• वि.सं २०७६ कार्तिक ५ मंगलबार
  • Tuesday, 22 October, 2019

न्युटनको त्यो स्याउको रूख

२०७६ श्रावण १८ शनिबार ११:५२:००

त्यो दिन न्युटन बुढाले यसरी ताने कि उनले पत्ता लगाएको गुरुत्वाकर्षणको सिद्धान्तलाई नै माथ गरिदिए । न्युटन बुढा अर्थात् आइज्याक न्युटन ! गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएर संसारभर तीन शतकदेखि विज्ञानका क्षेत्रमा तहल्का मच्चाएका ती न्युटन बुढा मरेको त धेरै भइसकेको थियो । तर, उनको प्रभावचाहिँ अझै उस्तै थियो । त्यो दिन उनी त्यहाँ थिएनन्, तर उनको आत्माले गजब गर्‍यो, गुरुत्वाकर्षणको सिद्धान्तलाई नै छक्क पार्ने गरी हामीलाई तान्यो । 

‘खास कुरोचाहिँ के हो त ?’ तपाईं अहिले यही सोच्दै हुनुहुन्छ । 

खास कुरा हो, न्युटनको गुरुत्वको नियमले भर्टिकल रूपमा काम गथ्र्यो । तर, त्यो दिन होरिजेन्टल रूपमा काम गर्दै थियो । कुनै पनि चिज माथिबाट तल खस्नु भर्टिकल थियो, जुन गुरुत्वको नियम थियो । दायाँबाट बायाँतिर सर्नुचाहिँ होरिजेन्टल थियो, जुन गुरुत्वको नियम थिएन । त्यो दिन गुरुत्वले होरिजेन्टल काम गर्दै थियो । 

लामो समयपछि थानेश्वरलाई भेटेर ब्राडफोर्डबाट हार्लो फर्किंदै थियौँ । थानेश्वर अर्थात् थानेश्वर सापकोटा । केही वर्षपहिले नेपालमा ‘जनमञ्च’, ‘हिमालय टाइम्स’देखि ‘च्यानल नेपाल’सम्म पत्रकारिता गथ्र्यो । निडर पत्रकार थियो, कसैसँग डराउँदैनथ्यो । पछि, बाध्यतासँग डरायो, पत्रकारिता छोडेर युरोप हान्नियो । लेख्न पायो भने राम्रो लेख्छ, तर लेख्नै पाउँदैन । व्यापारले व्यस्त बनाएको छ बिचरालाई । 

ब्राडफोर्डबाट करिब ९० माइल कुदेपछि हामी ग्रान्थमछेउछाउ पुग्यौँ । ग्रान्थममा राजुको घर छ । राजु अर्थात् धर्म सापकोटा राजु । राजुले कथा लेख्छ । ‘बहिर्गमन’ कथासंग्रहबाट आएको पैसा धुर्मुस–सुन्तली फाउन्डेसनलाई दान गरेको थियो । अहिले नयाँ कथासंग्रह ‘बाटो’मा काम गर्दै छ । 

राजु मेरो भाइ हो । सानैमा आमाले जे पनि बाँडेर खान सिकाउनुभएको थियो । घरमा पाकेको खानेकुरादेखि पढ्ने, लेख्ने किताब कापीसम्म हामी बराबर भाग लगाउँथ्यौँ । लेख्ने कुरामा पनि हामीले भाग लगायौँ । मैले कविता र नाटक लेख्न थालेँ, उसले कथा लेख्न थाल्यो । अपवाद छोडेर ऊ कथा लेख्छ, म नाटक लेख्छु । 

‘न्युटनको बगैँचामा देखिने त्यो स्याउको रूख उहिलेदेखि नै यति लामो समयसम्म बाँचिरहेको छ त ?’ न्युटनको बगैँचाका गाइड भन्छन्, ‘लामो समयपछि त्यो रूख बुढो भएर ढलेको थियो । तर, पछि त्यही ठाउँबाट फेरि स्याउको बोट उम्रियो । नयाँ उम्रिएको रूखलाई संरक्षण गरिएको छ ।’

बेलायतमा पनि हामीले भाग लगाएजस्तै भयो । ऊ ग्रान्थम बस्छ, न्युटन उसको भागमा परेको छ । म लन्डनको छेउछाउतिर छु, सेक्सपियर मैले आफ्नो भागमा लिएको छु । उसले विज्ञान पढेको थियो, न्युटनलाई उसको जिम्मा लगाउनु जस्टिफाइड थियो । म अंग्रेजी साहित्य पढेको, सेक्सपियरको जिम्मा लिनु स्वभाविक थियो । 

