रान्जिस्टर पनि बजाउन थालेछन् । यति सुविधा भएपछि चखुंचाको बुट पालिस झनै चम्किन थाल्यो । यता चखुंचाको व्यापार फस्टाउन थालेपछि उता हुचे बेपत्ता भए । उनको ठाउँमा अरू सार्कीहरू थपिँदै जान थाले । र, पछि यो ठाउँ बुट पालिसको केन्द्रै बन्न पुग्यो । अहिले त्यहाँ बुट पालिसको त्यति चाप नदेखिए पनि एक झुप्पा भने अझै कायम छ । 

०००

पीपलबोटवरिपरि बढ्दै गएको यो भिडभाडकै असर हुन सक्छ, न्युरोडका विभिन्न ठाउँमा केही नयाँखाले पसलहरू पनि खुल्दै जान थाले । जस्तो मुन्चा हाउस जहाँ घरलाई चाहिने सम्पूर्ण सामान एकैठाउँ किन्न सकिन्छ । त्यस्तै छाता भण्डार, मंगलघर आदि । मंगलघरमा युरोपबाट आयातीत सामान पनि बिक्री हुन्थ्यो । मेरा बा रामप्रसाद मानन्धरले त्यही मंगलघरबाट एउटा बेलायती मोटरसाइकल (त्यतिवेला सनसाइकल भनिन्थ्यो) किनेर नेपालमै पहिलोपटक मोटरसाइकल भाडामा दिने पसल खोलेका थिए । उनको मोटरसाइकल भाडामा दिने पसल पनि यही पीपलबोटछेउमा थियो । उक्त मोटरसाइकलको नम्बर थियो २६९ र त्यसको मूल्य थियो रु. १३०० । सुरुमा एकजना साथीसँग पार्टनर भई किनेको उक्त मोटरसाइकल पछि आफू एक्लैले किने र काका हरिप्रसादसँग मिलेर चलाउन थाले । त्यतिवेला काठमाडौंमा मोटरसाइकल चलाउन जान्नेहरू धेरै थिएनन् । त्यसैले कतिपयलाई आफैँले सिकाइदिनुपथ्र्यो । कतिपयलाई चाहिँ मोटरसाइकलको पछाडि राखेर उसको गन्तव्यसम्म पुर्‍याइदिनुपथ्र्यो । यसलाई हाल लोकप्रिय भइरहेको ‘पठाओ’ सेवाकै पूर्वरूप भन्न सकिन्छ । काका हरिप्रसादका अनुसार, त्यतिवेला काठमाडौंबाट जावलाखेलसम्म यात्रु पुर्‍याउने र फर्काउने गरेबापत तीन मोहर चार्ज लाग्थ्यो । बाले छोडेपछि काका एक्लैले २०३१ सालसम्म यो सेवा सञ्चालन गरे । 

पीपलबोटको चौतारी घेर्ने गरी हालै स्टिलको बार राखिएको छ । योभन्दा अघि त्यहाँ डन्डीको बार थियो । त्यसअघि त्यहाँ कुनै बार थिएन, खुला थियो । ०३० सालतिर त्यहाँ पहिलोपटक बार राख्न खोज्दा स्थानीय जनताले विरोध गरेका थिए । तत्कालीन नगर पञ्चायतले बार राख्न लाग्दा स्थानीय जनताले ‘अहिले बार राख्यौ, पछि भित्र जानलाई टिकट पनि काट्ने होला’ भन्दै काममा अवरोध गरेका थिए । त्यसमा काका पनि अगाडि थिए । स्थानीयको विरोध आएपछि नगर पञ्चायतले राति राति मेन्टोल बालेर भए पनि बार बनाएरै छोड्यो । तर, पींढमा टाइ बिम बनाएर बार राखेकाले झरी पर्दा चौतारीमा पानी जमेर पूरै पोखरी बन्न पुग्थ्यो । अब यसले चौतारीभित्रका चीभाःहरू जम्मै भत्किने भो भनी स्थानीयले झन्डै बार उखेल्न लागेका थिए । तर, नगर पञ्चायतले फेरि रातभरिमै टाइ बिमको बीच–बीचमा प्वाल बनाई पानी पास गराइदिए । 

नेपालमा सहरी पूर्वाधारका धेरै विकासहरू न्युरोडबाटै थालिएको इतिहास छ । जस्तो कि पहिलो वाणिज्य बैंक– नेपाल बैंक, पहिलो वारुणयन्त्र–जुद्ध वारुणयन्त्र, पहिलो पिच सडक–जुद्ध सडक, पहिलो सिनेमा हल– जनसेवा हल, पहिलो हरियाली पार्क– भूगोलपार्क, पहिलो फायर हाइड्रेन्ड आदि आदि । यी सबैको साक्षी हो– न्युरोडको पीपलबोट । यो कहिलेदेखि यहाँ खडा छ त्यो कसैलाई थाहा छैन, अब कहिले ढल्छ त्यो पनि कसैलाई थाहा छैन । न्युरोडमा कुनै रोडै नभएको वेलादेखि ठिङ्ग उभिइरहेको यो बूढो पीपलबोट अहिले रोड बनेपछि त्यसको नामसमेत त्यही रोडबाट भइगएको इतिहास टुलटुलु हेरेर अहिलेसम्म उभिरहेको छ ।

प्रतिकृया दिनुहोस