हामी ब्राडफोर्डबाट हार्लो फर्कंदै गर्दा ग्रान्थम पुग्दै थियौं । सामान्यतया त्यस्तो वेला हामी राजुकहाँ जान्थ्यौँ, तर त्यो दिन हामी राजुकहाँ गएनाैँ । किनभने, न्युटनले हामीलाई तान्दै थिए । हामी राजुलाई नभेटी न्युटनको घरतिर लाग्यौँ । 

मोटरवेबाट छुट्टिएर स्थानीय बाटो हुँदै उल्सवर्थ म्यानर पुग्यौँ । तपाईंहरूलाई लाग्यो होला, ‘न्याभिगेरमा त्यहाँको ठेगाना हालेपछि गाडी गुडाउँदै त्यहाँ पुगेर कार पार्कमा गाडी पार्क गरेँ’ लेख्न छुटायो । त्यो त मैले जानी–जानी नै लेख्न छुटाएको हो । जहाँ जाँदा पनि गर्ने त्यही नै हो, एउटै कुरा सबै लेखमा के लेखिराख्नु भनेर लेख्न छुटाएको थिएँ । फेरि संस्मरणको प्याटर्न नै भंग पार्‍यो भन्नुहोला भनेर स्पष्टीकरण दिइहालेँ । 

हामी उल्सवर्थ म्यानर पुग्यौँ । हामी अर्थात् निर्मला, निहारिका र गिरीश । तपाईंहरूलाई लाग्यो होला, हेर न गोपी कस्तो लोभी छ, मौका पायो कि श्रीमती र छोराछोरीको नाम घुसाइहाल्छ । 

स्पष्टीकरण दिइहालू– खासमा म त्यति धेरै लोभी छैन, लेखको पृष्ठभूमि तयार गर्न उनीहरूको नाम आएको हो । लेख छापिएपछि, ‘केटाकेटी हो, तिमीहरूको नाम पत्रिकामा छापिएको छ है, आफ्नो बाउ ठूलो लेखक भएकोमा गर्व गर’ भन्न हुन्छ नि ! 

हामी उल्सवर्थ म्यानरमा दायाँबायाँ स्याउका बोटहरू हेर्दै थियौँ, खोज्दै थियौँ । न्युटनको गुरुत्वको मुख्य ग्लामर त्यही स्याउको रूख त थियो नि ! एकैछिनमा थाहा पायौँ, भित्र पस्न टिकट काट्नुपर्दो रहेछ । न्युटनको घरको कम्पाउन्डभित्र पस्न टिकट काट्यौँ । हामीले तिर्ने रकमले पर्यटन प्रवद्र्धन र सम्पदा संरक्षणका लागि सघाउ पुर्‍याउँथ्यो ।

बगैँचामा धेरै रूख थिए । तिनीमध्ये एउटा स्याउको रूखलाई अलि विशेष तरिकाले घेरिएको थियो । हामीले अनुमान लगायौँ, त्यो चर्चित रूख त्यही हुनुपर्छ । नजिकै रहेका गाइडले हाम्रो अनुमान ठीक भएको कुरा भने । 

हामीले त्यो रूखलाई एकछिन हेरिरह्यौँ । रूखअगाडि बसेर फोटो खिच्यौँ । रूखका हरिया पातहरू छाम्यौँ । इतिहास छामेको महसुस भयो । एकपटक रूखको चारैतिर घुम्यौँ, जसरी मन्दिरमा पुगेपछि मन्दिरलाई एक फन्को मारिन्छ । 

यो त्यही समय थियो, जतिखेर उनले बगैँचामा स्याउको रूखबाट स्याउ खसेको देखेका थिए । त्यसपछि उनले त्यसको कारण खोज्न सुरु गरेका थिए । त्यही खोजले उनले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएका थिए । 

रूखको फन्को मार्दै गर्दा समयले मनलाई केही वर्षपहिलेतिर धकेल्यो । मस्तिष्कमा पुराना दिनहरू खेल्न थाले । पुराना ती स्कुले दिनहरू । 

कालिका मावि गैँडाकोटमा ५–६ कक्षामा पढ्दा पहिलोचोटि सुनेको थिएँ– गुरुत्वको कुरा । पहिलोचोटि गुरुत्वको कुरा सुन्दा गज्जब लागेको थियो । अचम्म पनि लागेको थियो । बेलुका घर गएर आमालाई सुनाएको थिएँ । न्युटन भन्ने वैज्ञानिकले पत्ता लगाएका रे भन्ने कुरा सुनेर आमा पनि छक्क पर्नुभएको थियो । 

कुनै पनि चिज पृथ्वीमा खस्नु र ती चिजहरू भुइँमा नै अडिएर बस्नु गुरुत्वले गर्दा भएको हो भन्ने कुरा पहिलोपटक थाहा पाउँदा गज्जब लागेको थियो । न्युटनले त्यो कुरा पत्ता लगाउँदा त मैले भन्दा पनि धेरै गज्जब महसुस गरेका थिए होलान् । 

तपाईं नै सम्झिनोस् न, गुरुत्वको कुरा सुनेको पहिलो दिन । कक्षामा सरले सुनाउनु भएको न्युटनको बगैँचाको स्याउको रूखबाट स्याउ खसेको कुरा । एक दिन न्युटन बगैँचामा बसेको वेला अचानक एउटा स्याउ रूखबाट खस्यो । न्युटनको मनमा त्यो स्याउ किन खस्यो भनेर जिज्ञासा भयो । त्यही कुराको खोज गर्दागर्दै न्युटनले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएका थिए । के तपाईं सम्झिनुहुन्छ, त्यतिखेर तपार्इंको मस्तिष्कमा बनेको त्यो रूखको चित्र ? 

स्कुलमा पढ्दा कथाजस्तै लाग्ने कुरा साँच्चैको जीवनमा देख्दाको अनुभूति एकदमै आनन्ददायक थियो । कक्षामा पढ्दा र पढाउँदा किंवदन्तीजस्तै लाग्ने त्यो स्याउको रूख कुनै दिन आफ्नै आँखाले देखुँला भनेर कहिल्यै सोचेको थिइनँ । नसोचेको कुरा प्राप्त हुँदा झन् धेरै गज्जब महसुस हुँदो रहेछ ।

०००

कुरा सन् १६४२ को डिसेम्बर महिनाको हो । क्रिसमसको वेला थियो । सबैका मनमा चाडबाडको रङ छाइरहेको थियो । जताततै क्रिसमसका रूखहरू सजाइएका थिए । बाहिर चिसो थियो । वेलावेला फुस्फुस् हिउँ पथ्र्यो । दिनहरू छोटा थिए । 

घाम पनि देखिऊँ कि नदेखिऊँ भन्ने कन्फ्युजनमा थियो । कतै लुकेर बस्थ्यो । दिनमा दुई घन्टाजति बाहिर आउँदा पनि उसले ठूलै गुन गरेको सम्झनुपथ्र्यो ।

आफन्तकहाँ पाहुना जानेहरू समयमै पुग्न हतारिँदै थिए । पाहुना कुरेकाहरू उनीहरूलाई स्वागत गर्न आतुर देखिन्थे । न्युटनकी आमालाई सन्चो नहोला जस्तै भएको थियो । नभन्दै उनलाई सुत्केरी व्यथा लाग्यो । क्रिसमसको रात अर्थात् डिसेम्बर २५ मा न्युटन जन्मेका थिए ।

न्युटन अलि ठूलो भएपछि ग्रान्थमको ग्रामर स्कुलमा पढे । बेलायतमा ग्रामर स्कुललाई राम्रो स्कुल मानिन्छ । अहिले बेलायतमा बस्ने बाबुआमाको चाहना आफ्ना छोराछोरीले ग्रामर स्कुलमा पढ्न नाम निकालून् र त्यहाँ पढ्न पाऊन् भन्ने हुने गर्छ । त्यसो त त्यतिवेला सायद धेरै स्कुल थिएनन् । न त धेरै विद्यार्थी र प्रतिस्पर्धा नै थियो होला । जे होस्, ग्रामर स्कुल पढ्नु राम्रो कुरा थियो । 

स्कुलपछि उनी पढ्नका लागि क्याम्ब्रिज विश्वविद्यालय गए । सन् १६६५ मा क्याम्ब्रिजबाट स्नातक गरे । क्याम्ब्रिजको उनको पढाइ सकिनु र लन्डनमा प्लेगको महामारी लाग्नु एउटै समय भयो । प्लेगले विश्वविद्यालयको पढाइमा पनि असर गर्‍यो । उनी प्लेगको महामारीबाट बच्न क्याम्ब्रिजबाट उल्सवर्थ म्यानर, ग्रान्थम घर फर्के । घरमै अध्ययन गर्न थाले ।

यो त्यही समय थियो, जतिखेर उनले बगैँचामा स्याउको रूखबाट स्याउ खसेको देखेका थिए । त्यसपछि उनले त्यसको कारण खोज्न सुरु गरेका थिए । त्यही खोजले उनले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएका थिए । 

०००

न्युटनले विज्ञानसम्बन्धी धेरै पुस्तक लेखे । तर, आफूले रूखबाट स्याउ खसेको देखेर गुरुत्वको सिद्धान्त पत्ता लगाएको कुरा आफ्ना कुनै पनि पुस्तकमा लेखेनन् ।

‘के त्यो स्याउ खसेको कुरा साँचो थियो त ?’ कतिले प्रश्न गर्छन्, कतिले शंका पनि गर्छन् । 

‘त्यसो हो भने त्यो कुरा कसरी चर्चामा आयो त ?’ प्रायः सबैको मनमा आउने प्रश्न हो । 

न्युटनले बगैँचामा स्याउको रूखबाट स्याउ खसेको देखेर गुरुत्वको सिद्धान्तबारे सोचेको कुरा लेखक भोल्टेयरलाई सुनाएका थिए । भोल्टेयरले आफ्नो किताबमा त्यो कुरा लेखे । त्यही आधारमा न्युटनको स्याउको रूखको चर्चा हुँदै आएको थियो ।

न्युटनको बगैँचाको स्याउको रूख हेर्न आउने मानिसका मनमा अर्को एउटा प्रश्न पनि आउने गर्छ । केहीले त्यहाँका गाइडलाई त्यो प्रश्न सोध्ने गर्छन्, ‘के न्युटनको बगैँचामा देखिने त्यो स्याउको रूख उहिलेदेखि नै यति लामो समयसम्म बाँचिरहेको छ त ?’ 

‘लामो समयपछि त्यो रूख बुढो भएर ढलेको थियो । तर, पछि त्यही ठाउँबाट फेरि स्याउको बोट उम्रियो । त्यही नयाँ उम्रिएको रूखलाई संरक्षण गरिँदै छ,’ गाइडले भने ।

न्युटनको स्याउको त्यो रूखलाई वैज्ञानिकहरू र विज्ञानका विद्यार्थीहरू एकदमै महŒवका दृष्टिले हेर्छन् । अहिले विश्वका केही विश्वविद्यालयमा त्यो स्याउको रूख क्लोनिङ गरेर सारिएको छ । बेलायतको क्याम्ब्रिज र योर्क, अमेरिकाको वासिङ्टन डिसी र चीनको एक विश्वविद्यालयमा त्यो रूखबाट क्लोनिङ गरिएका रूखहरू छन् ।

न्युटनको बगैँचाको रूख हेरेपछि हामी उनको घर हेर्न गयौँ । उनी जन्मेको कोठादेखि उनले प्रारम्भिक रूपमा बनाएका वैज्ञानिक उपकरणहरू हेर्‍यौँ । घरभित्र भान्सा, बस्ने कोठा र सुत्ने कोठाहरूलाई सोह्रौँ शताब्दीकै झल्को दिने गरी उस्तै रूपमा जोगाएर राखिएको थियो । त्यहाँ बस्दा, त्यहाँका दृश्य हेर्दा, त्यहाँका जानकारी पढ्दा र गाइडका कुरा सुन्दा घरीघरी आफूले नै सोह्रौँ शताब्दीका ती दिनहरू महसुस गरेजस्तै हुन्थ्यो ।

न्युटनको घर र बगैँचामा करिब दुई घन्टाजति बितायौँ । वर्षौं पहिले किताबमा पढेका कुराहरूलाई नांगो आँखाले हेर्न पाउँदा दंग पर्‍यौँ । चारैतिर घुमिसकेपछि हामी गेटबाट बाहिरियौँ । मनमनै न्युटनलाई ‘बाई’ भन्यौँ र आफ्नो घरतिर लाग्यौँ ।

प्रतिकृया दिनुहोस